Successfully Copied

साबुनको सही छनोट

साबुनका विशेष फाइदा पनि छन् । विशेषगरी साबुनले छाला सफा गर्नुका साथै भिटामिन एवं पोषक तत्व प्रदान गर्छन् ।


पछिल्लो समय बजारमा थुप्रै किसिमका साबुन उपलब्ध छन् । विभिन्न रंग र फ्लेवरअनुसार साबुनका मूल्य पनि फरक छन् । कुनै महँगो छ त कुनै सस्तो । हात धुनदेखि नुहाउनका लागि साबुनको दैनिक प्रयोग भइरहेको हुन्छ । सुगन्धितवाला साबुनले धेरैलाई लोभ्याउँछन् । साबुनका विशेष फाइदा पनि छन् । विशेषगरी साबुनले छाला सफा गर्नुका साथै भिटामिन एवं पोषक तत्व प्रदान गर्छन् । जसले गर्दा छाला स्वस्थ, मुलायम र नरम बन्छ ।
तर, पछिल्लो समय जथाभाबी साबुनको प्रयोग बढेको चिकित्सकहरू बताउँछन् । छाला तथा यौन रोग विशेषज्ञ डा.रूपक घिमिरेका अनुसार आफ्नो छालाको बनोटअनुसार साबुनको प्रयोग गर्नु उचित हुन्छ । ‘धेरै व्यक्तिले विभिन्न विज्ञापन देखेर वा साथीहरूको सुझावमा साबुन प्रयोग गरेको पाइन्छ जुन गलत हो,’ उनी भन्छन्, ‘साबुन प्रयोग गर्दा आफ्नो छालाको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ ।’


कस्तो साबुन प्रयोग गर्ने ?
–रुखो छाला भए प्रयोग गर्दा मोस्चराइजिङयुक्त साबुन प्रयोग गर्नुपर्छ । डा.रूपकका अनुसार धेरैले वासनादार साबुन प्रयोग गर्न मन पराउँछन् । उनका अनुसार वासनाका लागि प्रयोग गरिएको साबुन सबै प्रकारका छालाका लागि सुट नहुन सक्छ । छालाका लागि फिँज आउने साबुन उपयुक्त हुन्छ । छालामा विभिन्न तेलग्रन्थि हुन्छन्, तिनले विभिन्न किसिमका तेल उत्पादन गरिरहेका हुन्छन् । तेल हटाउनका लागि फिँज आउने साबुन प्रयोग गर्नुपर्छ । साबुनमा प्रयोग भएको हानिकारक रसायनले छाला फुस्रो बनाउनुका साथै प्राकृतिक तेललाई समेत नष्ट गर्छ ।
–साबुनमा विभिन्न किसिमका रसायन प्रयोग गरिएको हुन्छ, जसले गर्दा छाला सुख्खा र फुस्रो हुन्छ । छालालाई नरम र मुलायम बनाउनका लागि मोस्चराइजयुक्त साबुन प्रयोग गर्नुपर्छ । मोस्चराइजरयुक्त साबुनले नुहाएपछि छाला सुक्खा हुन दिँदैन ।
–हर्बल साबुन केमिनलमुक्त हुने भएकाले यसको प्रयोग संवेदनशील छाला भएकाहरूका लागि राम्रो मानिन्छ । यसमा स्थानीय जडीबुटीको प्रयोग हुने भएकाले छालालाई नराम्रो असर गर्दैन । यसको प्रयोगले छाला मुलायम हुन्छ, चिल्लोपना बनाइराछ र एलर्जी आदि समस्या निम्त्याउँदैन ।



प्रयोगमा सावधानी
–अनुहारको छालामा साबुनको प्रयोग नगर्ने
–रसायनयुक्त साबुनको प्रयोगबाट बच्ने
–वासनादार साबुन नरोज्ने
–धेरै मात्रामा साबुनको प्रयोग नगर्ने
–साबुनको सबै विज्ञापनमा विश्वास नगर्ने
–छालाअनुसारको साबुन प्रयोगमा ध्यान दिने 

 Image