Successfully Copied

भर्याङ कस्तो हुनुपर्छ ?

भर्याङको काम चढ्न र झर्र्न सहज हुनुमात्र होइन, यसले घरको पूरै लुक्सलाई इंगित गरेको हुन्छ ।


भर्याङको काम चढ्न र झर्र्न सहज हुनुमात्र होइन, यसले घरको पूरै ‘लुक्स’ लाई इंगित गरेको हुन्छ । घर बनाउँदा भर्याङ महत्वपूर्ण पाटो हो । घरको डिजाइनअनुरूप भर्याङ भएन भने घरको पूरै ‘लुक्स’ नै बिग्रन्छ र कोठाहरू भद्दा देखिन्छन् । भर्याङ कुन ठाउँमा राख्ने, कस्तो डिजाइनको बनाउने भन्ने कुरामा पूर्वतयारी गर्नुपर्छ ।
भर्याङ निर्माण गर्दा सहजता, ‘लुक्स’ र ‘स्पेस’ लाई ध्यान दिनुपर्ने ‘इन्टेरियर डिजाइनर’ सपना सापकोटा बताउँछिन् । उनका अनुसार भर्याङ सजिलो भएन भने उक्लिँदा, झर्दा खुट्टामा दबाब पर्छ र दुख्छ । ‘ठाडो उकालो हुँदा ओरालो झर्दा लड्न सक्ने र उक्लिँदा ठोक्किने डर पनि उत्तिकै हुन्छ’ उनी भन्छिन्, ‘त्यो सगै भर्याङका खुड्किलाहरूबीचको दूरी निश्चित हुनुपर्छ ।’ यसले भर्याङ चढ्न र झर्न सहज मात्र होइन, उक्लिँदा थाकिँदैन ।
ठाउँ मिलेसम्म भर्याङ फराकिलो होस् भन्ने कुरामा समेत ध्यान दिनुपर्छ । यसले घर फराकिलो मात्र देखाउँदैन सामानहरू ओसारपसार गर्न सजिलो हुन्छ । भर्याङ निर्माण गर्दा सुविधायुक्त होस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

कस्तो डिजाइनको बनाउने ?
भर्याङको डिजाइनले नै घरको ‘लुक्स’ निर्धारण गर्छ । भर्याङको सिधा माथिल्लो भागमा झुमर झुन्डाउन सकिन्छ । यसले घरको आकर्षण बढाउ“छ । भर्याङविभिन्न डिजाइनमा बनाउन सकिन्छ । यसको डिजाइन गर्नुपूर्व ग्राहकको रुचि र आवश्यकतालाई बुझ्नु जरुरी हुन्छ । सपना भन्छिन्, ‘त्यो घरमा कस्ता मानिस बस्छन् सोहीअनुरूप भर्याङको डिजाइन गर्नुपर्छ ।’ घरमा बच्चा एवं ज्येष्ठ नागरिक छन् भने निर्माण सामग्रीको छनोट गर्दा विशेष ध्यान दिनुपर्छ । ‘चिप्लिने खालको टायल प्रयोग गर्नुहुँदैन ।’ उनी थप्छिन्, ‘रेलिङमा समातेर हिँड्न मिल्ने बनाउनुपर्छ । साथै प्वालबाट बच्चा लड्ने सम्भावना भएकाले रेलिङ राख्दा धेरै ग्याप राख्नुहुँदैन ।’
भर्याङको डिजाइन कस्तो बनाउने भन्ने कुरा त्यहाँको स्पेसले पनि निर्धारण गर्छ । सपना भन्छिन्, ‘कोठा १८ सय फिटको छ भने भर्याङको साइज ठूलो र राम्रो बन्छ । ८ देखि १० हजार फिटसम्मको कोठामा सानो साइजको भर्याङ बनाउनुपर्छ ।’ सानो ठाउँमा ठूलो र ठूलो ठाउँमा सानो भर्याङ बनाउँदा त्यसको डिजाइनको भ्यालु हुँदैन । ठाउँ खेर जाने र अन्य कोठा राम्रो नहुने उनको भनाइ छ ।



कहाँ बनाउने ?
सपनाका अनुसार भर्याङ मूलढोकाबाट प्रवेश गर्नेबित्तिकै देखिने ठाउ“मा बनाउदा उपयुक्त हुन्छ । उनी भन्छिन्, ‘भर्याङले घरलाई आकर्षक देखाउने भएकाले घरभित्र प्रवेश गर्नेबित्तिकै जोकोहीलाई आकर्षित गर्न सकिन्छ ।’ यसरी डिजाइन गर्दा भर्याङमा उज्यालो पर्ने भएकाले घरको लुक्स बढाउँछ । ठूलो घर र स्पेस धेरै छ भने भर्याङ मध्यभागमा बनाउँदा राम्रो देखिन्छ । यस्तो खालको भर्याङमा माथि पुगेपछि दुईतिर छुट्टिने भाग बनाउनुपर्छ । यो डिजाइन गर्दा कोठाको रंगमा ध्यान दिनुपर्छ । यसले घरको सुन्दरता बढाइदिन्छ ।

कस्तो सामग्रीको प्रयोग गर्ने ?
‘भर्याङ बनाउँदा कस्तो सामग्रीको प्रयोग गर्ने भन्ने कुरा ग्राहकको रुचि र आवश्यकतानुसार छनोट गर्नुपर्छ ।’ सपना भन्छिन्, ‘घरको ओभरल लुकले पनि भर्याङमा कस्तो सामग्री प्रयोग गर्ने भन्ने कुरा निर्धारण गर्छ ।’ घरलाई परम्परागत शैलीको बनाउन काठको प्रयोग गर्न सकिन्छ । ‘कन्टेम्परी ’ वा आधुनिक शैलीका लागि मार्बलको भर्याङबनाउन सकिन्छ । फ्युजन शैली मन पराउनेहरूले आधुनिक र परम्परागत शैलीको संयोजन मिलाउन सकिन्छ । त्यसका लागि भर्याङको उठेको भागमा मार्बल, टेक्ने र समात्ने ठाउँमा काठको प्रयोग गर्न सकिने उनी बताउँछिन् ।
धेरैजसो चिसो भइरहने ठाउँमा घर बनाउँदा काठको प्रयोग गर्नु राम्रो हुन्छ भने गर्मी ठाउँमा मार्बलको प्रयोग उपयुक्त हुन्छ । पछिल्लो समय भर्याङमा फलाम र स्टिलको प्रयोग पनि बढ्दै गएको देख्न सकिन्छ । रेलिङको ठाउँमा सिसाको प्रयोग गर्न पनि सकिन्छ । यसलाई माथिबाट काठले जोडेर नयाँ डिजाइन दिन सकिन्छ । भर्याङको एकातिरको साइडको भित्तामा तस्बिरहरू टाँग्न सकिन्छ । यसले भर्याङलाई आकर्षक देखाउँछ । त्यसैगरी भर्याङको कुनाको भागमा इन्डोर प्लान्टले सजाउन सकिन्छ । 

 Image