हेल्दी होमको नयाँ शाखा
देशमा मोटोपनले ल्याएका विभिन्न समस्या अन्त्य गर्ने प्रतिबद्धता जाहेर गर्दै एक दशकभन्दा लामो अनुभब बटुलेको हेल्दी होम एन्ड नेचुरल हेल्थ केयरले बौद्धमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।

जाडो मौसममा छाला (लेदर) को पहिरनको माग बढी हुन्छ । यसले शरीर न्यानो राख्नुका साथै, स्मार्ट लुक्स पनि दिन्छ । काठमाडौं मैतीदेवीस्थित ‘राइनो लेदर्स’ कारखानामा आजभोलि अर्कै रौनक छ । कोही लेदरका सामान बनाउन कोही लुगाको अर्डर लिन त कोही ग्राहकहरूसँग कुरा गर्नर् उत्तिकै व्यस्त देखिन्छन् । कटिङ, सिलाइ बुनाइदेखि डिजाइन दिने काममा व्यस्त देखिन्छन् कालिगढहरू । एकपछि अर्को ग्राहक आउने/जाने भइरहन्छ । लेदरका ज्याकेट/कोट खोज्दै ग्राहकहरू त्यहाँ पुग्छन् । भौतिक र भर्चुअल दुवै रूपमा ग्राहकहरूको अर्डर आउने गरेको कम्पनीले जनाएको छ । बजारमा चलेका र इन्टरनेटमा देखेका आधारमा डिजाइनको अर्डर गर्दै ग्राहक ‘राइनो लेदर्स’ मा पुग्छन् । लेदर महिला–पुरुष दुवैको रोजाइमा पर्ने भएकाले पनि अर्डर बढी आउने गरेको कम्पनीकी ब्रान्ड म्यानेजर एलिसा शाहले बताइन् । उनका अनुसार लेदर दुवै वर्गले उत्तिकै रुचाउँछन् । कम्पनीले ६ वर्षयता लेदरका पहिरन बिक्री गर्दै आएको छ । पछिल्लो समय लेदरको बजार बढ्दै गएको उनले बताइन् । लेदरले व्यक्तित्वलाई फेसनेबल र स्मार्ट देखाउने भएकाले पनि सबैको रोजाइमा लेदर रहेको उनको भनाइ छ । सदाबहार उत्पादन गर्ने भए पनि जाडो सुरु भएलगत्तै नेपाली बजारमा लेदर बढी बिक्री हुने एलिसा बताउँछिन् ।
नेपाली बजारलाई लक्षित गर्दै उपयुक्त मूल्यमा लेदर सामग्री उपलब्ध गराइरहेको कम्पनीको दाबी छ । सामान्यतया नेपालीको रोजाइमा पर्ने लेदरको मूल्य १० हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ । लेदरका दुई शोरुम मैतीदेवी र दरबारमार्गमा सञ्चालित छन् । एलिसा भन्छिन्, ‘अमेरिका, क्यानाडा र जापानलगायतका देशहरूमा पनि नेपाली ब्रान्ड निर्यात भइरहेको छ ।’ विशेषगरी कम्पनीले सिप लेदर, गोट लेदर र बफ लेदर उत्पादन गर्छ । नेपाली बजारमा भने ज्याकेटका लागि सिप लेदर नै बढी चलेको उनले बताइन् । यो लेदर नरम र स्मार्ट भएकाले पनि धेरैको रोजाइमा परेको छ । अलिकति रफ टप देखिन रुचाउनेले भने बफ लेदर अर्डर गर्छन् । बफ लेदर खस्रो हुने भएकाले पनि रफटपमा राम्रो डिजाइन देखिने उनको भनाइ छ । कम्पनीले लेदर ज्याकेट कोटका अलावा प्यान्ट, स्कर्ट, ब्रिफकेस, डायरीलगायतका सामानहरू उत्पादन गर्दै आएको छ ।
कुनै समय नेपाली उत्पादनलाई ग्राहकहरूले विश्वास गर्न नसके पनि पछिल्लो समय नेपाली उत्पादनप्रति विश्वास बढ्दै गएको ‘द ह्युमन फिट’ का अपरेसन म्यानेजर बिक्की ब्रजाचार्यले बताए । ४० वर्षदेखि छालाका सामान उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो समय लेदरका ज्याकेटहरू उत्पादन गर्दै आएको छ । बुवाले सुरु गरेको व्यवसाय नै बिक्कीको पारिवारिक व्यवसाय बनेको छ । नयाँ पुस्ताले नयाँ ट्रेन्डअनुसार लेदर ज्याकेटहरूको व्यापार सुरु गरेको हो । यसले व्यापारलाई थप उचाइमा पुर्याएको छ । लेदरमा ज्याकेट सँगसँगै कम्पनीले ब्याग, पर्स, बेल्ट उत्पादन गर्दै आएको छ । ज्याकेटमा सिप लेदर बढी प्रयोग हुन्छ भने ब्याग, बेल्ट बनाउनका लागि भने गोट लेदर नै आवश्यक हुन्छ । उनले भने, ‘सिप लेदर नरम र लगाउन सजिलो हुने भएकाले यो ज्याकेट बनाउन प्रयोग हुन्छ भने ब्याग र बेल्टका लागि कडा छाला चाहिने भएकाले यसमा बाख्राको छाला बढी प्रयोग हुन्छ ।’ कम्पनीले विभिन्न सामानउत्पादन गर्दै आएपनि ज्याकेट र ब्यागको भने माग बढी आउने गरेको जनायो । स्वदेशी बजार सँगसँगै कम्पनीले विदेशी बजारमा पनि आफ्ना सामानहरू बिस्तार गरेको छ । बिक्कीका अनुसार कम्पनीको उत्पादनमध्ये ६० प्रतिशत ज्याकेट र ४० प्रतिशत ब्यागको माग बजारमा छ । ज्याकेटको मूल्य पाँच हजारदेखि १४ हजार रुपैयाँसम्म छ । ज्याकेट, कोट, बाइकर ज्याकेट आदि सामानहरू ग्राहकहरूले रुचाएका छन् । बजारमा चलेको डिजाइन बनाइदिन ग्राहकहरूको माग बढी रहेको उनले बताए । लेदरको डिजाइनमा धेरै फरक नहुने उनले जनाए । वर्षौंसम्म पनि डिजाइन चल्ने र टिकाउ हुने भएकाले ग्राहकहरूले लेदर बढी रुचाएको उनको भनाइ छ । लेदरका पहिरनहरू टिकाउ हुने भएकाले पनि ग्राहकहरूले यसमा लगानी गर्न कञ्जुस्याइँ गर्दैनन् । कम्पनीले ग्राहकहरूलाई वारेन्टी पनि दिन्छ । ग्राहकहरूलाई निश्चित ग्यारेन्टी दिँदै रिपेयरको काम पनि कम्पनीले दिने हुँदा ग्राहकहरूलाई लेदरप्रति विश्वास बढ्दै गएको बिक्कीले बताए । ग्राहकहरूको विश्वास जित्दै जमल र क्षेत्रपाटीमा शोरुम सञ्चालन गरिरहेको कम्पनीले पोखरामा आउटलेटसमेत खोलिसकेको छ । आउटलेट खोल्दै विदेशमा समेत बिस्तार गर्ने लक्ष्य कम्पनीको रहेको उनको भनाइ छ ।
लेदर ज्याकेटप्रति विशेषगरी युवावर्गको आकर्षण बढ्दै गएको छ । युवालाई लक्षित गरी लेदर ज्याकेट उत्पादन गर्दै आएको कम्पनी हो–‘ल्याटिडो’ । सात वर्षदेखि यो कम्पनीले पनि लेदरका ज्याकेटहरूको बजार बिस्तार गर्दै आएको छ । परिवारबाट सुरु गरिएको यो व्यवसाय संचालन भएको ३० वर्ष भइसकेको कम्पनीका संचालक आशिष शाहले बताए । उनका अनुसार कम्पनीले पुरानो छालाका सामानमा नयाँ रूप दिनका लागि ज्याकेटको उत्पादन थालेको हो । ‘ल्याटिडो’ ले लेदरका ज्याकेटमा मात्रै आफूलाई केन्द्रित नगरी युवायुवती दुवैलाई लक्षित गर्दै नेपाली साइजका ज्याकेटहरू उत्पादन गरिरहेको छ । विशेषगरी बाइकर ज्याकेट, लङ ज्याकेट, उत्पादन गरेको उनले जनाए । झम्सिखेलमा शोरुम रहेको कम्पनीले २५ जना कालिगढसहित चोभारमा फ्याक्ट्री सञ्चालन गरेको छ । कम्पनीले उत्पादन गरेको ज्याकेटको मूल्य १५ हजारदेखि सुरु हुने गरेको छ । कम्पनीका उत्पादनमध्ये कालो/खैरो रंगको माग बढी हुने गरेको आशिषले बताए । जाडोलाई लक्षित गर्दै ग्राहकहरू न्यानोका लागि भित्र फर राख्न अडरसमेत दिने गरेका छन् । लेदर फर खोल्न र राख्न दुवै सुविधा हुने भएकाले सदाबहार लगाउन मिल्ने उनको भनाइ छ ।
जनशक्तिदेखि कच्चापदार्थको अभाव
नेपालमा लेदर उद्यम सञ्चालन गर्न धेरै चुनौती भएको एलिसा बताउँछिन् । उनले कम्पनीमा भारतीय कालिगढलाई ल्याएर उद्यम सञ्चालन गरेकी छन् । नेपालमा जनशक्तिको अभाव रहेको उनको भनाइ छ । उनले भनिन्, ‘नेपालमा उद्यम सञ्चालन गर्न कालिगढदेखि जनशक्तिको अभाव छ ।’ पहिलेको समयमा डिजाइनरको समेत अभाव थियो पछिल्लो समय भने कलेजहरूका विद्यार्थीहरूका कारण डिजाइनमा केही सहज भएको उनले बताइन् । जनशक्तिसँगै नेपालमा कच्चापदार्थ उत्पादन नहुने भएकाले समस्या भएको उनको भनाइ छ । उनले कच्चापदार्थ चीन, भारतलगायत विभिन्न देशबाट आयात गर्छन् । कच्चापदार्थसँगै कालिगढ पनि विदेशबाट मगाउनुपर्ने भएकाले नेपाली बजारलाई लेदरका सामान महँगो हुने उनले बताए । ‘उद्यमको मुख्य चुनौती भनेकै स्वदेशमा लेदरका लागि कच्चापदार्थदेखि कालिगढको अभाव नै हो,’ उनले भने । ल्याटिडोले भने डिजाइन ग्राहकले दिएकै आधारमा पहिरन उत्पादन गर्छ । क्षमता र ज्ञान भएका फेसन डिजाइनर अभाव रहेको आशिषले बताए । उनले भने,‘नेपालमा लेदरको डिजाइन गर्ने सक्षम डिजाइनरको अभाव छ ।’
ओरिजिनल लेदर कसरी चिन्ने ?
बजारमा अहिले विभिन्न प्रकारका लेदरका उत्पादनहरू पाइन्छन् । विशेषगरी पछिल्लो समय बजारमा शुद्ध लेदर र अर्को मिसावट लेदर रेग्जिन लेदरहरू पाइन्छन् । एलिसाका अनुसार लेदरलाई फक्स, सिन्थेटिक भनेर नक्कली लेदरहरू बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । यी लेदरजस्तै कपडा हालेर बनाइएका हुन्छन् । बजारमा दुई हजार रुपैयाँदेखिका लेदरका ज्याकेटहरू बिक्री भइरहेका छन् । उनका अनुसार शुद्ध लेदरबाहिर खस्रो र भित्र नरम हुन्छ । यो जनावरको छाला भएकाले यसको गन्ध पनि फरक हुन्छ । नक्कली लेदर रेग्जिन भने बाहिर चिल्लो हुन्छ । यसमा जनावरको छालाको कुनै पनि गन्ध आउँदैन । मूल्यका आधारमा पनि सक्कली र नक्कली थाहा पाउन सकिन्छ ।
लेदरपारखीहरूले भने सक्कली र नक्कली सहजै छुट्याउन सक्छन् ।