Successfully Copied

सरकारी स्कुललाई गुणस्तरीय बनाए समाजमा दुईथरी वर्ग जन्मदैन ।

समाजलाई विकासको बाटोतिर लैजाने प्रमुख उपाय महिला र पुरुषलाई समान शिक्षा र अवसर प्रदान गर्नु हो । महिला आवाज सुनेर नीतिनिर्माण प्रक्रियामा उनीहरूलाई समान सहभागी बनाउनु पर्छ किनभने समाजका हरेक क्षेत्रमा महिला रोल मोडलको खाँचो छ ।

प्रियंवदा पौड्याल, प्रोफेसर तथा निर्देशक, किल युनिभर्सिटी ग्लोबल हेल्थ डिपार्टमेन्ट, बेलायत 

चितवनमा जन्मिइन्–प्रियंवदा पौड्याल । स्कुले शिक्षा चितवनबाट पूरा गरेपछि काठमाडौंको सेन्ट जेभियर्स क्याम्पसमा आइएस्सी पढिन् । त्यो समय भविष्यमा के बनिन्छ अन्योल थियो । तर पनि उनका अभिभावक सन्तान शिक्षित भएको हेर्न चाहन्थे । आफूले नपढेपनि घरमा पढ्न सहज वातावरण तय गरिदिने आमाको दायित्व सम्झिएर भावुक भइन् उनी । नोस्टाल्जिक हुँदै उनले सुनाइन्, ‘परिवारको सपना र साथले म अहिलेको अवस्थासम्म आइपुगें ।’ हाल उनी बेलायतस्थित किल युनिभर्सिटीमा ग्लोबल हेल्थ विभागकी निर्देशक तथा जनस्वास्थ्य विषयकी प्राध्यापक हुन् । उनी र साथीहरू मिलेर दक्षिण एसियाली मुलुकहरू नेपाल, श्रीलंका र पाकिस्तान लगायत अफ्रिकी मुलुक इथियोपिया र केन्यामा जनस्वास्थ्य क्षेत्रमा पनि काम गरिरहेका छन् । प्रवासी नेपालीहरू विशेषतः खाडीमा काम गर्ने मजदुरहरू र बेलायतमा रहेका आप्रवासी समुदायलगायत विपन्न र समाजबाट सीमान्तकृत गरिएका वर्गहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि उनले काम गरेकी छिन् । उनको काम, अनुभव आदिका विषयमा गरिएको कुराकानी


आफ्नो शिक्षाका बारेमा बताइदिनुहोस् न । 
स्मल हेभन स्कुलबाट एसएलसी पास गरेपछि काठमाडौंको सेन्ट जेभियर्स क्याम्पसमा आइएस्सी अध्ययन गरें । त्यतिखेरको नेपाली परिवेशमा डाक्टर वा इन्जिनियर बन्न धेरै जोड दिने चलन थियो । फलस्वरूप मैले पनि डाक्टर पढ्न धरान र काठमाडौंको महाराजगञ्जमा जाँच दिएँ तर नाम निस्केन । त्यसपछि त्रिचन्द्र क्याम्पस र त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबायोलोजीमा प्रथम श्रेणीमा स्नातक र स्नातकोत्तर पूरा गरें । सन् २००५ मा स्कटल्यान्डको एबर्डीनयुनिभर्सिटीमा एमएस्सी जनस्वास्थ्य विषय पढ्न भर्ना भएँ । बिस्तारै मलाई जनस्वास्थ्य विषयप्रति रुचि बढ्दै गयो । एमएस्सीको पढाइसकेपछि केही महिनामै पिएचडी गर्ने छात्रवृत्ति पनि प्राप्त भयो । पिएचडी नसक्दै सोही युनिभर्सिटीमा अनुसन्धानकर्ताको रुपमा काम पनि पाएँ । 

अध्यापनप्रतिको आकर्षण कसरी भयो ?
पढाइ पूरा गरिसकेपछि मात्र महसुस भयो, मलाई माइक्रोबायोलोजीमा रुचि छैन भनेर । त्यसपछि मैले ल्याबतिर जागिर नखोजी स्कुल पढाउन रातो बङ्गला स्कुलमा दरखास्त दिएँ र काम पनि पाएँ । विज्ञान विषय पढाए । त्यहीँबाट मेरो अध्यापन यात्रा सुरु भयो । त्यसो त मैले पढ्ने प्राइमरी स्कुल र बुबाले पढाउने सेकेन्डरी स्कुल सँगै थियो । आफ्नो पढाइ सकिनासाथ बुवाले पढाउने कक्षाको पछाडि गएर हेरिरहन्थें । एकदिन बुवाले मुनामदन पढाउँदा वियोगको व्यथा भाका हालेर सुनाउँदै गर्दा विद्यार्थीहरू रुँदै थिए । उहाँको पढाउने शैली अद्भूत थियो । विद्यार्थीहरू बुवालाई अत्यन्त आदर र सम्मान गर्थे । सायद बुवाको कारण नै ममा शिक्षण पेसाप्रतिको आकर्षण बढेको होला ।अहिले अध्ययन, लेखन, अध्यापन, अनुसन्धान आदि काम मेरो दैनिकी भएको छ ।


नेपाल र बेलायतको शिक्षा प्रणालीमा के–कस्तो भिन्नता छ ?
१७ वर्षे बेलायती शिक्षाको अनुभवमा नेपालको शिक्षा पद्धति फरक छ । नेपालमा बुझेर पढ्ने भन्दा परीक्षामा घोकेर नम्बर ल्याउने कुरामा महत्व दिन्छौं । बालबालिकालाई सानैदेखि पढेर नौलो कुरा सिक्न भन्दा पनि कक्षामा प्रथम हुन दबाब दिन्छौं । रमाएर पढ्भन्दा पनि धेरै नम्बर ल्याएर अभिभावकलाई कसरी खुसी बनाउने भन्ने दबाब बालबालिकामा हुन्छ । नतिजाको दिन पहिला, दोस्रा, तेस्रा को को भएँ भने र कक्षामा सबैको अगाडि सुनाइन्छ । यस्तो अस्वस्थ प्रतिस्पर्धाले पढाइमा कमजोर बालबालिका हतोत्साहित बन्न पुग्छन् । हरेक बालबालिकामा कुनै न कुनै प्रतिभा लुकेकै हुन्छ । कोही पढाइमा प्रखर हुन्छन् भने कोही गीत गाउन त कोही चित्र कोर्न । सबैको बौद्धिक स्तर एउटै हुँदैन । बालबालिकाको चाहना र खुबी केमा छ बुझेर सोहीअनुसार बाटो तय गरिदिनाले रोजेको क्षेत्रमा सफलता हासिल गर्छन् । अर्को कुरा सीपमूलक शिक्षामा पनि जोड दिनुपर्छ । पढाइमा कमजोर विद्यार्थीलाई क्याम्पस भर्ना भएर एकेडेमिक कोर्स पूरा गर्न दबाब दिनुको सट्टा सीपमूलक तालिम प्रदान गरेर रोजगार योग्य बनाउन सकिन्छ । नेपालको शिक्षा प्रणाली समयानुसार परिवर्तन गर्दै लानुपर्छ । विदेशमा यसको विपरीत छ । बेलायतमा अनुसन्धानका लागि सरकारले प्रशस्त रकम छुट्याएको हुन्छ । सानोभन्दा सानो कुरा पनि अनुसन्धानबाट प्रमाणित भइसकेको छैन भने त्यसलाई बाहिर ल्याइँदैन । विश्वविद्यालय, स्थानीय सरकार तथा अन्य सामाजिक संस्थासँग मिलेर जनहितका लागि कसरी मिलेर काम गर्न सकिन्छ भनेर सदैव लागिपरेका हुन्छन् ।



शिक्षा क्षेत्र कसरी राम्रो बनाउन सकिन्छ ?
यसका लागि लगानी गर्नुपर्छ । शिक्षकलाई उपयुक्त तालिम दिने, विद्यालयमा भौतिक पूर्वाधारहरूको उचित व्यवस्था गनुपर्छ । विद्यार्थीले शिक्षकलाई मात्र नभै शिक्षकले विद्यार्थीलाई पनि आदर–सम्मान गनुपर्छ । सक्नेले महँगा बोर्डिङ, नसक्नेले गुणस्तर माथि उठ्न नसकेका सरकारी स्कुल पढ्दा सामाजिक विभेद हुँदै गइरहेको छ । सरकारी स्कुललाई गुणस्तरीय बनाए समाजमा दुईथरी वर्गको जन्म हुँदैन ।


अध्यापनबाहेक यहाँको रुचिको क्षेत्र ?
यी बाहेक मलाई कोर्स बाहिरका किताब पढ्न, साथीभाइ र परिवारसँग समय बिताउन, नयाँ ठाउँ घुम्न मन पर्छ । फुर्सदको समयमा धेरै कुरा गर्न अनि सिक्न मन लाग्छ । अरुलाई सकारात्मक बाटोमा लाग्न प्रेरित गर्न पनि मन लाग्छ ।


प्रसंग बदलौं, समाज महिलामैत्री किन हुन नसकेको होला ?
नेपाली समाजमा अझै पनि महिलालाई दोस्रो दर्जाका रूपमा लिइन्छ । छोरी जन्मिई भनेर चित्त दुखाउने र पेटमै हुँदा भ्रूण हत्या गरिन्छ । कतिपय अभिभावकले छोरालाई बोर्डिङ स्कुल र छोरीलाई सरकारी स्कुल राख्ने प्रवृत्ति पनि छ । छोरीलाई छोरासरह शिक्षा र समान अधिकार नदिएसम्म समाज अगाडि बढ्दैन । मन्दिरमा देवीका खुट्टा ढोग्छौं तर घरमा रहेकी श्रीमती, छोरी, बुहारी र दिदीबहिनीलाई अपहेलना गर्छौं । महिलाहरू दिनदिनै घरायसी हिंसा, यौन दुव्र्यवहारको शिकार भइरहेका छन् । बालविवाह आज पनि कायमै छ । यी सबै कुरा अन्त्य हुनु जरुरी छ ।



महिला हरेक क्षेत्रमा कसरी सफल हुने ?
समाजलाई विकासको बाटोतिर लैजाने प्रमुख उपाय महिला र पुरुषलाई समान शिक्षा र अवसर प्रदान गर्नु हो । महिला आवाज सुनेर नीतिनिर्माण प्रक्रियामा उनीहरूलाई समान सहभागी बनाउनु पर्छ किनभने समाजका हरेक क्षेत्रमा महिला रोल मोडलको खाँचो छ । शिक्षा, स्वास्थ्य, राजनीति, व्यापार आदिमा महिला नेतृत्वको खाँचो छ । हाम्रा व्यवहार–आचरणले स–साना नानीहरूलाई भविष्यमा म पनि त्यस्तै बन्न सक्छु भन्ने प्रेरणा र आत्मविश्वास जगाउन सक्नुपर्दछ । उनीहरूको हुर्काइ र समाजमा महिलाहरूको आजको अवस्थाले नै मुलुकको भविष्य कस्तो हुने भन्ने कुराको दिशा निर्देश गर्दछ ।


तपाईंको भावी योजना के छ ?
अध्ययन–अध्यापनमार्फत समाजमा योगदान पु¥याउने छु ।

 Image