फेशनमा विश्वबजारको तुलनामा हामी पछाडि
पछिल्लो आधा दशकमा फेसनप्रति मानवीय सोच बदलिइरहेको छ । महिलाहरू घरभित्र सीमित मात्रै नभएर व्यावसायिक हुँदै गइरहेकाले टिपटप भएर हिँड्नैपर्ने हुन्छ ।
नेपाली दुलहीहरूका लागि जुडोकै फरक–फरक हेयर स्टाइल उपयुक्त हुन्छ । धेरैजसो हेयर स्टाइलिस्ट विवाह गर्नुअघि हेयर स्पा गर्नुपर्छ भन्छन् तर यसको जरुरी हुँदैन । यद्यपि पहिलेको तुलनामा केशको स्याहार–सुसार भने बढी नै गर्नुपर्छ । विवाहको निधो भएपछि ४–५ महिनासम्म केश काट्नु हुँदैन । केशका हाँगाहरू काट्ने, हेयर कलर लगाउने तर मेहन्दी, अमला, रिठ्ठा आदि नलगाउने । हेयर ट्रिम गर्ने, हेल्दी गर्ने तर स्टाइलिङ भने नदिने । जसले गर्दा विवाहका बेला दुलहीलाई उनको पहिरन र मेकअपअनुरूप हेयर स्टाइलिङ गरी आकर्षक बनाउन सकिन्छ ।
हरेक हेयर ड्रेसरले दुलहीको रुचि, व्यक्तित्व, कार्यक्रम, पहिरन, एसेसरिज, ज्वेलरी आदिका आधारमा हेयर स्टाइल बनाउनुपर्छ । अहिलेका ब्राइडहरू टिपिकल भन्दा फ्रेस तथा एलिगेन्ट देखिन चाहन्छन् । ब्राइडहरूको व्यक्तित्व निखार्न पहिरनअनुसारको हेयर स्टाइल आवश्यक हुन्छ । हेयर स्टाइलका लागि दुलहीको ब्लाउजको डिजाइन पहिले नै थाहा हुनुपर्छ । ब्लाउज हाइनेक वा ओपन के छ त्यहीअनुसार हेयर स्टाइल बनाउनुपर्छ । धेरै खोलिएको ब्लाउजमा केशले छोप्ने स्टाइल गर्ने र लुगाले ढाकिने ब्लाउजमा माथिसम्म पर्ने गरी जुडो बनाउने । दुलही भएका बेला जोकोही फरक देखिन चाहने भएकाले कुन हेयर स्टाइलले आफूलाई सुन्दर देखाउँछ बुझेर काम गर्दा अझ राम्रो हुन्छ ।
सानो अनुहार भएका दुलहीका लागि फेस ओपन देखिने गरी हेयर बनाउनुपर्छ । त्यस्तै ठूलो फेस भएका दुलहीका लागि पहिले अलिकति कटिङ गरेर हेयर मिलाउनुपर्छ । केश अलिकति अघि ल्याएर ब्यालेन्स गर्नुपर्छ । लामो अनुहारलाई साइडमा भोलुम दिनुपर्छ । फ्ल्याट हेयर बनायो भने अझ आउट अफ ब्यालेन्स देखिन्छ ।
अहिलेका दुलहीहरूले इन्डो वेस्टर्न हेयर स्टाइल मन पराउँछन् । नेपाली दुलहीहरूले मुख्यत: साडी तथा लेहेंगा लगाउने अनि गहनाहरू पनि हेभी हुने भएकाले दुलहीका लागि फरक–फरक जुडो नै उपयुक्त हुन्छ ।
दुलहीहरूले घुम्टो ओढेर, हेभी लुगा तथा गहनाका साथ आगोको छेउमा धेरै समय बस्नुपर्ने भएकाले घुम्टी स्टान्ड जरुरी हुन्छ । हेयर बनाएर घुम्टी स्टान्ड लगाई माथिबाट घुम्टी लगाउँदा टक्क बस्छ र आकर्षक देखिन्छ । घुम्टी स्टान्ड अर्थात् क्राउन रातो रंगको भेल्भेटको उत्तम हुन्छ । अहिले कन्टेम्पोरी, वेस्टर्नसँग मिल्ने फ्युजन स्टाइलको जुडो जसमा सिन्दूर राख्न मिल्छ अर्थात् अप टु स्टाइलको जुडो विशेष रुचाइएको छ ।
क्रिस्चियन ब्राइडमा सेतो पहिरन तथा कम ज्वेलरी लगाइने हुँदा नेचुरल मेकअप तथा हेयर स्टाइलले आकर्षक देखाउँछ । शरीर पूरै ढाकिने पहिरन नभएकाले हाफ हेयर छोडेर अपडु पनि गरेका हुन्छन् । क्रिस्चियन ब्राइडल गाउनका लागि हेयर स्टाइलमा जुडोबाहेक, हेयर कर्ल, मेसी बन, ग्रिक हेयर स्टाइल, रसियन हेयर स्टाइल, क्रिसमस ककटेल हेयर स्टाइल, रोज बन हेयर स्टाइल, पोनी अप, क्लासिक अप डो, कर्ली मेसी स्टाइल, सिम्पल ट्विस बन, पिन वेभी हेयर बन, अपसाइड बन, कर्ल पोनी विथ फ्लावर, साइड बन, कर्ल अप डु आदि फेसनमा छन् । अहिले हिन्दू दुलहीहरूले पनि क्रिस्चियन गाउन कन्सेप्टका पहिरन प्रयोग गर्न थालेका छन् । यस्तो पहिरनमा यस्तै फरक–फरक हेयर स्टाइल प्रयोग गरी डिसेन्ट अनि आकर्षक दुलही बन्न सकिन्छ ।
कतिपय दुलही मेकअप, पहिरन, हेयर स्टाइल राम्रो भएर पनि ज्वेलरी सेन्सको अभावमा भनेजस्तो देखिन सक्दैनन् । सुनको नेकलेस लगाई डाइमण्डको हेयर क्राउन लगाउने आदि कार्यका साथै नचाहिने ठाउँमा हेयर एसेसरिज प्रयोग गरी आफ्नो आकर्षण घटाउनु बुद्धिमानी पनि होइन ।