Successfully Copied

व्यावसायिक मार्केटमा महिला

स्वउद्यम एवं स्वरोजगारीले मानिसलाई स्वावलम्बी बनाउँछ, आत्मनिर्भर हुन र आफूमा निर्णय क्षमता वृद्धि गर्न मात्र नभई आजको प्रतिस्पर्धात्मक समयमा आफूलाई अपडेट गर्न पनि महिलाहरू कामकाजी हुनु जरुरी छ ।

करिब दशकअघिसम्म घरका छोरी–बुहारी, दिदीबहिनी अथवा नन्द–भाउजूलाई बाहिरी कार्यस्थलमा आफ्नो क्षमता प्रस्तुत गर्न त्यति सहज थिएन, कारण हाम्रा रीति–रिवाज, संस्कार–संस्कृति तथा महिलाका लागि दाहोरो जिम्मेवारी । केही समययता भने हरेक क्षेत्रमा महिलाको उपस्थिति बाक्लिँदै गएको छ । झाँगिदै गएको कर्पोरेट कल्चरलगायत विदेशमा आर्जन गरेको ज्ञान नेपालमै लगानी गर्नुपर्छ भन्ने युवा मनस्थितिका कारण पनि नेपाली बजारमा व्यावसायिक महिलाहरूको सक्रियता बढ्दै गएको हो ।

चाहे जागिर होस्, स्वव्यवसाय वा सहकार्यमा लगानी, हरेक कुरामा महिलाहरूको सहभागिता बढ्नु मुलुकको विकासमा इँटा थपिनु हो–अर्थविद् सलोनी सिंह भन्छिन्–‘कुनै पनि घरमा महिला पनि स्वरोजगार हुनुले महत्वपूर्ण अर्थ राख्छ । घर चलाउने कुरा मात्र नभएर समग्र लाइफ स्टाइलमै त्यसको प्रत्यक्ष प्रभाव पर्छ । त्यसले आवश्यकता मात्र नभई चाहना पूरा गर्न सहयोगी भूमिका निर्वाह गर्छ । त्यसभन्दा महत्वपूर्ण कुरा आत्मनिर्भरताले महिलामा आर्थिक सशक्तीकरण वृद्धि गर्छ । जबसम्म महिलाहरू आर्थिक रूपमा बलिया हुँदैनन् तबसम्म स्वनिर्णयमा उनीहरूको पहुँच हुँदैन । परनिर्भर महिलालाई निर्णायक भूमिका दिनु त परै जाओस् उनको रायसम्म लिइँदैन । महिला हरेक कोणबाट सशक्त हुन अर्थले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वव्यापी तथ्यांकसमेत सार्वजनिक भैसकेको छ ।’

स्वउद्यम एवं स्वरोजगारीले मानिसलाई स्वावलम्बी बनाउँछ, आत्मनिर्भर हुन र आफूमा निर्णय क्षमता वृद्धि गर्न मात्र नभई आजको प्रतिस्पर्धात्मक समयमा आफूलाई अपडेट गर्न पनि महिलाहरू कामकाजी हुनु जरुरी छ । हरेक मानिसमा आफ्नो छुट्टै खुबी हुन्छ जसलाई बाहिर प्रस्फुटन गर्न सक्नु नै आफू स्वावलम्वी र आत्मनिर्भर बन्नु हो जसले जीवनमा चौतर्फी विकासका लागि काम गरिरहेको हुन्छ । विख्यात अमेरिकी लेखक तथा मोटिभेसनल स्पिकर जिग जिगलर भन्छन्–‘तिमी मात्र यो संसारको एक्ला व्यक्ति हौ जसले आफूभित्रका खुबी, क्षमता र दम प्रयोग गर्न सक्छौ ।’ अहिले नेपाली समाज र परिवेशमा यो कुरा धेरैको हकमा लागू हुँदै गएको देख्न पाइन्छ ।

यसै सन्दर्भमा अहिले बजारमा व्यावसायिक महिलाहरूको माग पनि क्रमश: चुलिँदै गएको छ । वित्तीय, शिक्षा, स्वास्थ्य आदि क्षेत्रदेखि मल्टिनेसनल कम्पनीहरूमा समेत महिला कर्मचारी खोज्न थालिएको छ, त्यसको कारण महिलाको इमान्दारिता, लगनशीलता, धैर्य तथा स्वभाव आदि नै हुन् । राजनीति, व्यापार, शिक्षा, खेलकुद, साहित्य, सेना–प्रहरी, पाइलट, वकिल, पत्रकारलगायतका महिला अहिले आ–आफ्ना कर्मक्षेत्रमा सक्रिय ढंगले अघि बढिरहेका छन् । अर्थ जस्तो संवेदनशील एवं विकासको मेरुदण्ड मानिने क्षेत्रमा समेत महिलाको उपस्थिति मात्र होइन निर्णायक क्षमता नै प्रस्तुत भैसकेको छ ।

एनएमबी बैंककी चिफ ह्युमेन रिसोर्सेस एण्ड बिजनेस सपोर्ट अफिसर सवनम लिम्बू जोशी वित्तीय क्षेत्रमा महिलाको संख्या वृद्धि हँुदै गएकोमा आफू निकै हौसिएको बताउँछिन् । बैंकिङ क्षेत्रलाई चुनौतीपूर्ण मानिने भएकाले करिब आधा दशकअघिसम्म पनि यो क्षेत्रमा कमै मात्र महिला थिए तर अहिले बैंकलगायत वित्तीय क्षेत्रमा महिला सहभागिता दु्रत गतिमा बढेको पाइन्छ । बैंकिङ क्षेत्र चुनौतीपूर्ण हुँदाहुँदै पनि महिलाका लागि निकै सुरक्षित भएकाले यसमा महिलाको आकर्षण बढिरहेको सवनमको भनाइ छ । यद्यपि कामकाजी महिलामाथि करियर, परिवार तथा बालबच्चाको दोहोरो जिम्मेवारी भए पनि संयुक्त परिवारको हाम्रो अवधारणाले यसमा निकै सहयोगी भूमिका खेलेको सवनमलाई लाग्छ । लिम्बू भन्छिन्–सेल्फस्टिमका लागि पनि आत्मनिर्भर हुनु जरुरी छ । त्यसपछि तपाईंले आफ्नै निर्णय गर्ने आत्मविश्वास प्राप्त गर्नुहुन्छ । आत्मविश्वास बढिसकेपछि तपाईं जस्तोसुकै चुनौतीका लागि पनि तयार हुनुहुन्छ ।’ सवनमका अनुसार आर्थिक कुराले मानिसको जीवनमा ठूलो अर्थ राख्छ । आर्थिक रूपमा सशक्त हुनु भनेको तपाईं आफैंमा बलियो हुनु हो । बलियो भएपछि तपाईंलाई कसैले हेप्न पाउँदैनन् । म गरेर खान सक्छु, मेरा सन्तान र परिवार आफै पाल्न सक्छु भन्ने आँट आउँछ । व्यावसायिक महिलाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कतै न कतै मुलुक निर्माणको काममा समेत योगदान पुर्‍याइरहेका हुन्छन् भन्ने सवनमलाई लाग्छ ।

रोहटो मेन्थलिटम नेपालकी सिनियर मार्केटिङ एक्ज्युकेटिभ निशा श्रेष्ठका अनुसार मार्केटिङ क्षेत्र महिलाहरूले आफूलाई एक्स्प्लोर गर्ने अवसर हो । यसमा आफ्नो बोल्ने, सिक्ने, मानिसहरूसँग डिलिङ गर्ने क्षमता बढ्दै जान्छ । सक्षम भएपछि जस्तोसुकै चुनौती पनि सामना गर्न सकिन्छ । ६ वर्षदेखि मार्केटिङको काम कार्यरत निशा यो क्षेत्रले आफूलाई धेरै कुरा सिकाएको कुरा बताउँदै भन्छिन्–चुनौती सामना गर्न, मान्छे चिन्न तथा बाठो हुन सिकायो मलाई यो क्षेत्रले ।’ निशाको अनुभवमा महिलाहरूले स्वरोजगार हुनु अत्यन्त जरुरी छ, कतै जानुपर्‍यो, केही किन्नुपर्‍यो, केही खान–लगाउन मन छ भने अरूको भर पर्नुपर्दैन । निशा भन्छिन्– विवाहपछि काम छोड्ने मनस्थिति बनाउनहरूले कसले के भन्ला, घरमा कसले के सोच्ला भन्ने कुराको तनाव लिन छोडिदिनुपर्छ र आफ्नो करियरलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ किनभने रोजगार रहर मात्र होइन आजको आवश्यकता भैसकेको छ । मार्केटिङमा रातको १२ बजेसम्म पनि हिँड्नुपर्ने, धेरै मानिससँग भेटघाट गर्नुपर्ने र विविध प्रकृतिका मानिससँग घुलमिल गर्नुपर्ने भएकाले यसमा कसरी आफू इन्टेलिजेन्ट भइन्छ त्यो कला पनि सिक्ने अवसर प्राप्त हुने निशाको अनुभव छ । यस्तो अवस्थामा परिवार उनको सहयोगी हुने गरेको छ । विवाहपछि श्रीमान्ले नै पाल्नुपर्छ भन्ने मानसिकता राख्ने र करियरलाई बेवास्ता गर्ने महिलाहरूलाई सुझाव दिँदै निशा भन्छिन्–सबैतिर मिलाउन र उचित व्यवस्थापन गर्न सक्नु पनि एउटा कला हो जुन लगातारको अभ्यासपछि बढ्दै जान्छ । यसले जीवनलाई सहज बनाउने मात्र होइन त्यसमा खुसीयाली समेत भर्छ । हामी महिलाहरू कामकाजी हुनु भनेको जीवन जिउने कला सिक्दै यसलाई रमाइलो बनाउनु पनि हो ।’

एमजीभीसीकी सिईओ प्रतिभा लिम्बूका अनुसार नेपाली महिलाहरू अहिले आत्मविश्वासी हुँदै गएका छन्, हरेक क्षेत्रमा राम्रो प्रगति गरिसकेका छन् र आर्थिक रूपमा सशक्त हुँदाका फाइदाहरू पनि बुझिसकेका छन् । यही चेतनाका कारण अहिले व्यवसायिक महिलाहरूको संख्या बढ्दै गएको छ । हरेक क्षेत्रमा महिलाको समान सहभागिता देखिन्छ । यति हुँदाहुँदै पनि चुनौतीपूर्ण भूमिका महिलालाई दिनुपर्‍यो भने अझै पनि हिच्किचाइन्छ । लिम्बू भन्छिन्–अवसर पाए भने महिलाहरू पनि कम छैनन् । हामीले निर्णायक क्षेत्रमा अझैसम्म अवसर नपाएकै हो । उदाहरणका लागि समग्र बैंकिङ क्षेत्रमा एक जना मात्र महिला सिइओ पाइन्छ ।

त्यसैगरी सक्रिय निर्णय गर्ने स्थानमा पुरुष नै हुन्छन् । त्यसो त राष्ट्रपतिको प्रसंग उठ्ला तर मैले निर्णय गर्ने सक्रिय क्षेत्र र स्थानको कुरा गरेकी हुँ । विगत एक दशकको प्राक्टिसलाई हेर्दा नेपालमा महिला सशक्तीकरणमा ठूलो परिवर्तन आइसकेको छ । यो सकारात्मक कुरा हो र हामी यसमा थप सकारात्मक छौं कि अबको अर्को दशकमा निर्णायक क्षेत्रमा धेरै भन्दा धेरै महिला देख्न पाइनेछ ।’ प्रतिभाको विचारमा आर्थिक सशक्तीकरणले जीवनमा आफैं निर्णय गर्ने आत्मविश्वास बढाउँछ, अरुमा निर्भर रहनु पर्दैन, घरेलुलगायतका हिंसा, मानसिक तनाव आदि कम हुन्छन्, परिवारमा किचलो हुँदैन शान्ति छाउँछ, आमाले आर्थिक योगदान गर्दा बालबच्चाको पढाइ र भविष्य त उज्ज्वल हुन्छ नै उनीहरूले समेत आत्मनिर्भर हुन सिक्छन् । एउटी महिलाले परिवार मात्र होइन, समाज र राष्ट्र परिवर्तनका लागि एउटा इँटा थप्न सक्छिन् ।

आँचल प्रधानलाई आफ्नो व्यवसाय सुरु गुर्नअघि आफूलाई मन लागेको कुरा श्रीमान् वा परिवारका सामु व्यक्त गरिहाल्न धक लाग्थ्यो । मलेसिया र जर्मनबाट आयातीत विभिन्न ब्रान्डका किड्स वेयर तथा एसेसरिजको आउटलेट तथा अनलाइन व्यवसायमा आबद्ध आँचल महिलाहरू व्यवसायिक हुनु भनेको विकासको दर्‍हो खुड्किलो तयार पार्नु हो भन्ने लाग्छ । नानापसल नामक उनको यो व्यवसायले उनलाई आत्मनिर्भर मात्र बनाएको छैन जीवनमा खुसी पनि थपेको छ । आँचल भन्छिन्–स्वरोजगारीले महिलाको भित्री खुसी उजागर गर्छ । आफूमा गौरव महसुस गराउँछ । परिवारमा शान्ति छाउँछ, आफ्नो पनि योगदानले आत्मसम्मान र सन्तुष्टि महसुस हुन्छ ।’ एमजीभीसीकी सिईओ प्रतिभाले भनेझैं आँचल पनि महिलाले यदि आफ्नो स्वअस्तित्व र पहिचान चाहने हो भने कामकाजी हुनु जरुरी देख्छिन् । यस अर्थमा कि जब आफ्नो आवाज सुनिन्छ, जब आफूले बोलेका कुराले अर्थ राख्छ र त्यो अरूका लागि पनि स्वीकार्य हुन्छ तब मात्र आफू हुनुको अर्थ रहन्छ ।

पहिले शिक्षण पेसामा आबद्ध आँचलले विभिन्न एनजिओ हुँदै अहिले आफ्नै व्यवसाय सुरु गरेकी हुन् । आफ्नो बच्चा भैसकेपछि रहरै रहरमा बच्चाको पहिरनमा उनको ध्यान तानियो । त्यसपछि उनी निश्चित समयसीमावद्ध जागिरमा संलग्न भैरहन सकिनन् र आफ्नै काम सुरु गरिन् । ‘आफ्नै काम भएपछि निश्चित समयसीमामा बाँधिनु नपर्ने र परिवार तथा बालबच्चालाई समय दिन पनि भ्याइने कारणले महिलाका लागि यो बढी उपयुक्त जस्तो लाग्यो ।’ प्रधानले भनिन्–‘यसले मलाई आम्दानीका साथै समय व्यवस्थापनमा सहजता प्रदान गरेको छ ।’

ज्यास्मिन हाइजिन प्रोडक्टकी ब्रान्ड म्यानेजर स्वर्णिमा राजभण्डारी भन्छिन्–प्रोफेसनल हुन त्यति गार्‍हो छैन किनभने यो सबै आफैमा निर्भर हुने कुरा हो । तपाईं कसरी आफ्नो करियरलाई अघि बढाउनुहुन्छ, तपाईं कुन तरिकाको जीवनशैली अपनाउनुहुन्छ र तपाईंले जीवनलाई कति सहज बनाउन सक्नुहुन्छ त्यो तपाईंको एकल निर्णयमा भर पर्छ । पारिवारिक समझदारी भयो भने वर्किङ वुमनले करियर, व्यवसाय, व्यक्तिगत, सामाजिक तथा पारिवारिक सम्बन्धहरूलाई सन्तुलित राख्न सक्छन् ।’

कामकाजी महिला आत्मविश्वासी र आत्मनिर्भर हुने मात्र होइन उनीहरू सिर्जनशील पनि हुन्छन् । अर्को कुरा व्यस्त भइने हुँदा समय व्यवस्थापन गर्ने कला पनि सिकिन्छ जसले पूरै जीवनलाई व्यवस्थित बनाउँछ भन्ने स्वर्णिमाको बुझाइ छ । परिवार चलाउन आफ्नो पनि योगदान भएपछि आफूलाई पनि गर्व महसुुस हुने बताउँदै राजभण्डारी भन्छिन्–‘तर घमण्डी हुनुहुँदैन, जसले परिवार टुक्रिनसम्म सक्छ ।’ महिलाका लागि सेफ्टी–सेक्योर र हाइजिन सेनिटरी प्याडलगायत बालबालिकाका लागि डायपरको कारोबार गर्दै आएको ज्यास्मिन हाइजिन प्रोडक्टले नेपालका थुप्रै सामाजिक काममा समेत हात बढाएको छ । गुजराँतका वुमन्स वेयर प्रोडक्ट नेपाली मार्केटमा ल्याउन सफल दीपा थापा एक दशकअघिदेखि नेपाली महिला मार्केट नापिरहेकी छिन् ।

सम्भवत: उनले नै गुजराँतका साडी, लेहेंगा, कुर्ती, सलवार–कमिज पहिलो पटक नेपाल भित्र्याएकी हुन् । दीपाले सञ्चालन गरेको सुहाग फेसनमार्फत गुजराँती शैली तथा डिजाइन नेपाली महिलाहरूसम्म पुग्छ । थापालाई लाग्छ महिला प्रोफेसनल हुनु भनेको पूरै परिवारको आर्थिक भार कम हुनु हो । व्यवसायिक महिलाहरू पारिवारिक जिम्मेवारी लिने कुरामा व्यावसायिक पुरुषभन्दा बढी गहन हुन्छन् भन्ने दीपाको ठम्याइ छ । थापा भन्छिन्–महिलाले उचित सम्मान पाउन र आफ्नो आवाज पनि निर्णायक होस् भन्न व्यावसायिक हुनुको अर्को विकल्प छैन ।

जब एउटी महिलाले आफैं कमाउन थाल्छिन् तब उनीभित्रका क्षमता र सिर्जनशीलता आफै प्रस्फुटित हुन थाल्छन्, जसको कारण उनीभित्र बढ्दै गएको आत्मविश्वास हो । अर्को कुरा महिलाहरू कामकाजी भएपछि बढी एक्स्प्लोर र एक्सपोज हुन्छन् जसले उनीहरूको आफ्नै जीवनलाई थप रुचिकर बनाउँछ ।

 Image