सावित्रा कोइराला २६ वर्षीया जागिरे महिला हुन् । उनी पहिलोपल्ट गर्भवती भएकी हुन् । गर्भावस्थाको अन्तिम महिनामा उनको तल्लो पेट बेसरी दुख्यो । हो न हो, व्यथा पो लागेको पो हो भनेर उनी हतारिएर अस्पताल पुगिन् । उनको प्रारम्भिक परीक्षणपछि मात्र थाहा भयो, उनलाई फल्सपेन अर्थात् नक्कली पीडा भएको रहेछ ।
फल्सपेन अर्थात् नक्कली पीडा विशेषगरी पहिलो पल्टको गर्भमा गर्भवती महिलाहरूले बढी महसुस गर्छन् । दोस्रो पटकदेखिको गर्भमा तुलनात्मक रूपले फल्सपेन कम भएको पाइन्छ तर फल्सपेन दोस्रो पटकको गर्भमा हुँदैहुँदैन भन्न सकिँदैन । फल्सपेन एक किसिमको तल्लो पेटको पीडा हो । गर्भको अन्तिम महिनातिर वा महिना पुगिसकेपछि गर्भस्थ शिशु -भ्रूण) माथिल्लो पाठेघरबाट तल्लो भाग सर्भिक्समा आउँछ । यसले गर्दा तल्लो पाठेघर तन्किन्छ । त्यसैले तल्लो पेटमा पीडा हुन्छ र त्यसैलाई फल्सपेन भनिन्छ । यो पीडा प्रसव व्यथाभन्दा फरक हुन्छ । वास्तविक व्यथा वा प्रसव व्यथा लागेको अवस्थामा पीडा बढ्दै जान्छ, पीडा रोकिई-रोकिई हुने तथा पीडासँगै पाठेघर सार्हो हुने र पाठेघरको मुख पनि खुल्ने हुन्छ तर फल्सपेन अर्थात् नक्कली पीडा लगातार भैरहने र पाठेघर सार्हो नहुने वा पाठेघरको मुख नखुल्ने हुन्छ । फल्सपेन अर्थात् नक्कली पीडामा व्यथा नक्कली भए पनि पीडा सक्कली नै हुन्छ । फल्सपेनले गर्भवती महिला तथा उनका आफन्तहरूलाई मात्र होइन, स्वास्थ्यकर्मीहरूलाई समेत झुक्याउँछ ।
महिना पुग्ने बेलामा हुने वास्तविक प्रसव व्यथाबाहेकका सबै तल्लो पेटको पीडा फल्सपेन नै हो भन्न सकिँदैन । कतिपय अवस्थामा यस्ता पीडाका पछाडि अन्य कारण पनि हुन सक्छन् । पिसाबको संक्रमण पनि फल्सपेनको कारण हुन सक्छ । त्यसैले यस्तो अवस्थामा पीडा लिएर आएका गर्भवती महिलाहरूको परीक्षण गरेर व्यथा सुरु नभएको पाइए पिसाबको परीक्षण गर्नु राम्रो हुन्छ । सामान्यतया यस किसिमको पीडा औषधिले नै निको पार्न सकिन्छ । कतिपय अवस्थामा पीडा कम गर्न तथा अन्य संक्रमण हुन नदिन गर्भवती महिलालाई अस्पलाल भर्ना गरेर उपचार गर्नुपर्ने हुन सक्छ ।
गर्भावस्थामा आउने अर्को समस्या हो 'लिकिङ' । गर्भको अन्तिम अवस्थामा योनिमार्गबाट अत्यधिक मात्रामा वा सामान्यभन्दा बढी पानी जाने समस्यालाई लिकिङ भनिन्छ । अस्पतालमा यस्तो समस्या लिएर आउने गर्भवती महिला धेरै हुन्छन् । पाठेघरभित्र रहेको शिशु वा भ्रूणलाई एउटा पातलो झिल्लीले छोपेको हुन्छ । उक्त झिल्लीभित्र भ्रूणसँगै एक किसिमको पानी हुन्छ, जसलाई एम्नोटिक फ्लुड भनिन्छ । गर्भ २८ हप्ताको भैसकेपछि जुनसुकै बेला पनि यो झिल्ली च्यातिन सक्छ र त्यस्तो अवस्थामा पानी बग्छ । यसैलाई लिकिङ भनिन्छ । गर्भवती महिलालाई व्यथा लाग्नुभन्दा अघि यो झिल्ली फुटेको वा च्यातिएको अवस्थालाई प्रि-लेवर रप्चर अफ मेम्ब्रेन वा प्रम्याच्योर रप्चर अफ मेम्ब्रेन अर्थात् पि.आर.ओ.एम. भनिन्छ । गर्भको शिशु ३७ हप्ता पुग्नुअघि नै उक्त झिल्ली च्यातिए वा फुटेको अवस्थालाई प्रिट्रम पि.आर.ओ.एम. भनिन्छ, जुन गम्भीर अवस्था हो ।
करिब दस प्रतिशत गर्भवती महिलामा पि.आर.ओ.एम.हुन्छ । पि.आर.ओ.एम भएको चौबीस घन्टाभित्र शिशु जन्मिसक्नुपर्ने अवधारणा छ । चौबीस घन्टाभित्र शिशु नजन्मिएको अवस्थामा, योनिमार्गमा रहेको व्याक्टेरियाले पाठेघरमा रहेको एम्नोटिक फ्लुडलाई संक्रमित गर्छ । यस्तो अवस्थालाई कोरिओम्निओनिटिस् भनिन्छ र यसले गर्भको शिशुलाई असर पार्छ । पि.आर.ओ.एम.ले सालनाल तथा शिशुको श्वासप्रश्वासमा पनि असर गर्छ । त्यसैले पि.आर.ओ.एम. भएर आएका र गर्भको अवधि ३७ हप्ता पुगिसकेको अवस्थामा २४ घन्टाभित्र शिशु जन्माउनुपर्ने हुन्छ । सामान्यतया यस्तो अवस्थामा ८० देखि ९० प्रतिशत महिलाले आफैंले बिनाकुनै अवरोध शिशु जन्माउँछन् तर केही महिलामा शिशु जन्माउन औषधि तथा अन्य उपायहरू लगाउनुपर्ने हुनसक्छ । कतिपय अवस्थामा शल्यक्रिया गरेर पनि शिशु जन्माउनुपर्ने हुनसक्छ । प्रिट्रम पि.आर.ओ.एम. अर्थात् गर्भको शिशु ३७ हप्ताको हुनुअघि जन्माउनाले शिशुलाई जोगाउन गार्हो हुनसक्छ । त्यस्तो अवस्थामा गर्भस्थ शिशुको अवस्था, गर्भवती महिलाको अवस्था, अस्पतालमा उपलब्ध सुविधाहरू तथा गर्भवती महिला एवं प्रसूतिसम्बन्धी विशेषज्ञको सल्लाहबमोजिम निर्णय लिन सकिन्छ ।
गर्भवती महिलाहरूलाई प्रसवका लागि दिइएको समय अर्थात् 'डेट' मा प्रसव सुरु नहुनुलाई पनि एउटा समस्याका रूपमा लिन सकिन्छ । कतिपय महिला आफूलाई दिइएको डेटमा प्रसव पीडा सुरु नहुँदा आत्तिएर अस्पताल आउँछन् भने कतिपय भने डेटको कुनै वास्ता नगरी घरमै बसेको पाइन्छ । गर्भवस्थाको नियमित परीक्षणका क्रममा गर्भवती महिलाहरूलाई उनीहरूको महिनावारी रोकिएको मितिका आधारमा शिशु जन्मिने मिति अनुमान गरिन्छ । यसलाई एस्पेक्टेट डेट अफ डेलिभरी (ई.डी.डी.) भनिन्छ । यो एउटा अनुमानित मिति हो, यसले शिशुको जन्मलाई व्यवस्थित गर्न मद्दत गर्छ । अधिकांश -करिब ८० प्रतिशत) गर्भवती महिलाले आफ्नो निर्धारित मिति (ई.डी.डी) भन्दा अगाडि नै शिशु जन्माउँछन् । करिब १० प्रतिशत गर्भवती महिलाले आफ्नो निर्धारित मिति (ई.डी.डी.) मा बच्चा पाउँछन् । बाँकी रहेका १० प्रतिशत (४ देखि १४ प्रतिशत) गर्भवती महिलाले आफ्नो निर्धारित मिति (ई.डी.डी) भित्र बच्चा पाउँदैनन् । निर्धारित मिति पार गरिसकेका गर्भवती महिला तथा उनको गर्भको अवस्था परीक्षण गरेर १ हप्तासम्म व्यथाका लागि कुर्न सकिन्छ तर त्यस्तो अवस्थामा गर्भवती महिलाले नियमित परीक्षण गराइरहनुपर्छ । गर्भस्थ शिशु ४१ हप्ताको हुँदा अर्थात् दिइएको डेटको एक हप्तापछिसम्मको समयलाई सुरक्षित मानिए पनि त्यसपछिको समयलाई सुरक्षित मान्न सकिँदैन । गर्भको अवधि ४२ हप्ताभन्दा बढी भए मृत शिशु जन्मने तथा जन्मिएको २८ दिनभित्र नवजात शिशुको मृत्यु हुने सम्भावना दुई गुणाले बढ्ने, उक्त अवधि ४३ हप्ता पुगे, तीन गुणाले बढ्ने तथ्य अध्ययनले देखाएको छ । यो अवस्थामा सालमा खराबी आउने, नाल थिचिने, शिशुले आफ्नै दिसा खाने तथा शिशु ठूलो हुनेजस्ता खतरा बढ्छन् ।
गर्भको अन्तिम अवस्थामा आएर पनि विभिन्न किसिमका स्वास्थ्य समस्या देखापर्न सक्छन् र यस्ता समस्याले मानसिक तनाव मात्र दिँदैनन्, आमा र शिशु दुवैका लागि खतरा साबित हुन सक्छन् । त्यसैले कुनै किसिमका समस्या आए चिकित्सकको सल्लाह लिनुपर्छ । आफ्नो प्रसवको समय अर्थात् डेट नजिकिँदै जाँदा आफूलाई चाहिने सम्पूर्ण चिकित्सकीय कागजात तथा रिपोर्ट तयारी अवस्थामा राख्नुपर्छ । आफूलाई जुनसुकै बेला प्रसव पीडा हुन सक्छ भन्ने कुरा ध्यानमा राख्नुका साथै व्यथा सुरु भएपछि के गर्ने, कहाँ जानेजस्ता कुराको पुर्व तयारी गर्नु पर्छ ।
गर्भावस्था र पाइल्स
सुजिता परियार गर्भवती महिला हुन् । उनको गर्भ ७ महिनाको भैसकेको छ । उनलाई गर्भसम्बन्धी कुनै समस्या छैन । यद्यपि विगत एक-दुई हप्तादेखि दिसा गरिसकेपछि मलद्वार बाहिर सानो डल्लो निस्कन थालेको छ । कुनै बेला दिसा गरिसकेपछि दुई-तीन थोपा रगत पनि जाने गरेको छ । यस्तो समस्यालाई पाइल्स अर्थात् हेमोराइड भनिन्छ । कुनै पनि पीडाबिना दिसा गरेलगत्तै दुई-चार थोपा रगत बग्नु यसको पहिलो लक्षण हो । दिसासँगै सिंगानजस्तो सेतो बाक्लो पदार्थ पनि जान सक्छ । रोग बढ्दै जाँदा दिसा गर्ने बेलामा मलद्वार बाहिर ठूलो आन्द्रा -रेक्टम) को केही भाग आउन सक्छ । सुरु-सुरुमा यसरी बाहिर आएको भाग आफै भित्र जान्छ वा हातले भित्र पठाएपछि भित्रै अडिन्छ र दिसा गर्ने बेलामा मात्र बाहिर आउँछ तर पछि मलद्वार भित्र नअडिने, दुख्ने, घाउ हुने आदि समस्याले सताउँछ ।
गर्भावस्थामा पाठेघरको आकार ठूलो हुन्छ साथै यो अवस्थामा पाठेघर तथा तल्लो पेटमा रक्तसंचारको मात्रा बढी हुन्छ जसले गर्दा मलद्वारको रक्तनली -भेन) मा धेरै रगत बग्नुका साथै त्यो जम्न पनि सक्छ । यस्तो अवस्थामा कब्जियत वा दिसा कडा हुनाले पाइल्सको जन्म हुन सक्छ । गर्भावस्थामा कब्जियत हुनु सामान्य हो । यो अवस्थामा कब्जियत हुने कारण धेरै छन् । नियमित रूपमा सागपात, ताजा फलफूल वा तरकारी सेवन नगर्नु तथा कम पानी पिउनु कब्जियतका प्रमुख कारण हुन् । त्यसबाहेक नियमित सेवन गर्नुपर्ने आइरन तथा क्याल्सियमजस्ता औषधि पनि त्यसका कारण बन्छन् । गर्भावस्थामा प्रोजेस्ट्रोन नामक हार्मोनको उत्पादन बढ्छ । यो हार्मोनले मलद्वारमा रहेको रक्तनली -भेन) मा असर गर्छ र त्यसलाई फुल्न अर्थात् सुन्निन सहयोग पुर्याउँछ । यो हार्मोनले आन्द्राको चालमा कमी ल्याउने तथा कब्जियत पनि गराउने भएकाले गर्भावस्थामा पाइल्स हुने सम्भावना बढी हुन्छ ।
हेमोराइड्स अर्थात् पाइल्स हुन नदिन कब्जियतबाट जोगिनुपर्छ । कब्जियतका लागि औषधि नै सेवन गर्नुपर्छ भन्ने छैन । नियमित भोजनमा सामान्य ध्यान पुर्याइयो भने सामान्य कब्जियत ढिलो-चाँडो निको हुन्छ । नियमित भोेजनमा २० देखि ३५ ग्राम फाइबरयुक्त खानेकुरा हुनुपर्छ । सागपात, तरकारी, फलफूल, दाल, गहुँ आदिमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यस्ता खानेकुराका साथमा प्रत्येक दिन कम्तीमा दुई लिटर पानी पिउनुपर्छ । यसबाहेक नियमित शौचालय जानुपर्छ । शौचालय सफा र दुर्गन्धरहित हुनुपर्छ । नियमित व्यायामले आन्द्राको चाल -वोबेल मुभमेन्ट) नियमित बनाउँछ । त्यसैले नियमित रूपमा शारीरिक व्यायाम गर्नु लाभदायक साबित हुन सक्छ । त्यस्तै शौचालय जानुभन्दा एक घन्टाअघि तातो पेय पदार्थ -चिया, कफी) सेवन गर्नु पनि उपयुक्त हुन्छ । यसबाहेक उत्तानो सुत्नुभन्दा पनि कोल्टे र्फकेर सुत्ने, धेरै बेर उभिएर नबस्ने, दिसा गर्ने बेलामा धेरै नकन्ने वा कमोड प्रयोग गर्नेजस्ता सावधानीले पनि पाइल्सबाट जोगिन सकिन्छ ।
सामान्यतया गर्भवती महिलाहरूलाई भएको पाइल्स शिशु जन्मनेबित्तिकै आफैं हराएर जान्छ तर सबै अवस्थामा वा सबैलाई निको हुन्छ भन्न सकिँदैन । पाइल्सको किसिम र बिरामीको अवस्था हेरेर यसको उपचार गर्नुपर्ने हुन्छ । कब्जियतको उपचार गर्ने तथा दिसा पातलो बनाउने, सिज बाथ अर्थात् तातोपानी भएको भाँडामा मलद्वार राखेर सेक्ने जस्ता सामान्य उपचारले पनि प्रारम्भिक अवस्थाको पाइल्स निको हुनसक्छ । मलद्वार भित्र विशेष किसिमको सुई लगाएर पनि कतिपय पाइल्सलाई ठीक पार्न सकिन्छ । शल्यक्रिया अर्थात् हेमोराइडेक्टोमी पाइल्सको भरपर्दो तथा अन्तिम उपाय हो तर एकपटक पाइल्स भएको व्यक्तिलाई यसले पटक-पटक दु:ख दिने तथा दोहोरिने भएकाले यो समस्या आउनै नदिनु बुद्धिमानी हुन्छ ।