Successfully Copied

घरलाई सुगन्धित बनाउन

घरभित्र प्रवेश गरेसंगै सुगन्धित वातावरणले दिनभरिको थकान मेटाइदिन्छ ।


घरको साजसज्जा र स्वच्छता हरेकको चाहना हो । जोकोहीलाई प्रदूषणरहित वातावरण मनपर्छ । घरभित्र प्रवेश गरेसंगै सुगन्धित वातावरणले दिनभरिको थकान मेटाइदिन्छ । यस्तो सुगन्धले घरको वातावरण स्वच्छ, शुद्ध र तनावमुक्त बनाइदिन्छ ।  पछिल्लो समय बजारमा धेरै प्रकारका होम फ्रेगरेन्स उपलब्ध छन् । यिनको प्रयोगले छिनमै घरलाई सुगन्धित बनाउन सकिन्छ । ‘होम फ्रेगरेन्स’ प्रति चासो बढेसंगै बजारमा ‘परफ्युम डिस्पेन्सर’, ‘अरोमा लेप्स प्लग इन’, ‘रुम स्प्रे’, ‘एयर फ्रेसनर’, वासनादार तेल, वासनादार मैनबत्तीलगायतका सामग्री बजारमा छ्यापछ्याप्ती पाइन्छन् । यसमा पनि विभिन्न ‘फ्लेवर’ मिसाइएको हुन्छ । ‘भेनिला’, ‘स्ट्रबेरी’, चकलेटका साथै विभिन्न फूलका गुलाब, जस्मिन आदिको फ्लेवरमा पाइन्छ ।

प्राकृतिक होम फ्रेगरेन्स

बजारमा पाइने यस्ता विभिन्न रसायन मिसाइएका सुगन्धित सामग्रीभन्दा घरमा पाइने प्राकृतिक सुगन्धको प्रयोग गर्न सकिन्छ । बजारमा पाइने यस्ता सामग्री महंगा र सबैको पँहुचमा नहुने हुदा घरमै तयार पनि गर्न सकिन्छ ।
फूलको प्रयोग

आफ्नै बगैंचामा फुलेका फूलहरूको प्रयोगबाट घरलाई सुगन्धित बनाउन सकिन्छ । त्यसका लागि माटो वा सेरामिकको भाँडोमा पानी भरेर त्यसमा गुलाबको फूलको पत्र राखेर सुगन्धित तेलको केही थोपा राख्न सकिन्छ । यसलाई ‘साइड’ टेबल वा बीचको टेबलमा सजाएर राख्न सकिन्छ । झ्याल वा घरको ढोकामा पनि झुन्डाएर राख्न सकिन्छ । यसले घरलाई आकर्षक पनि देखाउ“छ । प्राकृतिक ‘फ्रेगरेन्स’ का लागि आफूलाई मनपर्ने फूल र त्यसको पातलाई लगभग आधा घण्टा पानीमा उमालेर त्यसलाई चिसो हुन दिने । त्यसपछि छानेर ‘स्प्रे बोतल’मा हाली कोठामा ‘स्प्रे’ गरिदिँदा यसले कोठालाई सुगन्धित बनाइदिन्छ ।

‘एसेन्सियल’ तेलको प्रयोग
प्राकृतिक तरिकाले घरलाई सुगन्धित बनाउनका लागि ‘एसेन्सियल’ तेल उपयुक्त हुनसक्छ । ‘एसेन्सियल’ तेललाई पनि पानीमा मिसाएर ‘स्प्रे’ गरे ‘होम फ्रेगरेन्स’ को काम गर्छ । त्यसैगरी ‘ट्युबलाइट’ मा ‘एसेन्सियल’ तेल लगाउने । बत्ती बालेपछि पूरै कोठामा त्यसको सुगन्ध फैलिन्छ । ‘लेबेन्डर’, ‘रोजमेरी’, ‘टी ट्री’, ‘जस्मिन’ आदिको तेल प्रयोग गरेर घरलाई सुगन्धित बनाउन सकिन्छ । पूरै घरमा स्प्रे गर्नाले घर दिनभर सुगन्धित हुन्छ ।




ल्वाङ र दालचिनीको प्रयोग

त्यस्तै, ल्वाङ, दालचिनीजस्ता मसलालाई पनि प्राकृतिक सुगन्धका लागि उपयोग गर्न सकिन्छ । त्यसका लागि यी मसलालाई आधा घण्टा पानीमा उमालेर त्यसलाई पनि स्प्रे गर्न सकिन्छ । यसले पूरै घर सुगन्धित बनाइदिन्छ ।
कागतीको प्रयोग
कागतीको रस ‘होम फ्रेसनर’का लागि सबैभन्दा उत्तम र सजिलो उपाय हो । यसमा रोजमेरी र ‘भेनिला एसेन्सियल’ तेलको केही थोपा मिसाएर घरको कुना–कुनामा स्प्रे गर्दा पूरै घर सुगन्धित हुन्छ । घरलाई ताजगी दिन यो उपयोगी हुन्छ ।

अगरबत्ती

अगरबत्ती घरलाई सुगन्धित बनाउने सजिलो उपाय हो । यो जडीबुटी, तेल, चन्दन, गुलाब आदि प्राकृतिक सामग्रीबाट तयार गरिएको हुन्छ । यसमा कृत्रिम सुगन्ध जस्तै स्ट्रबेरी, अफिम आदि बिरुवाको प्रयोग गरेर पनि बनाइन्छ । अगरबत्ती स्टिक, धूप, पाउडर आदिमा पाइन्छ । कम खर्चमै घरलाई सुगन्धित बनाउन सकिन्छ । यसले लामखुट्टे तथा झिँगा पनि भगाउँछ । अगरबत्ती बालेर घरको कुना–कुना सुगन्धित बनाउन सकिन्छ ।

मैनबत्ती

सुगन्धित मैनबत्ती विभिन्न डिजाइन र रंगमा पाइन्छ । मैनबत्तीको घर सजावटमा विशेष भूमिका रहन्छ । यस्ता मैनबत्तीले घरलाई आकर्षणमात्र बनाउँदैनन्, घरलाई सुगन्धित पनि बनाउँछन् ।
अरोमा लेम्प


यो लेम्प घरको जुनसुकै कुनामा राख्दा पनि यसको सुगन्धले पूरै घर सुगन्धित बनाइदिन्छ । यो विशेष प्रकारको लेम्प हो । यसमा अरोमा तेलको केही थोपा राख्नुपर्छ । यसले घरमा लामो समयसम्म सुगन्धित बनाइराख्छ । यो निकै आकर्षक देखिन्छ ।
एसेन्सियल तेल डिफ्युजर
यो मैनबत्तीको राम्रो विकल्प हो । यसलाई कोठाको बीचमा राख्दा घरको वरिपरि सुगन्ध फैलिन्छ । यसमा नेचुरल वा सिन्थेटिक दुवै प्रकारको तेलको प्रयोग गर्न सकिन्छ । यसले कोठालाई लामो समयसम्म सुगन्धित बनाउ“छ । यसलाई अगरबत्ती र मैनबत्तीजस्तो पटक–पटक बालिराख्नुपर्दैन । यो बजारमा विभिन्न डिजाइनमा पाइन्छ । यसलाई आफ्नो इच्छानुसार छनोट गर्न सकिन्छ ।

 Image