Successfully Copied

स्कुटर सवारी

सवारीले मानव जीवनमा निकै महत्वपूर्ण अर्थ राख्छ भने सवारी साधनले यसलाई सहज र छरितो बनाउन सघाउँछ । अहिलेको व्यस्त जमानामा सवारी साधनबिनाको जीवन सुस्त र पट्यारलाग्दो हुन्छ । समयको बर्बादी त छँदैछ शरीरलाई सास्ती पनि सवारी साधनरहित जीवनको परिणाम हुनपुग्छ ।

सवारीले मानव जीवनमा निकै महत्वपूर्ण अर्थ राख्छ भने सवारी साधनले यसलाई सहज र छरितो बनाउन सघाउँछ । अहिलेको व्यस्त जमानामा सवारी साधनबिनाको जीवन सुस्त र पट्यारलाग्दो हुन्छ । समयको बर्बादी त छँदैछ शरीरलाई सास्ती पनि सवारी साधनरहित जीवनको परिणाम हुनपुग्छ । अहिले कामकाजीहरूका लागि गाँसपछि बास र कपासभन्दा पनि सवारी साधन बढी आवश्यक हुन थालेको छ । चुनदेवीकी इलिसा एक निजी बैंकमा काम गर्छिन् । दुई सन्तानकी आमा इलिसाले असल श्रीमती, कुशल बैंकर्स, जिम्मेवार आमा सबै भूमिका निर्वाह गर्नुपरेको छ । ती सबै कुराको तालमेल उनीसँग भएको स्कुटरले मिलाउने गरेको छ । घरका सम्पूर्ण काम भ्याई निश्चित समय राखेर उनी अफिस प्रस्थान गर्छिन् । इलिसासँग भएको सवारीसाधनले उनका हरेक जिम्मेवारी पूरा गर्न राम्रैसँग सघाएको छ । अहिले प्रोफेसनल मात्र होइनन् हाउसवाइफ, कलेज स्टुडेन्टसमेत स्कुटरतर्फ आकर्षित छन् । यिनै कुरालाई ध्यानमा राखी विभिन्न मल्टिनेसनल ब्रान्डले नेपालमा पनि नयाँ शैली र ढाँचाका स्कुटर भित्र्याउन थालेका छन् । अहिले बजारमा आएका स्कुटरमध्ये महिला–पुरुष दुवैका लागि उपयुक्त हुने खालका स्कुटर बढी बिक्री हुने बिक्रेताहरूको दाबी छ । हाल बजारमा देखापरेका प्राय: स्कुटर नेपालका सडकका लागि उपयुक्त तथा इन्धन कम खपत हुने खालका भएको बिक्रेताहरू बताउँछन् ।

ताइवानी कम्पनी सान्याङले हालसालै नेपाली बजारमा पठाएको १ सय २५ सिसीको फिडोल–थ्री स्कुटर धेरैले रुचाएका छन् । सान्याङको नेपालस्थित आधिकारिक बिक्रेता श्रेष्ठ कम्पनीका मार्केटिङ अफिसर सुशान्त पुरीका अनुसार अहिले नेपालमा उपलब्ध स्कुटरमध्ये सबैभन्दा महँगो स्कुटर सान्याङकै छ । जिटिएस–३०० आई नामक उक्त स्कुटरको मूल्य ७ लाख ७० हजार रुपैंयाँ पर्छ–सुशान्त भन्छन्– लङ टुर, फास्ट–रेस अनि हेभी मन पराउनेहरूका लागि यो स्कुटर उपयुक्त हुनुका साथै लक्जरियस र कम्फर्टेबल पनि छ । १२ लिटरको इन्धन ट्याङकी तथा ठूलो डिक्की यो स्कुटरका विशेषता हुन् । सान्याङ कम्पनीकै २०० सिसीको अर्को स्कुटर जोय–राइडको मूल्य ५ लाख रुपैंयाँ पर्छ । साढे ८ लिटर क्षमताको इन्धन ट्याङकी, डबल डिस्क ब्रेक, ठूलो डिक्की तथा पछाडि पनि २ वटा सस्पेन्सन जोय–राइडको विशेषता हो ।

इटालियन कम्पनी पियाजिओ संसारभर रुचाइएको ब्रान्ड हो । यसको नेपालस्थित आधिकारिक बिक्रेता डि–लाइफस्टायल्स लाजिम्पाटका मार्केटिङ अफिसर राजेश बस्नेत भन्छन्–टु ह्विलर चढ्ने हरेकको सपना हुन्छ भेस्वा चढ्ने । २ लाख ३९ हजार, ९ सय ४६ रुपैंयाँ पर्ने भेस्वा नेपालमा अहिले लेडी ड्रिम बन्न सफल भएको छ । जसले क्लास क्रियट गर्नुका साथै प्रोफेसन स्टेटस समेत मेन्टेन गर्छ । ७५ वर्षभन्दा पुरानो पियाजिओ कम्पनीले अर्को एउटा स्कुटर पनि उत्पादन गर्छ जसको नाम हो–अप्रिलिया । स्कुटरभन्दा पनि क्रस ओभर भनिने अप्रिलिया नेपालमा ७ महिनाअघि मात्र भित्रिएको हो । १ सय ५० सिसीको यो स्कुटर निकै सुरक्षित भएको कम्पनीको दाबी छ । साढे ६ लिटर तेल अट्ने ट्याङ्की, ठूलो टायर, १ सय ६० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, मोबाइल चार्जिङ पोर्टलगायत प्रतिघन्टा १ सय २० किलोमिटर कुँद्न सक्ने क्षमताले अप्रिलियालाई अन्य स्कुटरको तुलनामा पृथक् बनाएको बस्नेत बताउँछन् ।

जापानी कम्पनी यामाहाको नेपालस्थित आधिकारिक बिक्रेता हो एमएडब्ल्यु । यसका विभिन्न शाखामध्ये कुमारीपाटीस्थित रिसिक अटोमोबाइल्सका मार्केटिङ एक्ज्युकेटिभ शैलेन्द्रकुमार राय यामाहाका उत्पादन रे–जेडआर डिस तथा फेसिलोको माग अकासिएको बताउँछन् । १ लाख ९६ हजार पर्ने रे–जेडआर डिस अहिले चर्चामा छ । ट्युबलेस टायर, ५ लिटरको इन्धन क्षमतायुक्त ट्याङ्की, डिस्क ब्रेक तथा ४० किलोमिटर प्रतिलिटर पेट्रोलभन्दा बढी माइलेज यसका विशेषता हुन् । यामाहाका अन्य उत्पादन रे–जेड, रे–जेड ट्रमलाई पनि कम आँक्न मिल्दैन । यी स्कुटर सहज एवं गुणस्तरीय हुनुका साथै सुविधाको तुलनामा सुलभ मूल्यमै उपलब्ध हुने रायको तर्क छ ।

हिरो कम्पनीको मार्केटिङ शाखामा कार्यरत मनीष महर्जन एकताका प्लेजरको मार्केट बुम भएको र त्यसकै प्रतिफल आज नेपालमा दर्जनौं स्कुटर कम्पनीको आगमन सफल भएको बताउँदै भन्छन्–जसले प्लेजर चढ्छन्, उनीहरूले प्लेजेन्ट फिल गर्छन् । १ सय २ सिसीको प्लेजरमा ५ लिटर तेल स्टोर हुन्छ भने यो ३५ देखि ४० किलोमिटर प्रतिघन्टा दौडनसक्छ । त्यसबाहेक हामीसँग १ सय ११ सिसीको मेस्ट्रो इडिजिई भीएक्स तथा डुइट भीएक्स स्कुटर पनि छन् । यी दुवै साढे ५ लिटर तेल अट्ने, ४० किलोमिटर प्रतिघन्टा कुद्न सक्ने तथा मोबाइल चार्जिङ पोर्टयुक्त हुन् । मेस्ट्रो इडिजिई भीएक्सको मूल्य १ लाख ८१ हजार छ भने डुइट भीएक्सको १ लाख ७७ हजार रुपैयाँ पर्छ ।

भियतनामसँग सम्बन्धन बनाएको जापानी कम्पनी टेराले आकर्षक स्कुटर उत्पादन थालेको निकै समय भैसकेको छ तर यसले एक महिनाअघि मात्र आफ्ना उत्पादन नेपाली बजारमा पठाएको छ । टेरा मोटर्स दरबारमार्गका प्रज्ज्वल बोगटी भन्छन्–हामी स्कुटर मात्र बेच्छौं । इन्धन नचाहिने हाम्रा स्कुटर चार्जेबल ब्याट्रीबाट चल्छन् । ब्याट्रीमा १ वर्षे ग्यारेन्टी पनि दिएका छौं । अहिले हामीसँग ५ वटा रंगमा उपलब्ध टेराका उत्पादन नीलो तथा हरियो रंगमा बढी रुचाइएका छन् । यसैगरी टेराकै इको नामक अर्को स्कुटरले २ हजार वाट विद्युत् खपत गर्छ । ७ घन्टा चार्ज गरेपछि यो ७५ देखि ८० किलोमिटर चल्छ । १ लाख ३८ हजार पर्ने इकोको ब्याट्रीमा १ वर्षे वारेन्टी प्रदान गरिएको बोगटी बताउँछन् । त्यसैगरी टेराकै अर्को उत्पादन एक्युटोले ३ हजार वाट विद्युत् खपत गर्छ । ४ घन्टा चार्ज गरियो भने मज्जाले ८० किलोमिटर कुँद्ने यो स्कुटरको ब्याट्री लिथियमयुक्त भएकाले हिँड्दा–हिँड्दै बाटैमा सकियो भने पनि निकाली कतै लगेर चार्ज गर्न सकिन्छ अर्थात् यसको ब्याट्री मोबाइलको जस्तै हुन्छ । २ लाख ३५ हजार पर्ने एक्युटोको ब्याट्रीमा २ वर्षे ग्यारेन्टी प्रदान गरिएको छ ।

 Image