Successfully Copied

मिठाई र  स्वास्थ्य

चाडपर्वमा चिल्लो एवं मसालेदार खानेकुरा बढी नै खाइन्छ । विशेषगरी तिहारमा विभिन्न किसिमका मिठाईं बनाएर खाने चलन छ । आवश्यकताभन्दा बढी मिठाईं खानु स्वास्थ्यका लागि हितकर नभएको डाइटिसियन ब्रिस्टी बोहरा बताउँछिन् । मिठाईंमा प्रयोग गरिने चिनी, तेल, घिउ, वनस्पति घिउ तथा खुवाले मिठाईंलाई हेभी क्यालोरीयुक्त बनाउँछन् ।

चाडपर्वमा चिल्लो एवं मसालेदार खानेकुरा बढी नै खाइन्छ । विशेषगरी तिहारमा विभिन्न किसिमका मिठाईं बनाएर खाने चलन छ । आवश्यकताभन्दा बढी मिठाईं खानु स्वास्थ्यका लागि हितकर नभएको डाइटिसियन ब्रिस्टी बोहरा बताउँछिन् । मिठाईंमा प्रयोग गरिने चिनी, तेल, घिउ, वनस्पति घिउ तथा खुवाले मिठाईंलाई हेभी क्यालोरीयुक्त बनाउँछन् । त्यसैले आफ्नो स्वास्थ्यको ख्याल राख्दै मिठाईं खानुपर्छ । चाडपर्व त हो नि भनेर आफ्नो स्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा खाने बानी धेरैमा हुन्छ । यसरी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । 

चाडपर्वका बेला अरू काममा पनि व्यस्त हुने भएकाले खानपानको ठेगान हँुदैन । धेरै समय भोकै बसेर सुरुमै चिल्लो खानेकुरा खाँदा ग्यास्ट्रिकको समस्या उत्पन्न हुनसक्छ । चिल्लोका कारण एसिडिटी बढेर ढ्याउ–ढ्याउ आउन सक्छ । यसैगरी क्यालोरीयुक्त खानाले तौल बढ्छ भने कोलस्टेरोलको मात्रा वृद्धि हुन्छ । 

चाडपर्वमा सबैका घरमा सेल, अनरसा, फिनी, खजुरी आदि मिठाईं बनाइन्छ । यसमा चिल्लो तथा गुलियोको मात्रा बढी हुन्छ । सेल, फिनी आदि रोटी धेरै दिन राखेर खाँदा तेल–घिउ खरिन्छ । फलस्वरूप एसिडिटीको समस्या उत्पन्न हुनसक्छ । यस्ता मिठाईंमा चिल्लोको मात्रा बढी हुने भएकाले 

स्वास्थ्यमा असर पर्छ । अझ पहिलेदेखिकै रोगीले त यस्ता खानेकुरा खाँदा निकै सावधानी अपनाउनुपर्छ । 

रोगअनुसार कति खाने ?

मधुमेह : मधुमेहका रोगीले चाडपर्व भनेर आफ्नो स्वास्थ्यको ख्यालै नगरी चिल्लो तथा गुलियो मिठाईं खाए स्वास्थ्य अझ बिग्रन्छ । मिठाईंमा चिनीको मात्रा बढी हुने भएकाले रगतमा चिनीको मात्रा वृद्धि हुन्छ । मधुमेहका बिरामीले तेल वा घिउमा तारेका खानेकुरा वा बोसोजन्य उत्पादन नौनी, घिउ, सेल, फिनी, अनरसा आदि खानु हुँदैन । सेल तथा अन्य रोटीमा चिल्लोको मात्रा बढी हुने भएकाले क्यालोरी बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ । अहिले मधुमेहका रोगीका लागि सुगर फ्रि मिठाईं पनि उपलब्ध हुन्छन् । यद्यपि त्यसो भन्दैमा सुगरका बिरामीले आवश्यकताभन्दा बढी सुगर फ्रि मिठाईं पनि खानु हँुदैन । किनभने त्यसमा पनि केही न केही गुलियो हुन्छ । 

कोलस्टेरोल : कोलस्टेरोलका बिरामीले चिल्लो खानेकुरा खाँदा ध्यान पुर्‍याउनुपर्छ । सेलरोटीको पिठो घिउमा मुछेर तेल तथा घिउमा पकाइन्छ । तेल वा घिउमा बनाएको रोटी वा मिठाईं खाँदा कोलस्टेरोल वृद्धि हुन्छ । यस्ता बिरामीले घिउ, बोसो वा बटरमा तयार पारिएका चीजबीज खानु हुँदैन । 

उच्च रक्तचाप : उच्च रक्तचाप भएकाहरूले चिल्लो, घिउ तथा बोसोजन्य खाने कुरा खाए रक्तचाप वृद्धि हुन्छ र तौल पनि बढ्छ । धेरै चिल्लो खाँदा पेट पनि बढ्छ । मुटु रोगको प्रमुख कारण उच्च रक्तचाप भएकाले नुन प्रयोग गर्दा पनि होसियार हुनुपर्छ । 

मुटु रोग : मुुटुका बिरामीले घिउ, नौनी एवं बोसोको प्रयोग कम गर्नुपर्छ । चिल्लो पदार्थको सेवन बढी गरे रगत धमनीमै जम्न सक्छ । त्यसैले कम मात्रामा तेल प्रयोग गनुपर्छ वा माछाको तेल प्रयोग गर्नु लाभदायक हुन्छ । ओलिभ आयल पनि यस्ता बिरामीका लागि उपयुक्त मानिन्छ । कम तेल प्रयोग गरी तावामा सेकाइएको सेल खान सकिन्छ । 

मिर्गौलाका बिरामी : यस्ता बिरामीले कम मात्रामा चिल्लो एवं गुलियो खान सक्छन् । मिर्गौलाका बिरामीलाई मधुमेह पनि छ भने गुलिया खानेकुरा खानुहुँदैन । आफ्नो स्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा खानु हँुदैन । स्वस्थ मानिस वा रोग लागेको जोसुकै भए पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्छ । स्वस्थ मानिसले दिनभरमा २० ग्राम चिल्लो खान सक्छन् । धेरै चिल्लो खाँदा कतिपयलाई कब्जियत हुन्छ । चिल्लोले गर्दा अमन भएर खानेकुरामा रुचि नहुन सक्छ । त्यसैले चिल्लोका साथमा सागपात, फलफूल आदि रेसादार खानेकुरा खानु आवश्यक छ । 

    ग्यास्ट्रिक, मधुमेह तथा उच्च रक्तचापका लागि मिठाईं राम्रो मानिँदैन । 

    चिनीको प्रयोग गर्नुभन्दा प्राकृतिक गुलियो जस्तै चिनी बिरुवाको पात मिठाईंलाई गुलियो बनाउन प्रयोग गर्न सकिन्छ । यसले चिनीले जस्तो बढी क्यालोरी दिँदैन । 

    चिनीको प्रयोगभन्दा ब्ल्याकस्ट्रयाप गुड प्रयोग गर्न सकिन्छ ।  

    मधुमेहका बिरामीका लागि मिठाईंमा चिनीको साटो सुगर फ्रि प्रयोग गरिन्छ । यस्ता मिठाईं पनि बढी खानु उचित हुँदैन । 

    मिठाईंको प्रयोगको विकल्पमा फलफूल मिसाएर दहीको लस्सी पिउन सकिन्छ ।

 

 Image