Successfully Copied

फरक सोख

छोरी, बुहारी, श्रीमती, आमा, नन्द-भाउजू नारीका यी विविध रूपमा सबैका आ-आफ्नै विशेषता छन्।

छोरी, बुहारी, श्रीमती, आमा, नन्द-भाउजू नारीका यी विविध रूपमा सबैका आ-आफ्नै विशेषता छन्। प्रकृतिको सुन्दर रचना नारीभित्र सौन्दर्य, प्रेम, धैर्य, सहनशीलता एवं शालिनता जस्ता अनेकौ गुण निहित छन्। यिनै नारी कहिले मायाका खानी हुन्छन् भने परेको खण्डमा आफूभित्रको अदम्य साहस बाहिर ल्याई शक्ति प्रदर्शनसमेत गर्छन्। नारीभित्र रहेका यिनै विविध क्षमताकै कारण आज उनीहरू हरेक कार्यक्षेत्रमा अब्बल ठहरिंदै गएका छन्। सप्तरंगी इन्द्रेणी झैं लाग्ने नारी क्षमता तथा गुणको विविधता त्यसै निर्माण भएको होइन। उनीहरू स्वाभावैले धैर्यपूर्वक हरेक परिस्थिति सामना गर्ने खालका हुन्छन्। उनीहरू आफूलाई परिस्थितिअनुरूप ढाल्न सक्ने क्षमता राख्छन्। व्यावसायिक रूपमा पनि दक्ष ठहरिएका आधुनिक नारीभित्र अनेकन विविध पाटो पनि लुकेको हुन्छ, जसलाई साधारण भाषामा रुचि भनिए पनि त्यो गौण कला हो। निजामती, कूटनैतिक, राजनीति, बैंकर्स, शिक्षण आदि थुप्रै पेसामा दख्खल राख्ने महिलाहरू त्यसबाहेक पनि अन्य काम गर्न सक्ने खुबी राख्छन्।

महिलामा विविध कला र क्षमताको भण्डार हुन्छ। व्यावसायिक रूपमा कुनै पेसा अपनाए पनि उनीहरूसँग अनेक क्षमता हुन्छ, जसलाई शोखका रूपमा पनि बुझ्न सकिन्छ। विभिन्न पेसा र व्यवसाय सम्बद्ध नारीहरूको फरक-फरक शोखलाई नारीले यसपटकको आवरण कथा बनाएको छ, जसको अध्ययनले पाठकमा एक किसिमको ऊर्जा र थप नयाँ केही गर्ने जाँगर थप्ने अपेक्षा हामीले राखेका छौं। फरक कामका लागि परिचय बनाएका महिलाहरूको यो रुचि पृथक किसिमको खुराक बन्ने हाम्रो विश्वास छ।

बगैंचामा रमेको मन

अहिले काठमाडौंमा जताततै घरैघर बनेका छन्। अहिले यहाँ हरियाली फेला पार्न पनि मुस्किल छ। यद्यपि काठमाडौं खाल्डोभन्दा केही पर भैंसेपाटीस्थित इन्द्रकुमारीको घर पुगेर गेटबाट भित्र छिर्नासाथ विभिन्न किसिमका फूलको वासना एवं हरियालीले मनै फुरुङ्ग हुन्छ। पुख्र्यौली घर पोखरा भएकी इन्द्र सानैदेखि फूलप्रति रुचि राख्थिन्। त्यही रुचिलाई निरन्तरता दिइरहेकी इन्द्रकुमारीको बगैंचा विभिन्न किसिमका फूल तथा फलफूलले ढकमक्क छ।

गुरुङ बाल्यकालदेखि नै फूलप्रति आकषिर्त हुँदै गइन्। त्यसैले उनी पोखरा हुँदादेखि नै घर वरिपरि तथा गेटमा फूल रोप्थिन्। सानैदेखि उनी फूल रोपेपछि आफू पनि टिप्दिनथिन् र अरुलाई पनि टिप्न दिन्नथिन्। पछि उनी कामको सिलसिलामा काठमाडौं बस्न थालिन्। यही समयमा उनको भेट डच नागरिकसँग भयो र उनीहरूले विवाह गरे। त्यसपछि श्रीमान्को अफिसको कामले बंगलादेश जानुपर्ने भयो। त्यहाँ हुँदा पनि उनले फूल रोप्न छोडिनन्। केही समयपछि उनीहरू काठमाडौं आए। गुरुङ काठमाडौंमा डेरामा बस्दा पनि फूल रोप्थिन्। रोपेको फूल डेरा सर्दा त्यहीँ छोड्थिन् तर पनि उनलाई त्यसको चिन्ता हुँदैनथ्यो। पछि भैंसेपाटीमा घर बनाएपछि त उनलाई आफ्नो सोख पूरा गर्न अझ सजिलो भयो।  अहिले इन्द्रले घरमा मुन्तला, आरु, नासपाती, हलुवावेद, नील जाई, अम्बा, बर्ड अफ प्याराडाइज आदि धेरै फलफूलका बिरुवा रोपेकी छिन्। यसैगरी चेरी, रोजमेरी, कागती, पुदिना पनि उनको बगैंचामा फेला पार्न सकिन्छ। उनको बगैंचामा मौसमी तरकारी पनि छन्। आफूले रोपेको तरकारी तथा फलफूल उनी साथीभाइलाई पनि दिन्छिन्। बगैंचा सजाउनेबाहेक उनलाई सिलाउने काममा पनि रुचि छ।

गुरूङ वर्षको एकपटक हल्यान्ड जान्छिन्। त्यहाँको र यहाँको वातावरण फरक भए पनि यहाँको वातावरणसँग मिल्ने खालका बिरुवा ल्याउँछिन्। नील जाई, बर्ड अफ प्याराडाइज उनले त्यहीँबाट ल्याएकी हुन्। वुमन एक्टलगायत विभिन्न संघसंस्थामा काम गरिसकेकी इन्द्रको सोख अहिले पनि बगैंचामा छ। बगैंचामा काम गर्दा मानसिक तनाव कम हुनुका साथै शारीरिक रूपमा पनि स्वस्थ रहन सकिन्छ भन्ने मान्यता इन्द्रको छ। आफ्नो रुचि भए जुनसुकै काम पनि गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् इन्द्र। उनले बगैंचासम्बन्धी कुनै तालिम लिएकी छैनन्। बगैंचामा पानी हाल्ने, मल हाल्ने, बोटबिरुवाको रुखमै चढेर काँटछाँट गर्ने सबै काम उनी आफैं गर्छिन्। बिहानदेखि बगैंचामा काम गर्न थाल्यो भने खान पनि बिर्सने उनी बताउँछिन्। स्वदेश रहँदा वा विदेश जाँदा नै किन नहोस् उनको ध्यान फूलमा हुन्छ। त्यसैले उनी विदेशबाट नयाँ-नयाँ फूलका बिरूवा ल्याउँछिन्।

बगैंचामा राति चरा बास बस्छन्। बिहान र साँझ चराको चिरबिर-चिरबिर आवाज उनलाई असाध्यै मन पर्छ। इन्द्रको घर पुग्ने जो कोहीले हरियाली वातावरण तथा शीतलता अनुभव गर्न सक्छन्। त्यसैले त इन्द्र बाहिर जहाँ गए पनि घर आउनासाथ शान्ति मिल्ने बताउँछिन्। उनी बिहान उठ्नासाथ बोटबिरुवाको वरिपरि हिँडेर मर्निङ वाक गर्छिन्। फूलको सुगन्धले दिनभरिका लागि ऊर्जा प्राप्त हुने उनको धारणा छ। प्रकृतिसँग नजिक भएकाले होला अहिलेसम्म इन्द्रलाई कुनै रोगले आक्रमण गरेको छैन। सकेसम्म बोटबिरुवाको स्याहार गर्ने उनको लक्ष्य छ। प्रकृतिसँग नजिक हुँदा स्वर्गीय तथा आत्मीय आनन्द प्राप्त हुने उनले बताइन्।

फोटोग्राफीमा रुचि राख्ने सहाना

मोडलिङ र टेलिभिजनमा आफ्नो पहिचान बनाइसकेकी सहाना बज्राचार्यलाई धेरैले चिन्छन् तर उनमा रहेको अर्को प्रतिभाका सम्बन्धमा भने कमैलाई मात्र जानकारी छ। सहाना राम्रो फोटोग्राफर पनि हुन्। उनले खिचेका पोट्रेट तस्बिरहरू प्रोफेसनल फोटोग्राफरका तस्बिर जस्तै लाग्छन्। परिवारमा अंकलहरू फोटोग्राफी गर्थे। उनका काका सानुराजा बज्राचार्य त वाइल्ड लाइफ खिच्ने प्रोफेसनल फोटोग्राफर नै हुन्। अहिले पनि टाइगर टप्सका तस्बिर उनैले खिच्छन्। काकाले घरमा आएर सहाना र उनका दिदीबहिनीहरूका तस्बिर खिची धुलाएर दिन्थे। यसरी तस्बिर खिच्ने र अर्को पटक आउँदा धुलाइएको कपी पाउँदा उनी अचम्मित हुन्थिन्। उनमा ४-५ वर्षको उमेरदेखि नै फोटोग्राफसम्बन्धी रुचि बढेको हो। सहानाका बुबा पनि पोट्रेट तस्बिर खिच्थे, उनका दिदीहरूका धेरै पोट्रेट तस्बिर बुबाले नै खिचेका हुन् तर सहाना जन्मिएपछि भने बुबा अर्को काममा व्यस्त भएपछि उनी स्वयं भने बुबाको फोटोग्राफीसँग त्यति नजिक हुन पाइनन्। यद्यपि उनी त्यतिबेला बुबाको क्यामेरा चलाएर बस्थिन्। त्यही रुचिकै कारण उनी ८ कक्षामा पढ्दा नै कोडाकको क्यामेरा लिएर साथीहरूका तस्बिरहरू खिचिदिन्थिन्। स्कुलका कार्यक्रम, पिकनिक आदिमा उनी नै फोटोग्राफरका रूपमा तस्बिर खिच्न व्यस्त हुन्थिन्। उनले खिचेका तस्बिर हेरेर सबैले कस्तो राम्रो, फ्रेम मिलेको भन्थे।

उनले पहिलो पटक २००८ मा पैसा जम्मा पारेर सोनी अल्फा ३५० को डिएक्सआर क्यामेरा  किनिन् जुन त्यही वर्ष मात्र लन्च भएको थियो। त्यसको मूल्य १५ सय डलर थियो। त्यसपछि उनको फोटोग्राफीप्रतिको रुचि अझ बढ्दै गयो। मामाघर, साथीहरू, कार्यक्रम जहाँ जाँदा पनि क्यामेरा बोकेर पुग्थिन् र गार्डेनतिर लगेर तस्बिर लिइहाल्थिन्। उनी ती तस्बिर धुलाएर सम्बन्धित व्यक्तिको घरसम्मै पुर्‍याइदिन्थिन्। अरुका लागि ध्यान, योग मेडिटेसनको पाटो हो भने सहानाका लागि फोटोग्राफी नै मेडिटेसन हो। हुन त उनी नयाँ ठाउँ र नयाँ मान्छेसँग रमाउने स्वभावकी छिन्। त्यसैले सहाना ल्यान्डस्केपहरू खिच्न भन्दा पोट्रेट खिच्न रुचाउँछिन्।

उनका प्राय: तस्बिर पोट्रेट नै छन्। उनलाई वसन्तपुर, भक्तपुर, पाटनका बस्तीहरूतिर एक्लै क्यामेरा बोकेर घुम्न मन लाग्छ। वसन्तपुरमा तस्बिर खिच्ने क्रममा उनले एकपटक एउटी राम्री बालिकाले प्लास्टिकमा पानी ल्याइरहेको देखिन् र तस्बिर खिचिहालिन्। बोतल नभएकाले ती बालिकाले तरकारी बेचिरहेकी आफ्नी आमाका लागि प्लास्टिकमा पानी थापेर ख्वाउन लगेकी थिइन्। सहानाले ती बालिकाले उनकी आमालाई पानी दिइरहेको तस्बिर पनि खिचिन्। सहाना फोटोग्राफीलाई सामाजिक म्यासेजहरू जुन आँखाले देखेर पनि याद गरिएको हुँदैन, त्यसलाई उजागर गर्न सक्ने माध्यमका रूपमा लिन्छिन्। उनी फोटो स्टोरी गर्ने योजनामा छिन्। सहानाले आफूमा सानैदेखि पलाएको फोटोग्राफीप्रतिको रुचिलाई अन्य कामसँगै अघि बढाइरहेकी छिन्। सहाना भन्छिन्, 'कसैले पनि आफ्नो रुचि मार्नुहुँदैन।'

डाक्टरको कुकुर प्रेम

उनको घरमा अहिले एक दर्जन कुकुर छन् भने अफिसमा करिब आधा दर्जन। फुर्सद भयो कि उनी कुकुरको झुन्डमा रमाउँछिन्। उनको घरमा माइकल ज्याक्सन, मीनाकुमारी, गोमा, फ्याउरी, मधुवाला नामकरण गरिएका कुकुरहरू छन् भने तिनीहरूलाई खाना ख्वाउने भाँडा पनि उनीहरूकै नामअनुसार राता, पहेंला, सेता, नीला, हरिया आदि रंगका छन्। यसरी कुकुर पाल्ने सोख भएकी डाक्टर हुन्- हीरामन प्रधान।

कुष्ठ रोग निवारण संघकी कार्यकारी निर्देशक डा. प्रधानसँग ८ कक्षा पढ्दा नै १३ वटा कुकुर थिए। सामान्य भाषामा भुस्याहा कुकुर भनिने बाटामा भेटिएका, खान नपाएका, रोगी, फोहोरी कुकुरलाई उनी कम्युनिटी डग भन्नुपर्नेमा जोड दिन्छिन्। त्यस्ता कुकुरलाई घर ल्याई नुहाएर सफा गरी खाना दिएपछि ती कुकुर अत्यन्त सुन्दर हुने उनी बताउँछिन्। हिंसा गर्ने, कुटपिट गर्ने मानिस भन्दा त कुकुर धेरै ज्ञानी हुन्छ। डा. प्रधानले भनिन्-त्यस्ता ध्वंसक, हिंसक अनि दुष्ट मान्छे देख्दा कुकुरलाई अझ बढी माया गर्न मन लाग्छ किनभने कुकुरले नि:स्वार्थ प्रेम गर्छ अनि त्यसको साटो केही माग्दैन।

कुकुरले बोलाए मान्छेको संसार छाडेर कुकुरको संसारमा प्रवेश गर्छु भन्ने डा. प्रधान बाटामा कतै कुकुर भेटिन्छन् कि भनेर सधैं ब्यागमा बिस्कुट बोकेर हिँड्छिन्। उनको फेसबुक वालमा कुकुरसम्बन्धी थुप्रै स्ट्याटस भेटिन्छन्। गएको जाडोमा उनले सयौं कुकुर सडकमा चिसोले मर्ने अवस्थामा छन् कृपया एक जनाले एउटा भए पनि कुकुर एडप्ट गरिदिनुहोस् भनेर रिक्वेस्ट गरिन् तर त्यो कुरा कसैले नसुनेको उनको गुनासो छ।

१२ वर्षअघि डा. हीरा अफिसमा काम गरिरहेका बेला एउटा सानो कुकुर आएर उनको खुट्टामा लुटुपुटु गर्न थाल्यो। बिस्कुट दिइन्, कुटुकुटु टोक्न थाल्यो, रिकापीमा दूध राखिदिइन् त्यो पनि घुटुघुटु पियो। त्यो सब हेरिरहेकी डाक्टरको मनमा प्रेम उर्लिएर आयो र उनले त्यो कुकुरलाई काखमा राखिन्। उक्त कुकुर प्रत्येक दिन आउन थालेको केही समयपछि उनले घर लगिन्। मर्निङ वाकमा भेटिएकी फ्याउरीको कथा पनि उत्तिकै रोचक छ। हीरामन सबेरै मर्निङ वाकमा निस्कदा उनको खुट्टा सुँघेर सानी कुकुर्नी पछी लागी। उनको घरको गेटमा आइपुगेकी त्यो कुकुर्नी प्रधानले गेट खोल्नासाथ लुरुलुरु भित्र पसी। उनले त्यसलाई न्यानोमा राखेर खान दिइन्। अहिले त्यही फ्याउरी उनकी प्यारी बनेकी छे। एकपटक डा. हीराले गौशालाको सडकबाट ६ वटा कुकुर एकैपटकमा उठाएर घर लगेकी छिन्। तीमध्ये मधुवाला उनको घरको मुख्य पहरेदार हो भने गोमा अफिसको।

कुकुरहरूकै लागि भनेर डा. हीराले छुट्टै पशु चिकित्सक राखेकी छिन् भने सानातिना स्वास्थ्य समस्या आफै पनि हेर्छिन्। डा. प्रधान भन्छिन्-यी मेरा सन्तान हुन्। यिनलाई मैले आफ्नै परिवार मानेकी छु। उनीहरूलाई नुवाइदिँदा, खान दिँदा, उनीहरूसँग खेल्दा मलाई आत्मसन्तुष्टि प्राप्त हुन्छ।

डा. प्रधानसँग भएका सबै कुकुर सडकबाट उठाएर ल्याइएका हुन्। आगामी दिनमा पनि सडकमा भेटिने कुकुर नै घर लाने बताउने प्रधानले आजसम्म पैसा हालेर कुकुर किनेकी छैनन्।

आईटीकी सुसन खानकै लागि सेफ

भनिन्छ, बाँच्नका लागि खान जरुरी छ तर यो कुरा आईटी म्यानेजर सुसन कर्माचार्यको जीवनमा मिल्दैन। उनका अनुसार उनी खानका लागि बाँचिरहेकी छिन्। खानाको स्वाद नै थाहा नहुने ७ महिनाकी शिशु छँदै आलु पकाउँदा भान्सामा पुग्ने उनकी हजुरआमाले बताउने गरेको उनी सम्झन्छिन्। सुसन धेरै खान्थिन्, घरमा आमाबुबा धेरै नखाऊ भन्थे। स्कुलमा पढ्दा पनि साथीहरूसँग पैसा जम्मा गरेर रेस्टुराँतिर पुग्ने सुसन साथीहरूको घरमा केही नयाँ कुरा पाकेको थाहा हुनासाथ पुगिहाल्थिन्। आफन्तहरू पनि सुसन आएको थाहा पाएपछि धेरै थरिका परिकार बनाएर ख्वाउँथे। उनी त्यतिबेला पनि जंक फुड, पानीपुरी, भेलपुरी, चाट, म:म, चाउमिन, पिज्जा, बर्गर, केक, स्यान्डबीचदेखि बारा, चटामरी, छोयला आदि खान पनि होटलतिर पुग्थिन्। अमेरिकामा आइटी पढेकी सुसनले खानाको रुचिकै कारण २ वर्षको सेफ क्लास ज्वाइन गरिन् भने ६ वर्ष अमेरिकामा सेफ भएर काम गरिन्। सेफ भएर काम गरेपछि खाने रुचि अझ बढ्दै गएको उनले बताइन्।

संसारका हजारौं परिकार चाखेपछि खाने तिर्सना अझ बढ्यो। उनलाई नेवारी, नेपाली, युरोपियन, इटालियन, चाइनिज, जापनिज, इन्डियन आदि सबै परिकार उत्तिकै मनपर्छन्। मुड, समय र मौसमअनुसार परिकार मनपर्ने सुसन बताउँछिन्। उनलाई पकाएको चना भने मन पर्दैन। त्यसबाहेक मन नपर्ने कुनै परिकार छैन। अमेरिका हुँदा उनी हप्तैपिच्छे फुड शोहरूमा पुग्थिन्् जहाँ हजारौं परिकारमध्ये सकभर सबै परिकार चाख्न खोज्थिन्। अहिले नेपालमा क्लाउज फ्याक्ट्रीमा प्रोडक्सन म्यानेजरका रूपमा व्यस्त सुसन खाना अफिसमै उपलब्ध भए पनि २-३ पटक बाहिर खान पुग्छिन्। कतै नयाँ रेसिपी लञ्च भएको खबर आयो भने वा कतै नयाँ रेस्टुराँ देखियो भने तुरुन्त पुगिहाल्छिन्। आफूले खाना खाएको देख्दा धेरैले तिमी त खानलाई नै जन्मिएजस्ती छौ भन्ने गरेको सुसनले बताइन्। उनी मरिलानु के छ र ? जति बाँचिन्छ मीठो खाएर बाँचौं भन्ने मान्यताका साथ हेल्थका लागि योग तथा व्यायाम गर्छिन्। सुसन अहिले आफै पनि घरमा धेरै थरिका परिकार तयार पार्छिन् भने रेस्टुराँहरू पनि पुगिरहन्छिन्।

पूजाको पुस्तक मोह

प्रेमबहादुर तथा सुष्मा जोशीका ३ जना सन्तानमध्ये जेठी छोरी पूजा जोशीको जन्म भारतको नयाँ दिल्लीस्थित गाजियावादमा भएको हो। सम्पन्न तथा शिक्षित परिवारमा जन्मिएकी पूजामा बाल्यकालदेखि नै अध्ययनमा रुचि थियो। बाल्यकाल उतै बिताएकी पूजाले उच्च शिक्षा नेपालबाट पूरा गरिन्। व्यवस्थापनमा स्नातक पूजा पेसाले कस्मेटोलोजिस्ट तथा ब्युटी एक्सपर्ट हुन्। यसैलाई पेसा बनाउँछु भनेर कहिल्यै नसोचेकी पूजाले सुरुवातमा फुर्सदको सदुपयोगका लागि सौन्दर्य तालिम लिएकी थिइन् तर काम गर्दै जाँदा उनमा अरूलाई सुन्दर बनाउने रस बस्दै गयो र थप शिक्षाको आवश्यकता महसुस गरी सीआईडीपिएसी लन्डनबाट सम्बन्धनप्राप्त भारतको सिडरी इन्टरनेसनल एड्भान्स ब्युटी थेरापी एन्ड एकेडेमीबाट हेयर तथा स्किनसम्बन्धी सम्पूर्ण कोर्षका साथै कस्मेटोलोजी शिक्षा हाँसिल गरिन्। दिल्लीमा सौन्दर्य अध्ययनका क्रममा उनले चेतन भगतका थुप्रै पुस्तक अध्ययन गरेकी छिन्। भगतको लेखनबाट पाठकले आफूभित्र विद्रोह, समाज परिवर्तन एवं नयाँपनको खोजी गर्छ भन्ने पूजाले सोही क्रममै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सौन्दर्यविद् सुनिती सोनीसँग प्रोफेसनल मेकओभरमा डिफेक्टिभ मेकअप, हाइडेफिनेसन मेकओभर तथा इयरब्रस मेकअपसम्बन्धी कोर्ष पूरा गरिन्। ग्रेट ब्युटिसियन नेपाल शीर्षकको प्रतिस्पर्धामा पूजाले फस्र्ट रनर्सअपका साथै कन्फिडेन्ट तथा पर्सनालिटी शीर्षकका २ वटा अवार्डसमेत हात पारेकी थिइन्।

सानैदेखि अध्ययनमा रुचि राख्ने पूजा पुराना पुस्तक तथा पत्रपत्रिका जे पाए पनि दोहोर्‍याइ-तेहेर्‍याइ पढ्थिन्। कलेज पढ्दा मुनामदन तीन पटक अध्ययन गरेकी पूजालाई त्यसको कथाले मन छोएको थियो। उपन्यास, पे्ररणादायक जीवनी तथा उत्प्रेरक कथा पढ्न रुचाउने पूजा पछिल्लो समय कलाकार हरिवंश आचार्यको चिना हराएको मान्छेबाट प्रभावित छन्। पूजा भन्छिन्-

'फुर्सदको उपयोग गर्न तथा ज्ञानका लागि पुस्तक पढ्छु। मेरो पढ्ने बानी थाहा पाएर  साथीभाइ तथा आफन्तले पनि पुस्तक नै उपहार दिन्छन्।' विनोद चौधरीको पुस्तक मैले रातभरि पढेर छर्लंगै पारेकी छु। पढ्न थालेपछि लोडसेडिङ भए पनि क्यान्डल वा मोबाइलको लाइट बालेरै भए पनि सिध्याएर मात्र छोड्ने उनको बानी छ।

बेलुकाको खाना खाएपछिको शान्त वातावरणमा पढ्न रमाउने पूजा नेपालका बालकृण सम, लक्ष्मीप्रसाद देवकोटा, पारिजात, झमक घिमिरे आदिको लेखनबाट प्रभावित छिन्। उनको विचारमा पछिल्लो पुस्ताका मञ्जुश्री थापा, कुमार नगरकोटी, सुविन भट्टराई, ब्रजेश खनाल आदि सम्भावना बोकेका लेखक हुन्। पूजा भन्छिन्-'अन्तर्राष्ट्रिय ख्याति कमाएकी जे के रोलिङको ह्यारी पोर्टर पढेपछि नै ममा चलचित्र हेर्ने मोह जागेको थियो। रोलिङबाहेक माक्सिम गोर्की, तसलिमा नसरिन, चिंगिग आइतमातभ पूजालाई मन पर्ने लेखक हुन्।

किनमेल मेरो सोख

रत्ना खाती, बैंकर्स

सधैं व्यस्त रहने रत्ना खाती बैंक अफ काठमाडौंकी ब्रान्च म्यानेजर हुन्। आर्थिक क्रियाकलापमा व्यस्त रहने रत्ना काठमाडौंको संभ्रान्त परिवारमा जन्मिएकी हुन्। महेन्द्र भवन माध्यमिक विद्यालयबाट एसएलसी पूरा गरेकी रत्नाले स्नातकोत्तरसम्म अध्ययन गरेकी छिन्। अध्ययनमा उत्कृष्ट रत्नालाई सबैले चिकित्सक बन्छिन् भन्थे तर उनमा विज्ञानभन्दा पनि अरु विषय पढ्ने चाहना थियो। निकै फरासिली तथा सहयोगी भावनाकी रत्ना परिवारकी प्यारी छोरी हुन्। उनी बाल्यकालदेखि नै आमासँग बजार जान्थिन्। उनलाई किनमेलमा बाल्यकालदेखि नै निकै रुचि थियो। विशेष गरी उनलाई आमासँग दसैंको किनमेल गर्न रमाइलो लाग्थ्यो। बजारमा देखिने सामानले उनमा एक प्रकार तरङ्ग पैदा गथ्र्यो। सामान खरिद गर्न पसल-पसल चाहार्दा तथा बार्गेनिङ गर्दा उनलाई फरक आनन्द आउँथ्यो। किनमेलमा घन्टौं समय लाग्दा पनि उनलाई दिक्क लाग्दैनथ्यो। पैसा नभए पनि उनी सामान हेरेर आफ्नो रहर पूरा गर्थिन्। उनको यो रुचि बिस्तारै झाँगिदै गयो। उमेर पुगेपछि आमाबाबुले दिने पकेट मनी साँचेर उनी आफूलाई आवश्यक सामग्रीहरू खरिद गर्थिन्।

अहिले उनी बैंक अफ काठमाडौंको जिम्मेवार पदमा छिन्। बिहानदेखि बेलुकासम्म उनलाई भ्याइ नभ्याइ हुन्छ। यद्यपि उनी समय पाउनेबित्तिकै किनमेल गर्न दौडन्छिन्। रत्नाले किनमेललाई आफ्नो रुचिका रूपमा लिएकी छिन्। रत्ना भन्छिन्-

'आफूले कमाएको अधिकांश पैसा म किनमेलमै खर्च गर्छु।' उनलाई मन परेपछि उक्त सामान खरिद गरेरै छाड्छिन्। जुनसुकै सामानको खरिदमा पनि उत्तिकै उत्साहित हुन्छिन्। किनमेल गर्दा उनलाई आनन्दका साथै आत्मसन्तुष्टि पनि प्राप्त हुन्छ।  उनको घरका सामान हेर्ने हो भने उनमा किनमेल गर्ने रुचिको आँकलन गर्न सकिन्छ।

रत्ना बजारमा कुनै नयाँ चीज आएको थाहा पाउनेबित्तिकै किनमेलमा निस्कन्छिन्। यद्यपि उनी निकै सेसेन्टिभ सपर हुन्। उनी अनावश्यक सामग्री खरिद गर्दिनन्। सामान केही महँगो भए पनि टिकाउ हुनुपर्छ भन्ने उनको मान्यता छ। उनी सामान खरिद गर्दा पर्याप्त समय लगाउँछिन्। फिल्म हेर्ने वा किनमेल गर्ने दुई विकल्पमध्ये उनी किनमेल नै रोज्छिन्। उनलाई ग्रोसरी, इन्टेरियर आइटम्स तथा कपडा खरिदमा विशेष रुचि छ। पहिले आफ्ना लागि किनमेल गर्थिन् भने अहिले आफ्ना सन्नतिका लागि बढी किनमेल गर्छिन्। एक पटकको किनमेलमा कति खर्च हुन्छ त्यसको लेखाजोखा भने उनी राख्दिनन्। कुनै नयाँ ठाउँमा पुग्नासाथ त्यहाँका मौलिक एवं लोकपि्रय चीज उपहारका लागि खरिद गर्छिन्। रत्ना भन्छिन्-मानिसको प्रकृतिअनुसार सबैको चाहना तथा रुचि फरक-फरक हुन्छ तर आफ्नो रुचिलाई जीवनचर्यामा हावी हुन दिनु हुँदैन। सबैलाई आ-आफ्नै स्थानमा राखेर अघि बढ्नुपर्छ। सोखबिना मानिसको जीवन निरस हुन्छ त्यसैले आफूलाई एकाग्रतामा ल्याउने सोख राख्नुपर्छ।

व्यक्तित्व विकास मेरो सोख

लिमा अधिकारी, स्लिमिङ एक्सपर्ट

चीनमा अध्ययन तथा अमेरिकाको लामो बसाइपछि पनि लिमालाई नेपालको मोहले छोडेन। उनले नेपाल फर्किएर सेप अप स्लिमिङ सेन्टर स्थापना गरिन्। अहिले उनको संस्थाले डेढ दशक पूरा गरिसकेको छ। सधैं उस्तै देखिने लिमा काममा जति कटिबद्ध छिन् त्यति नै आफ्नो दिनचर्यामा पनि सचेत छिन्। उनी आफूलाई निकै माया गर्छिन्। हक्की स्वभावकी लिमा कसैसँग डराउँदिनन्। आफ्नो कुरामा अडिग रहने लिमा दुई सन्तानकी आमा हुन् भन्दा विश्वास गर्न कठिन हुन्छ। कर्मथलो, घर तथा परिवार सबैलाई सन्तुलित गरेर अघि

बढिरहेकी लिमा उत्तिकै फिट पनि  देखिन्छिन्। उनलाई सदैव ताजा तथा फिट राख्न उनको रुचिले सघाएको छ। आफूलाई समयसँगै अपटुडेट राख्नु उनको सबैभन्दा ठूलो रुचि हो। उनी सधैं समयलाई पछि पारेर बाँच्न चाहन्छिन्। लिमा भन्छिन्-पर्सनालिटी ग्रुम गर्ने रुचि हरेक महिलामा हुनुपर्छ। उनी बिहान नियमित योग गर्छिन्, सन्तुलित भोजन खान्छिन्, समयमै अफिसका लागि निस्कन्छिन्। उनी आफूलाई अपटुडेट राख्न नेट सर्च गर्छिन्।

लिमा नयाँ-नयाँ मेकअप प्रोडक्ट एवं फेसनका सम्बन्धमा जानकारी लिन्छिन्। बोल्ने एवं हिँड्ने तरिका तथा लबाइ-ख्वाइले मानिसको व्यक्तित्वमा निकै प्रभाव पार्छ। पर्सनालिटी ग्रुमिङका लागि उनी प्रशस्त पुस्तक पढ्छिन्। ग्रुमिङका टिप्सहरू सर्च गर्छिन्। पर्सनालिटी ग्रुमिङले कुनै पनि महिलालाई विशेष बनाउँछ। यसले महिलाहरूको सम्पूर्ण विकास गर्छ र ग्रुमिङको कुनै सीमा हुँदैन भन्छिन्-लिमा। लिमाका अनुसार 'आफ्नो संस्थाको प्रोमोसनका लागि पनि ग्रुमिङ जरुरी छ। व्यस्त दैनिकीबीच पनि उनी पार्लर तथा स्पा सेन्टर पुग्छिन्। आफ्नो शरीरअनुसार स्टाइलिस पहिरनमा सजिन्छिन्। समय सुहाउँदो हेयर स्टाइल अपनाउँछिन्। आफूलाई भित्रैदेखि आत्मनिर्भर तथा खुसी बनाउन नयाँ-नयाँ उपाय अपनाइरहन्छिन्। विदेशको लामो बसाइले पनि उनमा यो रुचिको विकास गरेको हो। विदेशी महिलाहरू आफ्ना लागि निकै स्पेस राख्छन्। लिमा भन्छिन्,

'मानिस भित्रैदेखि खुसी भएर पनि बाहिर सुन्दर देखिएन भने जीवन निराश हुन्छ। त्यसैले आफ्नो पर्सनालिटी ग्रुमिङ गर्नुपर्छ। यसले केवल व्यक्तित्वलाई सुन्दर बनाउँदैन कसैका सामु बोल्न सक्ने हिम्मत पनि दिन्छ। कुनै पनि अपरिचित ठाउँमा आफ्नो पहिचान कायम गर्न सहयोग पुर्‍याउँछ ।' यसको महत्वका विषयमा उनी आफ्ना स्टाफलाई पनि तालिम दिन्छिन्।

घुम्नै जन्मिएकी प्रज्ञा

पाटन मंगलबजारको व्यापारी परिवारमा जन्मिएकी प्रज्ञा श्रेष्ठ संयुक्त परिवारमा हुर्किन्। आदर्श विद्या मन्दिरमा पढेकी प्रज्ञालाई जेनेटिकमा पिएचडी गर्ने सपना थियो। बाजेले ल्हासामा व्यापार गरेर कमाएको पैसाले मन्दिर बनाएको, गहनाहरू ल्याएको, कोलकाताबाट साइकल, रिक्सा ल्याएको भन्दा उनी (बाल्यकालमा) अचम्म मानेर ती कुरा सुनिरहन्थिन्। बाजेकै कुरा सुनेर उनमा घुम्ने रुचि बढेको हो। आफन्तहरू प्राय: विदेशमा भएकाले उनीहरूले घर र्फकंदा उपहार ल्याएको देखेर पनि कस्ता देशमा बस्ने होलान्, कस्तो ठाउँ होला भन्ने कौतूहलता नै उनको घुम्ने रहरको एउटा कारण बन्यो।  प्रज्ञा पहिलो पटक ८ कक्षामा पढ्दा उपत्यकाबाहिर देवघाट पुगेकी थिइन्। त्यसपछि एसएलसी सक्नासाथ पोखरा गइन्। उनलाई घरबाट टाढा घुम्न जाँदा निकै रमाइलो महसुस भयो र थप बाहिर घुम्न जाने रहर बढ्यो। कलेज पढेपछि त आफन्त एवं साथीहरूको पछि लागेर घुम्न थालिन्। उनले नेपालका ६५ जिल्ला घुमिसकेकी छिन्। उनले आफ्नो रुचिकै कारण माउन्टेनिङ ट्रेनिङ र रक क्लाइमिङको ट्रेनिङ पनि लिइन्। त्यसपछि उनमा विदेश घुम्ने रहर जाग्यो। पहिलो पटक सन् २००६ मा स्विट्जरल्यान्ड गइन्। त्यतिबेला उनी स्विट्जरल्यान्डबाटै लन्डन, फ्रान्स, बेल्जियम, आयरल्यान्ड आदि नौ वटा देश घुमेर नेपाल फर्किन्। प्रज्ञा त्यहाँको प्रकृति, विकास एवं ट्राफिक नियमबाट प्रभावित भइन्। मिल्ने साथीलगायत आफन्तहरू अमेरिकामा भएकाले उनी अमेरिका हान्निइन्। उनले त्यहाँ ७ दिनमा ७ वटा राज्य घुम्न भ्याइन्। यसरी केही देश घुमेपछि उनमा घुम्ने चाहना बढ्नुका साथै एक्लै भए पनि मज्जाले घुम्न सकिने रहेछ भन्ने आत्मविश्वास जाग्यो ।  कोही नभएको ठाउँमा जाँदा उनी सकभर डाइरेक्ट फ्लाइट छान्छिन्। इटली, स्पेन, आयरल्यान्ड, डेनमार्क, नर्वे, हंगेरी, स्वीडेन, जर्मनी, चेकरिपब्लिक, बैंकक, मलेसिया, कम्बोडिया, सिंगापुर, श्रीलंका, माल्दिभ्स, गि्रस, केन्या, भूटान, दुबई, युगान्डा, कोरिया, अस्ट्रेलिया, इन्डोनेसिया आदि देशमा उनी एक्लै टुरिस्टका रूपमा पुगेकी छिन् ।

अहिलेसम्म घुमेका ठाउँहरूमध्ये कम्बोडियामा भएका ब्रह्मा, विष्णु, महेश्वरका पूर्ण कदका प्रतिमा तथा जंगलबाट प्रज्ञा बढी प्रभावित भइन्। उनका अनुसार नेपालीहरू प्राय: बैंकक, सिंगापुर, मलेसिया, दुबई जान्छन् तर कम्बोडिया, माल्दिभ्स, श्रीलंका, केन्या, गि्रस पनि  एकदम राम्रा गन्तव्य हुन्। घुम्न निस्कदा ठाउँमा भन्दा एम्बेसी, इमिग्रेसनमा बढी समस्या आएको उनको अनुभव छ। युगान्डा र केन्या जाने बेला एयरपोर्टमा ती देश पनि घुम्ने ठाउँ हुन् र ? त्यो पनि एक्लै भनेर धेरै केरकार गरिएको थियो भने अस्टे्रलियन एम्बेसीले त किन विवाह नगरेको, कसरी यी देशहरू घुम्यौ, किन घुमेको जस्ता धेरै प्रश्न गरेर दु:ख दिइएको थियो तैपनि घुम्नै जन्मिएकी प्रज्ञालाई ती कुराले केही फरक पारेन। घुम्नका लागि बेतलबी छुट्टी लिने प्रज्ञाको यो रुचिमा परिवारले पनि कुनै रोक लगाएको छैन। अब उनी ब्राजिल, कैलाश मानसरोवर तथा बाजेले व्यापार गर्ने ल्हासा जाने तयारीमा छिन्।

ख्वाउन पाउँदा रमाउने विमला

हुन त पकाउने कामलाई नै महिलाहरूको विशेष काम मान्ने समाज हामीकहाँ छ। बिहान-बेलुका परिवारका सबै सदस्यलाई दाल, भात र तरकारी बनाएर ख्वाउनु आज पनि हरेक महिलाको कर्तव्य मानिन्छ। संगीत प्रवीण गुरु मोहनप्रसाद जोशीकी जीवनसंगिनी विमला जोशी बिहान-बेलुका घरधन्दामा व्यस्त मात्र भइनन्। २२ वर्षको उमेरमा विवाह भएर घर आएपछि उनको काम पकाउनमै केन्दि्रत भयो। हुन त उनमा सानैदेखि मीठो पकाएर खाने र ख्वाउने रुचि थियो। त्यसमा पनि संगीत गुरु मोहनप्रसाद जोशीसँग वैवाहिक जीवनमा बाँधिएपछि पकाउने र ख्वाउने उनको रुचिले पूर्णता पायो। बिहान सबेरैदेखि उनको घरमा संगीत सिक्ने शिष्य एवं सांगीतिक साथीभाइको भीड लाग्थ्यो। चिया-नास्ता पकाएर ख्वाउँदा नै धेरै समय बित्थ्यो। नि:शुल्क संगीत सिकाउने गुरुकी श्रीमती विमला शिष्यहरूलाई मीठो पकाएर ख्वाउनमै व्यस्त रहन्थिन्। उनले जे पकाए पनि स्वादिलो हुन्छ। पकाउने र ख्वाउने रहरले गर्दा नै कतै होटलमा खान जाँदा कुन परिकारमा के-के राखिएको छ, कसरी बनाइन्छ भन्नेमै आफ्नो ध्यान जाने विमलाले बताइन्।

होटलमा जे खाएर आयो भोलिपल्ट त्यही बनाएर ख्वाउनु उनको विशेषता हो। ख्वाउने रहरले नै उनी खाद्य सामग्री पनि आफै किन्न जान्छिन्। पाटनमा हुँदा त्यहाँ सिक्ने शिष्यहरू आमासँग जस्तै यो खाने भनेर मागेरै खान्थे। अहिले लाजिम्पाटमा पनि गुरुले ७-८ जना बालबालिकालाई विभिन्न बाजा बजाउन सिकाइरहेका छन् भने विमला ती बालबालिकालाई के ख्वाउने भन्ने सोचमा हुन्छिन्। ख्वाउनुपर्ने बाध्यता नभए पनि पकाउने र ख्वाउने रुचिकै कारण होटलमा बन्ने पिज्जा, बर्गर, म:म, चाउमिन, चिकेन रोस्ट, स्पागेडीदेखि मासुका छ्वेला, कचिला, साँधेको, चिल्ली, नेवारी समयबजी, हलुवा, खीर, आलुपुरी, पालकपनीर, गाजरको हलुवा आदि परिकार विमलाको घरमै तयार हुन्छन्। विमला कतिपय परिकार त टिभी, रेडियो तथा पत्रपत्रिकामा हेरेको भरमा पकाउँछिन्। उनी दिनमा कम्तीमा पनि १५ देखि २० जनासम्मलाई पुग्ने खानेकुरा पकाउँछिन्। खानभन्दा ख्वाउन पाउँदा आनन्द मान्ने विमला हरेक दिन केही नयाँ आइटम बनाउने सोचमा  हुन्छिन्।

 Image