Successfully Copied

घरभित्र हरियाली बनाउन

इन्डोर प्लान्ट आन्तरिक सज्जाको हिस्सा हो । यसले घरलाई हरियाली मात्र देखाउँदैन घरको सुन्दरता पनि बढाउँछ ।

घरभित्र रोपेका बिरुवाले घरको शोभा मात्र बढाउँदैनन्, मानिसलाई स्वस्थ पनि राख्छन् । यस्ता बिरुवामा अक्सिजनको मात्रा बढी हुन्छ । बिरुवाले घरभित्रको ‘टक्सिक’ हटाउँछन् । साथै घरभित्र सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै तनाव र चिन्ताबाट उन्मुक्ति दिन्छन् । अमेरिकास्थित ‘रटगर्स युनिभर्सिटी’ ले गरेको एक अनुसन्धानमा घरभित्र फूल रोप्नाले डिप्रेसन र तनाव कम हुनुका साथै खुसी प्राप्त हुने उल्लेख छ । यसैगरी, ‘हावर्ड युनिभर्सिटी’ ले गरेको एक अर्को अनुसन्धानमा परिवार र साथीभाइबीचको सम्बन्ध राम्रो बनाउन फूलले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । ज्योतिषशास्त्रले पनि यही तथ्यलाई स्वीकार गरिसकेको छ ।


सजावटमा प्रयोग
इन्डोर प्लान्ट आन्तरिक सज्जाको हिस्सा हो । यसले घरलाई हरियाली मात्र देखाउँदैन घरको सुन्दरता पनि बढाउँछ । घरलाई ताजापन दिन र नयाँ लुक्स दिन भासमा फूल राखेर सजाउन सकिन्छ । फुलेको फूललाई काटेर डिजाइनर भासमा राख्न सकिन्छ । अर्किड, पिस लिली, ग्लाडियस, सूर्यमुखीजस्ता फूलका लामा डाँठ काटेर सजाउँदा राम्रो देखिन्छ । यसरी फूल राख्दा घरको वातावरण राम्रो बन्छ र सकारात्मक ऊर्जा मिल्छ । प्रायः घरको प्रवेशद्वार एवं डाइनिङ टेबलमा फूल राख्ने गरिन्छ । तर फूल जुनसुकै ठाउँमा सजाउँदा पनि राम्रो देखिन्छ । भास राख्न डाइनिङ टेबल, साइड एवं कर्नर टेबललाई रोज्न सकिन्छ ।


कहाँ रोप्ने ?
घरको बार्दलीमा बोटबिरुवा रोप्न सकिन्छ । बिरुवा राख्नका लागि त्यहाँ अतिरिक्त र्‍याक बनाउनुपर्दैन । बार्दली वा बरन्डामा अड्काउन मिल्ने किसिमका गमला बजारमा पाइन्छन् । यिनले घरलाई आकर्षक देखाउँछन् र बिरुवालाई पर्याप्त मात्रामा घाम र हावा पुग्छ । बार्दलीमा बिरुवा राम्रोसँग सप्रिन्छन् । यसैगरी, झ्यालमा पनि गमला झुन्डाएर रोप्न सकिन्छ । बजारमा सजिलै ह्याङगिङ गमला पाइन्छन् । घरको जुनसुकै ठाउँमा यस्ता गमला झुन्डाउन सकिन्छ । पछिल्लो समय बजारमा गमला राख्न मिल्ने विभिन्न डिजाइनका फलामका गमला स्ट्यान्ड पनि पाइन्छन् ।


बिरुवाको हेरचाह
बिरुवालाई सही तरिकाले हेरचाह गर्न जरुरी हुन्छ । राम्ररी हेरचाह नगर्दा बिरुवा सप्रदैनन् । जाडो र गर्मी मौसममा बिरुवाको हेरचाह गर्ने तरिका फरक–फरक हुन्छ । जाडोमा बिरुवा त्यति बढ्दैनन् । गर्मीमा दिनको एक–दुई पटक र जाडोमा चार–पाँच दिनमा एकपटक पानी हाल्दा पुग्छ । बिरुवामा पानी हाल्दा माथिको एक–दुई इन्च माटो सुख्खा भएको हुनुपर्छ । एकैपटक धेरै पानी हाल्नुहुँदैन । बाहिर राखेका बिरुवामा एकैपटक धेरै पानी हाल्दा फरक पर्दैन तर घरभित्र राखिने बिरुवालाई धेरै पानी हाल्दा जरा कुहिन सक्छ । धेरै पानी भए पात पहेंलो हुने, ढुसी लाग्ने, फूल नफुल्ने हुन सक्छ । फेरि धेरै पानी हालेर गमलाको प्लेट भरिँदा जरा पनि कुहिन सक्छ । प्लेटमा पानी भरिए फ्याँकिदिनुपर्छ । भरसक बिरुवालाई पानी दिँदा स्प्रेको प्रयोग गर्नुपर्छ । पानी बिरुवाको पातमा पनि हाल्नुपर्छ । जाडोमा बिरुवाको पातमा धेरै धूलो जम्छ । धूलोले बिरुवालाई आवश्यक पर्ने घाम छेक्छ र बिरुवाको वृद्धि विकास रोकिन सक्छ । त्यसैले बेलाबेला कपडाले बिरुवाका पात पुछ्नुपर्छ ।


त्यसैगरी, घरभित्र घाम पर्ने र हावा ओहोरदोहोर हुने ठाउँमा बिरुवा राख्नुपर्छ । यसले बिरुवाको वृद्धि विकास राम्रोसँग हुन्छ । घरभित्रको हल्का प्रकाश बिरुवाका लागि फाइदाजनक हुन्छ । घाम नपर्ने ठाउँका बिरुवा धेरै दिन बाँच्दैनन् । सातामा एकपटक हाते कुटोको सहायताले माटो खोस्रेर पानी हाल्नुपर्छ । यसले जरासम्म हावा पुग्छ र जरा बलियो हुन्छ । बिरुवालाई महिनाको एकपटक ‘लिक्विड फर्टिलाइजर’ दिनुपर्छ । जाडोमा बिरुवालाई धेरै मलको आवश्यक पर्दैन । धेरै मल हालेमा बिरुवा मर्न सक्छन् ।


समय–समयमा बिरुवाको ‘प्रुनिङ’ गर्नुपर्छ । ‘प्रुनर’ को सहायताले सुख्खा र पहेंला पात हटाइदिनुपर्छ । यसले बिरुवाको वृद्धि विकास राम्रोसँग हुन्छ र बिरुवा स्वस्थ पनि हुन्छन् । माटोमा ढुसी देखिए तत्कालै पानी दिन बन्द गर्नुपर्छ र घाममा केही दिनका लागि बिरुवालाई राखिदिनुपर्छ । बिरुवाको हेरचाह गर्दा आफूले रोपेको बिरुवाबारे ज्ञान हुनुपर्छ । हरेक बिरुवाको हेरचाह गर्ने तरिका फरक–फरक हुन्छ । 

 Image