पाकिस्तानकी युवा अभियानकर्ता मलाला युसुफजाईले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सबैभन्दा प्रभावकारी ५ सय व्यक्तिको सूचीमा स्थान बनाएकी छिन्। विशेषज्ञ प्रकाशक डेब्रेट् तथा द सन्डे टाइम्स न्यूजपेपरले जनबरीको अन्तिम साता उक्त घोषणा गरेका हुन्।
हुन त सन् २०१३ मा वर्षभरि मलालाको कुनै न कुनै मञ्चमा सम्मान भैरह्यो। सन् २०१४ को सुरुवातमै त्यो उनको ठूलो कदर हो। उनले 'नेसनल पिस प्राइज' र 'साखारोभ प्राइज' पनि पाइन्। 'इन्टरनेसनल चिल्ड्रेन्स पिस प्राइज' र ख्यातिप्राप्त 'नोबल पिस प्राइज' मा पनि उनको नाम अघि सारियो। यो विकट होस् वा निकट, विश्वको कुनै कुनामा बसेर कसैले पनि गरेको उत्कृष्ट कार्यले भौगोलिक सीमा नाघेर पूरा विश्वलाई प्रेरित गर्दो रहेछ भन्ने ठूलो उदाहरण हो।
प्रायःजसो शिक्षित र चेतनशील समाजमा आफूजस्तैलाई लिएर अघि बढ्नुपर्छ भनेर सिकाउने मातापिता कमै हुन्छन्। मलालाका मातापिता पनि त्यस्तै औंलामा गन्न सकिने समाजका हितैषी सदस्य थिए, जसले छोरीलाई आफ्ना लागि मात्र नभएर पूरा समुदायको शिक्षा एवं अधिकारका लागि लड्न सिकाए। यही सुन्दर संस्कारले पाकिस्तानको स्वात घाँटीको कुनै एक गाउँमा गरेको फरक कार्यले उनलाई अहिले विश्वकै छोरी बनाएको छ। उनी मुलुक, क्षेत्र, जाति, समुदाय, धर्म एवं नागरिकताको विभाजनबाट धेरै माथि उठिन्। अहिले मलालालाई सबैले धर्म वा जातका कारणले नभएर कामले चिन्छन्।
संसारका हस्तीहरू अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन तथा राष्ट्रसंघका महासचिव बान की मूनजस्ता व्यक्तित्वलाई भेट्नु चानचुने काम मानिँदैन। मलालाले भने उनीहरूसँग अन्तर्राष्ट्रिय मञ्चहरूमा सँगै बसिन् र सम्बोधन गरिन्। उनले गत वर्ष मात्र राष्ट्रसंघको महासभालाई सम्बोधन गरेकी थिइन्। उनले उक्त अवसरमा विश्वका बालबालिकाले पढ्न पाउनुपर्ने भनी दिएको भाषण विश्वचर्चित भएको थियो।
मलालाले ती शक्तिशाली व्यक्ति र उनीहरूका परिवारजनसँग एउटै टेबलमा बसेर खाना खाइन्। यो सब कुनै उच्च जाति, धनी र धेरै पढेलेेखेकी भएर सम्भव भएको होइन। उनको उच्च र फरक सोचले यो सब सम्भव भयो। कसैले ठीकै भनेका छन्, 'शारीरिक सौन्दर्य, आकर्षक पहिरन, अथाह सम्पत्ति र महलको बासले नभएर मानसिक सौन्दर्य अर्थात् राम्रो सोचले मानिसलाई फरक बनाउँछ।'
उच्च नियतले कार्य सुरु गर्दा उनले पनि यति ठूलो ख्याति पाइएला भन्ने कल्पना गरेकी थिइनन्। उनले त ठूलो कदर र धेरै धनराशिको पुरस्कारको चाहना नराखी मनैदेखि बालबालिकाको शिक्षा एवं अधिकारका लागि आवाज उठाइरहेकी थिइन्। आज उनको जीवनको हरेक पक्षलाई विश्वका प्रतिष्ठित पत्रपत्रिकाहरूले ठाउँ दिएका छन्। बीबीसी र सीएनएनजस्ता थुप्रै अग्रणी टिभी च्यानलहरूले उनका बारेमा थुप्रै कार्यक्रम एवं वृत्तचित्रहरु प्रसारण गरिसकेका छन्।
मलालाका बारेमा पुस्तक लेख्न संसारभरि भेडादौड सुरु भएको छ तर, सन् २०१२ को अक्टोबर ९ मा महिला शिक्षा, समानता र अधिकारका विरोधीले टाउकोमा हानेको गोली लागेपछि पनि बाँचेकी मलालाको संघर्ष भने टुंगिएको छैन। उत्तर-पश्चिम ख्यवर पख्तुनख्वा प्रान्तको स्वात भ्यालीमा गोली लाग्दा उनी मात्र १४ वर्षकी थिइन्। उनी सन् १९९७ को जुलाई १२ मा मिनगोरामा सुन्नी मुस्लिम धर्म मान्ने आदिवासी पठान (पस्तुन) समुदायमा जन्मिएकी हुन्।
दक्षिण अफगानिस्तानकी प्रसिद्ध पस्तुन कवि र महिला योद्धाबाट उनको नामको पहिलो शब्द (मलाला, अर्थ दुःखी) र थर युसुफजाई चाहिँ पस्तुन आदिवासीबाटै आएको हो। उनी दुई भाइ, कवि पिता जियाउद्दीन, माता तुर पेकाई र दुई घरपालुवा चल्लासँग बस्थिन्। खुसाल पब्लिक स्कुल समूहका लगानीकर्ता एवं शैक्षिक अधिकारकर्मी पिताबाट उनले पढ्ने अवसर पाइन्। चिकित्सक बन्ने इच्छा राखेकी मलालालाई पिताले राजनीतिज्ञ बन्ने प्रेरणा दिएका थिए। उनी फुर्सदको क्षणमा छोरीसँग राजनीतिक विषयमा छलफल गर्थे। सन् २००८ को सेप्टेम्बरको सुरुतिर पेसावरको स्थानीय प्रेस क्लबमा उपस्थित गराइँदा मलालाले शिक्षा अधिकार सम्बन्धमा मन्तव्य व्यक्त गरेकी थिइन्। 'तालिवानले कसरी मेरो शिक्षाको अधिकार खोस्ने हिम्मत गर्यो ?' भन्दै उनले श्रोताहरूसँग गरेको प्रश्नलाई उक्त क्षेत्रका पत्र-पत्रिका एवं टिभी च्यानलहरूले प्राथमिकताका साथ स्थान दिएका थिए।
तालिवानले उनलाई अझै पनि हत्याको धम्की दिन छाडेको छैन। सन् २००९ को सुरुमा ११/१२ वर्षको उमेरमा उनको शिक्षा अधिकारको आन्दोलन सुरु भएको थियो। उनले पिताकै प्रोत्साहनमा बीबीसीको उर्दूसेवामा अज्ञात नामले अतिवादी तालिवानी शासन, उनीहरूको भ्यालीलाई नियन्त्रण गर्ने प्रयास एवं बालिका शिक्षाका सम्बन्धमा उनीहरूको धारणालाई लिएर ब्लग लेख्दै आएकी थिइन्।
पाकिस्तानी सेना स्वात भ्यालीमा तालिवानसँग युद्धरत रहेका बेला न्यूयोर्क टाइम्सले मलालाका बारेमा वृत्तचित्र बनायो। छापा र टिभीमा अन्तर्वार्ता दिन थालेपछि उनको प्रसिद्धि बढ्दै गयो। उनी त्यतिबेलै दक्षिण अफ्रिकी अधिकारकर्मी डेसमन्ड टुटुद्वारा इन्टरनेसनल चिल्ड्रन्स पिस प्राइजका लागि छनोट भइन्। यही क्रममा पछ्याइरहेका तालिवान बन्धुकधारीहरूले उनीमाथि गोली प्रहार गरे। अचेत मलालाको स्थितिमा सुधार आएपछि गहन उपचारका लागि बेलायतको बर्मिंघमस्थित क्वीन एलिजाबेथ अस्पताल पुर्याइयो। त्यस्तो हालतमा पनि तालिवानले मलाला र उनका पिता जियाउद्दिन युसुफजाईलाई मार्ने प्रतिबद्धता दोहोर्याइरहे।
विश्वले मलालाको पक्षमा आवाज उठाउँदै उनको पुनर्जीवनका लागि कामना गर्यो। बालिका शिक्षाको हकमा पाकिस्तानभित्र र बाहिर हस्ताक्षर अभियान सुरु भयो। सन् २०१२ को १५ अक्टोबरमा विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघको विशेष दूत एवं बेलायतका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले 'आई एम मलाला' नामबाट एक अपिल जारी गर्दै सन् २०१५ सम्म संसारभरिका बालबालिकाले स्कुल जानुपर्ने माग गरे। मलाला त्यतिबेला अस्पतालमा भर्ना थिइन्। यो विश्वकै अभिभावक राष्ट्रसंघका तर्फबाट जारी गरिएको अपिल थियो। यसले पाकिस्तानलाई पनि शिक्षा अधिकारको मस्यौदामा सहमति गराउन मद्दत गर्यो।
मलाला सन् २०१३ मा आफ्नो उमेरकी सबैभन्दा चर्चित किशोरी भइन्। सन् २०१३ को २९ अपि्रलको अंकमा टाइम म्यागजिनले मूख्य पृष्ठमै संसारकै सय प्रभावकारी व्यक्तिको सूचीमा मलालालाई राख्यो। उनी पाकिस्तानको पहिलो नेसनल युथ पिस पुरस्कार विजेता बनिन्। उनी त्यही वर्ष प्रतिष्ठित नोबेल शान्ति पुरस्कारका लागि पनि छानिइन्। पुरस्कार नपाए पनि उनले उक्त पुरस्कारका लागि छनोटमा परेकी सबैभन्दा युवा व्यक्ति र पहिलो बालिका हुने रेकर्ड बनाइन्। सन् २०१३ को १२ जुलाईमा आफ्नो १६ औं जन्मदिनमा मलालाले राष्ट्रसंघको विश्वव्यापी शिक्षा पहुँच आह्वानलाई सम्बोधन गरिन्। राष्ट्रसंघले उक्त दिनलाई 'मलाला डे (मलाला दिवस)' नामकरण गर्यो। सांघातिक आक्रमणबाट पुनर्जीवन पाएपछि त्यो उनको पहिलो सार्वजनिक वक्तव्य थियो।
उक्त समारोहमा संसारभरिका ५ सय युवा सहभागी थिए। '... म कसैका विरुद्धमा होइन, न त तालिवान वा अन्य आतंकवादी समूहसँग मेरो व्यक्तिगत दुस्मनी छ,' उनले भनेकी थिइन्,' म यहाँ हरेक बालबालिकाको शिक्षा अधिकारका सम्बन्धमा बोल्न आएकी हुँ, म तालिवान, सबै आतंकवादी र अतिवादीका छोराछोरीका लागि पनि शिक्षा चाहन्छु।' धेरै पटक उनलाई सबैले उठेर ताली बजाएर सम्मान गरे। उनले भनेकी थिइन्, 'मलाला दिवस मेरो मात्र दिन होइन, आजको यो दिन सबै महिला, बालबालिका एवं उनीहरूको अधिकारका लागि आवाज उठाउने सबैको हो।' राष्ट्रसंघका महासचिव बान की मूनले त्यतिबेला आफ्नो सम्बोधनमा मलालालाई 'आवर हिरो (हाम्रो नायक)' भनेका थिए।
उनले बर्मिंघम दरबारमा महारानी एलिजाबेथ द्वितीयलाई भेटिन्। उनले त्यही वर्षको सेप्टेम्बरमा हार्वर्ड युनिभर्सिटीमा सम्बोधन गरिन्। उनले त्यसको लगतै अक्टोबरमा राष्ट्रपति बाराक ओबामा र उनको परिवारसँग भेटिन्। उनले त्यो भेटमा पाकिस्तानमा भैरहेको अमेरिकी विमान आक्रमणका विषयमा ओबामालाई र्याखर्याख्ती पार्दा अघिल्तिर बसेका उनका छोरीहरू हाँसिरहेका थिए।
सन् २०१३ मा उनले रुसी वैज्ञानिक एन्ड्री साखारोभको नाममा खडा गरिएको वैचारिक स्वतन्त्रताको क्षेत्रमा प्रदान गरिने 'साखारोभ पुरस्कार' पाइन्। उक्त पुरस्कार सन् १९८८ मा युरोपेली संसद्ले स्थापना गरेको हो। सोही वर्षको १६ अक्टोबरमा क्यानाडा सरकारले उनलाई सम्मानित नागरिकको दर्जा दिने घोषणा गर्यो। उनले त्यसपछि अहिलेसम्म पाएको सम्मानलाई शब्दमा उल्लेख गर्न सकिँदैन।
मलालाको त्रास र आतंकवादविरुद्वको संघर्ष अझै जारी छ। उपचार सुरु भएदेखि बेलायतको बर्मिंघममा सपरिवार बसेकी मलाद्धाको 'आई एम मलाला' पुस्तक तिनै तालिवानी आतंकवादीको त्रासले पेसावरको विश्वविद्यालयमा विमोचन हुन सकेन। बेलायती पत्रकार क्रिस्टिना ल्याम्बको सहयोगमा उनले लण्डनमै बसेर अनुभवहरूको सँगालोलाई पुस्तकको रूप दिएकी हुन्। आतंकवादीसँग वार्ता गर्न खोजिरहेको सरकारको निर्णयका कारण उक्त कार्यक्रम नै स्थगित गर्नुपर्यो। स्थानीय अधिकारीहरूले उत्तर-पश्चिम पाकिस्तानको पेसावर विश्वविद्यालयको एरिया स्टडी सेन्टरमा आयोजित विमोचन कार्यक्रममा सुरक्षा दिन नसकिने जनाएका थिए।
अर्कातिर संसारभरिका सरकारी एवं गैरसरकारी संस्थाहरू जसले गोली लाग्नुअघिसम्म मलालाको नामसमेत राम्रोसँग जानेका थिएनन्, उनीहरू उनको नाम भजाएर डलर खेती गर्ने दौडमा लागिपरेका छन्। सबैले पृष्ठभूमिमा उनको कथा राखेर आ-आफ्नै ढंगले शब्दको खेती गरिरहेका छन् तर मलालाको व्यक्तित्वको मूल्यांकन सहज छैन, किनभने उनी समाजलाई हेर्ने वा तय गरिने सबै परम्परागत मापदण्डभन्दा माथि उठिसकेकी छिन्।