Successfully Copied

जात व्यवस्थाको रुप परिवर्तन भयो सोच परिवर्तन भएन - बिन्दु परियार थापा

परिवर्तनै नभएका होइनन् । ऐन–कानुन बनेका छन् तर कार्यान्वयन पक्ष फिलतो छ । दलितको चेतनास्तर माथि उठेको छ तर दलितलाई गर्ने गैरदलितको चेतना फेरिन बाँकी छ ।



नेपालदलित महिला उत्थान संघ (एड्वान) की अध्यक्ष बिन्दु परियारको जन्म वि.सं. २०४० सालमा गोरखाको ताक्लुङमा भएको हो । स्व.रूपबहादुर र कनमाया परियारका ११ सन्तानमध्येकी कान्छी छोरी बिन्दु दक्षिण एसियाली मुलुक संलग्न ‘एसियन योङ वुमन लिडरसिप क्याम्पियन’ को नेपालका तर्फबाट ‘मेन्टर’ समेत हुन् । बाल्यकालदेखि क्रान्तिकारी स्वभावकी परियार मनकामना मन्दिरभित्र पस्ने प्रथम दलित महिला हुन् । त्यतिबेला उनी सात कक्षामा पढ्थिन् । धारा छोएकै कारण नेवारले गाली–बेइज्जती गर्दा नेवारको भान्सा पस्ने हिम्मत गरेकी उनको आँटले  स्थानीयको त्यतिबेलाको भ्रम तोडिएको उनी बताउँछिन् ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
म एड्वानको अध्यक्षका साथै ‘एसियन योङ वुमन लिडरसिप क्याम्पियन’ को नेपालका तर्फबाट ‘मेन्टर’ समेत हुँ । दक्षिण एसियाका थुप्रै देश यो अभियानमा सँगै छन् । नेपालमा भने बाग्लुङका १५ जना र चितवनका २० जनामा नेतृत्व विकास गरेर ‘फेमिनिस्ट लिडर’ निकालिएको छ । जातीय विभेद अन्त्य नै यसको मूल लक्ष्य हो ।

एड्वानले गरेका काम र उपलब्धिका बारेमा बताइदिनुस्न ।
एड्वानले महिलालाईअधिकार, शिक्षा, पैरवी र जीविकोपार्जनबाटसशक्त बनाउँछ । शिक्षाका थुप्रै कार्यक्रम निरन्तर चलिरहेका छन् । बचत गर्ने, आफ्नै बचतलाई कसरी परिचालन गरी अभिमुखीकरणतर्फ लगाउने भन्ने कार्यक्रम छन् । धेरै महिलाले बचत गरेर कोष खडा गरेका छन्, त्यहिँबाट ऋण लिएर शिक्षा, कृषि र उद्यममा लगानी गर्ने गरेका छन् । त्यति मात्र नभएर गाउ“गाउ“मा सहकारी नै खडा गरेका छन् । सुरुमा दलित केन्द्रित भए पनि पछिल्लो समय सीमान्तकृतलगायत अन्य जातलाई सँगै लिएर अघि बढिरहेका छौं ।

दलित आन्दोलनमा गैरदलित तथा सीमान्तकृतलाई सँगै लिएर अघि बढ्ने अवधारणा कसरी आयो ?
पछिल्लो समयमा अब हामी जातीय रूपमा विभाजन हुनुहुदैँन भन्ने महसुस भयो । महिला नेतृत्व तालिमपछि महिला मुद्दा गहिरिएर बुझियो । अब यसैमा काम गर्नुपर्छ भन्ने लागेर अन्य समुदायसँग पनि काम गर्ने निधो गरियो तर जुनसुकै समुदायमा काम गरेपनि नेतृत्वमा दलित महिला नै हुनुहुन्छ ।


वर्तमान अवस्थामा दलितलाई हेर्ने र व्यवहार गर्ने सोचमा कत्तिको परिवर्तन आएको पाउनुहुन्छ ?
उल्लेख्य परिवर्तन भएझैं लाग्दैन । विभेद गर्ने तरिका र हेर्ने नजर मात्रै फेरिएजस्तो लाग्छ । पहिला धारामा जाँदा दलित पाखा लाग्थे, अहिले गैरदलित पाखा लाग्छन् । एउटा दलित अन्य जातको साथीकहाँ खाना खान जाँदा गर्मी भए बाहिर शीलत छ बाहिरै बसेर खाऔं भन्छन्, जाडो भए बाहिर न्यानोमा घाम ताप्दै खाऔं भन्छन् भित्र भान्सामा हुल्दैनन् । त्यसैले रूप परिवर्तन भयो सोच परिवर्तन भएन ।

परिवर्तनको गति धिमे भयो, सोच परिवर्तन भएन भन्नुहुन्छ, यसलाई तीव्र पार्ने परिवर्तनका लागि के गर्नुपर्ला ?
शिक्षितले विभेद गर्दैनन् भन्नु पनि मूर्खता रहेछ । रूपा सुनारको कोठाभाडाको केसमा सामाजिक सञ्जालमा सबैभन्दा पहिला दह्रो प्रहार गर्ने शिक्षितवर्ग नै धेरै थिए । तसर्थ सोचमै परिवर्तन आवश्यक छ । शदियौंदेखि दमन गरेर बनाइएको गलत प्रथा हो भन्ने सबैको दिमागमा हाल्नु जरुरी छ । जात प्रथा केही होइन, देउताले बनाएको होइन तसर्थ देउताले पाप वा श्राप दिँदैनन् भन्ने कुरा बुझाउन जरुरी छ । भाषण मात्रै होइन, चेतनामूलक कार्यक्रमकै खाँचो देखिन्छ ।

नेपालको जातीय (दलित) आन्दोलनमा छुटेका र गर्नैपर्ने मूल काम केही छन् कि ?
जतिआन्दोलन भए पनि परालको आगोजस्तै भएका छन् । अब ऐक्यबद्धतात्मक आन्दोलन हुनुपर्छ त्यो पनि दीर्घकालीन समाधानका रूपमा । दलितले मात्रै आवाज उठाएर हुदैँन । संयुक्त आन्दोलनको खाँचो छ ।

त्यत्तिका संघर्ष र चुनौती चिरेर यो स्थानमा आइपुग्दा कस्तो महसुस हुन्छ ?
जति खुसी हुनुपर्ने त्यति खुसी छैन । अहिले पनि अन्तरजातीय विवाह गर्दा गाउँ निकाला भएको, धारा छोएकै कारण हिंसा भएको, कोठा खोज्न जाँदा सास्ती पाएका कुरा सुन्नुपर्दा कसरी खुसी हुन सकिन्छ र ?

उसो भए तपाईंहरूको आन्दोलन र कामले के परिवर्तन ल्यायो त ?
परिवर्तनै नभएका होइनन् । ऐन–कानुन बनेका छन् तर कार्यान्वयन पक्ष फिलतो छ । दलितको चेतनास्तर माथि उठेको छ तर दलितलाई गर्ने गैरदलितको चेतना फेरिन बाँकी छ । हाम्रो आन्दोलनले घरभित्र नहुले पनि बाहिर सँगै बसेर खानेसम्मको माहौल बनेको छ । गोरखामा सम्पन्न धूवाँरहित चुल्हो बनाउने कार्यक्रमले दलितहरू गैरदलितको चुल्हामा पस्नेसम्मको रणनीति सफल भयो ।

महिला विकास र सशक्तीकरणका सर्त के होलान्?
महिलाको आर्थिक सशक्तीकरण र नेतृत्व विकासका कार्यक्रममा जोड दिन सके अबको केही वर्षमा थुप्रै महिला निर्णायक तहमा पुग्न सफल हुनेछन् ।

जातीय आन्दोलनमा सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
हामीले काम गरेका स्थानीय सरकारले ठूलो सहयोग गरेका छन् । गत दुई वर्षमा हाम्रा महिलाले सरकारी बजेटको भाग पाउन सक्ने भएका छन् । स्थानीय सरकारसँगको समन्वयमा काम गरिरहेका छौं र प्रशस्त सहयोग पनि पाइरहेका छौं ।

केही नयाँ योजना र सन्देश छन् कि ?
एड्वान दलित महिलाको संस्था नभै समग्र नारी अधिकार र उत्थानका लागि अघि बढेको संस्था हो भनेर चिनाउने उद्देश्य छ । सातै प्रदेशमा कार्यक्रम लैजाने अर्को महत्वपूर्ण योजना छ । महिलालाई हिंसा सहेर नबसौं, सहनु आफैंमाथि अन्याय गर्नु हो भन्न चाहन्छु । प्रतिकार गरौं, परिवर्तन सम्भव छ ।

 Image