Successfully Copied

बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर

बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।

असार २९ गते रिलिज भएको ‘बगान’ चलचित्रमा अभिनेतृ करिश्मा मानन्धरको अभिनयको जादुले पुनः एकपटक चर्चा बटुलिरहेको छ । लामो समयपछि ठूलोपर्दामा फर्किएकी मानन्धर बीचको समयमा म्युजिक भिडियामा अभिनय, अध्ययन र विभिन्न कार्यक्रममा व्यस्त रहेको बताउँछिन् । चलचित्रको भुमिका र अभिनयबारे उनीसँग गरिएको कुराकानी

धेरैपछि बगानमा देखियो, मुख्य भूमिकामा यो तपाईंको कमब्याक हो ?
यसलाई म ‘कमब्याक’ भन्दिन । किनभने म निस्क्रिय भएर बसेकी थिइन । म्युजिक भिडियो, अध्ययनका साथै विभिन्न कार्यक्रम र कृयाकलापमा सक्रिय रूपमा काम गरिरहेकी थिएँ। लामो समयपछि फिचर फिल्ममा लामो भूमिका निर्वाह गरेको भन्न मिल्छ ।

बजारको चर्चा सुन्दा यो चलचित्रमा तपाईंले ‘नेक्स्ट लेभल’ को अभिनय गर्नुभएको भन्ने सुनिएको छ, के त्यस्तो विशेष छ जसले यो चर्चा चुलिँदो छ ?
आफ्नै मुखबाट ‘नेक्स्ट लेभल’ को अभिनय भन्न चाहन्न । पहिले जुन चरित्र निर्वाह गर्थें, त्यो भन्दा केही फरक भने पक्कै हो । बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।

तपाईंको जीवन र वरिपरिका महिलामा बगानको कथा कत्तिको मेल खान्छ ?
मेरो जीवनमा शतप्रतिशत जस्तै मेल खान्छ । त्यो समयमा मेरी एकल आमाले साना दुई सन्तानलाई ठूलो संघर्ष गरेर हुर्काउनुभयो । मेरी आमा वास्तविक एकल महिला हो । नेपालमा १५ लाखभन्दा बढी एकल आमा भएको तथ्यांक केही अघि पढेकी थिएँ । त्यसैले यसभित्रको कथाले समाजको मूल प्रतिनिधित्व गर्छ । फिल्मीभन्दा पनि यथार्थवादी धारमा बगेको छ यसको कथा ।

एकल महिलाको कथा भनिएको छ, त्यति मात्रै हेर्न हलसम्म जाने कि अन्य थप सूचना र सन्देश पनि छन् ?
सिनेमा एउटै मात्र वस्तुले बन्दैन । यसभित्र पनि यो कथाका अलावा अन्य थुप्रै हेर्नैपर्ने कुरा छन् । यसले धेरैको जीवन र भोगाइ बोलेको छ । हरेकको भावनालाई स्वीकार गर्नसक्नु नै मानवता हो भन्ने सन्देश दिन खोजिएको छ । जसले आफ्नो जीवन फूलैफूलको बगान देख्न चाहन्छ, अरुको पनि त्यस्तै होस् भन्ने भावना बोक्नुपर्छ भन्ने देखाउन खोजिएको छ । सन्तानले पनि आफ्नो जिम्मेवारी र कर्तव्य सम्झिनुपर्छ भन्ने बोध गराइएको छ ।

तपाईंका समकालीन धेरै नायिका लगभग विस्थापित जस्तै भइसकेका छन्, तपाईं सक्रिय रहनुभएको छ, के कुराले यो सम्भव बनाएको छ ?
मेरा समकालीनहरूले आ–आफ्नो ठाउँबाट राम्रो गरिरहनुभएको छ जस्तो लाग्छ । मेरो बारेमा भन्नुपर्दा म आफूलाई हरेक क्षण सक्रिय र चलायमान राख्न खोज्छु । खुसी रहन्छु । समय–समयमा आफूलाई अप टु डेट राखिरहन्छु ।

लामो समयपछि फिचर फिल्म गर्दा कस्तो महसुस भयो ?
आफसेआफ सेटमा पुगिहाल्छु भन्नै पर्दैन, उतिबेलादेखिको बानी उस्तै छ । सरोजजी भएकोले पनि यो चलचित्रमा मलाई अझै सहज भयो । यस्तै गहन सन्देश बोकेका रोल पाए अझ थुप्रै चलचित्र गर्नेछु । मलाई अझै महिलाका मनभित्र गुम्सिएका धेरै कुरा पात्रमार्फत भन्नु छ ।

पाठकका लागि केही सन्देश छ कि ?
धेरै कुराबाट नेपाली महिला ‘ड्रप–आउट’ भइरहेका छन् । ‘जुन देशका महिला सचेत र शिक्षित छन्, त्यो मुलुक नै समृद्ध र विकसित हुन्छ’ भनेझैं यसले मुलुकको आधा समस्या आफैं समाधान हुन्छ जस्तो लाग्छ ।

 Image