Successfully Copied

भूकम्पकले स्वास्थ्यमा पारेको प्रभाव

विनाशकारी भूकम्प तथा त्यसपछि आएका पराकम्पका कारण डराएर घरबाट हतार–हतार निस्कँदा धेरै मानिसका हातखुट्टा भाँच्चिएका थिए ।

विनाशकारी भूकम्प तथा त्यसपछि आएका पराकम्पका कारण डराएर घरबाट हतार–हतार निस्कँदा धेरै मानिसका हातखुट्टा भाँच्चिएका थिए । कतिपय मानिस घरमै पुरिए र तिनलाई जिउँदै उद्धार गरियो । यस्तो अवस्थामा परेका मानिसको हड्डीमा बढी असर देखियो । कतिपयका हातखुट्टा चलाउन नसक्ने भएका थिए भने कतिपयका टाउको तथा ढाडका हड्डी पनि भाँच्चिएका थिए ।

भूकम्पका कारण हालसम्म करिब ९ हजार मानिसको मृत्यु भैसकेको छ भने करिब २३ हजार घाइते भएका छन् । घाइतेमध्ये ४० प्रतिशतको हातखुट्टा फ्याक्चर भएको थियो भने ६० प्रतिशत मानिस मासु च्यातिने समस्याबाट पीडित थिए । भूकम्प आएपछि आत्तिएर भाग्दा मानिसका हातखुट्टा, तिघ्रा तथा पाखुरामा चोट लागेर भाँच्चिएको तथा घाउ भएको थियो । वैशाख १२ गतेको भूकम्पमा परेका मानिसको फ्याक्चर बढी भएको थियो भने वैशाख २९ गते गएको भूकम्पमा परी घाइते हुनेहरूको भने मासुमा मात्र चोट लागेको थियो । हाड जोर्नी विशेषज्ञ डा. विजेन्द्र अधिकारीका अनुसार भूकम्पका कारण धेरै जना खुल्ला घाउ, फ्याक्चर तथा ओपन फ्याक्चरको सिकार भएका थिए । भूकम्पमा परेका करिब २ हजार जतिको अप्रेसन गरिएको थियो भने मासुमा चोट लागेका अन्य बिरामीलाई प्लास्टर गरेर उपचार गरिएको थियो । केही मानिसको भने हातखुट्टा काटेरै फाल्नुपरेको थियो । अन्य अङ्गमा असर पर्ने, संक्रमणको खतरा हुने तथा बिरामीको ज्यानकै खतरा हुने स्थितिमा मात्र हातखुट्टा काट्नुपर्ने डा. विजेन्द्र बताउँछन् ।

मासुमा मात्र चोट

 घाइते बिरामीमध्ये ६० प्रतिशत बिरामीको मासुमा मात्र चोट लागेको थियो । यसमा हड्डीको समस्या हुँदैन । उपचारका लागि प्लास्टर लगाइन्छ । मासुको चोटको पीडा कम भएपछि बिरामी घरमै गएर आराम गर्न सक्छ र केही हप्तापछि फलोअपमा आउनुपर्छ ।

फ्याक्चर

हातखुट्टाका हड्डी भाँच्चिएको, ढाडको हड्डी भाँच्चिएको अवस्थामा भने अप्रेसन नै गर्नुपर्छ । खुल्ला घाउ तथा फ्याक्चर भएका बिरामीलाई बाहिरबाट रड राखेर उपचार गरिन्छ । यसलाई एक्सटरनल फिक्सेटर भनिन्छ ।

यसैगरी भूकम्पका कारण मुटु रोगीको संख्या बढेको नर्भिक इन्टरनेसनल हस्पिटलका डा. भारत रावत बताउँछन् । तनावले गर्दा उच्च रक्तचापका कारण मुटुको धड्कन पनि बढ्यो । पहिलो भूकम्प आएका बेला एउटा बिरामीको बाटोमा ल्याउँदा–ल्याउँदै मृत्यु भएको थियो भने अर्को बिरामीलाई हर्टएट्याक भएको थियो जुन उपचारपछि ठीक भयो । त्यसपछि अर्को बिरामी पनि मृत आएको थियो । आत्तिएका कारण छाती दुख्यो, स्वाँस्वाँ भयो, धेरै पसिना आयो भनेर आउने बिरामी पनि पहिलेभन्दा बढेको डा. रावत बताउँछन् । अनियमित खानपिन, डर–त्रास तथा नियमित जाँच नगराउँदा पनि रोग बढेको थियो । यस्तो अवस्थामा मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई निक्कै असर परेको छ । यसैगरी मुटु तथा मनको सीधा सम्बन्ध भएकाले डराएर मुटु रोग लाग्यो कि भनेर आउने मानिसहरूको संख्या पनि प्रशस्त रहेको डा. रावत बताउँछन् । यो अवस्थामा मनोविज्ञको परामर्श आवश्यक हुन्छ । परिस्थिति जस्तोसुकै भए पनि रोग लागेर नियमित औषधि खाइरहेको भए छोड्नु हुँदैन । औषधि नियमित सेवन गर्नुपर्छ । नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । निद्रा नलागे, रिंगटा लागे, छातीको पीडा भए तथा पसिना बढी आए चिकित्सकको परामर्श लिनुपर्छ । चिल्लो बढी भएको खानेकुरा खानुहुँदैन । कतिपयले पीडा बिर्सन रक्सी सेवन गर्छन् जुन गलत हो । बरु सुरक्षित ठाउँमा मर्निङ वाक गर्नुपर्छ । दिनमा ८–१० पटक हाँस्नुपर्छ । नुनिलो कम खानुपर्छ । बन्द कोठामा सुत्नुहुँदैन । सकारात्मक सोच राख्नुपर्छ । उच्च रक्तचाप, मधुमेह तथा कोलस्ट्रोलका बिरामीलाई मुटु रोग लाग्ने सम्भावना बढी भएकाले यस्ता बिरामीले आफ्नो स्वास्थ्यप्रति अझ बढी सचेत हुनुपर्छ । भूकम्पको डरले गाडीमै सुत्दा अक्सिजनको कमीका कारण व्यक्तिको मृत्युसमेत हुनसक्छ ।

प्रसूति गृह थापाथलीकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भावा मल्लका अनुसार भूकम्पले गर्दा धेरै सुत्केरी महिलाको बिचल्ली भएको थियो । सुत्केरी तथा गर्भवती महिलालाई भूकम्पले सीधै असर गर्दैन किनभने यसमा कुनै रेडियसन हुँदैन । यद्यपि भूकम्प आएपछि डराएको वा आत्तिएका कारण गर्भवती महिलामा स्ट्रेस हार्मोन रिलिज भएका कारण समस्या देखिएको डा. मल्ल बताउँछन् । पहिलो तीन महिनाका सुत्केरीलाई यसले खासै असर नगरे पनि दोस्रो ट्राइमिटरमा भने असर गर्छ । यसले गर्दा समयअघि नै धेरै शिशुको जन्म हुन्छ । कतिपय महिलाका शिशु गर्भमै मरेका थिए । यस्ता घटना भूकम्पका कारण नभए पनि त्यसबाट निम्तिएको तनावले गर्दा घटेका हुन् । समयअघि जन्मिएका शिशुको स्वास्थ्यमा सुरुमै असर देखिए पनि पछि शिशु स्वस्थ हुने डा. मल्ल बताउँछिन् ।

भूकम्पका कारण कतिपय अस्पतालका भवन असुरक्षित हुँदा धेरै महिलाको जाँच तथा डेलिभरी टेन्टमै गरिएको थियो । यसो गर्दा सरसफाइमा ध्यान दिए असर पर्दैन । स्थिति जस्तोसुकै भए पनि गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खानेकुरा ख्वाउनुपर्छ । उनीहरूलाई बढी क्यालोरीको आवश्यकता पर्ने भएकाले क्यालोरीयुक्त, झोल एवं प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । भूकम्पका कारण अहिले गर्भपतन दर बढेको कुरा पनि चर्चामा छ जुन सत्य हो । ३–४ महिनाका कतिपय गर्भवती महिला डराएर तनावका कारण शिशुलाई असर पर्छ भनी गर्भपतनका लागि पनि आइरहेका छन् । पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डरका कारण यस्तो भएको हो । उनीहरूको शिशुको स्थिति ठीक छ कि छैन भन्ने कुरा अल्ट्रासाउन्डबाट थाहा पाउन सकिन्छ । यसमा काउन्सिलिङले पनि धेरै हदसम्म काम गर्छ । यस्तो अवस्थामा आत्तिएर गर्भपतन गराउनु हुँदैन । गर्भवती तथा सुत्केरी महिलाहरू आत्तिएर दौडनु हुँदैन । शान्त तथा सुरक्षित रहनुपर्छ । स्थितिलाई आत्मसात् गर्दै यस्तै हो भनेर बसे आफू तथा शिशु दुवै स्वस्थ रहन सकिन्छ ।

 यसैगरी त्रिचन्द्र क्याम्पसकी सह–प्रा. डा. गंगा पाठकका अनुसार भूकम्पले महिलालाई धेरै नै असर परेको हो । महिला पुरुषको तुलनामा बढी भावनात्मक हुने भएकाले पनि उनीहरूलाई अझ बढी असर पारेको छ । किशोरीहरू पनि यसको पीडा भोग्न बाध्य छन् । उनीहरू नर्भस भएका कारण महिनावारीसमेत गडबडी भएको छ । धेरै डराएका कारण शरीरले सिक्रिसन गर्ने हार्मोनका कारण महिनावारी गडबडी भएको हो । किशोरीहरू ध्यान केन्द्रित नहुने तथा अर्कै संसारमा हराउने खालका हुन्छन् । परीक्षाको समय आइसक्यो भन्ने तनाव पनि उनीहरूमा छ । उनीहरू जति पढे पनि दिमागमा केही नबस्ने समस्याले पनि ग्रस्त छन् । दिमागमा शून्यता सिवाय केही नभएको गुनासो पनि उत्तिकै छ । यसैगरी सुत्केरी महिलामा आफ्नो शिशुप्रति ध्यान नजाने मात्र होइन शिशुप्रतिको भावनात्मक सामीप्यमा आँच आएको छ । बालबच्चा, परिवार तथा घरको सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्ने जिम्मा महिलाकै भएका कारण जो देखे पनि रिस उठ्ने, अँध्यारोमा डर लाग्नेजस्ता समस्या उत्पन्न भएका छन् । जीवन कसरी सन्तुलित ढंगले अघि बढाउने भनेर रातदिन चिन्ता हुँदा राम्रोसँग निद्रा पर्दैन । निराशाले सीमा नाघेपछि डिप्रेसनमा जाने डर हुन्छ । यस्ता समस्याबाट जोगिन आफ्ना लागि आफैंले सोच्नुपर्ने बेला आएको छ । प्रकृतिले मानिसलाई हिलिङ गर्ने क्षमता दिएको हुनाले सबै जिम्मेवारीलाई व्यवस्थित रूपले अघि बढाउँदै लानुपर्छ । यस्तो समस्यामा आपसी छलफल गर्नु उचित हुन्छ भने उत्साह एवं जाँगरका साथ उत्पादनमूलक काममा लाग्नुपर्छ ।

विनाशकारी भूकम्पका कारण धेरै मानिस हताहत भएका छन् । भूकम्पले मानिसलाई मारेको नभै मानव निर्मित संरचनाकै कारण यतिका मानिसहरूको मृत्यु भएको हो तसर्थ भूकम्प आएका बेला आत्तिएर भाग्नुहुँदैन भने झ्यालबाट हाम फाल्नु हुँदैन । स्थिति हेरेर बाहिर निस्कनु उचित हुन्छ । अहिले सबैले आत्मबलका साथ नयाँ जीवन जिउने प्रण गर्नु नै सान्दर्भिक हुन्छ । .

 Image