उर्मिला चौधरी(सामाजिक अभियन्ता)
केमा व्यस्त हुनुहुन्छ ?
म एक विद्यार्थी पनि हुँ, पढ्दैछु । सामाजिक काम मेरो पहिलो प्राथमिकता हो । अहिले म त्यसैमा व्यस्त छु ।
विगतका भोगाइसँग आजको दिन तुलना गर्दा कस्तो महसुस हुन्छ ?
विगतसँग आजको तुलना गर्दा यी दिनहरू कल्पनाभन्दा बाहिरका थिए । अहिले पनि ती दिन सम्झिँदा कहाली लाग्छ । पुस्तौंदेखि दास जीवन बाँचेका हामीले अहिले आएर सम्भव होला र ? भन्ने लाग्थ्यो । तर यो संसारमा असम्भव केही रहेनछ । मालिकको घरमा उद्धार गर्न जाँदा बोक्सी आए भनेर लखेटेका, सिडिओ साबले कमलरीहरू आएका छन् बाहिर बस्न देऊ भनेका, कर्णेलको घरमा कमलरी उद्धार गर्न जाँदाको हेपाइ सम्झिँदा आज पनि आङ जिरिङ्ग हुन्छ ।
अहिलेको जीवन कस्तो छ ?
मानिस आफ्नो मनले चाहेको गर्न पाउँदा खुसी हुँदोरहेछ । स्वतन्त्रतापूर्वक आत्मसम्मानका साथ बाँच्न पाउनु नै जीवन रहेछ । स्वतन्त्र भएपछि खाली खुट्टा हिँड्दा र दाउरै बेचेर भए पनि चप्पल किन्न सक्छु भन्ने आँट आउँदो रहेछ । कानुनअन्तर्गत राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुलुकका ठूला पदमा थुप्रै मानिस पुगिसकेका छन् भने हामीलाई समान कानुन किन नहुने ? यही लडाइँको दौरानमै छौं ।
कसरी त्यो जीवनबाट बाहिर निस्किएर विद्रोह गर्ने आँट आयो ?
जीवनको भोगाइले नै हो । पानी नाकको प्वालसम्म आइपुग्यो भने पौडिन बाध्य हुन्छ रे मान्छे । म बुझ्ने भइसकेपछि बुझ्दै जाँदा आफसेआफ चेतना आयो । मुक्त भएपछि १७ वर्षको उमेरमा किताबको सुगन्ध थाहा पाएँ । अहिले म कानुनमा ब्यालर पाँचौं वर्षमा अध्ययनरत छु ।
तपाईंको विचारमा अधिकार के हो ? हाम्रो देशका नागरिकले आफूले चाहे जसरी अधिकार उपभोग गर्न पाइरहेका छन् ?
स्वतन्त्र हुन पाउनु, आफू बोल्न पाउनु, स्वतन्त्रतापूर्वक बाँच्न पाउनु, कानुनसम्मत अधिकार प्रयोग गर्न पाउनु नै नागरिक अधिकार हो भन्ने लाग्छ । हाम्रा देशका सम्पूर्ण नागरिकले अधिकार उपभोग गर्न पाएझैं लाग्दैन । कानुनअनुसारको अधिकार नपाउनुमा प्रभावकारी कार्यान्वयन नहुनु हो । उपभोग गर्न पाएको भए रुकुममा दलित किन मारिन्थ्यो ? चेपाङलाई गाडीले किन हानिन्थ्यो ? ललितपुरमा कमलरीलाई छतमा किन जलाइन्थ्यो ?
सीमान्तकृत समुदायको विकास र सशक्तीकरणका लागि के आवश्यक छ ?
सरकारले उनीहरूको शिक्षा, रोजगार र विकासमा बजेट छुट्याउनुपर्छ । जुन थारुको चर्पी बनाउने जमिन छैन त्यो कसरी किसान हुनसक्छ ? कुन स्थानमा सीमान्तकृतहरू के–के गर्न सक्छन् ती–ती ठाउँहरूमा सोहीअनुरूप योजना ल्याउनुपर्छ । घोषणापत्रमा मात्रै होइन फिल्डमै योजना लागू हुनुपर्छ ।
तपाईंको विचारमा सम्पत्ति कमाउने ठूलो मान्छे हो कि, नाम–मान–प्रतिष्ठा कमाउने ?
निकै गाह्रो प्रश्न । पैसा भएको भए मेरा बुवा उपचार नपाएर, अक्सिजनको व्यवस्था गर्न नसकेर बित्नुहुन्न्थ्यो । अन्तिमसम्म चाहिने त मान–प्रतिष्ठा नै हो, यही अमूल्य छ ।
नेपाली जनताको समृद्धि र मुलुकको विकासका लागि आवश्यक तीन कुरा के–के हुन् ?
भौगोलिक आधारमा उद्योगको स्थापना, कुन स्थानमा कुन किसिमका दक्ष जनशक्ति सोहीअनुसारको उत्पादन र बिक्री–वितरण र युवाहरूलाई करिअर काउन्सिलिङ गरी उद्यमशीलतामा लगाइनुपर्छ ।
नेपाली महिला उच्चस्थानमा पुग्न नसक्नुको कारण के हो ?
महिला सक्षम छन् तर हाम्रो फरक शारीरिक क्षमताका कारण (बडी सेमिङ) गर्भवती छिन्, सुत्केरी हुने बेला भयो भनेर पनि पदमा राखिँदैन । पुरुषहरूसँग कुनै न कुनै पार्टीमा संगठित वा झुकाव राख्छन्, हामी महिला चिया गफ एवं नेटवर्किङमा पनि पछाडि नै छौं । यस्ता कुराले पनि महिला निर्णायक तहमा पुग्ने कुरामा अर्थ राख्दो रहेछ ।
आफूलाई मानसिक र शारीरिक रूपमा तरोताजा र सिर्जनशील राख्न के गर्ने गर्नुभएको छ ?
जुन दिनदेखि मुक्त भएँ त्यही दिनदेखि यत्ति फुर्तिली छु कि हरेक दिन सक्रिय रहन्छु । १३ हजार पूर्वकमलरीले केही न केही गरी खाइरहनुभएको छ । उहाँहरूसँगको भेटघाट, उहाँको काम हेर्दा आफूलाई थेरापी गरेको महसुस हुन्छ ।
पुस्तक मन पराउनुहुन्छ कि चलचित्र ?
पुस्तक पढ्न मनपर्छ । पछिल्लो पटक पढेको कोरियन लेखक आङहाङ को ‘भेजिटेरियन’ र नेपाली शून्यको मूल्य ।
योजना र सन्देश केही छन् कि ?
पढाइ सक्ने तथा महिला बालबालिकाका क्षेत्रमा सक्रिय भएर काम गर्ने । कमलरीको कथा व्यथा र लडाइँ व्यक्तिसँगको होइन राज्य, कानुन र आफ्नै अधिकारसँगको लडाइँ हो । यसलाई अगाडि बढाउन सबैसँग सुझाव चाहन्छु ।