Successfully Copied

ठूलो आन्द्राको क्यान्सर

ठूलो आन्द्राका कोषिकाहरू अनियन्त्रित भई विभाजित हुनु नै ठूलो आन्द्राको क्यान्सर हो । संसारमा क्यान्सरले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा र सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ ।

डा. अरुण शाही

ठूलो आन्द्राका कोषिकाहरू अनियन्त्रित भई विभाजित हुनु नै ठूलो आन्द्राको क्यान्सर हो । संसारमा क्यान्सरले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा र सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ । यसको सुरुवात आन्द्राको भित्रपट्टिको माथिल्लो तहमा मासुको डल्लो (पोलिप) पलाउनाले हुन्छ । सबै पोलिप सुरुको अवस्थामा हानिकारक हुँदैनन्, तर समयमै पहिचान गरी निकाल्न सकिएन भने क्यान्सर हुने सम्भावना रहन्छ ।

जोखिमका कारण 

- मोटोपन तथा अल्छी ।

- व्यायाम तथा कसरत नगर्नु ।

- अधिक मात्रामा धूम्रपान र मद्यपान सेवन गर्नु ।

- धूवाँमा सेकेका खानेकुरा (जस्तैः सेकुवा, सुकुटी) धेरै सेवन गर्नु ।

- सागसब्जी कम र रातो मासु बढी खानु ।

- प्रशोधित खानेकुराहरू बढी खानु । 

ठूलो आन्द्राको क्यान्सरको जोखिमका कारणहरू अरु पनि छन्, जुन हामीले परिवर्तन गर्न सक्दैनौं । जस्तै– बढ्दो उमेरजन्य ‘इन्फ्लामेटी बावेल डिजिज’ र वंशानु । उमेर बढी भएपछि स्क्रिनिङमा जानु आवश्यक छ । स्क्रिनिङ जाँचले समयमै रोगको पहिचान गर्न सहयोग गर्छ, जसले गर्दा रोग समयमै निर्मूल पार्न सकिन्छ ।

यो क्यान्सरका लागि निम्न जाँच स्क्रिनिङबाट गर्न सकिन्छ

- दिसामा रगतको जाँच ।

- दूरबिन प्रयोगबाट ठूलो आन्द्राको जाँच । 

- सिटी कोलोनोग्राफी ।

- कोलोगार्डद्वारा दिसामा सम्भावित क्यान्सर कोषिकाको डिएनए परीक्षण (यो जाँचको संवेदनशीलता लगभग ९२ प्रतिशत छ ।)

अमेरिकन क्यान्सर सोसाइटीको गाइडलाइनअनुसार ४५ वर्ष उमेरपछि सबैले प्रत्येक १० वर्षमा एकपटक कोलोनोस्कोपी जाँच गराउनुपर्छ । साथै दिसामा क्यान्सर कोषिकाको डिएनए जाँच तीन वर्षमा एकपटक गर्न सकिन्छ । उच्च जोखिमका कारण भएको परिवारका सदस्यले चाहिँ कोलोनोस्कोपी अथवा अरु स्क्रिनिङका जाँच ४५ वर्षको उमेरअघि चिकित्सकको परामर्श लिएर गर्न सकिन्छ ।

लक्षणहरू 

- पेट दुख्ने र फुल्ने ।

- दिसामा रगत देखिने ।

- कहिले पातलो दिसा त कहिले कब्जियत हुने ।

- दिसा राम्रोसँग निकास नहुने ।

- विकारका कारण शरीरको तौल घट्ने र अनावश्यक थकान महसुस हुने ।

उपचार 

शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी नै उपचारका मुख्य प्रविधि हुन् । ठूलो आन्द्राको क्यान्सरको स्टेजअनुसारका उपचारका प्रविधि आवश्यक हुन्छन् ।

जोखिमका कारण न्यून गर्ने उपाय 

- जीवनशैली अनुशासित र स्वस्थ बनाउने । 

- बोसोयुक्त खानेकुरा, रातो मासु, प्रशोधित खाना कम गर्ने ।

- खानामा फलफूल, सागसब्जी र रेसायुक्त खानेकुरा समावेश गर्ने ।

- दैनिक शारीरिक कसरत (योग, व्यायाम) गरी तौललाई नियन्त्रण गर्ने । 

- मद्यपान र धूम्रपान नगर्ने । 

अन्त्यमा, ठूलो आन्द्राको क्यान्सरलाई समयमै पहिचान गरी उपचार गराउन सकियो भने यसको निदान शतप्रतिशत सम्भव छ । त्यसैले आजैदेखि स्वस्थ जीवनशैली अपनाई उमेर पुगेपछि चिकित्सकको परामर्शमा नियमित स्क्रिनिङ जाँच गराउनु आवश्यक छ । 

(डा. शाही, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कल्सल्ट्यान्ट मेडिकल अंकोलोजिस्टका रूपमा कार्यरत छन् ।)

 

 Image