Successfully Copied

तिहारका लागि किनमेल

तिहारको समयमा बजारको रमझम नै फरक हुन्छ ।

तिहारको समयमा बजारको रमझम नै फरक हुन्छ । तिहारमा उपभोक्ताहरूले पनि मन फुकाएर खर्च गर्छन् । तिहारमा विशेषगरी दाजुभाइले दिदीबहिनी तथा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने चलन छ । त्यसैगरी तिहारमा मिठाईं तथा उपहार पनि आदान–प्रदान हुन्छ । यस्तो समयमा हतार गर्दा अनावश्यक सामान  खरिद हुनसक्छ । कतिपयले आफ्नो इच्छा पूरा गर्न अनावश्यक सामान पनि लिन्छन्, जसले समस्या निम्त्याउन सक्छ । चाडपर्व मनाउँदा समझदारीपूर्वक खर्च गर्नुपर्छ । 

व्यवस्थित कार्यक्रम 

कुनै पनि उत्सवको किनमेल गर्नुअघि सूची बनाउनुपर्छ । व्यवस्थित तरिकाले गरिएको कामले समय तथा पैसा दुवैको बचत हुन्छ । त्यसैले आफ्नो कार्यको सूची बनाएर बजार जानुपर्छ । पटक–पटक होइन एकैपटक बजार जाँदा खर्चको बचत हुन्छ । घरको रंगरोगन एवं सरसफाइको काम पनि समयमै सक्नुपर्छ । तिहार नजिकिँदै जाँदा रंगरोगन गर्नेहरूले पनि बढी रकम माग गर्छन् । घरको सजावट तथा सरसफाइ आफूले गरेजस्तो राम्रो अरुले गर्दैनन् । त्यसैले केही समय निकालेर घरको सजावट गर्नुपर्छ । एकै पटकभन्दा थोरैथोरै गरेर सरसफाइ गर्नुपर्छ ।

तिहारमा खर्चको टिपोट बनाएर पृथक् नोटबुक तयार गर्नुपर्छ । त्यसमा सबै खर्चको व्यहोरा राख्नुपर्छ । यसमा मिठाईंको खर्च, उपहारको खर्च, मरमसलाको खर्च तथा खानपान सबैको खर्च टिपोटका रूपमा राख्नुपर्छ । लिखित बजेट भयो भने के शीर्षकमा कति खर्च गर्ने यकिन गर्न सकिन्छ । अत्यावश्यक सामग्रीको बजेट बनाएर अनावश्यक वस्तु खरिद गर्नुहुँदैन । 

किनमेलमा समझदारी 

कपडा खरिद गर्ने हो भने कपडाको आवश्यकता छ–छैन पहिले नै सुनिश्चित हुनुपर्छ । आवश्यकता छैन भने विचार पुर्‍याएर मात्र सामान खरिद गर्नुपर्छ । अत्यावश्यक सामानबाहेक अरुमा खर्च गर्नु हुँदैन । कुनै पनि सामग्री आवश्यक भए पनि चाहिएको संख्याभन्दा बढी खरिद गर्नु हुँदैन । कसैलाई उपहार खरिद गर्नु छ भने उसको चाहनाको ख्याल गर्नुपर्छ । आफ्ना दाजुभाइका सबै कुराको जानकारी राखेर सामान खरिद गर्नुपर्छ । मरमसला तिहारमा धेरै चाहिन्छ । त्यसैले थोक व्यापारीसँग मात्र सामान खरिद गर्नुपर्छ । उपहार पठाउँदा सूची बनाएर दिनुपर्नेहरूलाई मात्र दिनुपर्छ । 

खर्चमा कटौती 

तिहारका पाँचै दिनको कर्म गर्न बजेटले भ्याउँदैन भने आफ्नो बजेट कटौती गरेर मितव्ययी तरिकाले तिहार मनाउन सकिन्छ । अन्धविश्वासलाई त्यागेर आफ्नो बजेटअनुसार खर्च गर्नुपर्छ । रीति पुर्‍याउने चाहनामा धेरै ऋण लिएर चाडपर्व मनाउने प्रवृत्ति हटाउनुपर्छ । आफ्नो श्रद्धा–भक्ति भन्दा राम्रो प्रसाद तथा उपहार केही हुन सक्दैन । देखावटीको चक्करमा पैसा खर्च गर्नु हुँदैन । तिहारमा जुवा–तास खेल्ने चलन पनि छ  । शालीनतापूर्वक खेले यसले मनोरञ्जन दिन्छ । तर धेरै पैसा खर्च गरेर जुवा–तासमा सम्लग्न हुनु हँुदैन । यसले ठूलो समस्या उत्पन्न गर्न सक्छ । सकेसम्म खर्च कटौती गरेर झिलिमिली तिहारलाई रमाइलोसँग मनाउनुपर्छ । 

केही सुझाव 

व्यर्थ खर्च गर्नु हुँदैन । ऋण लिएर चाड मनाउने सोच बनाउनु हुँदैन । मिठाईं घरमै बनाउनु उपयुक्त हुन्छ । घरमा मिठाईं बनाउँदा पैसा बचत हुनुका साथै तयार पारिएको मिठाईं स्वस्थकर पनि हुन्छ । मिठाईं राम्रो मिठाईं पसलबाट मात्र खरिद गर्नुपर्छ । पटाकामा पैसा खर्च गर्नु हुँदैन । पटाका स्वास्थ्य एवं आर्थिक हिसाबले पनि उपयुक्त हुँदैन । घर जगमग गराउँदा मनैदेखि आनन्द हुने गरी गर्नुपर्छ । खर्चभन्दा समझदारीले खुसी ल्याउने प्रयास गर्नुपर्छ । यसले मनमा शान्ति पनि प्रदान गर्छ । 

 Image