Successfully Copied

आकर्षक ‘कटफ्लावर’

फूललाई डाँठसहित काट्नु नै ‘कटफ्लावर’ हो । यसरी काटिएको फूल सजावटका लागि प्रयोग गरिनुका साथै ‘बुके’ पनि बनाइन्छ । ‘कटफ्लावर’लाई पानीमा लामो समयसम्म डुबाएर राख्न पनि सकिन्छ । पुष्प खेतीको प्रवर्द्धनमा ‘कटफ्लावर’को भूमिका महत्वपूर्ण छ ।

फूललाई डाँठसहित काट्नु नै ‘कटफ्लावर’ हो । यसरी काटिएको फूल सजावटका लागि प्रयोग गरिनुका साथै ‘बुके’ पनि बनाइन्छ । ‘कटफ्लावर’लाई पानीमा लामो समयसम्म डुबाएर राख्न पनि सकिन्छ । पुष्प खेतीको प्रवर्द्धनमा ‘कटफ्लावर’को भूमिका महत्वपूर्ण छ । पुष्प व्यवसायमा ‘कटलावर’ एक प्रमुख उत्पादन हो । विवाह, व्रतबन्ध, पूजाआजामा यसको माग उच्च हुन्छ । 
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोखरेलका अनुसार वार्षिक ३८ करोड फूलको आयात हुन्छ । पछिल्लो समय कार्नेसन, जरबेरा, जिप्सोफिला नेपालमा खेती गरिन थालेको छ । उनका अनुसार नेपालमा व्यावसायिक रूपमा ‘कटफ्लावर’ फूलको खेती गर्न थालेको धेरै भइसकेको छ । ‘कटफ्लावर’का लागि कार्नेसन, जरबेरा, गोदावरी, अर्किड, गुलाब कटलावरमा लोकप्रिय मानिन्छ । विश्वमै ‘कटफ्लावर’को कुल व्यापारको आधा हिस्सा गुलाब, कार्नेसन र गोदावरीले ओगटेको छ । ‘कटफ्लावर’को सिजन बाह्रै महिना हो । घरको बगैंचादेखि सभा समारोह, विवाह, भोजभतेरमा सजाउन यसको प्रयोग गरिन्छ । 



‘नेपाल आत्मनिर्भर’
नेपालमा ‘कटफ्लावर’को उत्पादन दिनप्रतिदिन बढ्दो छ । सजावटका लागि प्रयोग हुने भएकाले यसको बजार पनि राम्रो छ । ९० प्रतिशत आत्मनिर्भर रहेको ‘कटफ्लावर’को उत्पादन बढाउन सके पूर्णरूपमा आत्मनिर्भर हुन सक्ने विज्ञहरूको भनाइ छ । अघिल्लो वर्षको भन्सार विभागको तथ्यांकअनुसार ७ करोड ९८ लाख ४३ हजार ‘कटफ्लावर’ आयात भएको थियो । यसमा गुलाब, अर्किड, कार्नेसन र अन्य फूल रहेका थिए । चिसो मौसममा फूल कम फुल्छ । ‘कटफ्लावर’को बेमौसमी माग पूरा गर्न र ‘भ्यालेन्टाइन डे’को अवसरमा गुलाबको बढी माग हुने भएकाले त्यतिबेला बाहिरबाट फूलको आयात हुने यानका अध्यक्ष मीनबहादुर तामाङले बताए । 



बेर्नामा अझै परनिर्भर
नेपालमा उत्पादन हुने अधिकांश ‘कटफ्लावर’का बेर्ना भने युरोप र भारतबाट आयात गरिन्छ । नेपालमा ‘कटफ्लावर’को सम्भावना प्रशस्त हुँदाहुँदै पनि बीउ र बेर्नामा परनिर्भर हुनुपरेको छ । ‘टिस्युकल्चर’ प्रविधिबाट फूलका बेर्ना उत्पादन गरिन्छ । नेपालमा यस्तो ल्याब नभएको भने होइन । तर, फूलको हकमा बिरुवा उत्पादन गरेर मात्र हुँदैन । त्यसलाई परीक्षण गरेर सफल भएपछि मात्र रोप्नका लागि योग्य हुन्छ । ७/८ वर्षको परीक्षण अवधि रहेकाले अहिलेसम्म यसको परीक्षण हुन सकेको छैन । तर किसानहरूले थोरै मात्रामा बिरुवा कटिङ गरेर रोप्ने गरेको पाइन्छ । 

‘कटफ्लावरमा ९० प्रतिशत आत्मनिर्भर छौं ।’ 


मीनबहादुर तामाङ
अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल

‘कटफ्लावर’मा कोभिडका कारण लगानी कम छ । जाडोमा फूल कम फुल्ने भएकाले बाहिरबाट आयात गरिन्छ । चैतदेखि मंसिरसम्म नेपालको उत्पादनले पुग्ने गरेको छ । नेपालमा ‘कटफ्लावर’मध्ये गुलाबको आयात हुन्छ । ‘भ्यालेन्टाइन डे’को अवसरमा यसको आयात बढी भएको देखिन्छ । 
‘कटफ्लावर’मा नेपाल करिब ९० प्रतिशत आत्मनिर्भर छ । नेपालको तुलनामा भारतबाट आयात हुने ‘कटलावर’ सस्तो हुने भएकाले पनि स्वदेशी उत्पादनमा प्रभाव पारेको छ । भारतबाट आएको फूल सस्तो हुनुको कारण चाहि प्रक्रिया नपुर्‍याई नेपाल भित्रिने भएकाले हो । यस्ता फूलहरूबाट रोग, कीराहरू भित्रिने जोखिम पनि उत्तिकै छ । त्यसैले यसरी अवैधानिक रूपमा भित्रिने फूलहरूलाई रोक्न हामीले सरकारलाई गुहारिरहेका छौं । 
‘कटफ्लावर’ उत्पादन खर्चिलो छ । किसानलाई पालिका स्तरबाट केही सहयोग भइरहेको छ । हाम्रो एसोसिएसनको तर्फबाट किसानलाई सर सल्लाह दिने, बजारीकरणमा सहयोग गर्ने गरेका छौं । विश्व बजारमा चलेको ‘कटफ्लावर’ नेपालमा उत्पादन हुने गरेको छ । बिरुवा भने भारत र युरोपबाट आयात गर्नुपर्छ । 
 

‘कोभिडका कारण पुष्प व्यवसाय अझै तंग्रिन सकेको छैन ।’


सुधीर श्रेष्ठ
केन्द्र प्रमुख, पुष्प विकास केन्द्र

‘कटफ्लावर’मा नेपालमा कार्नेसन, जरबेरा, गुलाब, ग्ल्याडुलस, निमोनियम, जिप्सोफिला गरी ६ वटा भेराइटी उत्पादन हुँदै आएका छन् । ९५ प्रतिशत बाग्मती प्रदेशमा खेती हुने गरेको छ । ग्ल्याडुलसबाहेक अन्य फूलको खेती हरितगृहमा गर्नुपर्छ । ‘कटफ्लावर’को खेती गर्न लगानी धेरै हुन्छ । पुष्प विकास केन्द्रले अघिल्लो वर्ष १४ हजार वर्ग मिटरका लागि अनुदान दिएको थियो । पछिल्लो समय ६४ हजार वर्ग मिटर हरितगृहमा यसको खेती भइरहेको छ । कोभिडअघि ‘कटफ्लावर’ उत्पादन वार्षिक १०/१५ प्रतिशतले वृद्धि भइरहेको थियो । तर कोभिडपछि पुष्प व्यवसाय नराम्रोसग प्रभावित हुन पुग्यो । कोभिडपछि अन्य व्यवसाय तंग्रिने अवस्थामा पुगेपछि पुष्प व्यवसाय अझै समस्यामै छ । कोभिडका बेला ‘‘कटफ्लावर’ बिक्री नभएर कतिपय ठाउमा नष्ट भयो भने कतिवटा हरितगृह त बन्द गरी केहीले अन्य व्यवसायमा लागे । अझै २० हजार वर्गमिटरको हरितगृह खाली छ । दुई वर्षको घाटालाई व्यहोर्न यसलाई निरन्तरता दिन सकियो भने पुरानो अवस्थामा फर्कने सम्भावना छ । 

 Image