Successfully Copied

विभेदविरुद्ध सरस्वती

शरीरमा लागेको चोटपटकको पीडाभन्दा पनि समाजमा रहेको छुवाछूतको पीडा उनका लागि महत्वपूर्ण थियो ।


बैतडीको दशरथचन्द नगरपालिकाकी सरस्वती नेपालीले सानै छँदा बुवा गुमाइन् । आमाले ज्याला–मजदूरी गरी उनलाई पढाइन् । घरभित्रको अभिभावकको अभाव त छँदै थियो, घरबाहिर निस्कदा उनले सामाजिक विभेद पनि भोगिन् । दलित समुदायकी उनी जब घरबाहिर निस्कन्थिन् तब उनी विभेदको सिकार भएको महसुुस गर्थिन् । विद्यालयमा पानी पिउन पनि सहज थिएन । सबै साथी धारामा पानी खान्थे तर उनलाई भने अरुले दिएको पानी पिउनुपथ्र्यो । अपमानित भएको महसुस भएपछि उनलाई विद्यालयमा पानी पिउन कहिल्यै मन लागेन । उनले भनिन्, ‘विद्यालयमा पानी छुट्टै थापेर खानुपथ्र्यो । मलाई अपमान भएको महसुस भइरहन्थ्यो । त्यसकारण म घरमै आएर पानी पिउँथें ।’ बैतडीमा धार्मिक परम्पराले आफ्ना समुदायमाथि विभेद भएको उनले बुझ्दै गइन् ।

मन्दिर प्रवेशको आन्दोलन

बैतडीमा दलितमाथि हुने विभेद सँगसँगै हलिया प्रथा र सिनो प्रथाको आन्दोलन चर्किदै थियो । उनीहरूलाई मन्दिर प्रवेशमा पनि रोक लगाइएको थियो । नेपाल सरकारले सार्वजनिक क्षेत्रमा सबैलाई खुल्ला भनेर घोषणा गरेको थियो । तर, उनीहरूलाई प्रवेशमा रोक थियो । भगवान् हरेकका लागि समान हुन् किन प्रवेश नगर्ने भन्ने अभियानका साथ उनी सामाजिक आन्दोलनमा होमिइन् । स्थानीय जगन्नाथ मन्दिरमा मन्दिर प्रवेशका क्रममा उनले विद्रोह गरिन् । त्यसताका झडप पनि भयो । एउटा मन्दिर खुल्ला गरे पनि थुप्रै मन्दिर खुल्ला गर्नु थियो उनीहरूलाई । बिस्तारै विभेदविरुद्ध सचेतना जगाउँदै थुपै्र मन्दिर सबैका लागि खुल्ला हुन थाले । थुपै्रै आन्दोलन र चेतनापछि भने मन्दिर सबैका लागि खुल्ला भए । झडपका क्रममा अस्पताल बस्नुपर्ने अवस्थाभन्दा पनि उनी परिवर्तनले खुसी थिइन् । शरीरमा लागेको चोटपटकको पीडाभन्दा पनि समाजमा रहेको छुवाछूतको पीडा उनका लागि महत्वपूर्ण थियो । उनले भनिन्, ‘आन्दोलनका कारणले नै परिवर्तन सम्भव भयो, अन्य मानिसजस्तै हामी पनि मन्दिर प्रवेश गर्न पाउने भएका थियौं ।’

काठमाडौं आउन संघर्ष

कलेजको पढाइसँगै उनले सामाजिक आन्दोलनलाई पनि बढाउँदै लगिन् । सामाजिक काममा सक्रिय उनीसहित दुई साथी काठमाडौंको एउटा कार्यक्रमका लागि आउने निधो भयो । छोरीमान्छे बाहिर जान हुँदैन भनेर उनीहरूलाई रोक्ने प्रयास गरियो । काठमाडौं जाँदा उनीहरू जान्ने–बुझ्ने हुन्छन्, समाजमा प्रश्न गर्न सक्ने र आफ्ना अधिकारका कुरा गर्न थाल्छन् भन्दै रोक लगाउने प्रयास गरिएको थियो । उनीहरूलाई धर्म परिवर्तनका लागि काठमाडौं जान लागेको आरोप पनि लाग्यो । उनी भन्छिन्, ‘महिलाहरू जान्ने हुन्छन् भनेर काठमाडौं आउन नदिन निकै प्रयास भयो । हामीमाथि थुप्रै लाञ्छना पनि लगाइए तर हामीले निकै साहस र संघर्ष गरेर काठमाडौं पुग्यौैं ।’


महिला बढी पीडित

०६२–६३ को जनआन्दोलनमा पनि उनले खुलेर आवाज उठाइरहिन् । घरमा नभनी लुकीलुकी उनी आन्दोलमा जाने गर्थिन् । त्यतिबेला महिलाका मुद्दाहरू बोकेर हिँड्नेहरू कमै थिए । आफूमा भएको विभेद हटाउन उनी सामाजिक रूपमा संगठित हुँदै आन्दोलन गर्न थालिन् । उनका अगाडि चुनौतीका चाङ थिए । सदियौंदेखि चलिआएको परम्परा उनले तोड्नु थियो । समाजका विकृतिलाई हटाउँदै असल र सभ्य समाज उनले बनाउनु थियो । जातीय रूपमा होस् वा अन्य कुनै कारणले महिलामाथि बढी विभेद भएको उनले पाइन् । महिलाका लागि थुप्रै कानुन र नीति बने पनि विभेद अझै हट्न नसकेको उनले बताइन् । बालिकामाथिको बलात्कारदेखि महिलामाथिको हिंसा अझै हट्न नसकेको उनको भनाइ छ । उनले थुप्रै महिला आन्दोलनमा पनि आवाज उठाइन् । बालिकामाथिका बलात्कारका घटनालाई पनि पुनरुत्थान गर्नका लागि उनी सधैं अग्रसर भइरहिन् । थुप्रै चुनौती र धम्की सहँदै धेरै बालबालिकाको न्यायका लागि उनले आवाज उठाइन् । उनी भन्छिन्, ‘बालिकामाथिका घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याउनु र पीडितलाई पुनरुत्थान गर्नका लागि निकै चुनौती छ ।’

पुरस्कारले बदलिदियो दैनिकी

सुदूरपश्चिमका हरेक ठाउँमा सामाजिक, सांस्कृतिक एवं लैगिंक विभेदका विरुद्ध आवाज उठाइरहिन् । महिला, बालबालिकादेखि सीमान्तकृत समुदायका लागि उनको आवाज सधै खरो हुन्थ्यो । उनलाई लाग्थ्यो–आवाजबिहीनहरूको आवाज बनेर अगाडि बढ्नुपर्छ । गाउँमा बसेर काम गरिरहेकी उनलाई एकदिन फोन आयो, ‘तपाईंलाई हामीले दर्नाल अवार्डमा छनोट गरेका छौै ।’ राशि थियो पाँच लाख रुपैंयाँ । यो उनका लागि खुसीको कुरा थियो । थुप्रै चुनौती झेल्दै अघि बढिरहेकी उनका लागि सबैभन्दा ठूलो पुुरस्कार थियो । पुुरस्कारले उनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाइदियो । उनको कामको सबैले प्रशंसा गर्न थाले । समाजसेवी हालकी उप–सभामुख इन्दिरा राना मगरको हातबाट उनले ग्रहण गरिन् । उनले भनिन्, ‘देशको एउटा कुनामा बसेर काम गरिरहेकी मलाई पुरस्कारले कामको कदर भएको महसुस भयो ।’

उपमेयरको यात्रा

विभेदविरुद्धको आन्दोलमा आवाज उठाइरहँदा उनलाई लाग्यो अभियानमा मात्र होइन, अब राजनीतिमा पनि आउनुपर्छ । नीतिगत रूपमा अगाडि बढेमा हरेक प्रकारका विभेद अन्त्य हुन्छन् । नीतिको मूल थलो नै राजनीति भएको तथ्य उनलाई महसुस भयो । त्यसपछि उनले उपमेयरको यात्रा तय गरिन् । दशरथचन्द नगरपालिकामा नेकपा एमालेको तर्फबाट दुईपटक उपमेयरको टिकट पाए पनि विजय भने हुन सकिनन् । हाल उनले थुप्रै कमिटीमा बसेर काम गरिरहेकी छन् ।

 Image