Successfully Copied

वर्षका चर्चित महिला

२०७० नेपाली महिलाका लागि केही हर्ष र केही विस्मात्का वर्षका रूपमा रह्यो। निर्वाधरूपमा संविधानसभाको निर्वाचन हुनु

२०७० नेपाली महिलाका लागि केही हर्ष र केही विस्मात्का वर्षका रूपमा रह्यो। निर्वाधरूपमा संविधानसभाको निर्वाचन हुनु वर्षको सबैभन्दा ठूलो घटनाका रूपमा दर्ता भयो। जसले आधा आकाशसहित सम्पूर्ण नेपालीमा आशाको सञ्चार गर्‍यो। त्यही निर्वाचनले पहिलो संविधानसभा जस्तो धेरै महिलालाई निर्वाचित गर्न नसक्दा राजनीतिमा महिलाको सहभागिताको प्रश्नमा कमजोर भइने हो कि भन्ने आशंका पनि गरियो। यद्यपि राजनीतिबाहेक अन्य क्षेत्रमा महिलाले देखाएको उत्साहजनक कर्मले भने महिलाको अवस्था प्रत्येक वर्ष सुधारिँदै गएको आँकलन गरिएको छ। वर्ष २०७० मा महिलाको आयमा गएको वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएको देखिएको छ। त्यसैगरी गएको वर्षभन्दा यो वर्ष महिलाका नाममा धेरै जग्गा पास भएको मालपोत कार्यालयहरूको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। व्यापार-व्यवसायमा लाग्ने एवं वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा पनि वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा महिलाहरूले प्रयोग गर्ने पहिरन, सौन्दर्य सामग्री एवं बिलासिताका साधनमा १३ प्रतिशतले वृद्धि भएको बताइएको छ। यसबाट महिलाहरू आफ्नो खुट्टामा उभिन तथा आफूलाई चाहिने सामग्री आफै खरिद गर्न थालेको अनुमान गर्न सकिन्छ।

यसै क्रममा वर्ष २०७० मा धेरै महिलाले आफूलाई अब्बल नागरिकका रूपमा उभ्याए। यस्ता महिलाको कार्यले समाजको गतिविधि अगाडि बढाउन मद्दत गर्‍यो। यद्यपि समाजका केही सेलिब्रेटीले भने विभिन्न किसिमका विवाद एवं आरोपको पनि सामना गर्नुपर्‍यो।

ईशानी श्रेष्ठ

 यो वर्ष मिस नेपाल ईशानी श्रेष्ठ मिस वल्र्डको फाइनलमा प्रवेश गरिन्। नेपालले मिस वल्र्डमा भाग लिन थालेको १५ वर्षयता कुनै नेपाली युवतीले अन्तिम चरणमा प्रवेश पाएको यो पहिलो घटना थियो। ईशानीले 'ब्युटी विथ अ पर्पज' को उपाधिसहित अन्तिम १० मा प्रवेश गर्ने अवसर पाएकी थिइन्। प्रतियोगितामा १ सय ३० देशका सुन्दरीले भाग लिएका थिए। ईशानीले प्रतियोगितामा भाग लिनुअघि जुम्लामा गएर त्यहाँका बालबालिकाको मुस्कानसम्बन्धी डकुमेन्ट्री बनाएकी थिइन्। उक्त डकुमेन्ट्रीले ईशानीलाई 'ब्युटी विथ अ पर्पज' को उपाधि दिलाएको थियो।  

महिला सभासद

यो वर्ष संविधानसभामा १० जना महिला प्रत्यक्षतर्फ निर्वाचित भए। त्यसरी निर्वाचित हुनेहरूमा नेपाली कांग्रेसबाट ६ जना, नेकपा (एमाले) बाट ३ जना नेकपा एमाओवादीबाट १ जना छन्। नेपाली कांग्रेसका ६ जना सभासदमा सुशीला चौधरी, पार्वती डिसी चौधरी, शारदा पौडेल, सीतादेवी यादव, ज्ञानकुमारी छन्त्याल एवं किरण यादव छन्। त्यसैगरी एमालेबाट सीता गिरी, मञ्जु चौधरी तथा नज्मा खातुन छन्। एमाओवादीबाट एक जना ओनसारी घर्ती मात्र निर्वाचित भएकी छिन्। प्रत्यक्षमा १० जना मात्र सभासद चुनिएर आए पनि समानुपातिकसहित अहिले संविधानसभामा ३० प्रतिशत महिला सभासद छन्। यसअघिको निर्वाचनमा ३३ प्रतिशत महिला सभासद थिए। इन्टर पार्लियामेन्टरी युनियनका अनुसार राजनीतिमा महिलालाई सहभागी गराउने देशमा नेपाल अग्रपंक्तिमा छ। विश्वका २ सय देशमध्ये नेपाल महिलालाई सभासद बनाउने मुलुकहरूमध्ये ३६ औं नम्बरमा पर्छ। नेपाल दक्षिण एसियामा पहिलो स्थानमा छ। अमेरिकाको सदन सिनेटमा १८ प्रतिशत, रुसको निर्वाचित संसद्मा १३ प्रतिशत तथा बेलायतमा २६ प्रतिशत महिला सभासद छन्।

दुई मन्त्री

ऊर्जा मन्त्री राधा ज्ञवालीले वर्ष २०७० मा एकमात्र महिला मन्त्रीका रूपमा इतिहास बनाइन्। भारतको आसाममा जन्मिएकी ज्ञवालीले त्यहीँबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी हुन्। २०३२ सालदेखि राजनीतिमा सक्रिय ज्ञवाली संविधानसभा मस्यौदा समितिकी सदस्य पनि थिइन्। एमालेकी केन्द्रीय एवं वैदेशिक सम्बन्ध सदस्य ज्ञवाली २०४८ सालको संसदीय निर्वाचनमा रुपन्देही-४ बाट उम्मेदवार थिइन्। संविधानसभा विघटनअघि जम्मा १२ दिनका लागि ऊर्जा मन्त्री भएकी ज्ञवालीलाई एमाओवादीसँगको विवादका कारण पार्टीले राजीनामा गर्न निर्देशन दिएको थियो।

यो वर्ष मन्त्री हुने अर्की भाग्यमानी हुन्, शिक्षा मन्त्री चित्रलेखा यादव। यसअघि उप-सभामुख भैसकेकी यादवले ०६२-६३ सालको आन्दोलनअघि सडकमा सञ्चालित प्रतिनिधिसभाको बैठकमा सभामुखको भूमिका निर्वाह गरेर चर्चा कमाएकी थिइन्। यादव नेपाली कांग्रेसकी पढेलेखेकी एवं मधेसी समुदायकी नेतृका रूपमा चर्चित छिन्। यसपटक भने मन्त्री भएको केही दिनमै पाठ्यपुस्तक छपाईका विषयमा सदनलाई ढाँटेको भन्दै युवा सभासदहरूले उनको विरोध गरिरहेका छन्।

भाग्यमानी उप-सभामुख

यो वर्षकी भाग्यमानी राजनीतिकर्मी ओनसरी घर्ती पनि हुन्। एमाओवादीका तर्फ एक मात्र महिला प्रत्यक्षतर्फ निर्वाचित हुनु, एमाओवादीले उप-सभामुख पाउनु र सबैले महिलालाई नै संविधानसभाको उपाध्यक्ष बनाउनुपर्छ भन्ने आवाज उठाउनुको परिणामस्वरूप घर्ती संविधानसभाको उप-सभामुख भएकी हुन्। माओवादीले संचालन गरेको १० वर्षे सशस्त्र युद्धमा घर्ती प्रथम महिला बटालियन कमिसार थिइन्। ओनसरी एमाओवादी नेता वर्षमान पुनकी श्रीमती हुन् र उनी अहिले ३६ वर्षकी भइन्।

शक्ति समूह

आफन्तद्वारा भारतका विभिन्न सहरमा बेचिएका चेलीहरूले खोलेको संस्था 'शक्ति समूह' ले यो वर्ष एसियाको नोबेल पुरस्कार मानिने म्यागसासे पुरस्कार प्राप्त गर्‍यो। चेलिबेटी बेचबिखन रोक्न उक्त समूहले १५ वर्षअघि शक्ति समूह खोलेको थियो। यो डेढ दशकमा उक्त समूहले ६ सय ७० जना बेचिएका चेलीको उद्धार गरी विभिन्न स्थानमा आश्रय दिइरहेको छ। फिलिपिन्सका पूर्वराष्ट्रपति रामोन म्यागासासेको सम्मानमा स्थापित उक्त पुरस्कार एसियामा मानव समाजका लागि उत्कृष्ट कार्य गर्ने व्यक्ति एवं संस्थालाई प्रदान गरिन्छ। यसअघि शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङले अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनबाट त्यहाँको विशिष्ट सम्मान प्राप्त गरेकी थिइन्।

झमक घिमिरे

साहित्यकार झमक घिमिरे यो वर्ष पनि चर्चामा रहिन्। चार वर्षअघि मदन पुरस्कार पाएर वर्षकी चर्चित महिलामा परेकी घिमिरे यसपटक कान्तिपुर पब्लिकेसन्सले गरेको पाठक सर्वेक्षणमा उत्कृष्ट साहित्यकार घोषित भइन्। वर्षका चर्चित दस साहित्यकारमध्ये फेसबुक प्रयोगकर्ताहरूले घिमिरेलाई सर्वाधिक मत दिएर उत्कृष्ट नेपाली साहित्यकार छानेका हुन्। करिब आधा दर्जन कृतिकी लेखिका घिमिरेको 'जीवन काँढा कि फूल' निकै रुचाइएको आत्मकथात्मक पुस्तक हो।

रिगम राई

वर्ष २०७० मा अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचान बनाउने काम रिगम राईले गरिन्। हङकङ तथा बेलायतमा नेपाली महिलालाई अझै पनि रेस्टुराँ वर्करका रूपमा चिनिन्छ। रिगम राईले भने उक्त परम्परा तोड्दै हङकङस्थित न्यायालयको स्थायी सोलिसिटर (अधिवक्ता) को उपाधि हात पारेकी छिन्। हङकङमा उच्च न्यायालयमा बहस गर्नुलाई चुनौती मात्र होइन, अत्यधिक सम्मानित पेसा मानिन्छ। काठमाडौंबाट प्लस टु सकेकी धरानकी निगमले सिटी कलेजबाट कानुनमा स्नातक गरेपछि स्थानीय यियोङ एण्ड कम्पनीमा दुई वर्ष प्राक्टिस गरेकी थिइन्।

रेडियो मुक्ति र रेडियो दिदी-बहिनी

पत्रकारिताको माध्यमबाट देशलाई योगदान दिएबापत यो वर्ष रेडियो मुक्ति र रेडियो दिदी-बहिनीले राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरे। महिला समूहद्वारा सञ्चालन भएका ती दुवै रेडियाकमा अधिकांश पत्रकार महिला छन्। प्राविधिक एवं आर्थिक योगदान पनि महिलाकै हातमा छ। रेडियो मुक्ति बुटवल तथा रेडियो दिदी-बहिनी पर्वतमा सञ्चालन भैरहेको छ। देशभरिका रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामध्येबाट महिलाबाट मात्र सञ्चालन भएर राष्ट्रियस्तरमा योगदान गरेको भन्दै यी दुई रेडियोलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। यो पत्रकारिता क्षेत्रमा नेपाल सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो पुरस्कार हो।

इन्दिरा राना मगर

वर्ष २०७० मा अन्तर्राष्ट्रिय सम्मान पाउनेमा समाजसेवी इन्दिरा राना मगर पनि छिन्। इन्दिराले बालबालिकाको क्षेत्रमा काम गरेवापत वल्र्ड चिल्ड्रेन पुरस्कार हात पारेकी हुन्। स्विडेनले प्रदान गर्ने उक्त पुरस्कारको राशि १ लाख अमेरिकी डलर छ। रानामगरले उक्त पुरस्कार १ सय ८ देशका करिब ६० हजार विद्यालयले दिएको मतबाट प्राप्त गरेकी हुन्। झापा शनिश्चरेको एउटा गरिब परिवारमा जन्मिएकी इन्दिराले ११ वर्षको उमेरमा अक्षर चिनेकी थिइन्। एसएलसी उतीर्ण भएपछि इन्दिराले काठमाडौंको टाँक कम्पनीमा काम गर्दै स्नातकसम्म अध्ययन गरिन्। साहित्यकार पारिजातको प्रेरणाबाट बालबालिकाको संगत गर्न थालेकी इन्दिराले अन्ततः दुःखी बालबालिकाको सेवामै आफूलाई समर्पित गरिन्। १५ वर्षअघि जेलमा रहेका बालबालिकाको स्याहार गर्न प्रिजनर्स एसिस्टेन्स नेपाल नामक संस्था खोलेर काम सुरु गरेपछि उनी अन्तर्राष्ट्रिय स्तरमा परिचित हुन थालेकी थिइन्। इन्दिराले अहिलेसम्म ४ सय बालबालिकाको उद्धार गरि उनीहरूलाई शिक्षा प्रदान गरिसकेकी छिन्।

दीपाश्री निरौला

नेपालमा वाषिर्क १ सय २० वटा चलचित्र बन्छन्। तीमध्ये एक प्रतिशत चलचित्रले मात्र लगानी उठाउँछन्। दीपाश्री निरौला त्यस्ती भाग्यमानी निर्माता बनिन्, जसले बनाएको चलचित्र वर्ष २०७० कै सर्वाधिक हिट चलचित्र बन्न पुग्यो। २० वर्षदेखि अभिनयमा रमेकी एवं तीतो सत्यमार्फत चर्चित हास्यकलाकारको छवि बनाएकी दीपाले नयाँ वर्षमा अर्को चलचित्र बनाउने घोषणा गरेकी छिन्।

दीपा र सम्झना

दीपाश्री निरौला सफल निर्माता भए पनि अर्की दीपा सफल निर्देशक बन्न सकिनन्। नयाँ महिला निर्देशकका रूपमा चलचित्र 'अन्तराल' निर्देशन गरेकी दीपा बस्नेतको चलचित्र राम्रो हुँदाहुँदै पनि व्यावसायिक रूपमा सफल हुन सकेन। यद्यपि उनको कामको प्रशंसा गर्दै उनीसँग काम गर्न थुप्रै निर्माता पछि लागे। वर्षको अन्त्यतिर उनी श्री ५ अम्बरेमा व्यस्त छिन्। यसै वर्ष एक छोराकी आमा भएकी दीपा बस्नेत काखमा छोरा लिँदै, सुटिङ स्पटमा बच्चालाई दूध ख्वाउँदै चलचित्र निर्देशन गरेको रमाइलो दृश्य सञ्चारमाध्यममा देखियो।

त्यसो त यो वर्ष अर्की महिला निर्देशक सम्झना उप्रेती रौनियार पनि चर्चामा आइन्। यद्यपि ७५ लाख रुपैंयाँ लगानी भएको उनको चलचित्र 'मेघा' लाई लगानी उठाउन गाह्रो भयो । सहरी क्षेत्रको कथामा बनेका कारण उक्त चलचित्र काठमाडौंका केही मल्टिप्लेक्समा मात्र चल्यो।

रेखा र गरिमा

वर्ष २०७० मा दुई नायिका चर्चामा रहे। त्यसमध्ये सधैं चर्चामा रहने रेखा थापा यो वर्ष पनि चर्चामा आइन्। उनी यसै वर्ष विधिवत्रूपमा नेकपा एमाओवादीमा प्रवेश गरिन्। एमाओवादीले उनलाई पर्साबाट टिकट दिने निर्णय गरे पनि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटाउँदा उनी उम्मेदवार हुन पाइनन्। संविधानसभामा एमाओवादीले नराम्रोसँग पराजय भोगेपछि उनले आफूलाई 'भाग्यमानी' भनेर टिप्पणी पनि गरिन्। यसै वर्ष रेखा चार जना राउटे बच्चा पाल्ने घोषणा गरेर पनि चर्चामा आइन्। उनले पाल्ने बच्चासँग खिचाएको तस्बिर वर्षकै चर्चित तस्बिरमध्ये एक रह्यो। त्यति मात्र होइन यो वर्ष पनि उनको चलचित्र हिट भयो। चलचित्र कालीले यो वर्ष आफ्नो लगानी उठाएर केही पैसा कमाएको उनको दाबी थियो। नेपाली चलचित्रमा पैसा उठाउने चलचित्रलाई हिटको लिस्टमा राख्ने चलन छ।

यही वर्ष सतीप्रथामा आधारित चलचित्र झोलाकी नायिका गरिमा पन्त आफ्नो अभिनयका कारण चर्चित भइन्। सय वर्षअघिको कथालाई पूर्णरूपमा न्याय गरेकी गरिमा नयाँ वर्षको सुरुवातसँगै तीनवटा चलचित्रमा अनुबन्ध भैसकेकी छिन्। उनलाई विभिन्न संघसंस्थाले पुरस्कार एवं सम्मान गरिरहेका छन्। झोलाबाट उनी विभिन्न अवार्डमा उत्कृष्ट नायिकाको मनोनयनमा परेकी छिन्।

रजनी रिमाल

यो वर्ष संगीतमा रजनी रिमालको वर्चश्व रह्यो। रजनीले गाएको 'पानीको थोपा जस्तो फुट्यो हाम्रो माया' वर्षको सबैभन्दा बढि सुनिएको,  डाउनलोड भएको एवं पुरस्कृत भएको गीत बन्न पुग्यो। यहि गीतले देशभरिका सबैजसो एफएमले प्रदान गर्ने अवार्ड पनि हात पार्‍यो। ११ वर्षको उमेरदेखि गीत गाउन थालेकी रजनी दुई वर्षयता चर्चामा आउन थालेकी हुन्। अहिले रजनीको स्वर नेपाली चलचित्रका लागि पनि अनिवार्य जस्तै भएको छ। अहिलेसम्म ६ सय गीत रेकर्ड गराइसकेकी रजनीले गएको दुई वर्षमा मात्र करिब ३ सय गीत रेकर्ड गराएकी छिन्।

सरस्वती चौधरी

वर्ष २०७० को सुरुदेखि नै भलिबलमा नयाँ खेलाडीको दबदबा देखिन थाल्यो। सरस्वती चौधरी यो वर्ष भलिबलमा यसरी उदय भइन् कि यसअघि चर्चामा रहेकी सिपोरा गुरुङको चर्चा पनि ओझेलमा पर्न थाल्यो। पोखराबाट भलिबल खेल्न थालेकी चौधरीको खेलका कारण उनलाई सशस्त्र प्रहरी बलले आफ्नो टिममा राखेको थियो। चौधरी फिस्टेल उच्च माविबाट भलिबल खेल्न थालेकी हुन्।

तारादेवी पुन

यो वर्ष भारत्तोलनकी खेलाडी तारादेवी पुनले तीन वटा राष्ट्रिय रेकर्ड बनाएर सबैलाई छक्क पारिन्। वर्ष २०७० मा थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय भारत्तोलनमा उनले तीन वटा राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन्। महिलाहरू कोमल एवं शारीरिक रूपमा कमजोर हुन्छन् भन्ने भनाइलाई गलत साबित गर्दै भार क्षमतामा आधारित खेलमा उनले रेकर्ड बनाएकी हुन्। गत वर्ष उनलाई पल्सर स्पोटर््स अवार्डले पनि सम्मानित गरियो।

केशरी चौधरी

वर्ष २०७० मा सयौं खेलाडीलाई उछिन्दै एथलेटिक्सकी केशरी चौधरीले राष्ट्रिय रेकर्ड बनाइन्। उनले राष्ट्रिय एथलेटिक्सको महिला १ सय मिटर हर्डल्स १५ दशमलब ९ सेकेन्डमा पूरा गरेर उक्त रेकर्ड बनाएकी हुन्। केशरीले प्रत्येक वर्ष नयाँ-नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै आएकी छिन्। केशरीको नाममा हाइजम्प, लङजम्प, टि्रपल जम्पका फरक-फरक राष्ट्रिय रेकर्ड छन्। केशरी २२ वर्षकी भइन्। एकै खालका तीनभन्दा बढी खेलमा भाग लिन नपाउने नियमका कारण उनले अन्य खेलमा भाग लिन पाएकी छैनन्। उनी वाइवाइ चाउचाउकी ब्रान्ड एम्बेस्डर पनि हुन्। केशरी नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने लोकप्रिय खेलाडीको सूचीमा पनि परेकी थिइन्। बर्दिया घर भएकी केशरीको प्रतिभा देखेर नेपालगञ्जको एउटा निजी विद्यालयले उनलाई निःशुल्क पठाएको थियो।

महिला क्रिकेटर

वर्ष २०७० ले विश्वमा नेपाली क्रिकेटको सम्भावनालाई बाहिर ल्यायो। महिला टोलीले भने घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै सुन्दर भविष्यको संकेत गरे। गएको वर्ष भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार मात्र भएनन्, विभिन्न राष्ट्रिय रेकर्ड पनि कायम भए। नेपाली राष्ट्रिय टिमकी कप्तानले मात्र होइन, अन्य खेलाडीहरूले पनि विभिन्न किसिमका उपाधि चुमे। अञ्जली चन्द र रेखा रावलले पहिलो शतक प्रहार गरे। शतक बनाउने खेलाडीहरूमा कप्तान नेरी थापा एवं नोरा राजोपाध्याय पनि छन्। यसपटकको क्रिकेटमा महिला खेलाडीले यसअघि बनाउन नसकेको हाइ स्कोर पनि बनाए। नेपाल राष्ट्रिय टिमकी कप्तान नेरी थापा उत्कृष्ट क्रिकेट खेलाडी घोषित भइन्।

विवादमा

दिलशोभा श्रेष्ठ

समाजसेवामा निकै राम्रो नाम कमाएकी दिलशोभा श्रेष्ठ वर्ष २०७० मा विवादमा परिन्। उनीमाथि दर्ता नगरी संस्था चलाएको, बालबालिका एवं ज्येष्ठ नागरिकलाई राख्ने कोठा एवं खाना फोहोर भएको, उनको आश्रयमा काम गर्ने वृद्धाहरूलाई अरूको घरमा काम गर्न पठाएको जस्ता आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा मुद्दा गर्दा भयो। उक्त मुद्दाका कारण एक दैनिकले उनको आश्रयमा रहेका महिलामाथि यौन शोषण हुन सक्ने आशंकाको समाचार सम्प्रेषण गरेपछि त्यसले ठूलो हलचल मच्चायो। पूरै समाज दिलशोभाको पक्ष र विपक्षमा बाँडियो। बाल कल्याण समितिले उनको आश्रयमा रहेका बालबालिकाको उद्धार गरेपछि उनीमाथि लागेका केही आरोप सत्य भएको देखियो भने यौनशोषणको आरोप भने प्रमाणित हुन सकेन।

मायाकुमारी शर्मा

एकीकृत माओवादीको कोटामा कतारका लागि राजदूत नियुक्त भएकी मायाकुमारी शर्मा गएको वर्ष सबैभन्दा धेरै विवादमा आउने महिला बनिन्। उनले कतारमा दुःख पाएका नेपालीहरूलाई सहयोग नगरेको, कतार नेपालीहरूका लागि सार्वजनिक जेल भएको जस्ता कुरा सार्वजनिक गरेर कूटनीतिक मर्यादा समेत कुल्चिइन् । उनले राजदूत पद पनि गुमाउनुपर्‍यो। बीबीसीको साझा सवालमा आफ्ना धारणा व्यक्त गरेपछि उनको सार्वजनिक आलोचना सुरु भएको थियो। उनको विषयमा नेपालमा मात्र होइन, पश्चिमा राष्ट्रहरूले पनि समाचार बनाएका थिए। राजदूत बन्न पाउने थोरै भाग्यमानी नेपाली महिलामध्येकी मायाकुमारी अन्ततः आफ्नै कारण पछि मात्र परिनन् कतारको विदेश विभागले समेत उनलाई आफ्नो गतिविधि सुधार्न आग्रह गरेको थियो। 

 Image