Successfully Copied

बिदेसिँदै नर्स

निजी अस्पतालहरूले तलब कम दिने, बढी खटिनुपर्ने, कामको मूल्यांकन नभएकाले पनि यो पेसाका लागि नर्सहरूको रोजाइ विदेश हुने गरेको छ ।


सुनसरीकी सोनाम श्रेष्ठलाई प्रवेशिका परीक्षा उत्तीर्णपछि नर्स बन्ने सोच आयो । उनले नर्स सेवालाई ‘ग्लामर्स फिल्ड’, आकर्षक तलब र राम्रो जीवन शैलीका रूपमा सुनेकी थिइन् । त्यसैले उनी यतै मोडिइन् । उनले अनमी पढिन् । अनमी उत्तीर्ण भएपछि विभिन्न निजी अस्पतालमा अनुभव बटुलिन् । निजीमा धेरै परिश्रम र ‘ओभरटाइम’ पनि गर्नुपर्ने भएकाले उनी सरकारी सेवामा प्रवेशको तयारी थालिन् । लोकसेवामा सफल भई उनको पहिलो पोस्टिङ सिरहाको नवराजपुर गाउाँलिका स्वास्थ्य चौकीमा भयो । त्यहाँ सेवारत रहेकै बेला समायोजनको कुरा आयो । यसमा उनले आफ्नो नाम लेख्न छुटाइन् । उनलाई समायोजन नगरेको भन्दै ताप्लेजुङको दुर्गम जान निर्देशन आयो । तर, बच्चा सानो भएका कारण उनी गइनन् । समायोजनमा नपरेका कारण उनलाई काम गर्न सहज थिएन । धेरै हारगुहार गरेपछि उनले नवराजपुरमै आफ्नो सरुवा मिलाइन् । सिरहामा पनि सेवा दिनका लागि दैनिक २१ किमीको यात्रा तय गर्नुपर्छ । उनले भनिन्, ‘घरपायक जागिर नभएकाले काम गर्न समस्या हुने रहेछ ।’ यही सेवामा रहेर उनी मासिक ४१ हजार रुपैयाँ तलब पाउँछिन्तर बढ्दो महँगीले उनलाई त्यसले पुग्दैन । उनी अनमी पाँचांै तहमा कार्यरत छिन् । सरकारी जागिर भएपनि घरपायक नभएकाले धेरै समस्या भोग्नुपरेको उनको भनाइ छ । नर्सको पेसा रातदिन खटिनुपर्छ । बच्चा, घरपरिवार सबै व्यवस्थापन गर्न उनलाई समस्या छ । ‘नेपालमा नर्सले धेरै काम गर्नुपर्छ, विदेशमा यति काम गर्ने हो भने प्रशस्त पैसा पाइन्छ’ उनले भनिन्, ‘यहाँ दुःख धेरै, पैसा भने कम छ ।’

तस्बिर–सोनम श्रेष्ठ

विद्यालय तहको अध्ययन सकेपछि धेरैजनामा अब के गर्ने÷नगर्ने भन्ने अन्योल हुन्छ । काठमाडौंकी पुष्पा चापागाईंलाई पनि यस्तै अन्योल थियो । घरमा दिदीहरूपनि नर्स थिए । उनीहरूले सुझाए नर्स नै बन । नर्स पढ्ने योजनाले उनले विज्ञान पढिन् । ललितपुरस्थित किस्ट कलेजमा नर्सिङ अध्ययन गरिन् । पढाइ पूरा भएपछि उनले न्यूरो अस्पतालमा काम थालिन् । सुरु–सुरुमा त उनलाई ग्राहो नै थियो तर पछि बिस्तारै बानी पर्दै गयो । उनले अस्पतालमा सरकारले तोकेकै न्यूनतम तलब पाउँछिन् । यो सेवामा उनको १५ वर्ष भइसक्यो । सुरुवाती समयमा उनलाई सात घण्टा ड्युटी गर्नुपथ्र्यो ।

उनका लागि तलब पनि चित्तबुझ्दो नै थियो । नर्स भनेर सम्मान पाउँदा उनी यो पेसाको महत्व बुझ्न थालिन् । यो पेसामा घरपरिवारको साथ र सहयोगले उनलाई काममा लाग्न प्रेरित गरिरह्यो । सरकारी नियमानुसार दिनमा आठ घण्टा र सातामा दुई दिन रात्रिकालीन सेवा गर्नुपर्छ । पुष्पा आफ्नो पेसाबाट सन्तुष्ट छिन् । नर्सिङ पेसालाई सम्मानका रूपमा हेरिए पनि पछिल्लो समय राम्रो वातावरण नपाएकाले धेरैजना बिदेसिन थालेका छन् । ‘यहाँको तुलनामा विदेशमा काम र कमाइ राम्रो हुन्छ । त्यसैले धेरै नर्सको आकर्षण विदेश जाने बनेको छ’ उनले भनिन् । निजी अस्पतालमा नर्सहरूमा काम बढी तलब कम दिने अवस्था अझै रहेको उनको भनाइ छ । निजी कम्पनीहरूमा नर्सलाई काम गर्न अझै असहज छ । उनले भनिन्, ‘सरकारी सुविधा भनिन्छ तर काम गर्नका लागि प्रोत्साहन अझै पनि हुन सेकेको छैन ।’

तस्बिर–पुष्पा चापागाई

उदयपुर गाईघाटकी रक्षा दर्लामी मगरलाई सानैदेखि मेडिकल क्षेत्रमा काम गर्ने रुचि थियो । आफ्नो रुचि पूरा गर्न उनले भारतबाट नर्समा स्नातक र स्नातकोत्तर सकाइन् । नेपालमा कोटा कम र प्रतिस्पर्धा बढी हुने भएकाले उनले भारतमा अध्ययन गरेको बताइन् । शिक्षा पूरा गरेपछि त्यतै एक वर्ष कामको अनुभव लिई उनी नेपाल फर्किइन् । नर्भिकमा काम थालिन् । पढाइका क्रममा उनले करिब १० लाख खर्च गरेकी थिइन् । तर, सेवा सुरु गर्दा मासिक २० हजारदेखि ३० हजारमा उनले काम पाइन् । उनलाई लाग्थ्यो यत्रो खर्च गरेर यति मात्र तलब । तर पनि अरूको अवस्था देखेर उनलाई आफ्नो राम्रो लाग्थ्यो । उनले भनिन्, ‘कम पैसामा काम गर्नुपर्दा दुःख त लाग्थ्यो तर अरु नर्सले पाँचदेखि १० हजार कमाइन्छ भनेको सुन्दा मैले पाएको तलबमा सन्तोष हुन्थ्यो ।’ पछिल्लो समय भने उनी वीर अस्पतालमा करारमा पाँचांै तहको नर्सका रूपमा कार्यरत छिन् । सरकारी सेवामा अझ धेरै खटिनुपर्ने उनको अनुभव छ । बिरामीको चाप बढी र जनशक्ति कम भएको अवस्था छ । एक नर्सले धेरै बिरामी हेर्नुपर्ने बाध्यता भएको उनले बताइन् । दिनरात नर्सहरूले दिने सेवाको नेपालमा मूल्यांकन हुन नसकेको उनको भनाइ छ । ‘सुरुमा एचए र अनमीलाई दिइने तलबमा खासै भिन्नता थिएन । पछिल्लो समय भने फरक छ’ उनले भनिन्, ‘लामो समय एउटै सुविधामा काम गरेर धेरै बिरामीलाई हेर्नुपर्दा धेरै नर्स फस्टेसन हुँदै गएका छन् ।’ अझ रात्रिकालीन सेवामा कुनै सुविधा नहु“दा पनि उनीहरूमा निराशा बढ्दै गएको छ ।


तस्बिर–रक्षा दर्लामी मगर

पछिल्लो समय विदेश जाने नर्सहरूको संख्या बढेको छ । उनीहरूको पहिलो रोजाइ अमेरिका, बेलायत र क्यानाडा हुने गरेको छ । नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईका अनुसार नेपालमा नर्सहरूको उत्पादन बढी भएकाले उनीहरूले उचित सेवा–सुविधा पाउन सकेका छैनन् । ‘निजी अस्पतालहरूले तलब कम दिने, बढी खटिनुपर्ने, कामको मूल्यांकन नभएकाले पनि यो पेसाका लागि नर्सहरूको रोजाइ विदेश हुने गरेको छ’ उनले भनिन् ।

‘आठ हजार तलबमा पनि खट्छन्’

मनकुमारी राई, अध्यक्ष नेपाल नर्सिङ संघ नेपालमा कार्यरत नर्सहरूको संख्या एक लाख १० हजार छ । पछिल्लो समय उनीहरूको विदेश जाने ‘टे«न्ड’ बढ्दै गएको छ । हामीसँग भएको तथ्यांकअनुुसार हालसम्म २९ हजार नर्स विदेशगइसकेका छन् । विदेश जानेहरूमा आ–आफ्नै कारण देखिन्छन् । विदेश जानेहरूमा व्यक्तिगत, राम्रो अवसर र उच्च शिक्षाको खोजी प्रमुख कारण हुन् । अर्को कुरा,सरकारले पनि बेलायतमा पढाउन प्रोत्साहन गरिरहेको छ । यस विषयमा हामीसँग केही राय छैन । सेवा–सुविधाको विषयमा हामीले कुरा उठाइरहेका छौं । नेपाल सरकारको मातहतमा रहेर काम गर्ने स्टाफ नर्सहरूको तलब २८ बाट ३५ हजार रुपैयाँ पुगिसकेको छ । नेपाल सरकारको स्वीकृति लिएर निजी अस्पताल, नर्सिङ होमहरूले सरकारले तोकेअनुसार तलब दिएका छैनन् । निजीमा १५ हजारदेखि २५ हजार रुपैयाँमा काम गरिरहेका छन् । थुप्रै नर्सले अनुभव बटुल्नका लागि आठ हजारमा पनि काम गरिरहेका छन् । नर्सहरूलाई उचित सम्मानका लागि हामीले पहल गरिरहेका छौं ।

 Image