Successfully Copied

ह्याङ्गिङ बगैंचाका लागि फूल

ह्याङ्गिङ बिरुवा अथवा गमलामा झुन्ड्याएर रोपिएका बिरुवाले मानिसको बगैंचा पे्रम पूरा गर्नुका साथै घर पनि सुन्दर बनाउँछ।

ह्याङ्गिङ बिरुवा अथवा गमलामा झुन्ड्याएर रोपिएका बिरुवाले मानिसको बगैंचा पे्रम पूरा गर्नुका साथै घर पनि सुन्दर बनाउँछ। साना तथा लहरायुक्त बिरुवालाई ह्याङ्गिङ बास्केटमा राखेर ह्याङ्गिङ प्लान्टका रूपमा प्रयोग गर्न सकिन्छ तर यसमा पनि कति बिरुवा ह्याङ्गिङ बास्केटका लागि नै छन् जसले ह्याङ्गिङ बास्केटको शोभा बढाउनुका साथै घरलाई थप आकर्षक बनाउँछन्। बास्केटमा फुलेका फूल देखेर मोहित नहुने सायदै कोही होलान्।

ह्याङ्गिङ बास्केटका लागि उपयुक्त केही फूल

इंग्लिस इभी

यो बिरुवाको पात गाढा नीलो तथा चम्किलो हुन्छ। यसको जराले हल्का चिसो मन पराउँछ भने यसमा धेरै पानी पनि हाल्नु हुँदैन। यसलाई हल्का छाया पर्ने स्थानमा राख्नु उपयुक्त हुन्छ। यसमा ढुसी लाग्ने सम्भावना हुन्छ। यसका लागि बिरुवा माथिबाट पानी हान्नुभन्दा जरामा मात्र पानी हाल्नुपर्छ।

पिटुनिया

सम्भवतः ह्याङ्गिङ गार्डेनका लागि सबैभन्दा बढी प्रयोगमा आउने बिरुवा हो पिटुनिया। चिसो मौसममा सजिलै फुल्ने यो बिरुवाले आफूलाई हरेक प्रकारको वातावरण अनुकूल बनाउँछ। सूर्यको किरणमा यो फूल अझ बढी सुन्दर देखिन्छ भने माटो सुख्खा भए यसको बिरुवा मरेर जान्छ। त्यसैले यसलाई समय-समयमा पानी दिनुपर्छ। यो फूल विभिन्न रंगमा उपलब्ध छ।

मोस रोज

सूर्यको पूर्ण किरणमा होस् अथवा हल्का छायामै किन नहोस् मोस रोजलाई ह्याङ्गिङ बास्केटका लागि उपयुक्त फूल मानिन्छ। यसका विभिन्न खालका जाति छन् जसको रंग गुलाबीदेखि हल्का बैजनी तथा सुन्तला रंगसम्म हुन्छ। यसमा रुचिअनुसार डबल पत्र भएका फूलसमेत रोज्न सकिन्छ। यो फूलमा दिनहुँ पानी हाल्नु राम्रो हुन्छ। यसको माटोको माथिल्लो भाग सुख्खा हुन थालेपछि मात्र पानी हाल्नुपर्छ।

भरबेना

ह्याङ्गिङ बास्केटका लागि भरबेना उत्कृष्ट रोजाइ हुनसक्छ। पूर्णरूपमा घाम तथा सूर्यको ताप सहन सक्ने क्षमता भएका कारण यो फूललाई जस्तौसुकै स्थानमा राख्न सकिन्छ। राम्रोसँग हेरचाह गर्दै नियमित पानी तथा मल दिए यो फूल बाह्रै महिना फुल्छ। यसका सेता, राता एवं गुलाबी आदि रंग नर्सरीमा उपलब्ध हुन्छन्।

बेगोनिया

बिरुवा एवं फूल पनि सानो हुने हुँदा यसलाई उमार्न तथा हेरचाह गर्न कठिन जस्तो लागे पनि वास्तविकता त्यसभन्दा फरक हुन्छ अर्थात् सजिलो छ। यसका विभिन्न प्रजाति नर्सरीमा सजिलै उपलब्ध हुन्छन्। ह्याङ्गिङ बास्केटका लागि उपयुक्त विविध जातका बेगोनिया नर्सरीमा सजिलै पाइन्छ। घामको पूर्ण किरणमा पनि यो सजिलै फस्टाउन सक्छ। यसको पातमा घाम सहन सक्ने क्षमता हुन्छ। राम्रोसँग पानी र मल दिए यो फूल बाह्रै महिना फुल्छ।

स्पाइडर प्लान्ट

ह्याङ्गिङ बास्केटका लागि स्पाइन्डर प्लान्ट हरेक समयका लागि उपयुक्त मानिन्छ। हल्का छाया आवश्यक पर्ने यो बिरुवाको पात लामो, पातलो तथा चुच्चो हुन्छ। यो फूललाई समय-समयमा मल एवं पानी दिइरहनुपर्छ।

मिलियन बेल्स

यो बिरुवा सूर्यको सीधा प्रकाशमा राम्राेसँग फस्टाउँछ। यो फूल जाडो महिनाभरि रहन्छ। ३ देखि १२ इन्च अग्लो तथा २ फिटसम्म फैलने यो बिरुवालाई उचित हेरचाह गरे नामजस्तै यसले मिलियन बेल्स दिन्छ। यो बिरुवाको रंग उज्यालो हरियोमा ओभल सेपयुक्त हुन्छ। रातो, पहेंलो, नीलो आदि विविध रंगमा उपलब्ध हुने यो फूल ह्याङ्गिङ बास्केटमा राख्दा सुन्दर देखिन्छ। फूल फुल्ने समयमा दुई हप्ताको फरकमा मल हाल्नु राम्रो हुन्छ। 

 Image