सामान्यत: जाडोमा तापमान घट्ने हुनाले धेरैजसोमा रुघाखोकी, घाँटी खसखस हुनेजस्तो समस्या उत्पन्न हुनसक्छ । चिसो तथा भाइरल इन्फेक्सनले गर्दा यस्तो हुन्छ । कतिपयलाई लामो समयसम्म रुघाखोकी लाग्छ र निको हुन पनि निकै समय लाग्छ । न्यानो गरी बसे, ताता खानेकुरा खाए रुघाखोकी आफैं बिसेक हुन्छ । यसैगरी जाडो मौसममा मुटु रोग, दम, निमोनियाजस्ता रोगले पनि सताउँछन् ।
जाडोमा दम
दम कस्तो रोग हो ?
दम श्वासप्रश्वाससम्बन्धी क्रोनिक रोग हो । यसमा श्वासनली साँघुरो भएर बाधा उत्पन्न हुने भएकाले श्वासप्रश्वासमा समस्या आउँछ ।
जाडोमा दमका रोगी बढ्नुको कारण के होला ?
जाडोमा संक्रमणका कारण यसका रोगी बढेका हुन् । जाडो मौसममा भाइरल इन्फेक्सन, इन्फ्लुयन्जा तथा अन्य कमन कोल्ड संक्रमण धेरै हुने भएकाले दमका रोगी बढेजस्तो देखिएको हो । जाडोमा किटाणुहरू कण भएर वातावरणमा बस्छन् जसले गर्दा पनि संक्रमणमा वृद्धि हुन्छ । पहिले नै दम भएकाहरूमा पनि चिसोका कारण श्वासप्रश्वासमा समस्या देखा पर्छ । जाडो महिनामा झ्याल–ढोका, ढ्यामढुम पारेर बस्दा अक्सिजन कम भै सास फेर्न असहज हुन्छ । बन्द कोठामा हिटर बाल्दा, आगो ताप्दा आउने धूवाँ–धूलोका कारण पनि श्वासप्रश्वासमा समस्या देखा पर्छ ।
दमका लक्षण के–के हुन् ?
सुरुमा खोकी लागेजस्तो हुन्छ । खोकी लाग्दालाग्दै पहेंलो खकार प्रशस्त मात्रामा निस्कन्छ । यसैगरी सास फेर्दा कुइँकुइँ आवाज (विह्ज) आउँछ । राति सास फेर्न गाह्रो भएर उठ्नुपर्ने हुन्छ । सीधा सुत्न नमिल्ने, टाउको तथा छाती माथि उठाएर सुत्नुपर्ने, सानो काम गर्दा पनि श्वास बढ्ने, छाती फुल्ने तथा दुख्नेजस्ता लक्षण देखापर्छन् । यससैगरी भर्याङ उक्लँदा वा उकालो–ओरालोमा सास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आउँछ ।
दमका प्रकार के–के हुन् ?
एक्सफेरिएन्जिक–यसलाई एलर्जिक दम पनि भनिन्छ । यो युवावस्थामा बढी हुन्छ । यो दम लामो समयसम्म कायम रहे पनि त्यति कडा हुँदैन । इन्फ्लुएन्जिक– यो वंशानुगत दम हो । यो एक पुस्ताबाट अर्को पुस्तामा सर्छ ।
दम हुने कारण ?
खानपान तथा वंशानुगत कारणले दम हुन्छ । भिटामिन ए, सी म्याग्नेसियम, फ्याटी एसिड, नुन आदि धेरै खाँदा पनि दम हुने सम्भावना वृद्धि हुन्छ । यसैगरी प्रदूषित वातावरण, घरभित्रको धूलो, काठमा कीरा लागेर निस्कने धूलो, कार्पेटको धूलो आदिका कारण पनि दम हुनसक्छ । खाना पकाउँदा निस्कने बाफले पनि दम निम्त्याउनसक्छ । फूलको पराग एवं धूलोले पनि दमको सम्भावना बढाउँछ । घरपालुवा जनावरका रौं झरेका तथा सुख्खा छालाबाट पनि दम हुनसक्छ ।
कामका प्रकार–कामको प्रकृतिका कारण पनि दम हुनसक्छ । रसायनसम्बन्धी काम गर्ने, कटन फ्याक्ट्री तथा ल्याबमा काम गर्ने मानिसलाई दम हुने सम्भावना बढी हुन्छ ।
शारीरिक अवस्था–मोटोपनका कारण श्वासनली साँघुरो हुन्छ र श्वासप्रश्वासमा अवरोध सिर्जना हुनसक्छ । कुपोषण तथा जन्मदै कम तौल भएका बालबालिकालाई पनि दम हुन सक्छ ।
दम कुन उमेरकालाई बढी लाग्छ ?
सामान्यतया ५ वर्षसम्मका बालबालिका तथा ६० वर्षमाथिका वृद्धवृद्धामा दम हुने गरेको छ ।
यो रोगमा कस्तो खानेकुरा खानुपर्छ ?
दमका रोगीले यही नै खानुपर्छ भन्ने छैन । चिल्लो, चिसो, पिरो आदि खानेकुरा सेवन गर्नुहुँदैन । हालसालै दुई सयभन्दा बढी खानेकुरामा एलर्जी गराउने तत्व भएको कुरा पत्ता लागेको छ । आफूलाई कुन खानेकुरा खाँदा एलर्जी हुन्छ पहिचान गरी त्यस्ता खानेकुरा खानुहुँदैन ।
यसको रोकथामका लागि के गर्ने ?
चिसो वातावरण तथा धूवाँ–धूलोबाट जोगिनुपर्छ । पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुने ठाउँमा बस्नुपर्छ । जाडो भयो भनेर झ्याल–ढोका थुनेर हिटर ताप्नुहुँदैन । धूम्रपान त्याग गरी नियमित रूपमा व्यायाम गर्ने बानी बसाल्नुपर्छ । नियमित रूपमा दमको औषधि सेवन गर्नेहरूले औषधि खाएको ३० मिनेटपछि मात्र व्यायाम गर्नु उचित हुन्छ ।
डा. प्रकाश पौडेल
पल्मोनोलोजिस्ट तथा फिजिसियन
जनता क्लिनिक
जाडोका स्वास्थ्य समस्या
जोगिने उपाय
डा.रजत कायस्थ
फिजिसियन, काठमाडौं मेडिकल कलेज
सिनामंगल