Successfully Copied

अनलाइन सपिङको क्रेज

बढ्दो व्यस्ततामा यस्ता आवश्यकता पूर्ति गर्न समय खर्चिरहनु कठिन कुरा हो । जसलाई सहज बनाइदिएका छन् लोकप्रिय बन्दै गैरहेका अनलाइन सपिङ सेवाले । घरमै बसी–बसी आफूले चाहेको सामग्री प्राप्त गर्न सकिने यी माध्यम ग्राहकहरूका लागि वरदान साबित भएका छन् ।

यो जमाना सहज र तत्काल सेवा चाहनेहरूको हो जुन व्यस्त जीवनशैलीको परिणाम पनि हो । समय परिवर्तनका क्रममा मानवीय स्वभावमा तात्विक भिन्नता नभए पनि आवश्यकता र माग भने फराकिलो हुँदै गएको छ । जति देख्यो वा बुझ्यो उति कठिन भनेझैं जति धेरै विषयगत ज्ञान बढ्दै गयो सिक्ने, बुझ्ने र उपभोग गर्ने इच्छाशक्ति अझ तीव्र हुँदै जानु मानवीय स्वभाव नै हो । आजको जीवनशैली गास, बास र कपासभन्दा एक तह माथि उक्लने क्रममा छ ।

यस क्रममा जो कोही दैनिक आवश्यकताभन्दा माथि उठेर सोच्न र त्यहीअनुरूपको व्यवहार गर्न थालिसकेका छन् । बढ्दो व्यस्ततामा यस्ता आवश्यकता पूर्ति गर्न समय खर्चिरहनु कठिन कुरा हो । जसलाई सहज बनाइदिएका छन् लोकप्रिय बन्दै गैरहेका अनलाइन सपिङ सेवाले । घरमै बसी–बसी आफूले चाहेको सामग्री प्राप्त गर्न सकिने यी माध्यम ग्राहकहरूका लागि वरदान साबित भएका छन् ।

यस्ता अनलाइनबाट घरायसी सामान, लत्ताकपडा, ब्याग, जुत्ता आदि एसेसरिज, ग्याजेट्स मात्र होइन खाद्यान्न, फर्निचर, बालबालिकाका लागि सम्पूर्ण प्याकेजलगायतका सामग्री उपलब्ध हुन्छन् जहाँ सामानको गुणस्तर मात्र नभई मूल्य, त्यसको विशेषता, प्रयोग गर्ने तरिका आदिका बारेमा समेत जानकारी प्राप्त गर्न सकिन्छ । ओछ्यानमै बसी–बसी सामान छनौट गर्न सक्नु र एक कल फोनका भरमै घरमै सामान प्राप्त गर्नु यसको विशेषता हो ।

नक्सालकी मिलीषा बीबीएसकी विद्यार्थी हुन् । सपिङकी सौखिन मिलीषा २ वर्षअघिसम्म किनमेलमा जानुपर्‍यो भने हप्ता दिनअघि नै प्लान बनाउँथिन् । साथीहरूलाई फोन गर्ने, समय छुट्याउने, साधनको बन्दोबस्त गर्ने कुरामै प्रशस्त समय खर्च भैसकेको हुन्थ्यो तर अहिले उनलाई अनलाइन सपिङको बानी बसेको छ । होमवर्कलगायत, बेलुकाको डिनर सकेर उनी मोबाइल वा आइप्याडमा लगइन हुन्छिन् । अनि चहार्न थाल्छिन् विभिन्न अनलाइन सपिङ साइटमा ।

मिलीषाले भनिन्–यसले मेरो समय मात्र नभई पैसाको समेत बचत गराएको छ । एकपटक सपिङ जाँदा भाडा–खाजा खर्च भनेर त्यसै पनि ५ सयदेखि १ हजार सकिन्थ्यो तर घरमै बसी–बसी सपिङ गर्दा त्यति पैसाले त अर्को एउटा सामान किन्न पुग्छ । त्यसबाहेक अनलाइन सपिङमा न धूलो न धूवाँ न भीडभाड, आफूलाई मन परेको सामान आफ्नै ओछ्यानमा सिरकभित्रै बसी–बसी मज्जाले छान्न पाइन्छ चाहेको बेला घरमै आइपुग्छ अनि कसले गरोस् दु:ख र झन्झट ?

अनलाइन सपिङको बानी परेकाहरूलाई भीडभाडमा गएर, घन्टौं लगाई सामान छानेर समय बर्बाद गर्न मन लाग्दैन । यस्ता अनलाइन सपिङले धेरैलाई सहज मात्र बनाएका छैनन् व्यस्त दैनिकीमा समय बचत गरिदिने बलियो माध्यमसमेत बनेका छन् ।

कतिपय अनलाइन साइट्सले ग्राहकको सुविधालाई ध्यानमा राख्दै बिल भुक्तानीमा सहज एवं सुलभ सेवा प्रदान गर्न ई–सेवा, पेयपल, एससिटी मोको अथवा इन्टरनेट बंैकिङसमेत प्रयोग गर्ने गरेका छन् । यस्ता सेवाले ग्राहकसँग तत्काल नगद नभएको खण्डमा पनि सामान खरिद गर्न सक्ने विकल्प उपलब्ध गराउँछन् ।

अनलाइनमा एकपटक खरिद गरिसकेका सामग्रीहरू साइज नमिले, बिग्रिएको देखिए वा चित्त नबुझे साटफेर गर्न पाइन्छ । अनलाइन सपिङ साइटहरूले नेपाली ह्यान्डमेड सामग्रीहरूलाई बढी प्राथमिकता दिएको पाइन्छ । अहिले नेपालका चर्चित अनलाइन साइट्सहरू क्यामु, गो–गज्जब, हाम्रो बजार, क्लोथस्, थ्रेडपेन्ट्स, किराना आदिमा दैनिक आवश्यकताका सामानका अतिरिक्त गाडी, ग्याजेट्स, पहिरन, जुत्ता–ब्याग मात्र नभएर घर–जग्गा, अपार्टमेन्टस्सम्म खरिद गर्न सकिन्छ । यी साइट्समा बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि चाहिने सामग्री राखिएका हुन्छन् ।

अहिलेको युवापुस्तामा अनलाइन सपिङको विशेष क्रेज छ । अनलाइनबाट बढी बिक्री हुने भनेका ग्याजेट्स, सौन्दर्य प्रसाधन, पहिरन, जुत्ता–ब्याग तथा एसेसरिज नै हुन् जुन ठूलो रकमका हुँदैनन् तर दैनिक जनजीवनमा महत्वपूर्ण अर्थ राख्ने खालका हुन्छन् । पछिल्लो समयमा संसारभर लोकप्रियता हासिल गरिरहेको अनलाइन सपिङ ट्ेरन्ड नेपालमा समेत प्रचलित हुँदै गएको छ ।

सुरक्षित अनलाइन सपिङ कसरी गर्ने ?

    बिल भुक्तानी गर्दा डेबिड कार्डको साटो क्रेडिट कार्ड प्रयोग गर्नुपर्छ जसले

आफ्नो पैसा सुरक्षित राख्न मद्दत गर्छ ।

    डिस्पोजल क्रेडिट कार्ड अर्थात् प्रि–पेड क्रेडिट कार्डको प्रयोग अनलाइन सपिङको सबैभन्दा भरपर्दो माध्यम हो जुन एकपटक प्रयोग गरिसकेपछि त्यसको अवधि समाप्त हुन्छ ।

    सपिङ अगावै वेबसाइटको सेक्युरिटी भेरिफाई गर्नु आवश्यक छ ।

    सकेसम्म अरुलाई देखाएर अर्थात् सबैकुरा जानकारी गराएर अनलाइन सपिङ गर्नु हुँदैन । घरकै कम्प्युटर वा ल्यापटप अथवा व्यक्तिगत मोबाइलद्वारा सपिङ गर्दा अफिस, साइबर वा अन्य सार्वजनिक स्थलको कम्प्युटर चलाएर गरिने सपिङको तुलनामा बढी सुरक्षित हुन्छ ।

    सपिङ गर्दा प्रयोग गरिएका कुनै पनि सूचनालाई स्टोर गरेर राख्नुहुँदैन । आफ्नो सपिङ प्रक्रिया समाप्त भएपछि सम्पूर्ण सूचना मेटिदिनुपर्छ ।

नाम चलेका केही नेपाली

अनलाइन सपिङ साइट

क्यामु डट कम

गो गज्जब डट कम

हाम्रो बजार डट कम

थ्रेडपेन्ट्स डट कम

क्लोथ नेपाल डट कम

दराज डट कम

मेरो सपिङ डट कम

किराना डट कम

 Image