Successfully Copied

प्रसूति गृहमा बर्थिङ सेन्टर

नेपाल प्रसूति तथा स्त्रीरोग समाजले (नेसोग) थापाथलीस्थित प्रसूति गृहमा बर्थिङ सेन्टर स्थापना गर्ने भएको छ ।

नेपाल प्रसूति तथा स्त्रीरोग समाजले (नेसोग) थापाथलीस्थित प्रसूति गृहमा बर्थिङ सेन्टर स्थापना गर्ने भएको छ । नेसोगलाई सहयोग प्राप्त ३१ लाख रुपैंयाँबाट उक्त सेन्टर बनाइन लागेको हो । सेन्टरका लागि नेपाल युथ फाउन्डेसनले २० लाख, एसिया एण्ड ओसन फेडेरेसन अफ अब्स गाइने मलेसियाले १० लाख तथा डा. माधुरी आर सिंहको परिवारले १ लाख १ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेका छन् । नेसोगले उक्त सहयोग रकमबाट भूकम्पले क्षतिग्रस्त प्रसूति गृहको बर्थिङ सेन्टर बनाइदिन लागेको हो । नेसोगकी अध्यक्ष डा. लता बज्राचार्यका अनुसार नयाँ बर्थिङ सेन्टर निर्माण गर्न ३० लाख रुपैंयाँ लाग्ने प्रारम्भिक अनुमान छ । प्रसूति गृह परिसरमै उक्त नयाँ भवन निर्माण हुनेछ । नेसोगले प्रसूति तथा स्त्रीरोग एवं महिलाको प्रजनन स्वास्थ्यमा काम गर्दै आएको छ ।

देशभर आकस्मिक प्रसूति सेवा

सरकारले आगामी आर्थिक वर्षदेखि देशका ७५ वटै जिल्लामा सघन आकस्मिक प्रसूति सेवा तथा नवजात शिशु सेवा (सिइओएनसी) कार्यक्रम लागू गर्ने तयारी गरेको छ । यो सेवाअन्तर्गत ७५ जिल्लामा शल्यक्रिया गरी सुत्केरी हुने (सिजरिङ) सेवा प्रमुख छ । स्वास्थ्य सेवा विभागका अनुसार अहिले देशका ६२ जिल्लाका अस्पतालमा मात्र सिजरिङ सेवा उपलब्ध छ । १३ जिल्लामा अझै सिजरिङ सेवा पुगिनसकेको भन्दै यस वर्षको नीति तथा कार्यक्रममा ती जिल्लामा सिजरिङ तथा नवजात शिशु सेवा पुर्‍याइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले बताए । सेवा पुगेपछि मातृ तथा नवजात शिशुको मृत्युदर पनि कम हुने उनको दाबी छ । दुर्गम पहाडी जिल्लामा सघन आकस्मिक प्रसूति सेवा एवं नवजात शिशु सेवा नहुँदा बर्सेनि सयौं गर्भवती, सुत्केरी तथा नवजात शिशुको ज्यान जाने गरेको छ ।  

टाइट जिन्स स्वास्थ्यका लागि हानिकारक

चिकित्सकहरूका अनुसार टाइट जिन्स लगाउँदा मांसपेशीमा गम्भीर असर पर्छ । जर्नल अफ न्यूरोलोजी, न्यूरोसर्जरी एण्ड साइक्याट्रिक चिकित्सकहरूका अनुसार एउटी ३५ वर्षीया महिलाको टाइट जिन्स काटेर निकालिएको थियो किनभने उनको पिडौंला धेरै सुन्निएको थियो । चिकित्सकहरूका अनुसार यसलाई कम्पार्टमेन्ट सिन्ड्रोम भनिन्छ । टाइट जिन्स लगाउँदा ती महिलाको अवस्था अझ बिग्रदै गयो । कम्पार्टमेन्ट सिन्ड्रोम एउटा कष्टकर तथा गम्भीर रोग हो जसमा मांसपेशी सुन्निनुका साथै रक्तस्राव पनि हुन्छ । अस्पतालमा जाँचबाट ती महिलाको खुट्टाको तल्लो भाग सुन्निएको कुरा पत्ता लागेको थियो । उनी चार दिनको उपचारपछि सामान्य रूपमा हिँडडुल गर्न समर्थ भएको बताइन्छ ।

जुम्लामा तीन सय शय्याको अस्पताल

जुम्लामा तीन सय शय्याको अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले गत महिना एक कार्यक्रमबीच उक्त अस्पतालको शिलान्यास गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बन्ने अस्पताल अत्याधुनिक सुविधासहितको हुनेछ । कर्णाली उपेक्षित क्षेत्र भएकाले यसलाई विकासका दृष्टिले सम्पन्न बनाउन लागिएको मन्त्री अधिकारीले बताए । अस्पताल ९५ करोड रुपैंयाँको लागतमा बन्न लागेको जानकारी रजिस्टार श्याम लम्सालले दिएका छन् ।

 Image