Successfully Copied

मोबाइलबाट स्वास्थ्य

अहिले सबै खालका मिडिया र सेवा मोबाइल फोनमै उपलब्ध हुन थालेका छन् । स्मार्टफोनले कम्प्युटर र मोबाइल फोनलाई एउटै ठाउँ ल्याएपछि हातमै विश्व उपस्थित छ

अहिले सबै खालका मिडिया र सेवा मोबाइल फोनमै उपलब्ध हुन थालेका छन् । स्मार्टफोनले कम्प्युटर र मोबाइल फोनलाई एउटै ठाउँ ल्याएपछि हातमै विश्व उपस्थित छ, जसका कारण मनोरञ्जन, शिक्षा, स्वास्थ्य, स्टाइल बनेको मोबाइल- २ पेजजस्ता सबै जसो गतिविधि मोबाइल फोनबाटै हुन थालेका छन् । विभिन्न सेवा र सुविधाका साथ तयार पारिएका मोबाइल एप्सले गर्दा भ्रमण, यात्रा, टिकट खरिद, मनोरञ्जन, व्यायाम, व्यापार सबै सहज भएका छन् । अहिले मोबाइल नै शिक्षक अनि साथी भएको छ । जसले ज्ञान पनि दिन्छ, समय काट्न मनोरञ्जन र साथीले जस्तै सल्लाह पनि । एप्सको विकाससँगै मोबाइलले अब कुराकानी, सम्पर्कका लागि कनेक्टिभिटी मात्र होइन स्वास्थ्य जाँचका साथै व्यायाम समेत गराउँछ । त्यसका लागि केही एप्स गुगल वा एप्पलको डाउनलोड स्टोरबाट आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्नेछ ।

स्लिप स्टाटस : यो एपको नाम जस्तै यसले मानिसको सुत्ने लक्षण एवं प्रवृत्ति मापन गर्छ । सुत्ने र उठ्ने समयको रेकर्ड राखेर यसले साता, महिना, तीन महिना वा वर्षको तथ्यांक देखाउँछ । यसले व्यक्तिको सुत्ने प्रवृत्तिमा आएको परिर्वतन तथा त्यसले पार्नसक्ने असरका सम्बन्धमा अवगत गराउँछ ।

रनटेस्टिक प्रो : यो एपले दौडिएको, साइकल चलाएको वा मर्निङ वाकमा हिंडेको गतिविधिट्रयाक गर्छ । यसले बिहान गरिएको जगिङको गति मापन गरेर स्वास्थ्य अवस्थाका सम्बन्धमा सचेत गराउँछ । दौडँदा वा साइकल चलाउँदा गति र पार गरेको दूरीको अनुपात हिसाब गरेर यसले विभिन्न सुझाव पनि दिन्छ । यसले व्यायामका क्रममा मुटुको चालको समेत हिसाब राख्छ । यो एपमा स्वास्थ्य सुझावहरू पनि समावेश छ ।

इस्टान्ट हार्ट रेट : यो एन्ड्रोइड एपले मुटुको धड्कन जाँच्छ । मुटुको चाल कम, सामान्य तथा बढी छ भन्ने कुरा पत्ता लगाएर बताउँछ । यसले मुटुको धड्कनमात्र जाँच्दैन त्यसका कारण हुनसक्ने खतराहरूका बारेमा पनि अवगत गराउँछ भने त्यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने सुझाव पनि दिन्छ ।

डाइट भ्यूअर : यो मोबाइल एपले खानेकुराबाट प्राप्त हुने शक्तिको हिसाब राख्छ । यसले दैनिक आवश्यक क्यालोरीको हिसाब राखेर आफूलाई धेरै खानबाट रोक्छ । यो एमोटोपन भएकाहरूका लागि विशेष उपयोगी छ । यसले कुन उमेरकाका लागि कति क्यालोरी र कस्तो डाइटको आवश्यकता पर्छ भन्ने सिफारिस गर्छ । यसलेे बिहान, दिउँसो र बेलुका कस्तो खाना खाने भन्ने सुझाव पनि दिन्छ ।

ह्वाइट नोइज : यो एप निन्द्रा नलाग्ने समस्या भएकाहरूका लागि उपयोगी छ । यो वास्तवमा आधुनिक लोरीजस्तै हो । यसले निन्द्रा लगाउने मात्र होइन आनन्द पनि महसुस गराउँछ । ह्वाइट नोइजमा ४१ विभिन्न खालका आवाज छन्, जसलाई सुनेपछि निन्द्रा आउँछ । यो एपको सहयोगले समुद्री किनारादेखि लिएर अनि वर्षातको मौसम आफूले  चाहेको समयमा कोठामा ल्याएर निन्द्राको मज्जा लिन सकिन्छ ।

मोबाइलमा राखौं डाक्टरलाई : बिरामी कुन समयमा भइन्छ केही थाहा हुँदैन । त्यसैले अस्पताल वा डाक्टरका बारेमा जानकारी भने लिइरहनुपर्छ । हाम्रो जस्तो देशमा डाक्टर र अस्पताल यति धेरै छन् कि को-को हुन्, उनीहरू आफूलाई लागेको रोगका विशेषज्ञ हुन् -होइनन् थाहा पाउन पनि हम्मे-हम्मे पर्छ । त्यसमा पनि डाक्टर यति धेरै अस्पताल र क्लिनिक चहारिरहेका हुन्छन् कि कतिबेला कुन डाक्टर कहाँ भेटिन्छन् भन्ने कुरा थाहा पाउन निक्कै गाह्रो हुन्छ । एन्ड्रोइडका लागि विकास गरिएको एउटा एप्स यस्तो छ जसले डाक्टरको नाम, थर अनि ठेगाना मात्र होइन सम्पर्क नम्बर का साथै उनीहरू कुन-कुन अस्पतालमा कतिबेला उपलब्ध हुन्छन् भन्ने समेत जानकारी दिन्छ । यसमा अस्पताल तथा डाक्टरका बारेमा विस्तृत जानकारी समेटिएको छ । यो एपमा क्रमबद्ध रूपमा डाक्टरको नाम तथा  अस्पतालको नाम र सुविधा एवं विशेषज्ञताका बारेमा जानकारी लिनसकिन्छ । यो एप मोबाइलमा राख्न आफ्नो मोबाइलमा एन्ड्रोइड २ दशमलव २ भर्सन वा त्योभन्दा माथि हुनुपर्छ । डिसेम्बर १०, २०१२ मा अपडेट भएको यो एप नि:शुल्क उपलब्ध छ ।

स्वास्थ्य समस्या ल्याउन सक्छ

स्वास्थ्यमा मोबाइलको नकारात्मक प्रभाव मानसिक रूपमा स्पष्ट देखिन्छ । धेरै मोबाइल चलाउने व्यक्तिलाई सम्झन कठिन हुने, बोल्दाबोल्दै बिर्सने, कुनै एउटा कुरा तथा काममा मात्र ध्यान केन्दि्रत नहुने, अरूले भनेका कुराहरू सही रूपमा सम्झन नसक्ने, गणितीय क्षमता कमजोर हुनुका साथै प्राथमिकता निर्धारण गर्न नसक्ने जस्ता समस्या देखिन्छन् ।

मोबाइल फोन अहिले सबैका लागि सम्पर्कको सजिलो माध्यम भएको छ । अब यो फोन कुराकानीका लागि मात्र प्रयोग गरिँदैन, इन्टरनेट चलाउन तथा मनोरञ्जन र ज्ञानका अनेक प्रयोजनमा समेत यसकै प्रयोग हुन थालेको छ । यसलाई अब कम्प्युटरजस्तै प्रयोग गर्न सकिन्छ । त्यसैले हिजोआज युवादेखि प्रौढसम्मका हातमा मोबाइल देख्न सकिन्छ । स्कुल-कलेजदेखि शौचालय अनि बिछ्यौनासम्म मोबाइलले साथ दिने गरेको छ । कार वा बाइक अनि साइकल नै किन नहोस्, मोबाइलमा आएको फोन उठाउन हातमा रहेको हेन्डलले अप्ठेरो पार्दैन, जसले सडक दुर्घटना पनि बढाएको छ ।

 हुन त अहिले मोबाइल फोन स्टाइल स्टेटमेन्ट बनिसकेको छ । कक्षादेखि अफिससम्म, स्मार्ट फोन हातमा लिएर स्मार्ट देखिन चाहनु जोकसैको रहर भएको छ । स्टाटस सिम्बोल बन्न थालेको छ-मोबाइल । फेसबुकमा अपलोड गरिएका तस्बिरमा पनि आइफोनले खिचेको वा ग्यालेक्सीले तस्बिर खिचेको भनेर लेख्न थालेका छन्-युवाहरू । जसरी हुन्छ नयाँ-नयाँ मोडलका मोबाइल हातमा खेलाउन चाहन्छन्-युवाहरू । जसका लागि उनीहरू अनेक तरिकाले पैसाको जोगाड गरिरहेका हुन्छन् । चीनदेखि बेलायतसम्मका युवाहरू आइफोनका लागि कुमारित्व र मृगौला बेच्न तयार छन् । मोबाइलप्रतिको युवा क्रेज निक्कै बढी छ तर धेरैले मोबाइललाई स्टाटस सिम्बोल र शानको कुरा मानिरहँदा यसले शरीरमा पार्ने नकारात्मक प्रभावको पक्ष भने ओझेलमा पर्दै गएको छ ।

विशेषज्ञहरू मोबाइलको अत्यधिक प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन् । धेरै मोबाइल चलाउने व्यक्तिको मस्तिष्कमा समेत प्रभाव पर्ने चिकित्सकहरू बताउँछन् । पैसा र समयको समस्यामा परेको व्यक्तिले सपना पनि मोबाइलमा फोन गरेर थर्काएको देख्छ । विशेषज्ञहरू ठूलो दबाब र टेन्सनमा रहेको व्यक्तिमा मोबाइलकै कारण अनिद्रा, थकान एवं चिडचिडेपनको समस्या आउने बताउँछन् । जसका कारण उक्त व्यक्तिको बायोलोजिकल क्लक पनि बिग्रन्छ ।

स्वास्थ्यमा मोबाइलको नकारात्मक प्रभाव मानसिक रूपमा स्पष्ट देखिन्छ । धेरै मोबाइल चलाउने व्यक्तिलाई सम्झन कठिन हुने, बोल्दाबोल्दै बिर्सने, कुनै एउटा कुरा तथा काममा मात्र ध्यान केन्दि्रत नहुने, अरूले भनेका कुराहरू सही रूपमा सम्झन नसक्ने, गणितीय क्षमता कमजोर हुनुका साथै प्राथमिकता निर्धारण गर्न नसक्ने जस्ता समस्या देखिन्छन् । मनोचिकित्सकहरू मोबाइलको अत्यधिक प्रयोगले मानिसको ध्यान एउटै कुरामा केन्दि्रत गर्ने शक्ति -कन्सन्ट्रेसन पावर) कमजोर हुने बताउँछन् ।

कानमा इयरफोन लगाएर मोबाइलमा कुराकानी गर्नेहरूको कानमा समस्या देखिन्छ । इएनटी विशेषज्ञहरू कान शरीरको संवेदनशील अङ्ग भएकाले मोबाइलको भाइब्रेटरले कानको पर्दालाई प्रभाव पार्ने बताउँछन् । उनीहरूका अनुसार लगातार इयरफोनको माध्यमबाट कुराकानी गर्दा कानको हाई फ्रिक्वेन्सी प्रभावित हुन्छ जसले गर्दा एस, टी, एफ तथा जेडजस्ता अक्षर तुरुन्तातुरुन्तै नसुनिने हुन्छ भने कान भारी हुने, बन्द हुने र कान झनझनाउने हुन्छ । ईसीजी गर्दा जसरी इलेक्टि्रक म्याग्नेटिक सिग्नलले हृदयको गति नियन्त्रण गर्छ त्यसरी नै मोबाइलको रेडिएसनले पनि मुटुको धमनीमा प्रभाव पार्छ । मोबाइललाई सर्टको गोजीमा राख्नेहरूको हृदयको सानो आर्टरी प्रभावित भएर मृत्यु हुने अवस्थासम्म सिर्जना हुन सक्छ ।

ग्याजेट्सको प्रभावमा वैवाहिक जीवन

जीवनमा जो कोही सुख-सुविधाको चाहना राख्छन् । अधिकांश व्यक्तिले आज धेरै सुविधा जुटाउनुलाई नै राम्रो ढंगबाट जीवन जिउने कुराको पर्यायका रुपमा लिएको पाइन्छ । यस्तो स्थितिमा स्वाभाविक रूपमा हरेक व्यक्ति यिनै सुख-सुविधा जुराउन व्यस्त बन्दै गएको अनुभव हुन्छ । यद्यपि जुन सुविधाका लागि व्यक्ति अति व्यस्त बन्न पुगेको छ, कतै तिनै कुराले उसको जीवनमा खुसी, सुख र सन्तुष्टिमा कमी त ल्याइरहेको छैन भन्ने कुरा पनि बुझ्नु आवश्यक छ ।

मोबाइल, टेलिभिजन, कम्प्युटर, आइपोट, ई-सिरिज फोन, ल्यापटप आदि ग्याजेट्स आधुनिक जीवनशैलीमा सुख-सुविधाको पर्याय बनेका देखिन्छन् । यी ग्याजेट्सले व्यक्तिको जीवन, उसको घरपरिवार र त्यो भन्दा पनि तीव्र रूपमा उसको सम्बन्धमा आफ्नो स्थान बनाउँदै गएको छ । एकल परिवार तथा श्रीमान्-श्रीमती दुवै कामकाजी हुने बढ्दो चलनले आपसी सम्बन्धका रूप र त्यसको परिभाषालाई परिवर्तित गर्दै लगेको छ भने अब यी ग्याजेट्सले परिवर्तनलाई त्यसलाई अझ तीव्र बनाएका छन् । परिवर्तनसँगै कार्य-संस्कृतिमा आएको परिवर्तनसित मिलेर यी ग्याजेट्सले व्यक्तिका सम्बन्धहरूमा गहिरो प्रभाव पार्न थालेका छन्, मूलत: वैवाहिक सम्बन्धमा ।

रजनी र उमेश कामकाजी दम्पती हुन् । यी दुवै एउटै छतमुनि रहेर पनि आफ्ना धेरैभन्दा धेरै समय एक-अर्कासित नभएर, आफ्नो अफिस, आफ्नो बोस वा सहकर्मी, साथी-संगी वा उल्लिखित ग्याजेट्सहरूसित बिताउँछन् । रजनीका अनुसार यसमा कुनै आश्चर्य मान्नुपर्दैन । कामकाजी दम्पतीका लागि यो रुटिन कुरा हो । कतिपय अवस्थामा त बिदाका दिनमा पनि उनीहरू एक-अर्कासित समय बिताउनुको साटो आ-आफ्नो क्लाइन्ट्सित समय बिताउँछन्, व्यस्त हुन्छन् । सर्वेक्षणहरूका अनुसार क्यारियर, सामाजिकता निर्वाह वा आफ्नो सरोकारलाई मेन्टेन गर्नु र यी ग्याजेट्सप्रति पुरुषको एकाधिकार भन्ने कुरा अब आउटडेट भैसकेको छ । आजका महिलाहरूले स्वतन्त्र सामाजिक हैसियत मात्र नभएर क्यारियर र जीवनमा अघि बढ्न स्वतन्त्र रूपमा सामाजिक एवं व्यावसायिक कन्ट्रक्सन बनाउँदै गएको देखिन्छ । यति मात्र नभएर ग्याजेट्सको प्रयोगमा पनि महिलाहरू पुरुषहरूको समकक्षी भैसकेका छन् । त्यसैले उत्पादनकर्ताहरू महिलाहरूको आवश्यकता, रुचि र प्राथमिकताअनुसार नयाँ-नयाँ ग्याजेट्सहरू बजारमा भित्र्याइरहेका छन् ।

व्यक्तिले आफ्नो जति समय जीवनसाथी वा बालबालिका तथा परिवारसित बिताउँछ त्यसभन्दा धेरै समय उसले आफ्नो अफिस, बोस, साथीभाइ, सहकर्मी एवं ग्याजेट्ससित बिताउँछ । यदि गणना गरेर हिसाब-किताब नै निकाल्ने हो भने व्यक्तिले आफ्नो जीवनसाथीसँग बिताएका पलहरूको लेखाजोखा गर्न सक्छ । त्यतिबेला व्यक्तिलाई थाहा हुन्छ कि आफ्नो जीवनसाथीलाई सुविधासम्पन्न र सुखद् बनाउने कार्यमा लाग्दा व्यक्तिले आफूलाई कति टाढा पुर्‍याइरहेको छ, पारिवारिक खुसी र सुखबाट । जुन क्षण श्रीमान्-श्रीमतीले एक-आपसको अन्तरंगता र साथ-सामीप्यतामा बिताउनुपर्ने थियो त्यो समयलाई ग्याजेट्सको दुनियाँमा बिताइरहेकाहरू थुप्रै छन् । यो परिस्थितिमा व्यक्तिले ग्याजेट्सका कारण टाढिएको आपसी सम्बन्धको खुसी र सुखका सम्बन्धमा सोच्नु वा मनन गर्नु आवश्यक छ । यद्यपि ग्याजेट्सबिना जीवन गुजार्ने कुरा सोच्नु बुद्धिमानी होइन । आजको परिस्थितिमा त्यो सम्भव पनि छैन । अत: व्यक्तिले यी सबै कुराको बीच नै आफ्नो वैवाहिक एवं पारिवारिक सम्बन्धलाई टुट्नबाट जोगाउनु आवश्यक हुन्छ । यसका लागि एक-अर्काका साथ समय बिताउने कुरालाई प्राथमिकता दिनुपर्छ, जीवनमा एक-अर्काको महत्त्व बुझ्नुपर्छ र के तय गर्नुपर्छ भने ती ग्याजेट्सले आफ्नो खुसीमाथि ग्रहण लगाउने मौका नपाऊन् । यी ग्याजेट्स र आफ्नो जीवनसाथीका साथ बिताइने क्षणमा सन्तुलन कायम राख्नुपर्छ तब मात्र आफ्नो वैवाहिक जीवनलाई सुखद् राख्न सकिन्छ, साथै आफ्ना सन्तानको सन्तुलित विकासका लागि पनि पर्याप्त समय निकाल्न सम्भव हुन्छ ।

 Image