Successfully Copied

कमेडीमा महिला 

के हेरेको बे ?’ धेरैको मुखमा यो वाक्यांश झुन्डियो । सोसल मिडियामा त झनै चर्चा पायो । ‘स्ट्यान्ड अफ कमेडी’ सोमा सीता न्यौपाने यो वाक्यांशबाट चर्चित भइन् । पहिलो सोबाटै लोकप्रिय बनेपछि उनी उत्साहित छिन् ।

के हेरेको बे ?’ धेरैको मुखमा यो वाक्यांश झुन्डियो । सोसल मिडियामा त झनै चर्चा पायो । ‘स्ट्यान्ड अफ कमेडी’ सोमा सीता न्यौपाने यो वाक्यांशबाट चर्चित भइन् । पहिलो सोबाटै लोकप्रिय बनेपछि उनी उत्साहित छिन् । उनले छ महिनामा ‘स्ट्यान्ड अफ कमेडी’मा चार वटा प्रस्तुति दिइसकेकी छन् । उनका सोका अन्य शीर्षकहरूमा ‘बाजनीति’, ‘मिडिल क्लास प्रब्लम’ र‘जय नारी’ छन् । उनका प्रस्तुतिहरू युट्युब ट्रेन्डिङमा छन् ।

सानैदेखि सीताको कमेडीमा रुचि हो । रमाइलो र ठट्टा गरिरहने बानीले उनलाई कहिल्यै भावुक बन्न दिएन । उनले भनिन्, ‘म सधै रमाइलो गरिरहने मान्छे, म सानैदेखि नै कमेडियन हो ।’ उनी भारतीय ‘स्ट्यान्ड अफ कमेडी’का सोहरू खुबै हेर्थिन् । नेपालमा पनि यस्तै सोहरू गर्नुपर्ने इच्छा उनमा पलाउन थाल्यो । प्लेटफर्म खोज्दै जाँदा नेपग्याजममा कमेडीमा उनी जोडिन पुगिन् । कमेडीका लागि उनी आफै विषयवस्तु छनोट गर्छिन् । समसायमिक विषयवस्तु नै उनको प्रस्तुति हो । कमेडीमा महिलालाई हाँसोको पात्रका रूपमा लिइएकोमा उनको चित्त दुखाइ छ । ‘कुनै व्यक्तिलाई भन्दा प्रवृत्तिलाई व्यंग गर्नुपर्छ’ उनले भनिन्, ‘समसामयिक विषयवस्तुलाई नै मैले समेट्ने गरेकी छु ।’ माइक्रोबायलोजीमा स्नातकोत्तर गरिरहेकी उनी पढाइसँगै यो क्षेत्रमा निरन्तरता दिने सोचमा छिन् । 

बुटवलकी सन्ध्या भट्टराई पनि ‘स्ट्यान्ड अफ कमेडी’ मा सक्रिय छन् । काठमाडौ विश्वविद्यालयबाट फिजियोथेरापीमा स्नातक गरिरहेकी उनी सोका लागि काठमाडौं आइरहन्छिन् । पढाइ र कमेडीलाई सँगसँगै उनले लिएर अघि बढिरहेकी छन् । बाबुआमा दुवै शिक्षक भएका कारणले पहिलो कमेडी सो नै उनले ‘शिक्षकको छोरी’ शीर्षकबाट सुरु गरिन् । यसमा उनले आफ्नै अनुभव साटेकी छन् । प्रस्तुतिहरूमा उनी आफ्ना अनुभव र सामाजिक विषयवस्तुलाई नै प्राथमिकता दिइरहेकी छन् । सन्ध्याका अनुसार आफूले भोगेको र देखेको विषयवस्तु नै छनोट हुन्छ । कमेडी विधा हाँस्ने र हँसाउने भए पनि हँसाउन भने सहज नभएको उनको अनुभव छ । अझ ‘स्ट्यान्ड अफ कमेडी’मा हँसाउन त झनै गाह्रो रहेको उनले बताइन् । ‘कमेडीमा हँसाउन सहज छैन, दर्शकहरूको मनोविज्ञान बुझ्न गाह्रै हुन्छ ’ उनले भनिन्, ‘महिलाहरूको सन्दर्भमा समस्या उस्तै छ । पुरुषले त्यही कुरा जोक बनाउँदा सहज रूपमा लिइन्छ । महिलाले त्यही कुरालाई व्यंग गर्दा गलत अर्थमा बुझिन्छ ।’ उनका अन्य प्रस्तुतिहरूमा ‘न्यू इयर’, ‘बोल्यो कि पोल्यो’ आदि छन् । कमेडीले उनलाई क्रिएटिभ बनाउनुका साथै आत्मविश्वास पनि बढाएको सन्ध्याको भनाइछ । 

पछिल्लो समय ‘स्ट्यान्ड अप कमेडी’का रूपमा महिलाको उपस्थिति बाक्लिँदै गएको छ । नेपालका लागि यो कमेडी नौलो भए पनि युवापुस्ता यसमा रमाउन थालेको कमेडियन शिष्टता भण्डारीले बताइन् । उनका अनुसार पछिल्लो समय कमेडीमा बुझ्ने जमात बढ्दै गएको छ । उनी पनि कमेडीकै रूपमा उदाएकी छन् । उनका प्रस्तुतिहरू ‘उफ गर्मी’, ‘नाम र ममीं’, ‘तीज विशेष’ आदि छन् । स्नातक तहमा अध्ययनरत उनी पढाइका कारण पछिल्लो समय कमेडीबाट ओझेल परेको बताइन् । ‘पढाइमा समय दिनुपर्ने भएकाले पनि यस क्षेत्रमा सक्रिय हुन सकेकी छैन’उनले भनिन् । 

 नेपग्याजमका सदस्य आशीष शाहीका अनुसार सुरुमा यो क्षेत्रमा महिलाको उपस्थिति राम्रो भए पनि बिस्तारै पलायन हुने क्रम बढिरहेको छ । ‘आर्थिक रूपले सबल हुन नसक्ने र विशेषगरी महिलाहरूलाई घरबाटै अनुमति नदिने भएकाले यो क्षेत्रमा उनीहरू सोचेजस्तो सक्रिय हुन सकेका छैनन्’उनले भने । 

 Image