सिर्जना थपलिया प्रमुख अध्यागमन अधिकृत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सह–सचिव सिर्जना थपलियालाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयले एकैपटकमा १६ जना सह–सचिव सरुवा गर्दा यही मेसोमा थपलियालाई यो जिम्मेवारी सुम्पिइएको हो ।
त्रिविबाट समाजशास्त्रमा स्नातकोत्तर र वार्सेड युनिभर्सिटी टोकियो जापानबाट इन्टरनेसनल रिलेसन (पोलिटिकल साइन्स) मा पुन: स्नातकोत्तरसम्मको अध्ययन उनले पूरा गरेकी छिन् । विमानस्थल जस्तो अति संवेदनशील स्थानमा बागडोर सम्हाल्दाको चुनौती र नेतृत्वमा महिलाका विषयलाई लिएर गरिएको संवाद :
प्रस्तुति : लक्ष्मी भण्डारी
निजामती सेवा प्रवेशअघि के गर्नुहुन्थ्यो ?
त्रिविअन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) मा काम गर्थें । मैले धेरै समय वीरगञ्जमा पढाएँ ।
सरकारी सेवामा करियर बनाउने प्रेरणा केले दियो ?
पढाउँदा पनि अफिसर लेभलकै काम थियो, सेवा–सुविधा राम्रै थियो । मेरा दुईजना साथीले सरकारीमा नाम निकाले । म वीरगञ्ज नर्सिङ क्याम्पस पढाउँदै गर्दा गर्भवती थिएँ । परिवार काठमाडौंमा थियो भने म उता । मलाई परिवारसँगै बस्नुपर्छ भन्ने थियो तर त्यो सम्भावना कमै थियो । त्यही बेला सरकारीमा स्वास्थ्य सेवातर्फ अफिसर खुलेको थियो । मेरा ती दुईजना साथीले र परिवारसँगै बस्ने कुराले म परीक्षा दिन प्रेरित भएँ । उतिबेला पढाउने काममा म यति व्यस्त थिएँ कि परीक्षाका लागि राम्ररी पढ्न पनि पाएकी थिइनँ । तर आफूले राम्ररी पढेर विद्यार्थीलाई पढाउने बानीले पनि मलाई यहाँनिर सघायो । परीक्षा दिन जाँदा पासै भइएला र यसरी सरकारी सेवामा आइएला भन्ने लागेको थिएन । तर चौथो नम्बरमै नाम निस्कियो र २०७० सालदेखि मेरो निजामती सेवा यात्रा सुरु भयो ।
प्राध्यापन गरिरहेको मान्छे, यता निजामतीमा कत्तिको इन्जोय गर्नुभयो त ?
म माथि–माथि बसेर भन्दा पनि सेवाग्राहीसँग प्रत्यक्ष रूपमा काम गर्दा पूर्णरूपमा रमाउँछु र मलाई बढी सन्तुष्टि पनि त्यसैमा मिल्छ । नीतिगत तहमा पनि काम गरिन्छ तर त्यसको प्रभावकारिता हेर्दा परिणामका लागि समय कुनुपर्ने हुन्छ ।
नौ महिना संखुवासभाको प्रजिअ पनि बन्नुभयो । तुलनात्मक रूपमा अहिलेको यो जिम्मेवारी चुनौतीपूर्ण लाग्यो कि त्यो ?
सिडिओको काम पनि चुनौतीपूर्ण हो । हरेक मुद्दा जिप्रकामै ठोकिन्छन् । धेरै निकायसँग समन्वय गरेर काम गर्नुपर्ने भएकाले परिणाम तत्कालै आइहाल्छ भन्ने हुँदैन । त्यहाँ स–साना काम पनि गर्नुपर्ने हुन्छ । चौतर्फी काम एकैपटकमा गर्नुपर्दा चुनौती त भइहाल्छ । विमानस्थल अध्यागनमा भने अलि बढी टेक्निकल लाग्यो ।
विमानस्थल भन्नेबित्तिकै अध्यागमन मात्रै हो कि भन्ने आम बुझाइ छ तर यहाँभित्र अन्य धेरै एजेन्सीले एकैसाथ काम गरिरहेका हुन्छन् । यसैमध्यको एक हो अध्यागमन कार्यालय । यहाँबाट मूलत: दुईवटा काम हुन्छन् । जसरी देशको भन्सारलाई नाका भनिन्छ त्यस्तै विमानस्थलको नाका हो यो । अहिले हामी आउने र जाने गरी दैनिक १२ देखि १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका छौं । तीबाहेक अन्य पनि सेवाग्राही हुन्छन् । सेवालाई कसरी चुस्त, दुरुस्त र सहज बनाउने, सेवाग्राहीलाई कसरी बिनाझन्झट सेवा उपयुक्त बनाउने अनि ती सबै अनुभवका आधारमा नीति निर्माणमा असर र प्रभावबारे फिडब्याक दिने काम यहाँबाट हुन्छ । हामी सेवाग्राहीको पासपोर्ट भिसाको स्थिति, अवस्था, एयरलाइन्स, टिकट र आवश्यक डकुमेन्ट हेर्छौं । सबै ठीक भए सहज ढंगले काम भइहाल्छ ।
परम्परागत रूपमा पुरुष–प्रधान क्षेत्रमा तपाईंले महिला नेतृत्वकर्ताको रूपमा के–कस्ता अनौठा चुनौतीहरू सामना गर्नुपर्यो ?
व्यक्तिगत रूपमा त्यस्ता विभेद महसुस गर्नुपरेको छैन तर व्यावसायिक रूपमा मैले मात्रै नभएर धेरै क्षेत्रका धेरै महिलाले विविध चुनौती सामना गरिहेका हुन्छन् जस्तो लाग्छ । यसले के सक्ली र ? भनेर जिम्मेवारी दिन हिच्किचाउने समस्या थिए तर अहिले त्यो विस्तारै हट्दै गएको छ । म महिला हुँ भनेर आफैंलाई कम आँक्न हुँदैन । जुनसुकै होस् पदमा पुगिसकेपछि लिङ्गको कुरै हँुदैन । मेरो सवालमा अन द स्पट ट्याकल गर्ने स्वभाव भएका कारण खासै त्यस्तो समस्यामा परेकी छैन । मलाई दिइएका प्रत्येक काम र हरेक जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गरेकी छु ।
यात्रीहरूका लागि सुरक्षाका उपायहरू कसरी मजबुत राख्नुहुन्छ ?
एयरपोर्ट भन्नासाथ थुप्रै एजेन्सीले काम गरिरहेको साझा स्थल हो । अध्यागमन यसैभित्रको एउटा कम्पोनेन्ट हो । लाइनमा बसेर इमिग्रेसन डेस्कमा आइसकेपछि दुई मिनेटमा काम सकिन्छ । समयको हिसाबले अत्यन्तै सहज र सरल बनाइरहेका छौं । बीसौं वर्ष पुराना भौतिक संरचनालाई अपग्रेड गरिरहेका छौं ।
आप्रवासन तथा प्रवासी कामका क्षेत्रमा महिलाहरूलाई सम्मिलित र अगाडि बढाउनेमा प्रोत्साहित गर्न के पहल गरिँदैछ ?
समस्या विभिन्न श्रम बजारमा छन् । महिला आप्रवासी तथा प्रवासी कामदारका लागि नीतिगत सुधार भएका छन् । समग्र श्रमबजारलाई अध्यागमनले मात्रै रोक्ने अधिकार छैन ।
आधुनिकरण, समावेशिता र विश्वव्यापी सहकार्यको दृष्टिले एयरपोर्ट आप्रवासनको दीर्घकालीन दृष्टि र योजना के हो ?
आउने र जाने यात्रुको भिसा, पासपोर्ट, पूर्ण कागजात जाँच गर्ने, प्रविधिको विकास गरेर काम गर्ने, अध्यागमन सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउने, दक्ष मानवशक्ति, प्रविधि र भौतिक संरचनालाई अपग्रेड गर्ने ।
यस्तो महत्वपूर्ण विभाग व्यवस्थापन गर्दा तपाईंको नेतृत्व शैलीलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ ?
‘आइ एम नट इनबर्न लिडर’, म निरन्तर सिक्नुपर्ने मान्छे हुँ । यहाँ फरक प्रकृतिको काम छ । त्यसैले अझ धेरै सिक्न पाउँछु । नियतवश गल्ती गर्नु भएन, कन्फ्कि्ट अफ इन्ट्रेस राख्न भएन, यसरी म कहिल्यै कामै गर्दिनँ । सत्कर्मले सही परिणाम ल्याउँछ भन्नेमा विश्वास छ ।
यात्रु प्रक्रिया सजिलो बनाउन तपाईंको विभागले कसरी बायोमेट्रिक्स, एआई वा डिजिटल प्लेटफर्महरूको उपयोग गर्दैछ ?
भइरहेकामा हामी वेल इक्विप नै छौं । डिजिटल्ली एड्भान्स बनाउनेमा हामी लागिपरिरहेका छौं ।
कडा इमिग्रेसन प्रोटोकलहरूलाई सहानुभूति र ग्राहक सेवासँग कसरी सन्तुलन राख्नुहुन्छ ?
हामीसँग अध्यागमनमा फेसिलिटेसन गर्ने जनशक्ति छ । गर्भवती, सुत्केरी, दुधे बच्चाका आमा, वृद्धवृद्धा र अशक्तका लागि विशेष डेस्क छ ।
निजामती वा सार्वजनिक सेवामा नेतृत्वको भूमिकाको लागि आकांक्षित युवा महिलाहरूलाई तपाईं कस्तो सल्लाह दिनुहुन्छ ?
निजामती सेवामा डि–मोटिभेसनका कुरा पनि सुन्ने गरेकी छु । अहिलेको पुस्ता तत्काल परिणाम खोज्ने खालको छ । तर यो क्षेत्रमा नवयुवा आउनुपर्छ । आउनुस् सँगै बसेर यो देश बनाऔं । सिस्टममा बसेर काम गरौं ।
तपाईंको करिअरमा सबैभन्दा ठूलो प्रभावकारी वा मार्गदर्शक कोको रहे ?
धेरै जनाले उत्प्रेरित गर्नुभएको छ । सुरुमा त आमाबुवा नै हो । अहिले पनि धादिङमा भैंसी पालेर हामीलाई घिउ पठाउनुहुन्छ । त्यसपछि मेरा श्रीमान्, मेरी सासूआमा जसले मलाई कहिल्यै बुहारी हो भन्ने अनुभूति गराउनुभएन । उहाँहरूले धेरै विश्वास गर्नुभयो र मैले पनि त्यो विश्वास तोड्न हुँदैन भनेर यहाँसम्म आइपुगेकी छु ।
महिलालाई उच्च वा निर्णायक तहमा पुर्याउने सूत्र के हो ?
महिला आफैंले आफ्ना लागि काम गर्न सक्नुपर्छ । प्राकृतिक रूपमा हामी महिलामा स्थिर कुरामै रहने स्वभाव हुन्छ । पद पाउन निश्चित त्याग र समपर्ण जरुरी हुन्छ । अर्को मूल कुरा, परिवार, समाज र राज्यकै प्रजनन आवश्यकता महिलाले पूरा गर्नुपर्ने हुन्छ । यति गरेर पनि महिला आफ्नो क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै अगाडि बढिरहेका छन् भने ती असाधारण क्षमतायुक्त हुन् । तिनलाई परिवार, समाज तथा राज्यले एक्नलेज्ड गर्नैपर्छ । हिजोका दिनसम्म महिलालाई शिक्षामै विभेद थियो अब यो क्रमश: परिवर्तन हुँदैछ र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने छ ।
तपाईं आफूमा भएका कुन तीनवटा क्षमताले यहाँ हुनुहुन्छ ?
पहिलो कुरा त लोकसेवा पास गरें । त्यसपछि क्रमिक र प्रक्रियागत रूपमै यहाँ आइपुगेकी हुँ । स्वाभाविक हो, यसमा मेरो समय, दृढता, इमान्दारिता, निरन्तरता, मेहनत त छँदैछ ।
तपाईंको जीवनमा प्रभाव छाड्न सफल महिला ?
धेरैले प्रभावित पार्नुभएको छ । तर पनि मेरी आमा र सासूआमा भन्न चाहन्छु जसले मलाई निरन्तर विश्वास गरिराख्नुभयो, उत्साहित गराउने, माया र भरोसा दिने काम गरिराख्नुभयो ।
यदि इमिग्रेसन अफिसरहरूसँग सुपरहिरो शक्ति हुन्थ्यो भने, तपाईंको शक्ति कुन हुन्थ्यो होला, लगेजको लागि एक्स–रे दृष्टि वा झूटो मुस्कान तुरुन्त पत्ता लगाउने क्षमता ?
मान्छे सुपरहिरो भन्दा पनि मानव नै भएर व्यवहार गर्नुपर्छ भन्ने मेरो मान्यता छ । ह्युमन विहेभियरअनुसार मानव शक्ति प्रयोग गरेर जे–जति गर्न सकिन्छ त्यति गर्ने हो ।
एयरपोर्टको व्यस्त बिहानीमा के बढी जरुरी हुन्छ, बलियो इमिग्रेसन प्रणाली वा बलियो कप कफी ?
बलियो इमिग्रेसन प्रणाली ।
यदि तपाईं इमिग्रेसनको कुनै पनि लाइन पार नगरी सिधै कुनै पनि ठाउँ उड्न सक्नुहुन्थ्यो भने, कहाँ जानुहुन्थ्यो ?
मानव पहिला स्वतन्त्र रूपमा पंक्षी जस्तै उड्ने गर्थे । यो नीति, नियम, नियन्त्रण भन्ने कुरा त राज्यहरू बनिसकेपछि आएका कुरा हुन् ।
यात्रुहरूले कहिलेकाहीँ जोक वा प्रशंसा प्रयोग गरेर इमिग्रेसन पार गर्न खोज्छन् ?
त्यस्ता रणनीतिले काम गर्न हुँदैन भन्ने मलाई लाग्छ ।
तपाईंका लागि के गाह्रो छ, दैनिक हजारौं यात्रुको व्यवस्थापन गर्नु वा आफ्नो परिवारलाई विश्वस्त पार्नु ?
मेरो परिवार आफैंमा विश्वस्त छ । कहिलेकाहीँ बालबच्चा बिरामी हुँदा समय व्यवस्थापनबाहेक अन्य समयमा म आफ्नै निर्णयले काम गर्ने हो । तर यहाँको काम पनि सजिलो भने छैन ।
केही सन्देश छ ?
कतिपय कुरामा महिला आफूले आफैंलाई बाँधिराखेको देख्छु । परिवार, सन्तान, श्रीमान्, इष्टमित्र एवं आफन्त भन्दैमा महिलाले आफैंलाई बिर्सिरहेका हुन्छन् । कुनै समय तपाईंका सन्तान इन्डिपेन्डेन्ट बन्छन् र यो बन्नैपर्ने पनि हुन्छ । उनीहरूलाई तपाईं आमा हो भन्ने मात्रै नभई त्यसबाहेक पनि तपाईं अरु केही र कोही हो भन्ने आभास दिलाउन सक्नुभयो भने उनीहरू पनि स्वावलम्वी बन्दै जान्छन् । तपाईं पनि आमाबाहेक अरु थुप्रै कुरा बन्न सक्नुहुन्छ । यस्तै कुरामा अल्झिएर महिलाले करिअर छोड्न हुँदैन ।
तस्बिरहरु: महेशमान प्रधान