कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

सुन्दरमणिसँग विवाह
गायिका विष्णु माझी र गायक तथा संगीतकार सुन्दरमणि अधिकारीबीच विवाह भएको पुष्टि भएको छ । २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा उनीहरूले सुटुक्क विवाह गरेका थिए । त्यसका साथै उनीहरूले तत्कालीन लेखनाथ नगरपालिकाको वडा नम्बर–९ हालको पोखरा महानगरपालिका वडा नम्बर–३१ को कार्यालयमा २०६९ मंसिर ५ गते विवाह दर्ता गरेको प्रमाण वडा कार्यालयमा सुरक्षित छ ।
सर्वाधिक महँगी गायिका
गायिका विष्णु माझी गुमनाम छिन् तर उनी लोकदोहोरी क्षेत्रकी सर्वाधिक महँगी गायिका हुन् । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् । विष्णु माझीले एउटा गीतका लागि ५० हजार रुपैयाँ लिने गरेकी छिन् । यदि कसैले ४९ हजार ९ सय ९९ सय रुपैयाँ दियो भने पनि उनी त्यो रकम बुझ्दिनन् । विष्णु माझीको पारिश्रमिक अत्यधिक भएकाले एकदमै थोरैले मात्र उनीबाट गीत रेकर्ड गराउने सामथ्र्य राख्छन् । स्रोतका अनुसार माझीले महिनामा ५ देखि ७ वटासम्म गीतमा स्वर दिने गरेकी छिन् । उनी निकट एक व्यक्ति भन्छन्, ‘महिनामा कम्तीमा २ लाख रुपैयाँ कमाउनुहुन्छ, किन मिडिया चाहियो ? किन चाहियो फ्यान ?’
जुम्ल्याहा सन्तानकी आमा
गायिका विष्णु माझीले तीन वर्षअघि जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । उनी सुत्केरी हुँदा झन्डै तीन महिना जति बेगनास गएर बसिन् । त्यतिबेला बच्चा हुर्काउन सजिलो हुने भएकाले उनी गाउँमै लामो समय बसेकी थिइन् ।
ससुराको किरिया बस्न पोखरा
डेढ वर्षअघि विष्णुका ससुरा तथा सुन्दरमणिका बुवा विष्णुप्रसादको निधन भयो । ससुराको निधन भएपछि विष्णु पनि श्रीमान् सुन्दरमणिसँगै किरिया बसेकी थिइन् ।
कामप्रति जिम्मेवार
विष्णु माझीले आफ्ना समर्थकलाई नभेटेको र सार्वजनिक स्थानमा देखा नपरेकाले उनमा ठूलो घमण्ड छ भन्ने धेरैले अनुमान लगाउन सक्छन् । साथै रेकर्डिङमा पनि पर्याप्त समय दिन्नन् भन्ने लाग्न सक्छ । यद्यपि विष्णु माझी कामप्रति भने निकै जिम्मेवार रहेको संगीतकर्मीहरू बताउँछन् । उनले गीत रेकर्ड गर्ने क्रममा सुन्दरमणि प्राय:जसो सँगै हुन्छन्, जसले गर्दा कतै केही बिग्रियो भने सुन्दरमणिले औंल्याइदिएपछि उनले सच्याएर गाउने एक संगीतकारले बताए । यतिमात्र होइन कहिलेकाहीँ कुनै गीत दोहोर्याएर रेकर्ड गराउनुपर्यो भने पनि विष्णु सहजै रेकर्डिङ स्टुडियोमा आएर गीत गाउँछिन् । यसका साथै विष्णु माझीले कुनै पनि गीतलाई प्रशस्त समय समेत दिन्छिन् ।
कुर्ता सुरुवाल लगाएर रेकर्डिङ स्टुडियो
विष्णु माझी रेकर्डिङ स्टुडियोमा प्राय:जसो कुर्ता सुरुवालमै आउने एक स्रोतले बताएको छ । यसका साथै उनी बाहिर निस्कँदा अनुहारमा आँखा बाहेक सबै भाग कपडाले छोपेर हिँड्छिन् ।
एउटा मात्र फोटो
विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन् ।
साभार: साप्ताहिक