Successfully Copied

वुवा एकमा अनेक

एञ्जिलाले बितेको चार वर्षदेखि फादर्स डे मनाएकी छैनन् । आफ्नो साथमा बुवा नहुँदा उनलाई खल्लो महसुस हुन्छ । त्यसदिन बिहानै मन्दिर गएर पूजा गर्छिन् ।


एञ्जिला डंगोल, डिजे
बुवा–स्व.देवमान डंगोल
एञ्जिला डंगोलको पेसा डिजेइङ हो । उनको सानैदेखि संगीतमा लगाव थियो । कक्षा आठमा पढ्दै गर्दा उनले बाँसुरी बजाउन सिकिन् । त्यसपछि उनले नेवारी बाजा धिमे बजाउन सिकिन् । बुवाले कहिल्यै रोकतोक गर्नुभएन । बरु महिलाले छुनै नहुने भन्ने धिमे बाजा बजाएकोमा गर्विलो महसुस गर्थे । एञ्जिला सम्झिन्छिन्, ‘सायद ड्याडीको पनि संगीतप्रति झुकाव बढी थियो ।’
तर उनले डिजेइङ गर्छु भन्दा बुवाको साथ पाइनन् । किनभनेबुवाको सोचमा यो छोरीका लागि असुरक्षित पेसा भन्ने थियो । उनले आफ्नै जिद्दीले डिजेको कोर्स गरिन् । बुवा भन्नुहुन्थ्यो, ‘छोरी मान्छे भएर राति–राति हिँड्दा समाजले नराम्रो भन्छ । तिमी मात्र राम्रँे भएर हुँदैन । यहाँ नराम्रा मान्छे पनि हुन्छन् । पछि ड्याडी साथीहरू लिएर मेरो काम हेर्न आउनुभयो । त्यसपछि उहाँका साथीहरूले सम्झाएपछि मान्नुभयो ।’

उनको र बुवाको सम्बन्ध बाबुछोरीको भन्दा पनि साथीको जस्तो थियो । उनी भन्छिन्, ‘मेरो बेस्टफ्रेन्ड ।’ एञ्जिलाकी आमासँगभन्दा बढी बुवासँग कुरा मिल्थ्यो । ‘ममी अलिक कडा स्वभावकी हुनुहुन्छ । त्यसैले बुवासँग बढी घनिष्टता बढेको हुनसक्छ । बुवासँग सबै कुरा सेयर गर्न सहज लाग्छ । त्यसैले म अफेयरका कुरासम्म बुवालाई सेयर गर्थें । बुवा बितेपछि मैले ब्रेस्ट फ्रेन्ड गुमाएँ ।’
एञ्जिलालाई बुवासँग बिताएका हरेक क्षण विशेष लाग्छन् । विगत सम्झँदै उनी भन्छिन्, ‘बुवा जोली टाइपको हुनुहुन्थ्यो । जहिल्यै रमाइलो गर्नुपर्ने । ठूलो आवाजमा गीत सुन्नुपर्ने । हाम्रो परीक्षाको बेलामा पनि गीत सुन्न दिने । उहासँग मिलेर ममीलाई जिस्काउने । उहासँग कहिल्यै झगडा परेन । उहाँले हामीलाई कुटेको पनि याद छैन ।’ सानो छँदा उनीहरूले कुनै पनि मेला छुटाएनन् । बिदामा पारिवारिक पिकनिक जाने गर्थे । उनी भन्छिन्, ‘पिकनिक जाँदा पूरै परिवार टिपरमा पछाडि चढेर जाने अनि उकालोमा नतान्ने त्यसपछि सबै मिलेर गाडी धकेल्थ्यौं ।’



एञ्जिलाले बितेको चार वर्षदेखि फादर्स डे मनाएकी छैनन् । आफ्नो साथमा बुवा नहुँदा उनलाई खल्लो महसुस हुन्छ । त्यसदिन बिहानै मन्दिर गएर पूजा गर्छिन् । अहिले उनले मनको कुरा आमासँग सेयर गर्छिन् । उनी भन्छिन्, ‘त्यसपछि हामी ममीसँग नजिक भयौं ।’

 Image