Successfully Copied

कन्ट्याक्ट लेन्स र आँखाको सुन्दरता

आँखामा कलर कन्ट्याक्ट लेन्सको प्रयोग बढेको छ । शरीरको पहिरनसँग मिलाउने गरी कलर कन्ट्याक्ट लेन्स लगाउने चलन छ ।


पावरवाला चस्माको सट्टामा आँखाको नानीमा (कालो भाग) राखिने एक किसिमको सानो पारदर्शी झिल्लीनै कन्ट्याक्ट लेन्स हो। यसको प्रयोगले आँखाले सफा देख्नुका साथै व्यक्तित्वलाई पनि सुन्दर देखाउन सहयोग गर्छ । सामान्यतया आँखामा पावर भएका कारण प्रयोग गरिने कन्ट्याक्ट लेन्सलाई मेडिकल कन्ट्याक्ट लेन्स भनिन्छ भने आँखाको सुन्दरतालाई थप उजागर गर्नका निम्ति प्रयोग गरिने कन्ट्याक्ट लेन्सलाई कस्मेटिक कन्ट्याक्ट लेन्स भनिन्छ। दुवै किसिमका कन्ट्याक्ट लेन्स आँखाको संसर्गमा राखिने भएकाले विशेषज्ञहरूको उचित परामर्शबिना प्रयोग गर्नुहुँदैन। आँखा उपचारमा संलग्न दृष्टि विशेषज्ञ र आँखा रोग विशेषज्ञको सुझाव–सल्लाहमा मात्र कन्ट्याक्ट लेन्स प्रयोग गर्नुपर्छ ।


आँखाको जाँच र परामर्शबिना आफूखुसी कन्ट्याक्ट लेन्स खरिद गरेर लगाउँदा आँखामा आँखा सुख्खा, रातो एवं आँखा पाक्नेदेखि लिएर नानीको अल्सर हुने, नानीमा प्वाल पर्नुका साथै नानी सम्पूर्ण रूपमा बिग्रिएर अन्धोपन हुनसक्छ ।
समय परिवर्तनसँगै हाम्रो रहनसहन र जीवनशैली पनि परिवर्तन भएको छ । साना–ठूला जमघट प्रायः भइरहन्छन् र प्रत्येक पटकको जमघटमा आफूलाई आकर्षक देखाउने गरिन्छ । सुन्दरता बढाउन आँखामा कलर कन्ट्याक्ट लेन्सको प्रयोग बढेको छ । शरीरको पहिरनसँग मिलाउने गरी कलर कन्ट्याक्ट लेन्स लगाउने चलन छ । नारीहरूले कन्ट्याक्ट लेन्स लगाउँदा यी कुरामा ध्यान दिनुपर्छ ः



–मेकअप गर्नुअगाडि कन्ट्याक्ट लेन्स आँखामा लगाउनुपर्छ ।
–तेलरहित र वासनारहित मेकअप प्रयोग गर्नुपर्छ ।
–आँखाको मेकअप निकाल्नुभन्दा पहिले कन्ट्याक्ट लेन्स निकाल्नुपर्छ ।
–आँखाको मेकअप तेलरहित र हाइपोएलर्जिक रिमोभरले निकाल्नुपर्छ ।
–आँखा सुन्निएको छ, रातो छ अथवा पाकेको छ भने मेकअप गर्नुहुँदैन।
–आफ्नो कन्ट्याक्ट लेन्स र मेकअपको सामान अन्यसँग पनि साटफेर नगरांै ।
–परेलाको जराबाट मस्कारानलगाउनुहोस् ।
–प्लास्टिकको परेला प्रयोग नगरौं ।
–कन्ट्याक्ट लेन्स आँखामा भएका बेला वाटरप्रुफ मस्कारा नहटाउनुहोस् । यदि त्यसरी हटाएको खण्डमा कन्ट्याक्ट लेन्स बिग्रिने डर हुन्छ।
–परेला मोटो र लामो बनाउने वस्तुमा कन्ट्याक्ट लेन्समा टाँसिने हानिकारक रसायन हुने भएकाले त्यसको प्रयोग नगरौं ।
–आइलाइनरको प्रयोग गर्दा परेला निस्किने भाग छोडेर त्यो भन्दा थोरै माथिबाट लगाउनुहोस् ।
महिलाले शृंगार गर्ने क्रममा माथि बताइएका कुराहरूको ध्यान दिएर कन्ट्याक्ट लेन्सको सही तरिकाले प्रयोग गर्न सक्नुहुनेछ। देख्दा सामान्य लागेपनि कन्ट्याक्ट लेन्सको प्रयोग सही परामर्श र उचित तरिकाले गर्नुपर्ने हुन्छ । दृष्टि वा आँखा रोग विशेषज्ञको उपस्थिति र परामर्शबाट कन्ट्याक्ट लेन्सको प्रयोग गर्नु सबैभन्दा स्वस्थकर तरिका हो ।
(डा. सुदर्शन खनाल दृष्टि विशेषज्ञका साथै जनस्वास्थ्य विशेषज्ञ हुन् ।)

 Image