Successfully Copied

महिला सहभागिता अझ बढाइयोस्

नेपाली महिलाहरू पुरुषको तुलनामा पछाडि नै छन्। यसो हुनुमा राज्यका हरेक क्षेत्रमा महिलाहरूको सहभागिता न्यून रहनु नै हो। हुन त पछिल्लो समयमा यसमा केही सकारात्मक एवं आशालाग्दा कार्यहरू पनि भएको पाइएको छ तर त्यो पर्याप्त हुन सकेको छैन।

नेपाली महिलाहरू पुरुषको तुलनामा पछाडि नै छन्। यसो हुनुमा राज्यका हरेक क्षेत्रमा महिलाहरूको सहभागिता न्यून रहनु नै हो। हुन त पछिल्लो समयमा यसमा केही सकारात्मक एवं आशालाग्दा कार्यहरू पनि भएको पाइएको छ तर त्यो पर्याप्त हुन सकेको छैन। जबसम्म महिलाहरूलाई आर्थिक क्रियाकलापमा समान रूपमा सहभागी गराइँदैन तबसम्म देशको अवस्था सुधार हुँदैन। आधाभन्दा बढी जनसंख्यालाई किनारा गरेर वा पछाडि पारेर राज्यले चाहेजस्तो निकास कुनै पनि हालतमा निकाल्न सकिँदैन। महिलालाई बेवास्ता गरेर बनाइने विकासका योजना अपरिपक्व एवं त्रुटिपूर्ण हुन्छन् जब कि महिलालाई पूर्णरूपमा समायोजन गरिएको विकास योजना तयार पार्न सके शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आर्थिक विकासका विविध पक्षबाट पर्याप्त लाभ लिन सकिन्छ। यद्यपि नेपाली पुरुष मानसिकतामा खासै ठूलो परिवर्तन आउन सकेको छैन भने महिलाहरू पनि त्यस्तो मानसिकताबाट मुक्त हुन सकिरहेका छैनन्। पुरुषको आडबिना आफूले केही गर्न सकिँदैन कि भन्ने सोच अधिकांश महिलामा पाइन्छ। फलतः महिलाहरू संवैधानिक एवं कानुनी अधिकारबाट वञ्चित हुनु परिरहेको छ। परम्परा, धर्म, संस्कृति तथा अन्य विविध बहानामा महिलामाथि अत्याचार भैरहेको छ। शिक्षित महिलाहरू समेत शारीरिक एवं मानसिक उत्पीडनको सिकार भैरहेका छन् तर त्यसविरुद्ध ठोस कदम चाल्ने काम राज्यका कुनै पनि संयन्त्रबाट भएको देखिँदैन। समस्याको मूल जरो नै समान सहभागिताको अभाव हो। त्यसको निराकरण गरेर महिलाहरूको अवस्था माथि उठाउन सके मात्र देश विकासको लक्ष्य अवश्य पूरा हुनेछ।

      - समीक्षा अधिकारी, चितवन

मलाला प्रेरणादायी छिन्

गतांकको नारीमा पाकिस्तानकी युवा अभियानकर्ता मलाला युसुफजाईका बारेमा पढ्न पाउँदा निकै खुसी लाग्यो। उनको संघर्ष प्रेरणादायी छ। विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका सबैभन्दा प्रभावकारी ५ सय व्यक्तिको सूचीमा स्थान बनाउन सफल मलालाले 'नेसनल मलाला पिस प्राइज'  तथा 'साखारोभ प्राइज' पाइन् भने 'इन्टरनेसनल चिल्ड्रेन्स पिस प्राइज' र ख्यातिप्राप्त 'नोबल पिस प्राइज' मा पनि मनोनीत भइन्। सन् २०१३ को १२ जुलाईमा आफ्नो १६ औं जन्मदिनमा मलालाले राष्ट्रसंघको महासभालाई सम्बोधन गरिन्। राष्ट्रसंघले उक्त दिनलाई 'मलाला डे (मलाला दिवस)' नामकरण गर्‍यो। राष्ट्रसंघका महासचिव बान की मुनले आफ्नो सम्बोधनमा मलालालाई 'आवर हिरो (हाम्रो नायक)' भनेका थिए। यसरी मुलुक, क्षेत्र, जाति, समुदाय, धर्म र नागरिकताको विभाजनबाट धेरै माथि उठिसकेकी मलाला आफ्ना कार्यबाट स्वनामधन्य भएकी छिन्। महिला शिक्षा, समानता र अधिकारका विरोधीहरूले टाउकोमा गोली हाने पनि बाँचेकी मलालाको संघर्ष निरन्तर जारी छ। तालिवानले उनलाई अझै पनि हत्याको धम्की दिन छाडेको छैन। यति हुँदाहुँदै पनि आफ्नो कार्यमा अडिग मलाला संघर्षकी पर्याय हुन्। उनीबाट नेपाली नारीहरूले पनि प्रेरणा लिनु आवश्यक छ।

      - सुनीता थापा, सीतापाइला

मनोरञ्जन बढाउनुपर्‍यो

नारीलाई सूचना एवं मनोरञ्जक पत्रिका भनिएको छ। यसमा पाइने सूचना उपयोगी छन् र ठीक पनि छन् तर मनोरञ्जक समाचार भने निकै कम छन्। मनोरञ्जन समाचारमा पनि संगीत र चलचित्रका एक-दुई टुक्रा मात्र हुन्छन्। मेरो विचारमा नेपाली, हिन्दी, अंग्रेजी, कोरियन चलचित्र, संगीत, कला तथा साहित्यलाई जोडेर एउटा प्याकेज बनाए नारी अझ मनोरञ्जक हुने थियो। महिला सेलिब्रेटी मात्र नभै महिलालाई मनपर्ने पुरुष सेलिब्रेटीको समाचार बढी राख्न सके प्रभावकारी हुन्थ्यो। मेरो विचारमा महिला सेलिब्रेटी पुरुषलाई मन पर्छन् भने पुरुष सेलिब्रेटीहरू महिलालाई मन पर्छन् तसर्थ पुरुष सेलिब्रेटीका बारेमा पनि पर्याप्त जानकारी दिइयोस्। महिला प्रधान पत्रिका भन्दैमा महिलाका मात्र कुरा राख्नुपर्छ र ?

      - दिव्या, विराटनगर

नारीको एक युग  

म नियमित रूपमा नारी पढ्छु। महिलाका लागि निकै उपयोगी यो पत्रिकाले एक युग पार गरिसकेको छ। यस दौरान नारीमा कतिपय नयाँ स्तम्भ थपिएका छन् जुन प्रशंसनीय छ। यसरी आफूलाई समयअनुरूप परिवर्तन गराउँदै जानु नारीको महत्वपूर्ण काम हो। यसबाट के देखिन्छ भने नारी सधैं पाठकको अपेक्षाअनुरूप चल्छ। यो अझ राम्रो हुँदै जानुपर्छ। नारीले महिलाका पक्षमा आवाज उठाउन पनि कन्जुस्याइँ गर्नु हुँदैन। नारी एउटी महिलाका लागि सम्पूर्ण खुराक समेटिएको प्याकेजका रूपमा आउनुपर्छ। नारीले पृष्ठ संख्या तथा  मूल्य वृद्धि गरेर भए पनि बढीभन्दा बढी क्षेत्रसँग सम्बन्धित पठनीय विषय समेट्नुपर्छ। नेपाली नारीको प्रतिनिधिमूलक पत्रिका भएकाले यसको जिम्मेवारी पनि ठूलो छ।

      - योगिता लम्साल, बत्तीसपुतली

एसएमएस

गतांकको नारी पहिरनमा मोडल अनुप विक्रम शाहीको नाम अनुपजंग राणा भएको रहेछ। नारीले यसमा लापरबाही गरेको हो कि ?

      - कीर्ति प्रधान, असन

गएको अंक नारीको कभरमा प्रकाशित अकेशा विष्टको तस्बिर निकै आकर्षक लाग्यो।

      - शर्मिला पुडासैनी, डिल्लीबजार

सबै वादी महिलालाई एकल महिलाभित्र राख्न मिल्ला र ? (एकल महिला र अधिकार, फागुन नारी) ।

      - विनीता वाग्ले, थानकोट

करिअर त चुनौतीपूर्ण नै रोज्नुपर्छ, अनि पो जीवनको वास्तविक स्वाद पाइन्छ। (कस्तो रोज्ने करिअर ? फागुन नारी)

      - वैशाली गुरुङ, महाराजगञ्ज

बालमैत्री शिक्षाका नाममा फस्टाएको व्यापारलाई निरुत्साहित गर्ने हो भने राम्रा काम गर्नेहरूको मनोबल बढ्थ्यो कि ? (बालमैत्री शिक्षा, फागुन नारी)

      - सजना गिरी, सातदोबाटो

विवाहजस्तो गम्भीर कुरा अभिभावकको सल्लाह र सुझावमै गरेको राम्रो। (कस्तो जीवनसाथी रोज्ने ? माघ, नारी)

      - पार्वती बस्नेत, बानियाँटार

आकर्षक शरीर मात्र सौन्दर्यको मापदण्ड हो र ? (सदाबहार सुन्दरी, फागुन नारी)

      - गीता भुजेल, गोरखा

सकारात्मक सोचले नै तन-मन सुन्दर हुन्छ भन्ने कुरा नारीको 'सदाबहार सुन्दरी' पढेपछि सत्य लाग्यो।

      - रुकु उप्रेती, कोटेश्वर

विविध विषयसँग सम्बन्धित नारी टिप्स निकै उपयोगी छ।

      - पूर्णिमा गौतम, भक्तपुर

फागुनको नारीमा प्रकाशित कथा 'सुन्तली' ले मन छोयो।

      - सविता नगरकोटी, नेपालटार

 Image