चाडपर्व, नयाँ वर्ष, क्रिसमस यस्तै अवरसर पारेर विभिन्न ठाउँमा रहेका मल, ब्रान्डेड पसल तथा अन्य पसलहरूले छुट तथा सेल लगाउने गरेका छन् । छुट तथा सेल ग्राहकलाई लोभ्याउने प्रमुख अस्त्र पनि हुन् । छुट भन्नासाथ कुनै पनि सामानमा सहुलियत भन्ने बुझिन्छ । चाडपर्वलगायतका विशेष अवसरमा छुटको बोर्ड सबैजसो पसलमा देख्न सकिन्छ । एउटा किन्दा अर्को सित्तैमा, दुईवटा खरिद गर्दा एउटा अर्को सित्तैमा, २५ देखि ५० प्रतिशतसम्म छुटजस्ता बोर्ड जताततै देखिन्छन् ।
बानेश्वरकी रश्मि शर्मा पनि छुटको उपयोग गर्छिन् । उनी आफ्ना लागि पहिरन तथा जुत्ता छुटमै खरिद गर्छिन् । कम मूल्यमा सस्ता सामान पाइने भएकाले उनी छुटको भरपूर उपयोग गर्छिन् । कतिपयमा छुटमा राखिएका सामान त्यति गुणस्तरीय हुँदैनन् भन्ने धारणा पाइन्छ तर यो कुरा गलत भएको रश्मि बताउँछिन् । उनका अनुसार छुटमा राखिएका सबै सामान गुणस्तरहीन हुँदैनन् । सामान चिन्न सक्नुपर्छ । चाडपर्व तथा अवसरमा ग्राहक आकर्षित गर्न छुट दिइने व्यापारीहरूको धारणा छ । यसैगरी कुनै सामानको स्टक धेरै नहुँदा पनि छुट दिइन्छ ।
चाडपर्व तथा अन्य अवसर पारेर राजधानीका मल, पसल तथा ब्रान्डेड पसलमा पनि छुट दिइन्छ । यतिबेला सडकदेखि मलसम्म छुट तथा सेलको लहर देख्न सकिन्छ । महिला, बालबालिका तथा युवाका लागि आकर्षक सामान ५० प्रतिशतसम्म छुटमा राखिएको हुन्छ । छुट व्यापारीले ग्राहकलाई दिने एक किसिमको सुविधा पनि हो ।
यो समयमा व्यापारीहरू कम नाफा राखेर बढीभन्दा बढी सामान बिक्री गर्ने सोचमा हुन्छन् । सेल तथा छुटमा सामान खरिद–बिक्री गर्दा ग्राहक र व्यापारी दुवैको हित हुन्छ । कुन सामानमा कति छुट दिने भन्ने कुरा व्यापारीले सामानको स्तर तथा स्टक हेरेर तय गर्छन् । सामानको स्टक बढी भए बढी छुट प्रदान गरिन्छ । कपडा, जुत्ता तथा ब्यागमा बढी छुट दिइन्छ । छुट दिँदा पनि दीर्घकालीन सोच राख्नुपर्छ अन्यथा नकारात्मक असर पर्न सक्छ ।
छुट सेलका फाइदा
छुटमा ग्राहकले पुरानो मूल्यभन्दा केही कममा सामान खरिद गर्न सक्छन् ।
आफ्नो अपेक्षाभन्दा कम मूल्यमा सामान खरिद गर्न सकिन्छ ।
सामान खरिद गर्न जाँदा आफूले योजना बनाएको भन्दा कम मूल्यमा सामान खरिद गर्न सकिन्छ ।
क्रेताका लागि मात्र नभएर बिक्रेताका लागि पनि छुट महत्वपूर्ण हुन्छ । थोकमा सामान बिक्री हुनुका साथै स्टकमा रहेका सामान पनि छोटो समयमै सकिन्छन् ।
छानी–छानी सस्तोमा सामान किन्न पाइन्छ ।
स्टक क्लियरेन्स गरिने हँुदा महँगा सामान पनि सस्तोमा पाइन्छन् ।
यो व्यापारीहरूका लागि सञ्चित सामान बिक्री गरेर नगद हात पार्ने उपयुक्त मौका पनि हो ।
बेफाइदा
कतिपय अवस्थामा छुटको लोभमा पर्दा ठगिन सकिन्छ ।
कमसल वा धेरै पुराना सामान पर्न सक्छन् ।
आउटडेटेड सामान पर्न सक्छन् ।
सामानको मूल्य दोब्बर राखेर ५० प्रतिशत छुट दिए खासै फाइदा हुँदैन ।
छुट सेलले ग्राहकलाई अनावश्यक सामान खरिद गर्न प्रेरित गर्छ । एउटा सामान खरिद गर्न गएको छ भने अर्को सामानमा बढी छुट पाए ग्राहक महत्वाकांक्षी हुन सक्छन् ।
छुटमा सामान किन्दा
छुट–सेलमा फ्रेसभन्दा पनि पुराना सामान राखिने भएकाले होसियार हुनुपर्छ ।
बिक्री भएका सामान साट्न नमिल्ने भएकाले पहिले नै राम्रोसँग हेरेर सामान किन्नुपर्छ ।
ड्यामेज सामान पर्न सक्ने कुरालाई मध्यनजर गर्दै सावधानी अपनाउनुपर्छ ।