Successfully Copied

सिर्जनशील व्यवसायमा नयाँ पुस्ता

आफ्ना सन्तान डाक्टर, इन्जिनियर वा पाइलट बनून् भन्ने चाहना राख्ने अभिभावक आज पनि थुप्रै छन् । यद्यपि अहिले नयाँ पुस्ताको विकास, शिक्षाको स्तर तथा केही नयाँ काम गरौं भन्ने चाहना राख्ने युवाहरूका कारण पुरातन सोच राख्ने अभिभावकको विचारमा समेत परिवर्तन देखा पर्न थालेको

आफ्ना सन्तान डाक्टर, इन्जिनियर वा पाइलट बनून् भन्ने चाहना राख्ने अभिभावक आज पनि थुप्रै छन् । यद्यपि अहिले नयाँ पुस्ताको विकास, शिक्षाको स्तर तथा केही नयाँ काम गरौं भन्ने चाहना राख्ने युवाहरूका कारण पुरातन सोच राख्ने अभिभावकको विचारमा समेत परिवर्तन देखा पर्न थालेको छ । युवाहरूको सक्रियता एवं रुचि नयाँ–नयाँ विषयमा छ । अहिलेका युवाहरू फेसन डिजाइनिङ, मेकअप आर्ट, इन्टेरियर डिजाइनिङ, बार टेन्डर, कुक, नर्स, सिए, ग्राफिक्स डिजाइनिङ, एमिनेसन आदि विविध क्षेत्रमा सक्रिय हुन थालेका छन् ।

जुनसुकै क्षेत्र वा पेसामा लागे पनि सिर्जनशीलता छ भने नाम, दाम एवं सन्तुष्टि प्राप्त हुने भएकाले पहिलेजस्तो डाक्टर, इन्जिनियर वा पाइलट नै बन्नुपर्छ भन्ने आमधारणामा कमी आउँदै गएको छ । आजको पुस्ता पुरातन पेसाभन्दा फरक काम गरी नाम तथा दाम कमाउने कुरामा विश्वास गर्छ ।

आयुषा श्रेष्ठ

केयूबाट ग्राफिक्स डिजाइनिङ गरेकी आयुषालाई सानैदेखि आर्टमा सक्रिय हुने चाहना थियो । त्यतिबेला सेरामिक्सका सिर्जनात्मक सामग्री हातैले बनाएर घर सजाउने आयुषा अहिले कन्सेप्चल ज्वेलरी डिजाइनिङमा सक्रिय छिन् । पाटन, वसन्तपुरतिर घुम्न जाँदा पर्यटकहरूलाई नेपाली गहना बेचेको देख्दा आफूले पनि केही नयाँ गहना बनाउने हो कि भनेर सोच्ने आयुषाले अध्ययनपछि यसैमा लाग्ने निर्णय गरिन् । सुरुमा घरपरिवारले नरुचाए पनि

आफ्नो काम र मेहनत देखेपछि प्रोत्साहित गर्न थालिएको आयुषा बताउँछिन् । आयुषालाई सुरुमा कालीगढबाट विश्वास प्राप्त गर्न मुस्किल भयो । उनले तयार पारेका ज्वेलरी डिजाइन युवापुस्तामाझ मात्र होइन प्लस ५० सम्मले पनि उत्तिकै रुचाएका छन् । अरु गहनाभन्दा फरक देखिने भएकाले पनि आयुषाको आमु ब्रान्डको मेड इन नेपाल ज्वेलरीको माग बढ्दो छ । 

उनले बनाएका चन्द्र, सूर्य लकेट अत्यधिक रुचाइएको डिजाइन हो । आयुषाले डिजाइन गरेका इयररिङ, नेकलेस, रिङ, ब्रासलेट तथा चुराहरू निकै आकर्षक छन् । ती ज्वेलरीको २ हजार २ सयदेखि ७–८ हजारसम्म पर्छ । चाँदीमा गोल्ड प्लेटेड गरिएको उनको काम इन्स्टाग्रामबाटै बढी बिक्री भैरहेको छ । अहिले केयूमै डिजाइनिङ पढाइरहेकी आयुषा अबको पुस्ता यस्तै क्रिएटिभ कामतर्फ आकर्षित हुने अनुमान गर्छिन् ।

आस्था राजभण्डारी

आयुषाजस्तै क्रियटिभ व्यवसायमा लागेकी अर्की युवती हुन्, आस्था राजभण्डारी । रातो बंगला स्कुलमा पढेकी आस्थाले भारतबाट आइभी गरेकी हुन् । त्यतिबेला डिजाइनिङ टेक्नोलोजी लिएर पढेकी आयुषाले पछि पुनेबाट इन्डस्ट्री डिजाइनको ४ वर्षे कोर्स पूरा गरिन् । अध्ययन पूरा भैसकेपछि नेपालमै केही नयाँ काम गरौं भनेर नेपाली बजारको रिसर्च गरेकी आस्थाले डिजाइन, आर्ट तथा टेक्नोलोजी तीनवटा विधालाई ब्लेन्ड गरेर कला काठमाडौं नामक फर्म चलाइरहेकी छिन् । उक्त फर्ममा क्रिएटिभ डाइरेक्टरका रूपमा कार्यरत आस्था कम्प्युटरबाट डिजाइन गरी मेसिनबाट इन्टेरियर डिजाइनका सामग्रीहरू तयार पार्छिन् ।

उनले डिजाइन गरेका चिया राख्ने कोस्टर, घडी, ल्याम्प, शोपिस, झ्याल–ढोकादेखि फल्स सिलिङसम्मका सामग्री अनलाइनमार्फत बिक्री भैरहेका छन् । उनका डिजाइनहरू सेरामिक्स र काठबाट तयार पारिएका हुन्छन् । आस्था आफ्नो डिजाइन कन्टेम्प्रोरी डिजाइन भएकाले सानो गिफ्ट आइटमदेखि इन्टेरियरलाई फोकस गरी काम गरिरहेको बताउँछिन् । 

 Image