Successfully Copied

सेल तथा छुट

सेल, छुट तथा विविध कम्बो अहिले व्यापारको अस्त्र बन्दै गएको छ । व्यवसायीहरूले यस्ता शस्त्रलाई स्टकका सामान रित्याउने माध्यम बनाउँछन् । यसको आकर्षणले ग्राहकहरू सामान खरिद गर्न आउँछन् ।

सेल, छुट तथा विविध कम्बो अहिले व्यापारको अस्त्र बन्दै गएको छ । व्यवसायीहरूले यस्ता शस्त्रलाई स्टकका सामान रित्याउने माध्यम बनाउँछन् । यसको आकर्षणले ग्राहकहरू सामान खरिद गर्न आउँछन् । यस्ता अफरले ग्राहकलाई आवश्यकताभन्दा बढी सामान खरिद गर्न उत्प्रेरित गर्छ । पहिले–पहिले यस्ता अफर केवल चाडपर्व तथा त्यस्तै विशेष अवसरमा दिइन्थ्यो तर अहिले यस्ता अफर कुनै न कुनै नाममा वर्षभरि नै दिइएको देखिन्छ । टिपाज कलेक्सनका प्रेमदेव यसो गर्नु समयको माग भएको बताउँछन् । मानिसको मानसिकता सेल र छुट भन्नेबित्तिकै निकै फरक हुन्छ । सेल वा छुट देख्नेबित्तिकै ग्राहकहरू पसल छिर्न बाध्य हुने उनी बताउँछन् । यस्तो आकर्षणले व्यवसायीहरूको व्यापार बढ्छ भने ग्राहकहरूले आफ्नो आवश्यकताको सामान सुलभ मूल्यमा प्राप्त गर्छन् । पहिले पोसाकहरूमा सेल वा छुट दिने चलन थियो तर अहिले बजारमा पाइने अधिकांश वस्तुमा यस्तो अफर पाइन्छ । खाने–पिउने सामग्रीदेखि मोबाइल, गहना एवं घरायसी सामग्रीहरूमा विभिन्न अफर प्रदान गरिन्छ । विशेषगरी एक किन्दा एक उपहार, दुई किन्दा एक सित्तैमा, स्क्राच कुपन, चिट्ठा, नगद छुट, बम्पर उपहारजस्ता अफरले बजारमा निकै तहल्का मच्चाएका छन् ।

विभिन्न सुविधा

महँगीले आकाश छोएको छ । यस्तो बेला व्यापारी तथा उत्पादक कम्पनीहरूले आफ्ना सामान सजिलै बिक्री गर्न विभिन्न अफर दिन्छन् । अहिले नेपाली बजारमा यस्ता अफरको बाढी नै आएको छ । को भन्दा को कमका आधारमा बजारमा अहिले यस्ता नयाँ स्किम निकाल्न प्रतिस्पर्धा छ । वर्षभरि नै प्रदान गरिने सेल तथा छुटलाई विन्टर सेल, क्लियरेन्स सेल, समर सेल, फेस्टिभ सेल आदि अनेक नाम दिइएको छ । सामान्यत: यसमा ५ देखि ५० प्रतिशतसम्म छुट प्राप्त हुन्छ । यस्तो उपाय अवलम्बन गर्दा सामान अरु बेलाभन्दा बढी बिक्री हुन्छ । यस्तो अफरले ग्राहकहरूलाई निकै आकर्षित गर्छ । त्यसैले अहिले मौका चाहिन्छ अफर आफैं जन्मन्छ ।

अधिक छुट, घट्दो गुणस्तर

कुनै पनि व्यवसायीले आफ्ना सामान घाटा खाएर बिक्री गर्दैनन् । सामान बिक्री गर्दा उनीहरूलाई थोरै भए पनि फाइदा हुन्छ । उनीहरू आफूलाई घाटा पुर्‍याएर उपभोक्तालाई फाइदा हुने काम गर्दैनन् । तसर्थ छुटमा राखिएका सामानको गुणस्तर केही कमसल हुन्छ वा त्यसमा अन्य कुनै कमजोरी हुन्छ । कुनै–कुनै उत्पादकले सेलमा बिक्री गर्नकै लागि कम गुणस्तरका सामान उत्पादन गर्छन् । कुनै सामान आउट अफ फेसन हुन्छन् भने ड्यामेज पिसहरू पनि सेलमा राखिन्छ ।

ई कमर्स साइट

अहिले अनलाइन सपरहरूलाई पनि छुट तथा सेलले आकर्षक गरिन्छ । अनलाइनबाट पनि  प्रशस्त सामान बिक्री हुन्छ । यसमा पनि ग्राहकहरूले छुट पाउँछन् । यसमा एकैपटक बढी सामान खरिद गर्दा छुटको व्यवस्था छ । यस्ता वेवसाइटले पनि आफूलाई फाइदा नराखी सामान बिक्री गर्दैनन्, तसर्थ सामान खरिद गर्दा निकै विचार पुर्‍याउनुपर्छ । बजारमा सामानको मूल्य पनि परिवर्तन भैरहन्छ । त्यसैले अनलाइन सामान खरिद गर्नुअघि बजार मूल्य यकिन गर्नुपर्छ ।

साना पसल

ठूल्ठूला शोरुम तथा ब्रान्डले मात्र होइन अहिले स–साना पसलहरूले पनि यस्ता छुट तथा सेलको अफर दिइरहेका छन् । यस्ता पसलहरूले विशेष गरी एउटै मूल्यका सामान बिक्रीमा राख्छन् । यस्ता पसलहरूले विशेगरी ९९, १९९, २९९ को नियम प्रयोगमा ल्याउँछन् । उनीहरूले ठूलो मात्रामा एकैपटक सामान खरिद गरेर आफूलाई फाइदा राखी सामान बिक्री गर्छन् । मध्यम वर्गीय ग्राहकहरू यस्ता पसलमा आकर्षित हुन्छन् ।

अफरमा लुकेको अर्थशास्त्र

वाइ वन गेट वन बजारको रणनीति हो । यो हरेक व्यवसायीले अपनाउने माध्यम पनि हो । विज्ञापन जति आकर्षक देखिन्छ त्यति नै ग्राहक आकर्षित हुन्छन् । यस्तो सामग्रीको मूल्य १ हजारभन्दा कम हुँदैन । यस्ता ४ वटा सामग्री बिक्री गर्दा व्यवसायीहरूले आफूलाई करिब ४० प्रतिशत नाफा छुट्याइसकेका हुन्छन् । वाइ टु गेट वान फ्रिमा फ्रिमा दिइने सामग्री केही कमसल हुन्छन् । जुन पसलमा ५० प्रतिशत भनी लेखिएको हुन्छ ती पसलभित्र पसेपछि सीमित सामग्रीमा मात्र ५० प्रतिशत छुट प्राप्त हुन्छ । आफूलाई मन परेको फेसनमा रहेका सामग्रीमा लेखिएजति छुट दिइँदैन । त्यसैले सेलमा राखिएका सामान भन्दैमा भएभरका सामान खरिद गर्नुपर्छ भन्ने छैन । यसले बजेट बिगार्ने काम गर्छ तसर्थ सेल तथा छुटका सामान खरिद गर्नुपूर्व निकै विचार पुर्‍याउनुपर्छ ।

 Image