होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

डा.बालकृष्ण साह
प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ, मोरङ सहकारी अस्पताल
अधिकांश नेपालीको विवाह बीस नपुग्दै हुन्छ । पछिल्लो चरणमा ढिला विवाह गर्ने संस्कृति बढ्दै गए पनि गाउँघरमा अझै पनि बीस वर्ष नपुग्दै विवाह गर्ने चलन छ । बेरोजगारीले विवाह गर्ने औसत उमेरलाई उकालो चढाएको पाइन्छ । अहिलेका युवाहरू राम्रो जागिर नपाए सम्म वा आर्थिक रुपमा स्थापित नभई विवाह गर्न रुचाउँदैनन् । अनि राम्रो जागिरका लागि योग्यता बटुल्न समय लाग्नु स्वभाविक नै हो । पछिल्लो चरणमा ३० वर्ष पार गरेका सफल व्यवसायिक र समाजका प्रतिष्ठित व्यक्तित्वहरू अविवाहित पनि रहने गरेको भेटिन थालेको छ ।
‘डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६’ का अनुसार नेपालमा औसत महिलाको विवाह १७ दशमलव ९ (अठार वर्ष) र पुरुषको २१ दशमलव ७ (२२ वर्ष) मा हुने गरेको छ । यस तथ्याङ्क अनुसार हाम्रो देशमा विवाहको उमेर महिलामा अझै कम रहेको देखिन्छ र यसलाई बढाउन अर्थात् विवाहको उमेर २० वर्ष पुर्याउनु आवश्यक छ । विवाहका लागि कम्तिमा पनि २० वर्ष पुग्नुपर्ने यथार्थलाई राज्यले पनि अगाडि सारेको देखिन्छ भने समाज र विभिन्न समाजिक संघसंस्थाहरूले समेत यसका लागि विभिन्न कार्यक्रमहरू अगाडि सार्दै जनचेतना अभिवृद्धि गर्दै आएको छ, जुन सकारात्मक छ । तर बढ्दो सामाजिक तथा आर्थिक चुनौतीहरू अनि बेरोजगारी समस्याहरूले विशेषगरी शहरी क्षेत्रका युवाहरूको विवाहको उमेर बढेको देखिन्छ । ‘डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६’ को तथ्याङ्क अनुसार एसएलसी वा सो भन्दा बढी अध्ययन गरेका युवाको औसत विवाहको उमेर २४ दशमलव ४ वर्ष रहेको छ भने अनपढहरूको यो उमेर २० वर्ष रहेको छ । यसमा अझ स्नातक तहको शिक्षालाई पनि आधार बनाएर तथ्याङ्क संकलन गरेको भए औसत विवाहको उमेर ३० का हाराहारीमा पुग्थ्यो होला भन्दा फरक नपर्ला । त्यस्तै निम्न आय भन्दा आर्थिकरुपमा सबल युवाहरूको विवाहको औसत उमेर बढी रहेको सो तथ्याङ्कले देखाएको छ ।
छिटो विवाह गर्नाले शारीरिक, मानसिक एवं आर्थिक संकट ल्याउँछ, त्यसैले विवाह २० वर्ष नपुगी गर्नु हुँदैन । विवाहसँग गर्भवती तथा सन्तानको प्राप्ती जोडिएको हुन्छ । विभिन्न अध्ययनहरूले २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउँदा एकातिर मातृमृत्यु दर बढी हुन्छ भने अर्कातिर बच्चाको तौल कम हुने तथा मृत्युदर धेरै गुणाले बढी हुने गरेको देखाएको छ । कम उमेरमा गर्भवती हुँदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ साता भन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यस सम्बन्धी जटिलताहरू थपिने सम्भावना बढि रहेको हुन्छ । गर्भको जटिलताले आमाको स्वास्थ्यमा मात्र नभै गर्भको बच्चामा समेत असर गरेको हुन्छ । यस्ता बच्चाहरू कम तौलका हुने, शारीरिक विकास राम्रो नहुने तथा कन्जेनाईटल डिफेक्ट (जन्मपूर्व नै खराबी) हुने सम्भावना बढी हुन्छ । विश्व स्वास्थ्य संघको तथ्याङ्क अनुसार २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउँदा, बच्चा जन्मिनासाथ वा जन्मेको पहिलो सातामा मृत्युको सम्भावना ५० प्रतिशतले बढि हुन्छ । त्यसैले २० वर्ष नपुगी विवाह गर्नु तथा गर्भवती हुनु राम्रो होईन ।
स्वास्थ्यका पक्षमा पनि कम उमेरमा गर्भवती हुँदा आमा र बच्चा दुवैलाई असर गरेजस्तै उमेर बढ्दै गए पछि पनि गर्भ र प्रसवमा जटिलताहरू थपिदै जान्छन् । महिलाको उमेर ३२ वर्ष पुगे पछि गर्भ रहने सम्भावना नै घटेर जाने हुन्छ, ३५ वर्ष पुगे पछि त गर्भ रहने सम्भावना ५० प्रतिशत मात्र हुन्छ र ४० वर्ष पछि यो सम्भावना ५ प्रतिशतमा सीमित हुन सक्छ भन्ने धेरै अध्ययनले देखाएका छन् । यो उमेरमा रहेको गर्भ तुहिने सम्भावना पनि बढी हुन्छन् । त्यस्तै गर्भका जटिलताहरू पनि जस्तै जेस्टेशनल डायबेटिज्, प्रेग्नेन्सी ईन्ड्युस्ड हाईपरटेन्सन (उच्च रक्तचाप), सालनालको जटिलता हुने सम्भावना बढी रहने गरेको पाईन्छ । यस्तो अवस्थामा प्रसव पीडा लामो समयसम्म हुने, अधिक रगत खेर जान सक्छ । शिशु जन्मेपछि पनि समस्या हुन सक्छ, शिशु अपांग वा अस्वस्थ्य जन्मन सक्छ । सामान्यतया गर्भको बच्चा र उसको स्वास्थ्य आमासँग मात्रै सम्बन्धित हुन्छ भन्ने आम धारणा रहेको हुन्छ । तर पछिल्लो समयमा बुबाको उमेरले शुक्रकिटको गुणस्तरमा असर गर्ने र यसले बच्चाको स्वास्थ्यमा असर गर्न सक्छ । बाबुको उमेर पैतीस वर्ष नाघेको छ भने २७ प्रतिशत भन्दा बढीमा गर्भ खेर जाने सम्भावना रहने अध्ययनले देखाएको छ ।
गर्भावस्था आफैंमा एउटा जटिल अनि विशेष अवस्था हो । यो अवस्थामा आमा बन्ने खुशी मात्र जोडिएका हुँदैन, गर्भसँग सामाजिक, पारिवारिक र आत्मीय सम्बन्ध रहेको हुन्छ । अझ पहिलो गर्भ π दाम्पत्य जीवनको पहिलो सफलता अनि पहिलो अनुभव, शारिरीक मात्र होईन मानसिक अनि भावनात्मक परिवर्तन अनि जिम्मेवारी सबै कुरा एकै साथ आएकाले पनि होला गर्भवती महिलामा धेरै जिज्ञासा हुने गरेको पाईन्छ । महिनावारी रोकिने बित्तिकै नवविवाहित महिलाहरूमा एउटा नयाँ तरङ्ग थपिन्छ । कहिलेकाही त महिनावारी ढिला भएमा महिला दुखित पनि हुने गरेको पाईन्छ । गर्भ रहने बित्तिकै सबैलाई समस्या नहुन पनि सक्छ । तर गर्भको बच्चा कसरी राम्रो बनाउने चिन्ता धेरैमा रहने गरेको पाईन्छ । अधिकाशं गर्भवतीहरूलाई खाना मन नलाग्ने तथा वाकवाकी लाग्ने गरेको पाइन्छ । गर्भावस्थामा वाकवाक लाग्नु तथा बान्ता हुन खोज्नुलाई ठुलो समस्या मानिदैन । गर्भको बच्चाले सामान्यतया १२ साता पार गरिसके पछि वाक्वाक लाग्न छोड्छ । तर कसै–कसैलाई यो समस्या र यस्तै अन्य साना देखि ठूला समस्या पनि देखापर्न सक्छ ।
गर्भावस्थामा हुने शारीरिक र हर्मोनल परिवर्तनले गर्भवतीमा समस्या र चिन्ता थपिने हुन्छ । त्यसैले यी परिवर्तनका बारेमा गर्भवती, दम्पती र परिवारका सदस्यले राम्ररी बुझे तनाव आफैं कम हुन्छ । यसका साथै गर्भावस्थामा आमा र गर्भका विकासका लागि पोषणतत्वहरूको आवश्यकतामा केही वृद्धि हुन्छ । आवश्यकतानुसारको पोषकतत्व नपुगेको अवस्थामा एकातिर गर्भको राम्रो विकास नहुने तथा अपाङ्गता हुने सम्भावना बढ्छ भने अर्कातिर गर्भवतीलाई पनि समस्या थपिन सक्छ । त्यसैले हरेक दम्पतीले गर्भका योजना बनाउनु र गर्भ राख्नु पहिले नै चिकित्सकीय परामर्श लिनु राम्रो हुन्छ । पछिल्लो चरणमा ढिला विवाहसँगै गर्भको योजना र परामर्श (प्रि–कन्सेपसनल काउन्सिलिङ्ग) को महत्व, आवश्यकता बढ्दै गएको छ र यसले गर्भलाई धेरै सहज बनाउँछ ।
आफ्नो स्वास्थ्य राम्रो होस्, आफ्ना गर्भ तथा सन्तान स्वस्थ हुन् भन्ने चाहना सबैको हुन्छन् । यसका लागि आफू शारीरिक रुपमा स्वस्थ हुनु, मानसिक रुपमा तयार हुनु, उपयुक्त समयमा पूर्ण परामर्श र तयारीका साथ गर्भको योजना बनाउनु आवश्यक हुन्छ । गर्भावस्थामा समस्या आउन सक्छन् र पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ । त्यसैले यस अवस्थामा नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनु पर्छ । चिकित्सकले दिएको औषधी सही तरिकाले सेवन गर्नु तथा दिएका निर्देशन पूर्णरुपले पालना गर्नुपर्छ । अधिकाशं गर्भवतीले गर्भावस्थामा औषधी सेवन गर्ने कि नगर्ने दोधारमा हुन्छन् । गर्भावस्थामा पनि धेरै औषधी सेवन गर्नु पर्ने हुन सक्छ । तर यो अवस्थामा सबै औषधी सुरक्षित नहुने भएकाले चिकित्सकको परमर्शपछि मात्र औषधी सेवन गनुपर्छ । गर्भावस्थामा यौनसम्पर्कका बारेमा सबैलाई एउटै उत्तर नहुन सक्छ । सामान्य अवस्थामा गर्भवती महिलाको खुशीमा सम्पर्क गर्न सकिन्छ तर उनलाई सजिलो हुनु आवश्यक हुन्छ । तर जटिल अवस्थाको गर्भमा भने यौनसम्पर्क गर्न हुँदैन । यसैगरी मर्निङ्ग वाक, साइकल कुदाउने, पौडी खेल्ने जस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध नभए तापनि सजग रहनु पर्छ । यो अवस्थामा लामो दूरीको यात्रा गर्नु, मानसिक तनाव लिनु, धुम्रपान तथा मद्यपान सेवन गर्नु पनि नराम्रो साबित हुन सक्छ ।