Successfully Copied

जुत्तामा नेपाली ब्रान्ड

नेपालमा करिब १५ सय जुत्ता–चप्पल उद्योग रहेको कुन छाला जुत्ता उत्पादन महासंघको तथ्यांक छ । एसोसिएसनमै आबद्ध डेढ सय सदस्य छन् । एसोसिएसनका अनुसार सबै उद्योगले करिब १६ करोड जुत्ता–चप्पल उत्पादन गर्छन् ।

बजारमा विभिन्न नेपाली ब्रान्डका जुत्ता–चप्पल पाइन्छन् । ग्राहकले रोजी–रोजी आफूलाई मन पर्ने ब्रान्डका जुत्ता–चप्पल खरिद गर्छन् । नेपाली ब्रान्डमध्ये ‘शिखर सुज’ पनि एक हो । कम्पनीले बालकदेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गरी जुत्ता–चप्पलहरू उत्पादन गर्छ । बजारमा कम्पनीका स्पोर्ट्स, पार्टी र क्याजुअल सुज उपलब्ध छन् । ग्राहकहरूको बढी रोजाइ पार्टी र स्पोर्ट्स सुज रहेको भृकुटीमण्डपस्थित शिखर सुज सोरुमका बिक्रेता कृष्ण लामिछानेले बताए । यो ब्रान्डका क्याजुअल जुत्ताको मूल्य १५ सय र पार्टी सुजको २५ रुपैंयाँ पर्छ ।

अर्को नेपाली ब्रान्ड ‘फिटराइट’ हो । कम्पनीले छालाका जुत्तालगायत स्पोर्ट्स सुज, विद्यालयका जुत्ताका साथै आर्मी बुटहरू उत्पादन गर्दै आएको छ । विशेषगरी पुरुषका लागि लक्षित गर्दै कम्पनीले जुत्ता उत्पादन गर्छ । कम्पनीको पार्टी सुजको मुल्य १९ सयदेखि ५ हजार, आर्मी बुटको १८ सयदेखि २५ सय, स्पोर्ट्स सुजको १ हजारदेखि ५ हजार रुपैंयाँसम्म पर्छ । यी जुत्ताहरू टिकाउ र सहज हुने भएकाले ग्राहकको विश्वास बढ्दै गएको दाबी बिक्रेता कुमार तामाङको छ ।

‘ब्ल्याक हर्स’ कम्पनीका जुत्ताहरू पनि बजारमा पाइन्छन् । यो ब्रान्डका जुत्तामा स्पोर्ट्स सुजको मूल्य २५ सय, पार्टी सुज २ हजारदेखि ३५ हजार रुपैंयाँसम्म पर्छ ।

नेपाली जुत्ता ‘गोल्डस्टार’ नेपालसहित जापान, अमेरिकालगायतका देशहरूमा बिक्री भइरहेका छन् । कम्पनीका अनुसार सस्तो र बलियो भएकाले छोटो समयमैजुत्ताको लोकप्रियता बढेको हो । कम्पनीले स्वदेशमा ६० बढी शोरुम खोलिसकेका छन् भने अस्ट्रेलियामा पनि यसको शोरुम सञ्चालनमा छ ।

विगत २४ वर्षदेखि छालाका जुत्ता उत्पादन गर्दै आएको अर्को कम्पनी हो ‘प्यारागन फुटवेयर ।’ उक्त कम्पनीले विद्यालय, पार्टी क्याजुअल, सेफ्टी बुट उत्पादन गर्छ । सञ्चालक रामहरि तोलाङ्गीका अनुसार कम्पनीले ३ सयदेखि ३५ सय मूल्यसम्मका जुत्ता बिक्री गर्छ । विगत १८ वर्षदेखि जुत्ताको व्यापार गर्दै आएकी इन्दिरा नेपालले नेपाली ब्रान्डप्रति उपभोक्ताको सोचाइ परिवर्तन हुन थालेको बताइन् । ‘पहिला–पहिला नेपाली जुत्ता भन्नेबित्तिकै नाक खुम्च्याउने चलन थियो तर अहिले नेपाली ब्रान्ड खोज्दै आइपुग्छन्’ उनले भनिन् । विशेषगरी मध्यम वर्गका व्यक्तिहरूले नेपाली जुत्ता खोज्ने गरेको उनले बताइन् । इन्दिराले भनिन्, ‘पहिले हामी ग्राहक खोज्दै हिड्थ्यौंतर अहिले ग्राहक हामीलाई खोज्दै आउँछन् ।’

नेपालमा छालाका जुत्ताहरू बढी उत्पादन हुने व्यवसायीहरू बताउँछन् । नेपाली जुत्ताहरू विकट गाउँदेखि सहर हुँदै विदेशसम्म बिस्तार भइरहेका छन् ।

नेपालमा विशेषगरी पुरुषहरूलाई लक्षित गरी जुत्ताहरू उत्पादन भएपनि महिला लक्षित जुत्ता कम उत्पादन हुन्छन् । महिलाहरूका लागि चलेका जुत्ता भनेकै ढाकाका जुत्ता–चप्पल हुन् । यसमा महिलाहरूको रुचि बढी देखिएको ‘बीएफ डियर हिल’का प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । उनका अनुसार ढाकाको फ्ल्याट वा फित्तावाला क्लोज अगाडि खुल्ला भएको डिजाइन बढी रुचाइन्छ । ‘यी उत्पादनको मूल्य १ हजारदेखि दुई हजारसम्म पर्छ,’ उनले भने । महिलाका लागि फुटवेयर उत्पादन गर्ने ‘जालपा फुटवेयर’ का सञ्चालक कमलमणि कोइरालाका अनुसार महिलाहरू फेसन कन्सेस हुन्छन् । ‘महिलाहरूफेसनमा परिवर्तन चाहन्छन्, तर त्यसअनुरूपको उत्पादन नेपालमा हुन सकेको छैन,’ उनले भने ।

नेपालमा जुत्ता–चप्पल उद्योगको अवस्था

नेपालमा करिब १५ सय जुत्ता–चप्पल उद्योग रहेको कुन छाला जुत्ता उत्पादन महासंघको तथ्यांक छ । एसोसिएसनमै आबद्ध डेढ सय सदस्य छन् । एसोसिएसनका अनुसार सबै उद्योगले करिब १६ करोड जुत्ता–चप्पल उत्पादन गर्छन् । स्वदेशी उद्योगले यहाँ हुने मागअनुसार उत्पादन गरेका छैनन् । दर्ताबिना पनि थुप्रै उद्योगहरू सञ्चालन भइरहेको छालाजुत्ता उत्पादन महासंघका पूर्व अध्यक्ष रामहरि तोलाङीले बताए । घर–घरमा मेसिन राखेर जुत्ता उत्पादन गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । उनका अनुसार सिलाइ मेसिन राखेर घरमा जुत्ता–चप्पल उत्पादन गर्नेहरूको संख्या पनि दिनहुँ बढ्दो छ । परम्परागत सीपलाई उद्योगको रूप दिएर आफ्नो उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्न केही उद्योग लागिपरेका छन् । स्वदेशमा पर्याप्त कच्चापदार्थ उपलब्ध नहुनु, दक्ष जनशक्तिको अभाव, उद्योग सञ्चालन गर्न विद्युत् अभाव, सरकारबाट सहुलियत नपाएकाले मागअनुसार उत्पादन गर्न नसकिएको उनको भनाइ छ ।

कच्चापदार्थ र जनशक्तिको अभाव झेल्दै उद्योग

नेपाली जुत्ता उद्योगहरूले कच्चापदार्थको अभाव झेल्ने गरेका छन् ।अधिकांश फुटवेयर उत्पादनमा आवश्यक पर्ने कच्चापदार्थका लागि भने अन्य देशमा निर्भर हुँदा समस्या भएको उद्योगीहरू बताउँछन् । जुत्ता उत्पादन गर्न फेभिकोल, डेन्ड्राइट, बोस्टिकलगायत पाँच प्रकारका रसायनको प्रयोग हुन्छ । यसबाहेक जुत्ता मोटो र नरम बनाउन प्रयोग गरिने फोम, सोल भाँचिन नदिन प्रयोग गरिने फलामे पाता, धागो, इलास्टिक, जालीलगायतमा मुलुक विदेशमै निर्भर छ । जुत्ता उत्पादन गर्न कच्चापदार्थमा विदेशमै निर्भर रहनुपर्ने उद्योगीहरूको भनाइ छ । जुत्ता उत्पादन गर्न आउने कच्चापदार्थमा भन्सार महँगो पर्छ । जसले गर्दा नेपाली ब्रान्डहरूले विदेशी जुत्ताहरूसँग प्रतिस्पर्धामा उत्रिन गाह्रो छ । जुत्ता उत्पादनका लागि ४/५ आइटम मात्रै नेपालमा उत्पादन हुने गरेको उद्यमीहरू बताउँछन् । नेपालमा जुत्ता उद्योगमा जनशक्तिको अभाव पनि उस्तै झेल्नुपरेको छ । करिब १५ सय उद्योगबाट करिब ६० हजार व्यक्तिले रोजगारी पाएका छन् । रोजगारी पाएका अधिकांश कामदार विदेशी छन् । नेपालमा कामदारको अभावका कारणले विदेशबाट कामदार मगाउनुपर्ने अवस्था उद्यमीहरूलाई छ ।

नेपालमा जुत्ताको इतिहास

नेपालमा जुत्ता उद्योगको इतिहास लामो भएपनि सरकारी स्तरमा २०२२ मा पहिलोपटक बाँसबारी छाला जुत्ता कारखाना स्थापना भएसँगै यसले जुत्ता उत्पादनमा व्यापकता पाएको हो । त्यसताका उद्योगमा सोल र छाला उत्पादन हुन्थ्यो । २०४६देखि निजी क्षेत्रमा यो कारखाना परिणत भई बन्द हुन पुग्यो । त्यही कारखानाबाट अनुभवी व्यक्तिहरूले अन्य कम्पनीहरू खोल्न थाले । त्यसपछि बजारमा नेपाली जुत्ताहरू बिक्री हुन थाले ।

 

 Image