Successfully Copied

थिएटरले समाज बुझायो -कुञ्जन चौधरी

उनलाई विदेशी नाटक भन्दा पनि नेपाली मौलिक नाटक देखाउन र खेल्न मन पर्छ ।

 
रौतहटका कुञ्जन चौधरीलाई सानैदेखि साहित्य लेखनमा रुचि थियो । विद्यालयमा पढ्दाताकै उनले थुप्रै नाटक पढ्ने अवसर पाए ।

मधेशको जाडोमा आगो ताप्दा होस् वा अरुबेला कथाहरू सुन्दै उनको बाल्यकाल बित्यो । उनलाई लाग्थ्यो नाटक के होला ? नाटक कसरी खेल्लान् ? नाटकका पात्र कस्ता हुन्छन् ? यिनै प्रश्न उनको मनमा उठिरहे । जब उनी पढाइका क्रममा काठमाडौं ओर्ले तब उनलाई नाटक पढ्न र सिक्न मन लाग्यो । त्यसैक्रममा उनी ‘मण्डला थिएटर’ पुगेका हुन् । संगीत र साहित्यमा रमाउने गरेका उनी पछिल्लो समय नाटकमा सक्रिय भएका छन् । नाटकमा छ महिनाको प्रशिक्षणले उनलाई यो क्षेत्रमा आउन झनै प्रेरित ग¥यो ।

उनले ‘मण्डला थिएटर’ बाट प्रशिक्षण लिएका हुन् । समाजका पात्रहरूदेखि सामाजिक विषयवस्तुसम्म उनले बुझ्ने अवसर पाए । अचम्म त उनलाई के लाग्यो भने नाटकले मानिसहरूको मनोभावना पनि बुझ्न सकिँदो रहेछ । उनले भने, ‘नाटकले समाजका पात्रदेखि मानिसको मनोभावना बुझ्न सकिँदो रहेछ ।

’नाटक सिक्दै उनले नाटक देखाउने अवसर पाए । नाटकमा करिअर खोज्दै गर्दा उनी पुरानो नाटक घर सिनामंगलमा आबद्ध भए । त्यसपछि उनले नाटक खेल्ने शृंखलादेखि निर्देशनसम्म गरेका छन् । उनलाई विदेशी नाटक भन्दा पनि नेपाली मौलिक नाटक देखाउन र खेल्न मन पर्छ । उनले भने, ‘नाटक समाजको ऐना हो, त्यसकारण नाटकहरूमा समाजका मौलिक विषयवस्तुहरू देखाउनुपर्छ ।’

स्नातकोत्तर गरेका ३२ वर्षीय उनलाई हाल नाटकको लत नै परेको छ । उनले नाटक खेल्दा आर्थिक पाटो हेरेका छैनन् । नाटकबाट कहिले नाफा हुन्छ कहिले लगानी पनि उठ्दैन । तर, उनलाई आत्मसन्तुष्टि मिलेको छ । उनले भने, ‘पैसाका लागि नाटक खेलिँदैन, पैसाका लागि नाटक खेल्ने हो भने नाटकको मर्म नै मर्छ ।’

 Image