Successfully Copied

निर्देशन र कलाकारितामै व्यस्त

असोज पहिलो साता रिलिज हुने ‘प्रेमगीत ३’ मा म राजपरिवारको भविष्यवाणी गर्ने राजमाताको भूमिकामा छु ।

नौ वर्षअघि चलचित्र क्षेत्रमा प्रवेश गरेकी लक्ष्मी बर्देवाले दर्जनभन्दा बढी चलचित्र, ५० भन्दा बढी म्युजिक भिडियो, थियटर र सर्ट मुभीमा काम गरिसकेकी छन् । बिम्ब प्रयोग गरिएका सांकेतिक स्टोरी मन पराउने उनी नेपाली मनोरञ्जन क्षेत्रकी बहुप्रतिभाशाली र अब्बल कलाकार हुन् । 

पछिल्लो समय के गर्दै हुनुहुन्छ ?

म्युजिक भिडियो निर्देशन र कलाकारितामै व्यस्त छु । 

‘प्रेमगीत–३’ मा तपाईको भूमिकाबारे थोरै बताइदिनुस् न ?

असोज पहिलो साता रिलिज हुने ‘प्रेमगीत ३’ मा म राजपरिवारको भविष्यवाणी गर्ने राजमाताको भूमिकामा छु । यो भूमिका मेरा लागि निकै चुनौतीपूर्ण रह्यो । किनभने यसअघि मैले कहिल्यै यस्तो भूमिका निर्वाह गरेकी थिइन । छायांकनमा जानुअघि थोरै डर पनि लागेको थियो तर पात्रलाई न्याय दिने कुरामा कुनै कसर बाँकी राखिन । 

जुनसुकै क्षेत्रमा अब्बल साबित हुन आवश्यक तीन कुरा के–के हुन् ?

सम्बन्धित क्षेत्रको ज्ञान, आत्मविश्वास र धैर्य । 

कस्तो भूमिकामा खुसी महसुस गर्नुहुन्छ ?

अभिनय गर्न पाउँदा मलाई निकै खुसी लाग्छ । सुहाउँदो पात्र दिइयो भने त्यसैमा बढी रमाउँछु । 

अहिले नेपाली चलचित्र क्षेत्रको अवस्था कस्तो छ ?

‘स्टोरी टेलिङ’ का आधारमा नेपाली चलचित्र क्षेत्र उकासिएको देख्छु म । पछिल्लो समयमा फरक तरिकाले कथा भन्न रुचाइरहेको पाइन्छ । हाम्रो चलचित्र क्षेत्र गजबले माथि उक्लिइरहेको छ । 

थिएटर, म्युजिक भिडियो वा चलचित्रमध्ये कुनै एक रोज्नुपर्दा तपाईंको प्राथमिकतामा कुन पर्छ ?

म त एउटालाई मात्र रोज्नै सक्दिन । तीनैवटा मेरा लागि उत्तिकै महत्वपूर्ण छन् । अझ रेडियो नाटक पनि मलाई उत्तिकै प्यारो लाग्छ । 

दसैंभरि नवदुर्गाका रूपमा नारी शक्तिको पूजा गरिन्छ, के वास्तवमै नेपाली नारीको अवस्था यस्तै छ त ?

व्यावहारिक रूपमा छैन । महिलालाई त्यसैगरी शक्तिशाली रूपमा लिइन्थ्यो भने यतिका हत्या, हिंसा, बलात्कार, विभेद, मानसिक तनाव व्याप्त हुँदैनथ्यो समाजमा । छोरी भएको घर चिटिक्क, सरसफाइ र सबै कुरा यथास्थानमा हुनुपर्ने अपेक्षा गरिन्छ । तर, व्यावहारिक रूपमा विभेद त छ नि ? कतै न कतैबाट पीडित हुनुपरेको अवस्थामा नारीलाई कसरी शक्तिशालीका रूपमा लिने ?

नेपाली नारीको समग्र विकास र सशक्तीकरणका लागि के आवश्यक ठान्नुहुन्छ ?

घरैबाट समान शिक्षा, नारीको क्षमतामा विश्वास गर्ने परम्परा र सोचमा परिवर्तन । 

तपाईंको बलियो पक्ष र कमजोरी के हो ?

मभित्रको आत्मविश्वास नै मेरो बलियो पक्ष हो । कमजोरी चाहिँ कुनै कुरामा चित्त बुझेन भने तत्काल प्रतिक्रिया दिइहाल्ने बानी छ । 

पाठकका लागि दसैं शुभकामना र सन्देश छ कि ?

चाडबाडलाई रमाइलो तरिकाले मनाऔं । सामाजिक रूपमा भड्किलो हुने गरी होइन सौहार्द्रपूर्ण वातावरणमा आफू खुसी भई अरुलाई पनि खुसी बनाउँदै उल्लासमय तरिकाले पर्व सेलिब्रेसन गरौं । 

 Image