डा. यादवप्रसाद जोशी / वातावरण स्वास्थ्यविज्ञ
काठमाडौंलगायत सहरी क्षेत्रमा प्रदूषणको स्थिति के छ ?
घरबाहिरको वायुप्रदूषण गर्मी महिनाको तुलनामा हिउँदमा बढ्छ । विशेषगरी काठमाडौंमा यो मौसममा प्रदूषण बढ्छ । अहिले प्रदूषण काठमाडौं उपत्यकाको केही स्थानमा मापदण्डभन्दा बढी छ । धेरै ट्राफिक भएका ठाउँमा धूलो–धूवाँको मात्रा बढी हुन्छ । काठमाडौंको पनि रत्नपार्कमा बढी प्रदूषण देखिएको छ । काठमाडौंबाहिर सौराह, लुम्बिनी र नेपालगञ्ज हिउँदमा बढी प्रदूषण हुने सहरहरू हुन् ।
कस्तो अवस्थामा दूषित र हानिकारक मानिन्छ ?
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को अनुसार पार्टिकुलेस म्याटर (पीएम) २.५को धूलाका कणहरूको २४ घन्टाको अधिकतम औसत मात्रा क्रमश: २५ र ५० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी हुनु हानिकारक हुने बताएको छ । डब्ल्यूएचओको मापदण्डअनुसार काठमाडौंमा १० माइक्रोग्राम प्रतिघनमिटरको अवस्थालाई सामान्य मानिन्छ । काठमाडौंको रत्नपार्कको हावामा पीएम २.५ को धूलोका कण ६७ माइक्रोग्राम प्रतिघनमिटरसम्म मापन भएको छ । यो क्रम अझै बढ्ने क्रममा छ । पीएम २.५ का धूलोका कण सजिलै श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुग्छन् । सबैभन्दा हानिकारक पीएम १ भन्दा सानो साइजका धूलोका कणहरू मानिन्छन् । जुन रक्तसञ्चार हुँदै मस्तिष्कसम्म पनि पुग्न सक्छन् ।
दूषित हावाको असर के हुन्छ ?
दूषित हावाको असर हाम्रो स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्छ । सबैभन्दा बढी श्वासप्रश्वास र मुटुसम्बन्धी रोग लाग्ने खतरा बढ्छ । त्यसका साथै मानसिक तनाव, थकान, अल्छी लाग्ने, शिशुहरू विद्यालय जान नमान्ने हुन्छन् । दूषित हावाले गर्दा फोक्सोको क्यान्सर पनि हुनसक्छ । सन् २०१७ को युनिसेफले भारतमा गरेको अध्ययनअनुसार वायुप्रदूषणले गर्दा बालबालिकाहरूको मस्तिष्कमा र्हास आएको पाइएको छ । त्यस्तै भर्खरै युरोप तथा बेलायतमा गरिएको अध्ययनअनुसार गर्भवती महिलाको पाठेघरमा हुने तरल पदार्थमा पनि प्रदूषणका कणहरू फेला परेका छन् । यी तथ्यहरूका आधारमा नेपालमा प्रदूषणको प्रभाव हुने ठाउँमा बस्ने तथा काम गर्ने मानिसहरूको स्वास्थ्य अवस्था कस्तो होला सहजै आँकलन गर्न सकिन्छ ।
यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ?
सबैभन्दा पहिले प्रदूषण कुन स्रोतबाट भएको छ त्यो थाहा पाउनुपर्छ र त्यसको विकल्प सोच्नुपर्छ । सरकारले सवारीसाधनको अनुगमन गर्नुपर्यो । जनचेतना मूलक कार्यक्रम चलाउनुपर्यो ।