Successfully Copied

‘महिलाले चाहेको क्षेत्रमा निरन्तरता दिन सके सफल हुन्छन्’

मेरो स्कुले जीवन त्रिशूलीमै बित्यो । स्कुले जीवनमा दिदीहरूले खेलेको र खेलकुदमा पाएको पुरस्कार देखेर म पनि यसतर्फ आकर्षित भएँ । त्यही समयमा ब्रुस्लीको फिल्म हेरें । चलचित्रमा ब्रुस्लीको ‘एक्सन’, ‘मार्शल आर्ट’ देखेपछि यो मेरो लागि उपयुक्त हो भन्ने लाग्यो ।

नुवाकोटको त्रिशूलीस्थित विदुरमा संगीना वैद्यको जन्म भएको हो । विदुरबाटै स्कुले शिक्षा पूरा गरेकी उनी विद्यालयमा हुने फुटबल, दौड प्रतियोगितामा जितेर मेडल (वीरेन्द्र शिल्ड) हात पार्थिन् । उनका दिदीहरू खेलकुदमा सक्रिय भई पुरस्कार हात पारेपछि उनी पनि यतै आकर्षित भइन् । ब्रुस्लीको चलचित्र हेरेपछि मात्र आफू ‘मार्शल आर्ट’ मा आकर्षित भएको बताउँछिन् । ओलम्पिक खेल्ने प्रथम नेपाली खेलाडी बनेकी वैद्यले १२ औं एसियन तेक्वान्दो च्याम्पियनसीपमा एउटा र दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक जित्न सफल भइन् । उनले अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल पदकहरू पनि थुप्रै हात पारिसकेकी छन् । उनको विचारमा राष्ट्रिय खेलाडीले सधैं खेलिरहनुपर्छ । हरेक दिनको अभ्यासले खेलाडीहरू निखारिन्छन् भन्ने सोच राख्ने संगीना पछिल्लो समय पनि नियमित रूपमा अभ्यास गर्छिन् । हाल उनी राष्ट्रिय टोलीको तेक्वान्दो वरिष्ठ प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागकी उप–निर्देशक पनि हुन् । उनको खेल जीवनबारेमा गरिएको कुराकानी :

खेलकुदप्रति कसरी आकर्षण बढ्यो ? खेल्नका लागि शिक्षाको जरुरी छ ?

मेरो स्कुले जीवन त्रिशूलीमै बित्यो । स्कुले जीवनमा दिदीहरूले खेलेको र खेलकुदमा पाएको पुरस्कार देखेर म पनि यसतर्फ आकर्षित भएँ । त्यही समयमा ब्रुस्लीको फिल्म हेरें । चलचित्रमा ब्रुस्लीको ‘एक्सन’, ‘मार्शल आर्ट’ देखेपछि यो मेरो लागि उपयुक्त हो भन्ने लाग्यो । दौड प्रतियोगिता, फुटबल खेलेरै स्कुले जीवनमै पनि धेरै मेडल हात पारेकी थिएँ । ‘मार्शल आर्ट’ त्यहाँ थिएन त्यसैले एसएलसी दिएपछि क्याम्पस पढ्ने बहानामा काठमाडौं आएकी हुँ । पब्लिक युथमा पढ्थें तर मेरो रुचि भने ‘मार्शल आर्ट’ मा थियो । खेल्न थालेको केही महिनामै सफलता हात परेकाले त्यसलाई कायम राख्न मैले पढाइलाई निरन्तरता दिन सकिन । खेलका लागि यति नै शिक्षा आवश्यक भन्ने छैन । तर, आगामी पुस्तालाई भने ‘स्पोर्टस’ र पढाइ सँगसँगै लैजान सल्लाह दिन्छु । अहिलेका खेलाडी शिक्षित हुनुका साथै खेलमा पनि राम्रा छन् । 

महिलाका लागि खेल्नु कत्तिको सहज थियो ?

पारिवारको समर्थन भए पनि पढाइ बिग्रदा खेलले गर्दा बिग्रियो भन्ने अभिभावकमा चिन्ता थियो । एसियन खेलमा मेडल हात पारेपछि भने गुनासो आएन । खेलकुदलाई ‘करिअर’ बनाउन गाह्रो थियो तर पनि निरन्तर लागि परेर अघि बढें । ०४६ सालबाट खेलमा सक्रिय रूपमा लागेकी हुँ । १६ वर्षअघि क्रियाशील खेलबाट अवकाश लिएपछि राष्ट्रिय टिमको प्रशिक्षक (कोच) भएर खेलाडी तयार गर्न सक्रिय छु । 

तपाईंले हात पारेका मेडलका बारेमा बताइदिनुहोस् न । 

सन् १९९९ र २००४ मा पाकिस्तानमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक, सन् १९९६ मा एसियाली तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक हात पारें । यसैगरी मैले खेलेका १० वटा राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितें । विभिन्न २० अन्तर्राष्ट्रिय प्रतियोगितामा १० स्वर्ण, एक रजत र चार कांस्य पदक जितिसकेकी छु । 

खेलमा जितहार हुँदा कस्तो महसुस हुन्थ्यो ?

जित्दा राष्ट्रका लागि केही योगदान गर्न सकें भनेर निकै खुसी लाग्छ । हार्दा भने नरमाइलो महसुस हुन्छ । आफ्नो दिमाग लगाएर खेलेमा जित पक्का हुन्छ । 

खेलाडी र कोच हुँदाको भिन्नता बताइदिनुहोस् न । अहिलेको जिम्मेवारीबारे तपाईंको धारणा के छ ?

खेलाडी हुँदा आफूलाई मात्र ‘फोकस’ गरे पुग्थ्यो । के गर्ने, कसरी खेल्ने, मेरो कुन ‘लेग’ कमजोर भन्ने सोच्नुपर्थ्यो । कोच भएपछि सबै खेलाडीका कमी–कमजोरी, खानपानलगायतका सबै विषयमा केन्द्रित हुनुपर्छ । सक्रिय रूपमा खेलिरहँदा म एउटालाई मात्र केन्द्रित गरे पुग्थ्यो । मेरो कमजोरी हुन्छ, समयमै सुत्नुपर्छ, सन्तुलित खाना खानुपर्छ । तौल बढिरहेको छ भने कसरी मेन्टेन गर्ने ? प्रशिक्षकका रूपमा टिमका सबै (१६ जना) लाई हेर्नुपर्छ । प्रशिक्षक हुनु ‘च्यालेन्जिङ’ छ तर पनि काम गर्दा मज्जा आउँछ । हाल म राखेपकी वरिष्ठ प्रशिक्षक पनि हुँ । तालिम तथा प्रशिक्षणको उप–निर्देशकको जिम्मेवारी पनि छ । तेक्वान्दोको प्रशिक्षकका हिसाबले तेक्वान्दोको र सबै टिमको भएकाले खेलकुद परिषद्मा भएको सबै खेलको तालिम तथा प्रशिक्षण सबै हेर्नुपरेको छ । 

खेलले देशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाएको छ तरपनि खेललाई पहिलो प्राथमिकता नदिएको किन होला ?

सबैले खेलाडी मेस्सी, रोनाल्डो मन पराउँछन् । तर आफ्नो देशका खेलाडी प्राथमिकतामा परेका छैनन् । खेलकुद मन्त्रालय कसैको रोजाइमा परेको छैन । खेलको माध्यमबाट युवालाई संचालन गर्न र राम्रो ‘प्लेटफर्म’ दिन सकिन्छ । दुःखको कुरा यो राज्यको रोजाइमा परेको छैन । विदेशमा ‘स्पोर्ट्स’ पहिलो प्राथमिकतामा पर्छ । 

खेल क्षेत्रमा टिकिरहन महिलाले के गर्नुपर्ला ?

मसँग खेलेका साथीहरू हाल घरायसी वा अन्य कारणले निस्क्रिय छन् । जुन स्वभाविक पनि हो । पछिल्लो समय खेलकुदमा लागेर जीवनयापन गर्न सकिन्छ । अभिभावकले पनि आफ्ना सन्तानलाई खेल क्षेत्रमा समावेश गराएका छन् । महिलाले नेपालको खेलकुद क्षेत्रमा राम्रो इतिहास बनाएका छन् । सविता राजभण्डारी, गौरिका सिंह र म स्वयंलाई हेर्दा पनि यो पुष्टि हुन्छ । खेलमा निरन्तर लागिपरे भविष्य राम्रो छ भन्ने सोच्नुपर्छ । 

तेक्वान्दोमा बढीभन्दा बढी महिला आउन के गर्नुपर्ला ? महिनावारी हुँदा खेल्नु कत्तिको गाह्रो हुन्थ्यो ?

तेक्वान्दोमा महिलाको संख्या बढ्दो छ । महिला खेलाडीले हासिल गरेको उपलब्धिबाट धेरैजना यसतर्फ आकर्षित छन् । यसमा पनि ‘करिअर’ छ, मेरो टार्गेट ओलम्पिक हो भन्ने सोचेर आउनुपर्छ । महिनावारी हुँदा कतिपय अवस्थामा मैले पनि खेलेकी छु । मेरो लागि खेल सार्दिनु भन्न पाइँदैन । ०५३ मा अस्ट्रेलियामा एसियाली तेक्वान्दो च्याम्पियनसीप खेलिरहँदा म महिनावारी थिएँ । पीडाका बीच पनि खेलेर स्वर्ण पदक जितेर एसियन च्याम्पियनसीपमा ‘गोल्ड मेडल’ पाउने प्रथम नेपाली बनें । 

कराँते र तेक्वान्दो एउटै हो ?

दुवै ‘मार्शल आर्ट’ अन्तर्गत पर्छन् । तर, खेल र विधा फरक हो ।  

खेल्नका लागि स्वस्थ हुनु कत्तिको जरुरी छ ? खेलाडी बन्ने आधारभूत आवश्यकता के–के हुन् ?

खेलकुदमा स्वस्थ हुनु एकदमै जरुरी छ । स्वस्थ हुनलाई पनि खेलकुदमा आइन्छ । राम्रो खेलाडी हुनका लागि अनुशासन पहिलो कडी हो । समयमै खेल्ने, खाने र सुत्ने गर्नुपर्छ । स्वस्थ नभै खेल्न नसकिने हुनाले अस्वस्थकर खानेकुरा खानुहुँदैन । क्षणिक समयका लागि भन्दा पनि ओलम्पिकसम्म खेल्ने लक्ष्य लिएर आउनुपर्छ । पछिल्लोसमय कतिपय खेलाडीमा यो देखिँदैन । एउटा महत्वाकांक्षा लिएर आए पक्कै पनि इतिहास र यसैमा ‘करिअर’ बनाउन सकिन्छ । राष्ट्रले मलाई के दिन्छ भन्दा पनि राष्ट्रलाई मैले के दिनुपर्छ भनेर आउनुपर्छ । 

खेल्ने समयका कुनै अविस्मरणीय घटना छन् कि ?

०५५ मंसिरमा थाइल्यान्डको बैंककमा भएको १३ औं एसियाली खेलकुदमा सहभागिता जनाउन नपाउनु मेरो खेल जीवनकै सबभन्दा दूर्भाग्यपूर्ण हो । दुर्घटनाका कारण सहभागिताबाट वञ्चित हुनुपर्‍यो । दुई महिना अस्पताल बस्नुपर्‍यो । सबैले मप्रति ठूलो आशा राखेका थिए । त्यतिबेला खेल्न नपाउँदा एकदमै पीडा भएको थियो । त्यसपछि पुनः जिरोबाट तेक्वान्दो सुरु गरें । 

प्रसंग बदलौं, विवाह गरौं जस्तो किन लागेन ?

(हाँस्दै), खेल्दाखेल्दै विवाहतर्फ ध्यानै गएन । आमाबुवासँग बस्छु । खेलमै रमाएँ । 

महिला सफल हुन के गर्नुपर्ला ?

महिलाले जे कुरामा हात हालेर निरन्तरता दिएका छन्, सफल भएका छन् । महिला आफैं बाहिर आउने र आफ्नो इच्छानुसारको काम गरे सफल हुन सक्छन् । 

भावी योजना के छ ?

‘स्पोर्ट्स’ मै जीवन बिताएकाले यो भन्दा बाहिर जाने योजना छैन । यसमै जतिसक्दो ‘बेस्ट’ दिएर निरन्तर लागिरहन्छु । राष्ट्रले हामीलाई धेरै दिएको छ, हामीले यही आफ्नो सीप खर्च गर्नुपर्छ । विदेशबाट बोलाइएको थियो तर देशको मायाले गइन । जे छु यसमै खुसी छु । ‘स्पोर्ट्स’ ले मलाई चिनाएको छ । 

 Image