Successfully Copied

पिता एक प्रेरणा

सुजल र उनका बुवाको कुरा खुबै मिल्छ । सुजलले मनको कुरा सबै बुवासँग खोल्छिन् । उनी भन्छिन्, ‘सायद सांकेतिक भाषा बुवाले धेरै बुझ्ने भएकाले म उहाँसँग बढी कुरा सेयर गर्छु ।


पिता सन्तानका लागि प्रेरणा हुन् । उनीहरूको हरेक इच्छा र चाहना पूरा गर्न पिताको भूमिका महत्वपूर्ण हुन्छ । आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि उनीहरू जीवनभर संघर्ष गर्नुपरे पनि हार मान्दैनन् । हरेक सन्तानको सफलताको कथा पछाडि पिताको दुःख, त्याग र परिश्रमको कथा लुकेको हुन्छ । योतिनै पिताहरूको साझा कथा हो, जसले आफ्ना दुःख लुकाएर सन्तानका लागि खुसी खोजिरहे ।


सुजल बम, मोडल एवं कलाकार
बुवा–टेक बम, राजनीतिज्ञ एवं समाजसेवी
बोल्न र सुन्न नसक्ने कलाकारका रूपमा परिचित सुजल बम चञ्चले स्वभावकी छिन् । उनलाई बुवासँग जिस्किरहन मन लाग्छ । उनी कहिलेकाहीँ बुवालाई ‘मेरो बुवाको भुँडी ठूलो छ’, ‘मेरो बुवाले धेरै भात खानुहुन्छ’ भन्छिन् । सुजल सानो हुँदा बुवा दुब्लो हुनुहुन्थ्यो । झुस्स दाह्री पालेको, हल्का लामो कपाल, बीचमा सिउँदो छुट्याएका । उनी अहिले पनि त्यो बेला सम्झेर जिस्काउँछिन् । उनीहरू एक–अर्कासँग यसरी नै रमाइलो गर्छन् ।

सुजल र उनका बुवाको कुरा खुबै मिल्छ । सुजलले मनको कुरा सबै बुवासँग खोल्छिन् । उनी भन्छिन्, ‘सायद सांकेतिक भाषा बुवाले धेरै बुझ्ने भएकाले म उहाँसँग बढी कुरा सेयर गर्छु । बुवाले मेरो मनको भावना सजिलै बुझ्न सक्नुहुन्छ ।’ उनी कतै घुम्न वा कार्यक्रममा गइन् भने त्यहाँ कसलाई भेटिन्, त्यहाँ के–के भयो सबैकुरा नलुकाई घरमा आएर बुवासँग भन्छिन् । आमा–छोरा, बुवा–छोरीको सम्बन्ध घनिष्ठ हुन्छ भनेजस्तै सुजलमा पनि त्यो लागू भएको छ । उनी सुनाउँछिन्, ‘मेरो र बुवाबीच घनिष्ठ सम्बन्ध छ । हामी दुवै एक–अर्कालाई निकै माया गर्छौं । एक–अर्काको कुरा बुझ्छौं र एक–अर्कालाई सहयोग पनि गर्छौं ।’




सुजल ‘एभरेस्ट वल्र्ड रेकर्ड’, ‘क्रिएटिभ रेकर्ड’ र ‘आउट अफ इमानिजेसन सुपर वल्र्ड रेकर्ड’ गरी तीन विधामा कीर्तिमानी कलाकार बनिसकेकी छन् । यसको श्रेय उनी बुवालाई नै दिन्छिन् । भन्छिन्, ‘मेरो करियरको पहिलो सुरुवात नै मेरो बुवा हो । करियर मात्र नभई मेरो जीवनलाई माथि उठाउन उहाँको धेरै योगदान छ । कतिपय अपाङ्गता भएका व्यक्तिलाई घरपरिवारबाट सहयोग नपाएको देख्छु । मलाई अपाङ्गता भएको हो भन्ने ढंगबाट नबुझीकन अहिलेसम्म साथ र सहयोग मिलिरहेको छ । जुन म शब्दमा वर्णन गर्न सक्दिन ।’ सुजलको परिवारमा कोही कलाकारिता क्षेत्रमा छैनन् । तर उनको इच्छा र चाहनालाई बुझेर उनकाबुवाले सधैं हौसला, साथ र सहयोग गरिरहे ।

सुजलप्रति बुवाको एउटै चाहना छ–आफ्नी छोरी अपाङ्गता क्षेत्रमा प्रगति गरेको हेर्ने । अरु अपाङ्गताका लागि प्रेरणाको स्रोत बनाउन मन छ । छोरीको नामबाट आफूलाई चिनाउने धोको छ । हरेक पितालाई आफ्ना सन्तानको नामबाट चिनिनुमा गर्व महसुस हुन्छ । सुजल बुवाकै चाहनानुसार अघि बढ्ने प्रयास गरिरहेकी छिन् ।
सुजल भन्छिन्, ‘उहाँको मप्रतिको जुन लगाव छ, त्यसलाई म उच्च सम्मान गर्छु । सयौं जुनीसम्म पनि म उहाँकै छोरीको रूपमा जन्मिन चाहन्छु ।’ 

 Image