गर्भावस्था स्वाभाविक रूपमा संवेदनशील हुन्छ, त्यसमा पनि अहिले कोभिड–१९ संक्रमणको समयमा यस्तो बेला के गर्ने–के नगर्ने भन्ने दुविधा हुनु स्वाभाविक हो । यस्तो बेला नआत्तिइकन शारीरिक र मानसिक रूपमा गर्भवतीलाई सबल बनाइराख्नु जरुरी हुन्छ ।
नियमित परीक्षण गर्ने कि नगर्ने ?
गर्भवती महिलाले नियमित परीक्षण गर्नुपर्छ । कतिको चिकित्सकसँग भेट्ने कार्यतालिका पनि बनिसकेको हुन्छ । समयमा परीक्षण गराउन नजाँदा गर्भमा असर पर्ने त होइन भन्ने डर हुनु स्वाभाविक हो । त्यस्तै अस्पताल जाँदा संक्रमितहरूको सम्पर्कमा पुगिन्छ कि भन्ने डर हुन्छ । त्यसैले नयाँ समस्या देखिएको छैन भने नियमित परीक्षणका लागि अस्पताल जानु उपयुक्त छैन । यस्तो अवस्थामा चिकित्सकले सिफारिस गरेको आइरन, क्याल्सियम तथा अन्य केही भए सो नियमित सेवन गरी घरमा नै बस्नु राम्रो हो ।
तर, गर्भावस्थामा केही आकस्मिक जटिलताहरू आउन सक्छन् । त्यस्तो बेला समयमा अस्पताल पुगिएन भने आमा र बच्चा दुवैलाई खतरा हुनसक्छ । सामान्यत: गर्भको बच्चाको चाल गर्भवतीले महसुस गर्नुपर्छ । गर्भको बच्चा राम्ररी चलिरहेको छ भने तत्कालै अस्पताल जानु पर्दैन । तर, ६ महिनाभन्दा बढीको गर्भ छ र चलेको महसुस नभए तुरुन्त अस्पताल जानुपर्छ । त्यस्तै व्यथा लागेमा, रगत वा पिसाब जस्तो पानी बगेमा, धेरै नै पेट दुखेमा अस्पताल जानै पर्छ ।
पहिलो तीन महिना
गर्भ रहेको पहिलो तीन महिना कष्टकर नै हुन्छ । यस अवस्थामा खाना मन नलाग्ने, वाकवाक लाग्ने, कब्जियत हुने जस्ता समस्याले पिरोल्ने गर्छन् । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्छ । यसैले सामान्यत: खानामा अरुचि हुन्छ । गर्भमा धेरै पानी हँुदा, दुई वा सोभन्दा बढी बच्चा हुँदा, मोलार प्रिग्नेन्सी हुनु यो हार्मोन निकै बढ्छ । हार्मोनको मात्रा सामान्यभन्दा बढी भएमा धेरै वान्ता हुनसक्छ । यसबाहेक भिटामिन बी वा प्रोटिनको कमी र मानसिक समस्याले वान्ता गराउन सक्छ । पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण जस्ता स्वास्थ्य समस्याहरूले पनि वान्ता गराउन सक्छ ।
गर्भावस्थामा वाकवाक लागेमा तथा १–२ वान्ता हुँदैमा चाहिँ आत्तिनु पर्दैन । यस अवस्थामा थोरै–थोरै गरेर धेरै पटक सुक्खा खानेकुरा खाने गर्नुपर्छ साथै चिकित्सकको सल्लाहमा वान्ताको औषधि सेवन गर्दा हुन्छ । तर, वान्ता धेरै भएमा उपचार गर्न ढिला गर्नु हँुदैन । धेरै वान्ताको कारण शरीरमा लवण, पानी र ग्लुकोजको कमी हुन सक्ने भएकाले यसले गर्भ र गर्भवती दुवैलाई असर गर्न सक्छ । त्यस्तो अवस्थामा एकातिर वान्ता रोक्ने तथा खेर गएका लवण र पानीलाई पूर्ति (रिहाइड्रेसन्) गर्नुपर्ने हुन्छ भने अर्कातिर वान्ताको कारण पत्ता लगाउनु पर्ने हुन्छ । वान्ताको कारण पत्तालगाउन बिभिन्न परीक्षणहरू (रगत, पिसाब, भिडियो एक्स रे) गर्नुपर्छ । यस्तो अवस्थामा अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुनसक्छ ।
गर्भावस्थामा पिसाबको स्टासिस् अर्थात पिसाबथैलीमा बढी पिसाब जम्ने भएकाले सामान्यभन्दा बढी पिसाबको संक्रमण हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा पेट दुख्ने, छिनछिनमा पिसाब लागिरहने हुन्छ । कसै–कसैलाई ज्वरो पनि आउन सक्छ । पिसाबको संक्रमणलाई जति सक्दो चाँडो पत्ता लगाएर उपचार गर्नु आवश्यक हुन्छ । तर, गर्भावस्थामा प्रयोग गरिने औषधि गर्भलाई असर नगर्ने हुनुपर्छ । यस अवस्थामा प्रसस्त पानी पिउनाले पिसाबको संक्रमण हुन पाउँदैन ।
पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ । त्यसैले नियमित रूपमा स्वास्थ्य परीक्षणको महत्व छ । तर, अहिले अस्पताल जानु थप खतरा हुन सक्ने भएकाले घरमा नै बसेर प्रसस्त मात्रामा पानी, झोलिलो तथा पोषिलो खानेकुराहरू पटक–पटक गरेर खानुपर्छ । चिकित्सकसँग फोन तथा नेटबाट सम्पर्क गर्ने, फोलिक एसिड औषधि प्रयोग गर्ने गर्नुपर्छ । यस अवस्थामा मानसिक तनाव लिनु, धूमपान तथा मद्यपान सेवन गर्नु हुँदैन ।
दोस्रो तीन महिना
सामान्यत: गर्भावस्थाको दोस्रो तीन महिना सामान्य अर्थात समस्याविहीन हुन्छ । यस अवस्थामा खानामा रुचि बढ्ने, तौल बढ्ने तथा पेट देखिन थाल्ने हुन्छ । यस अवस्थामा रगतको मात्रा बढाउन आइरन तथा गर्भवती महिलामा क्याल्सियमको कमी हुन नदिन क्याल्सियम चक्की दिने गरिन्छ । यही समयमा टीडी भ्याक्सिन पनि दिइन्छ । तर, यो भ्याक्सिन ढिला लगाउँदा कुनै अप्ठयारो वा नराम्रो नहुने भएकाले लकडाउन खुलेपछि लगाउन सकिन्छ ।
गर्भ रहेको ४–५ महिनापछि भने धेरै महिलाहरूलाई ढाड (कम्मर) दुख्ने समस्याले सताउने हुन्छ । करिब ५० देखि ७० प्रतिशत गर्भवतीलाई गर्भको चार महिनादेखि कम्मरको दुखाई सुरु हुने गरेको अध्ययनहरूले देखाएको छ । गर्भावस्थामा सामान्यत: १० देखि २० किलोग्रामसम्म तौल बढ्ने हुन्छ । यो तौललाई कम्मरले थाम्नु पर्ने हुन्छ । त्यस्तै पाठेघर तन्किएर बढेको हुन्छ, जसले तल्लो नशाहरूलाई दबाब दिएको हुन्छ । त्यसैले कम्मर दुख्छ । यसमा आत्तिनु पर्दैन । यस्तो अवस्थामा दुखाई कम गर्ने औषधि सेवन गर्नुभन्दा सामान्य व्यायाम गर्ने, तातोले सेक्ने तथा दुखाई कम गर्ने मल्हमहरू (डीएफओ जेल, डाइक्लोटल जेल, निन्जा जेल आदि) प्रयोग गर्नु राम्रो मानिन्छ ।
गर्भावस्थाको दोस्रो तीन महिना नबित्दै जन्मिने अर्को एउटा समस्या हो, एसिडिटी । मुखमा अमिलो पानी आउने, वान्ता हुन खोज्ने, पेट पोल्ने वा दुख्ने एसिडिटीका लक्षणहरू हुन् । नियमित रूपमा सन्तुलित भोजन गर्ने, चिल्लो, पिरो, अमिलो कम खाने तथा धेरैबेर भोकै नबस्ने गर्नाले यो समस्या कम गर्न सकिन्छ । यसबाहेक कसै–कसैलाई केही औषधिहरू नै सेवन गर्नुपर्ने पनि हुनसक्छ ।
अन्तिम तीन महिना
गर्भको अन्तिम अवस्थामा आएर पनि बिभिन्न किसिमका स्वास्थ्य समस्याहरू आउन सक्छ । यस्ता समस्या आमा र बच्चा दुवैका लागि खतरा साबित हुनसक्छ । त्यसैले कुनै समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ । प्रसवको समय नजिकिँदै जाँदा आफूलाई चाहिने सम्पूर्ण चिकित्सकीय कागजात तथा रिपोर्ट तयारी अवस्थामा राख्नुपर्छ । व्यथा सुरु भएपछि के गर्ने, कहाँ जाने जस्ता तयारी गर्नुपर्छ । यस अवस्थामा तनाव लिनुहुँदैन । बच्चा राम्ररी चलेको महसुस नभएचाहिँ अस्पताल जानुपर्छ ।
पाठेघरभित्र रहेको बच्चा वा भ्रुणलाई एउटा पातलो झिल्ली (मेम्ब्रेन) ले ढाकेको हुन्छ । यस झिल्लीभित्र भ्रुणसँगै एक किसिमका पानी हुन्छ, जसलाई एम्नोटिक फ्लुड भनिन्छ । गर्भ २८ साताको भइसकेपछि जुनसुकै बेला पनि यो झिल्ली च्यातिन सक्छ र त्यस्तो अवस्थामा पानी बग्ने हुन्छ । यसलाई लिकिङ भनिन्छ । गर्भको बच्चा ३७ साता पुग्नुभन्दा अगाडि नै सो झिल्ली च्यातिनु गम्भीर अवस्था हो । करिब १० प्रतिशत गर्भवती महिलालाई यस्तो हुन्छ । यस्तो भएको २४ घण्टा भित्र बच्चा जन्मिसक्नुपर्छ । त्यसो नभएमा योनिमार्गमा रहेको ब्याक्टेरियाले पाठेघरमा रहेको एम्नोटिक फ्लुडलाई संक्रमण गर्छ ।
यो अवस्थामा सामान्यत: ८० देखि ९० प्रतिशत महिलाले बिना अबरोध बच्चा जन्माउँछन् । तर, केहीलाई औषधि वा अन्य उपायहरू (फोरसेप तथा भ्याकुम) लगाउनु पर्ने हुनसक्छ । कुनै अवस्थामा शल्यक्रिया गरेर पनि बच्चा जन्माउनुपर्ने हुनसक्छ । बच्चा ३७ साताको हुनुभन्दा अगाडि जन्माउँदा जोगाउन गार्हो हुन्छ । त्यस्तो अवस्थामा बच्चाको अवस्था, गर्भवतीका अवस्था, अस्पतालमा उपलब्ध सुबिधाहरू र प्रसूति विशेषज्ञको सल्लाहअनुसार निर्णय लिन सकिन्छ । त्यस्तो अवस्थामा बच्चाको वृद्धि तथा जन्म रोक्न केही औषधिहरू प्रयोग गर्नुपर्ने हुनसक्छ ।
गर्भवती महिलाहरूलाई दिएको ‘डेट’ मा प्रसव सुरु नहुनुलाई पनि समस्याका रूपमा लिन सकिन्छ । गर्भवस्थाको नियमित परीक्षणको क्रममा उनीहरूको महिनावारी रोकिएको मितिका आधारमा बच्चा जन्मिने मिति अनुमान गरिएको हुन्छ । अधिकांश (करिब ८० प्रतिशत) गर्भवतीले महिलाले आफ्नो निर्धारित मिति अघि नै बच्चा जन्माउँछन् । करिब १० प्रतिशत गर्भवती महिलाले आफ्नो निर्धारित मिति बच्चा पाउँछन् भने बाँकी १० प्रतिशतले मितिभित्र बच्चा पाउँदैनन् । उनीहरूका लागि भने परीक्षण गरेर १ सातासम्म व्यथाका लागि कुर्न सकिन्छ ।
यो अवधिमा नियमित परीक्षण गरिरहनुपर्छ । गर्भको अवधि ४२ साताभन्दा बढी भएमा मृत बच्चा जन्मने तथा जन्मिएको २८ दिनभित्र नवजात शिशुको मृत्यु हुने सम्भावना दुई गुणाले बढ्छ भने ४३ साता पुग्दा तीन गुणाले बढ्ने अध्ययनले देखाएको छ । यस अवस्थामा शालमा खराबी आउने, नाल थिचिने, बच्चाले आफ्नै दिशा (मिकोनियम) खाने तथा बच्चा ठूलो हुने जस्ता खतरा बढ्छ । त्यसैले निर्धारित मिति नजिकिँदै गर्दा निरन्तर चिकित्सकको सम्पर्कमा रहनुपर्छ र समस्या देखिने बित्तिकै अस्पताल जाने मानसिकता बनाउनुपर्छ ।
कोभिड–१९ संक्रमणको जोखिम रहेको समयमा यी कुराहरूलाई जानकारीमा राखेर गर्भवतीको हेरचाह गर्दै घरमा नै सुरक्षित राख्न सहयोग गर्नुपर्छ ।
लकडाउन र कोरोना संक्रमणवाट गर्भवतीहरु कसरी जोगिने ? भिडियोमा हेर्नुहोस् डाक्टरको सल्लाह :