Successfully Copied

स्कुटरले आत्मनिर्भर 

पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधन प्रयोग गर्ने महिलाको संख्या बढेको छ । समयको बचत र सार्वजनिक यातायातमा हुने दुर्व्यवहारबाट जोगिने भएकाले दुईपाङ्ग्रे सवारी साधनको प्रयोग गर्ने महिला बढेका हुन् ।

पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधन प्रयोग गर्ने महिलाको संख्या बढेको छ । समयको बचत र सार्वजनिक यातायातमा हुने दुर्व्यवहारबाट जोगिने भएकाले दुईपाङ्ग्रे सवारी साधनको प्रयोग गर्ने महिला बढेका हुन् । सञ्चारकर्मी सिर्जना खड्काले स्कुटर चलाउन थालेको पाँच वर्ष भइसक्यो । भक्तपुरको ठिमीबाट काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस आउजाउ गर्न उनले खरिद गरेको स्कुटरले उनलाई हरेक काम गर्न सहज भएको छ । समाचार संकलन गर्ने क्रममा पत्रकार सबै ठाउँमा पुग्नुपर्ने तर, ती सबै ठाउँमा सार्वजनिक यातायात नपुग्ने भएकाले स्कुटर उपयोगी भएको उनले बताइन् । उनी स्कुटरबाट काठमाडौं उपत्यका मात्र नभई बाहिर पनि जाने गर्छिन् । उनले स्कुटरबाटै रामेछाप र काठमाडौंको यात्रा गर्छिन् । ‘सार्वजनिक यातायातमा सिट नहुने तथा सहचालक र यात्रुबाट दुर्व्यवहार हुने, समय पनि खेर जाने भएकाले पनि मलाई स्कुटरमै यात्रा गर्न मन पर्छ’ उनले भनिन्, ‘स्कुटर चलाउन थालेयता मेरो आत्मविश्वास बढ्नुका साथै स्वतन्त्रता महसुस हुन थालेको छ ।’ 
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स कृति नापित दिनरात काममा व्यस्त छिन् । सार्वजनिक यातायातमा भीडभाड हुने तथा सानो कामका लागि पनि धेरै समय खर्चिर्नुपर्ने बाध्यताले उनी स्कुटर चलाउन थालेकी हुन् । पाँच वर्षअघि स्कुटर कुँदाउन थालेयता उनलाई समयमै ड्युटीमा पुर्‍याएको छ । उनले भनिन्, ‘सार्वजनिक यातायातमा हिँड्नुपर्दा एक घण्टाअगाडि घरबाट निस्कनुपर्थ्यो भने स्कुटर चलाएपछि १५ मिनेट अगाडि निस्कन्छु ।’ स्कुटर भएपछि आफ्नो समयअनुसार निस्कन सकिने उनको अनुभव छ । व्यस्त जीवनशैलीका कारण आफूले कुनै पनि सवारीसाधन चलाउन सके धेरै समय बचत हुन सक्ने उनले बताइन् । समयमै काम गर्न र कुनै पनि ठाउँमा समयमै पुग्न अहिले स्कुटर आवश्यक भएको उनले बताइन् । 


नेपाल इन्भेस्टमेन्ट बैंकमा कार्यरत अनिता शाहीलाई मातातीर्थबाट दैनिक अफिस लाजिम्पाट आउनुपर्थ्यो । उनलाई सधै समस्या हुन्थ्यो, सार्वजनिक यातायातको । समयमा गाडी नपाउने, पाए पनि सिट नहुने, एउटै सवारीसाधनमा सबैतिर पुग्न नसकिने भएकाले आफूले दुईपाङ्ग्रे रोजेको बताइन् । अर्को कुरा, सवारीसाधनमा भाडाको खर्च नै बढी लाग्छ । यी यस्तै समस्याबाट मुक्ति पाउन उनले स्कुटर किनेको बताइन् । उनका अनुसार स्कुटरमा दैनिक २८ किलोमिटर हिँड्नुपर्दा पनि राहत महसुस हुन्छ । ‘स्कुटरले खर्च पनि बचाइदिएको छ’ अनिताले भनिन्, ‘धेरै वटा सवारीसाधनमा महँगो भाडा तिर्नुभन्दा स्कुटीमा पेट्रोल हाल्न सहज हुन्छ ।’ आफ्नो इच्छा र समयअनुसार यात्रा गर्न सकिने भएकाले पनि आफूलाई स्कुटरले धेरै सहज भएको उनले बताइन् । एक सन्तानकी आमा उनी स्कुटरकै कारण अफिसबाट समयमै घर पुग्न सकिने भएकाले छोरीलाई पर्याप्त समय दिन सकेको उनको भनाइ छ । सवारी साधनको प्रयोगले आफूलाई आत्मनिर्भर बनाएको उनले बताइन् । 
फाइनान्समा कार्यरत दुर्गा रूपाखेतीलाई आफू स्कुटरबिना काम गर्न सक्छु भन्ने लाग्दैन । उनका लागि स्कुटर बाध्यतासँगै आवश्यकता बन्दै गएको छ । फिल्डमा रकम संकलन गर्नका लागि स्कुटर धेरै उपयोगी भएको उनलाई लाग्छ । स्कुटर भएका कारणले घरको काममा पनि समय छुट्याउन सकेकी छन् । छोराछोरीलाई विद्यालय पुर्‍याउनेदेखि फिल्डमा हिँड्नसमेत स्कुटर सहयोगी भएको उनले बताइन् । ‘पैसा संकलन गर्न फिल्डमा हिँडिराख्नुपर्छ, न सार्वजनिक यातायात चढ्न सकिन्छ न त हिँड्न नै, मेरा लागि स्कुटर एउटा आवश्यकता बनेको छ’ उनले भनिन् । स्कुटर भएपछि उनलाई काम गर्ने जाँगर बढेको छ । उनले भनिन्, ‘स्कुटरले समयको बचत र दुर्व्यवहारबाट बच्न धेरै सहयोग 
गरेको छ ।’

 Image