Successfully Copied

नारीवाद हुनु पुरुषलाई घृणा गर्नु होइन

राम्रो लेखनका लागि निरन्तरता र अध्ययन आवश्यक पर्छ जस्तो लाग्छ । साथै करेन्ट अफेयरलगायत सबै कुरामा जानकार हुनुप¥यो ।


अमृता लम्साल, संचारकर्मी
संचारकर्मी अमृता लम्सालको जन्म काठमाडौंको चुच्चेपाटीमा २०१९ सालमा भएको थियो । उनी परिवारकी जेठी छोरी हुन् । काठमाडौंमा जन्मिएपनि बुवा खानेपानी संस्थानको जागिरे भएकाले कामको सिलसिलामा जहाँ जानुहुन्थ्यो, त्यहीँ उनको पढाइ भयो । उनले एसएलसी भने काठमाडौंको पशुपति विद्यालयबाट दिइन् । आइ.ए. र बी.ए. प्राइभेट दिइन् । नेपाल प्रेस इन्स्टिच्युटबाट १०महिने पत्रकारिता तालिम लिएपछि उनको पत्रकारिता यात्रा सुरु भएको थियो । नेपाल राष्ट्र बैंकको आकर्षक जागिर छोडेर उनी पत्रकारितातर्फ मोडिइन् । धेरै आर्टिकल लेखिसकेकी अमृताका ‘हजुरआमाका कथाहरू’ नामक पुस्तक चार वर्षअघि र ‘मिडिया, महिला र म’ पुस्तक एक महिनाअघि प्रकाशित भए । उनका ‘हजुरआमाका कथाहरू’ त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विषयको एमफिल पहिलो वर्षको ‘जेन्डर, रिलेसनसिप र फेमिनिजम’ पाठ्यक्रममा राखिएको छ । ‘मिडिया, महिला र म’ मा लेखक अमृता लम्सालले देखेभोगेका तीन दशकको चित्र समावेश छ । उनै संचारकर्मी अमृता लम्सालस“ग पुुस्तक लेखन तथा जीवन अनुभवका बारेमा गरिएको कुराकानी : 

पत्रकारितामा कसरी रुचि बढ्यो ?
नेपाल राष्ट्र बैंकमा जागिरे थिएँ । संचार क्षेत्रको मेरो यात्रा कान्छी बहिनीको साथी बनिदिने क्रमबाट सुरु भयो । नेपाल प्रेस इन्स्टिच्युटमा १० महिने तालिम लिएकी थिएँ । त्यो समयमा महिलाको इस्युभन्दा पनि जे देखियो त्यही विषयमा लेखेर पत्रकारिता सुरु गरेकी थिएँ । २०४८ सालदेखि फ्रिलान्सरका रूपमा पत्रकारिता गरेकी हँु । त्यतिबेला पुनर्जागरण साप्ताहिक पत्रिकामा लेखेकी थिएँ । आफूले देखेका र भोगेका कुरा नै लेखनका विषय हुने गर्थे । जस्तो फुटपाथमा हिँड्न नपाएको र पानी खान नपाएको विषयमा लेखेकी थिएँ । शिक्षाका विषयमा पनि लेख्न थालें । पछि महिलाका विषयमा लेख्न थालें ।

बैंकमा कति वर्ष काम गर्नुभयो ?

नेपाल राष्ट्र बैंकमा १३ वर्ष काम गरें । त्यहाँ आकर्षक तलब र राम्रो सुविधा थियो । बैंकमा काम गर्दैैमा सन् १९९५ को बेइजिङ सम्मेलन भएको थियो, जुन सम्मेलन विश्वकै महिलाहरूका लागि ठूलो आन्दोलन र अभियानको महत्वपूर्ण विन्दु थियो । १२ वटा क्षेत्रमा महिलाहरूलाई राष्ट्रसंघ सदस्य राष्ट्रहरूले बेइजिङमा गएर बोल्ने, नीति बनाउने काम गरेका थिए । यसमा काम गरें । त्यहाँ काम गरेपछि बैंकको जागिरतर्फ मन गएन । भविष्य अन्योल हुँुदाहुँदै पनि राजीनामा गरें । बैंकमा आम्दानीको स्रोत राम्रो भएर पनि रुचिको क्षेत्र अर्को भएकाले निरन्तरता दिइन ।
आफ्ना पुस्तकका बारेमा केही भनिदिनुहोस् न ।
मैले ‘हजुरआमाका कथा’ नामक पहिलो किताब लेखेकी थिएँ । दोस्रो किताब ‘मिडिया, महिला र म’ मा ५० को दशकमा महिला हकका लागि भएका कानुनी र सडक संघर्ष सबै समेटेकी छु । कानुनहरू बनाउने क्रममा महिला समूहहरू कस्ता खालका विभेदका चरणहरूबाट गुज्रिए भन्ने सबै विवरणलाई दस्तावेजका रूपमा अघि सारेकी छु । यसमा मैले देखे भोगेको तीन दशकको चित्र समेटिएको छ । ३० वर्षे पञ्चायती व्यवस्थापछि महिला सशक्तीकरणका लागि संवैधानिक, कानुनी र संस्थागत पहल के–कस्ता भए वा भएनन् ? महिलाले समानतामूलक र समतामूलक अधिकारका लागि कसरी लड्नुप¥यो ? चौथो अंग मानिने मिडियामा महिला सहभागिता र महिला सम्बन्धित विषयवस्तु कस्ता थिए ? महिलाबारे लेख्ने एकाध पत्रकार÷लेखकलाई के–कस्ता लाञ्छना र आरोप लगाइन्थ्यो ? आदि विषयवस्तु समावेश छन् ।
पुस्तक लेखनको श्रेय कसलाई दिनुहुन्छ ?
पुस्तक प्रकाशनको मुख्य श्रेय डा. अर्चना थापालाई जान्छ । उहाँकै कारण मेरा दुई पुस्तक प्रकाशित भएका हुन् । यसैगरी प्राध्यापक पी. खरेल सरका कारण मिडिया महिला र म पुस्तक प्रकाशन भएको हो । पहिलो पुस्तक प्रकाशन गरेको दुई वर्षपछि अर्चनाजीले अर्को पुस्तक सुरु गर्नू भनेपछि त्यो समयमा स्तन क्यान्सर देखाप¥यो । दोस्रो पुस्तकको पहिलो ड्राफ्ट सकिएको थियो । खरेल सरले यो पुस्तक राम्रो छ, यस्तो पुस्तक छैन भनेपछि लेख्ने जाँगर चलेको हो ।
क्यान्सर देखापरेपछि पनि पुस्तकको काममा निरन्तरता दिनुभयो ?
मलाई क्यान्सर देखापर्दा रोगको भन्दा पनि पुस्तक निस्कदैन कि भन्ने चिन्ता भयो । सन्तान सबै सेटल भइसकेका थिए, त्यसैले रोग र अन्य कुराको भन्दा पनि सबैभन्दा डर पुस्तकको लाग्यो । क्यान्सरको उपचारका सिलसिलामा सर्जरी गरेको छ दिनमा हातका औंला सुन्निएका थिए । तरपनि पुस्तकप्रतिको प्यासनले काममा निरन्तरता दिएँ । इच्छाशक्ति भएमा रोग गौणजस्तो लाग्यो । एक अनलाइनमा पाक्षिक रूपमा लेख र पुस्तकको काम गरिरहें । यसले गर्दा पनि म डिप्रेसनमा गइन जस्तो लाग्यो । रोगको परवाह नगरी गाह्रो हुँदा पनि लेखिरहें ।


राम्रो लेखनका लागि के कुरा आवश्यक पर्दोरहेछ ?

निरन्तरता र अध्ययन आवश्यक पर्छ जस्तो लाग्छ । साथै करेन्ट अफेयरलगायत सबै कुरामा जानकार हुनुप¥यो ।
डिजिटल भर्सन पढ्न मन पर्छ कि पुस्तक ?
मलाई पुस्तक नै पढ्न मन लाग्छ । अहिले कतिपय आर्टिकल डिजिटल भर्सन पढ्छु । एकदम मन परेको पुस्तक पढ्दा भने नसकिए हुन्थ्यो जस्तो लाग्छ ।
पुस्तक केका लागि पढ्ने ?
यसको उत्तर व्यक्ति विशेषमा निर्भर रहन्छ । म मानसिक सन्तुष्टिका लागि पढ्छु । मुड हेरेर हुन्छ । कुनै बेला जानकारीका लागि पढ्छु ।

महिला अघि बढ्ने आधारभूत आवश्यकता के–के हुन् ?
पहिलो प्राथमिकता शिक्षा हो । साथै महिलामा पनि गर्छु भनेर अघि बढ्ने भित्री इच्छा हुनुप¥यो । परिवारलाई कन्भिन्स गर्न सक्नुप¥यो ।
सबै क्षेत्रमा महिला सहभागिता कसरी बढाउने होला ? समाज अहिले पनि महिलामैत्री हुन किन नसकेको होला ?
नेतृत्वमा पुगेकाले सहयोग गर्नुपर्छ । नेतृत्वमा पुगेकाहरू नातावाद–कृपावादभन्दा माथि उठ्नुपर्छ । रुढिवादी, पुरातन सोचका कारण अझैपनि समाज महिलामैत्री हुन सकेको छैन ।
जीवन के हो ?
जीवन अप्रत्याशित क्षणको संगालो हो । सोच्नै नसकिने मोमेन्ट, कतिबेला के पर्छ थाहै छैन । त्यसैले गर्न मन लागेको कुरा गरिहाल्नुपर्छ ।
सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया पनि आउने गरेको छ नि, साथै नारीवादको ट्याग लगाइदिएका छन् यसमा के भन्नुहुन्छ ?
म आवश्यक कुरामा बोलिरहन्छु, लेखिरहन्छु । जति गाली गरे पनि त्यसलाई मैले ग्रहण नगरेपछि त्यसको अर्थ रहँदैन । नारीवाद हुनु पुरुषलाई घृणा गर्नु होइन समानता खोज्नु हो ।
पछिको योजना के छ ?
सोचेको कुरा केही हुँदैन । रोगका कारण आज सन्चो भएपनि भोलि बिसन्चो हुन्छ । त्यसैले सकें भने हजुरआमाको कथाको बाँकी भागलाई पुस्तकको रूप दिनेछु ।

 Image