Successfully Copied

सम्भावना बोकेका नायिकाहरू

अहिलेका नवनायिकाहरू मोडलिङमा लागेर र्‍याम्पमा हिँड्ने, दुई–चारवटा म्युजिक भिडियोमा काम गर्ने अनि एक–दुईवटा चलचित्रमा देखा पर्ने, त्यसपछि कि त पढाइका लागि विदेश जाने कि एनआरएन फेला पारेर विदेश जाने चक्करमा हुन्छन् ।

सम्भावना बोकेका नायिकाहरू

अहिले नेपाली चलचित्र क्षेत्रमा प्रियंका कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ, रेखा थापा, ऋचा शर्मा, करिश्मा मानन्धर, गरिमा पन्त आदि नायिकाहरूको वर्चस्व छ । उनीहरू मिडियामा छाइरहने अनुहार पनि हुन् । त्यसपछि नन्दिता केसी, नीता ढुंगाना, असिष्मा नकर्मी, शिल्पा पोखरेल, अनु शाह, वेनिशा हमाल आदिको नाम पनि आउँछ । यसबीच अन्य थुप्रै नयाँ नायिका पनि चलचित्र क्षेत्रमा देखा परे तर पनि चलचित्रमा ती नायिकाको निरन्तरता देखिएन । चलचित्र क्षेत्रमा प्रवेश गरेका नायिकाहरू चलचित्रमै आफ्नो करियर बनाउने सोच र सपनाका साथ यो नगरीमा प्रवेश गरेका हुन्छन् । उनीहरूमा कसरी धेरै चलचित्रमा अभिनय गर्ने र टिकिराख्ने भन्ने सोच हुन्थ्यो । यद्यपि अहिलेका नवनायिकाहरू मोडलिङमा लागेर र्‍याम्पमा हिँड्ने, दुई–चारवटा म्युजिक भिडियोमा काम गर्ने अनि एक–दुईवटा चलचित्रमा देखा पर्ने, त्यसपछि कि त पढाइका लागि विदेश जाने कि एनआरएन फेला पारेर विदेश जाने चक्करमा हुन्छन् । 

नेपाली चलचित्रमा अहिले पनि थुप्रै नायिका डेब्यु गर्दैछन् । नाइँ नभन्नु ल–४ बाट वर्षा राउत र आँचल शर्माले डेब्यु गर्दैछन् । चलचित्र प्रदर्शन हुनुअघि नै वर्षा राउत म्युजिक भिडियोमार्फत परिचित छिन् भने आँचलको भविष्य पनि धेरैले राम्रो देखेका छन् । मोडलिङबाटै करियर प्रारम्भ गरेकी सम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीले निर्देशन गरेको ड्रिम्समार्फत डेब्यु गरिन् । यही चलचित्रबाट भिजे सन्ध्या केसीले पनि डेब्यु गरेकी छिन् जसमा उनको अतिथि भूमिका छ । नोभेम्बर रेनबाट चलचित्रमा देखा परेकी छुल्ठिमले त्यसबाट थुप्रै अवार्ड पनि पाइन् । अरु चलचित्रमा देखा नपर्ने उनको सोचमा परिवर्तन आएको छ र चलचित्रमा उनको भविष्य राम्रो छ ।

जेरीबाट चलचित्रमा आएकी आना शर्मा भने चलचित्रमा निरन्तरता दिनेभन्दा राम्रो अफर आयो भने मात्र काम गर्ने ध्याउन्नमा छिन् । वानवेबाट यो क्षेत्रमा आएकी माला लिम्बूले पनि चलचित्रलाई निरन्तरता दिँदैछिन् । अभिनय, गेटअप र स्टाइलले गर्दा पनि धेरैको आँखा लिम्बूमा छ । मिस नेपाल मलिना जोशीले ऋतुमार्फत आफूलाई चिनाएकी छिन् तर उनी विदेशमा हुने कार्यक्रममै व्यस्त छिन् भने मिस नेपाल सृष्टि श्रेष्ठले गाजलुमार्फत नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । सृष्टि नेपाली तथा भारतीय म्युजिक भिडियोमा समेत देखा परिसकेकी छिन् । 

सृष्टि श्रेष्ठ :  मिस नेपाल २०१३ सृष्टि श्रेष्ठ गाजलुमार्फत डेब्यु गर्दैछिन् । नेपाली चलचित्रमा आफ्नो बलियो पकड बनाउने प्रयासस्वरूप उनले रंगकर्मी सुनील पोखरेलसँग अभिनय क्लास लिएकी छिन् । बेलायतमा हाई स्कुल पढ्दा त्यहाँका नाटकहरूमा अभिनय गर्ने सृष्टिलाई सानैदेखि चलचित्रमा अभिनय गर्ने रुचि थियो । नेपाली चलचित्रमा नयाँ आइडिया, युवापुस्ताको रुचि, नौलो टेक्नोलोजी एवं प्रस्तुतिका कारण नै सृष्टिको रुचि यसमा बढेको हो । अभिनय सिकेर आएकी सृष्टिबाट चलचित्र क्षेत्रले ठूलो आशा गरेको छ ।   

वर्षा राउत :  तीन वर्षदेखि म्युजिक भिडियोमार्फत दर्शकमाझ देखा परिरहेकी वर्षा राउत नाइँ नभन्नु ल–४ मार्फत नायिकाका रूपमा डेब्यु गर्दैछिन् । हुन त उनलाई अरू चलचित्रबाट अफर नआएका होइनन् तर अध्ययनका लागि समय दिनुपर्ने बाध्यताका कारण पनि उनी चलचित्रमा त्यति देखिएकी छैनन् । थोरै समयमा सुटिङ सक्ने र छिट्टै रिजल्ट पनि आउने भएकाले उनलाई म्युजिक भिडियोप्रति रुचि छ । नाइँ नभन्नु ल–४ मा अभिनय गरेपछि उनमा चलचित्रप्रति रुचि बढेको छ । अभिनय कला हेर्दा वर्षालाई राम्रो भविष्य भएकी नायिका मान्न सकिन्छ । 

छुल्ठिम : आरजे, भिजे, म्युजिक भिडियो, कार्यक्रम होस्ट हुँदै नोभेम्बर रेनमा सह–नायिकाका रूपमा देखापरेकी छुल्ठिम गुरुङ यही चलचित्रबाटै सबैका नजरमा परेकी छिन् । उनले उक्त चलचित्रमार्फत थुप्रै अवार्ड पनि प्राप्त गरेकी छिन् । छुल्ठिम नयाँ गेटअप तथा फरक परिवेश बोकेका पात्रसहित दर्शकमाझ आउने तयारीमा छिन् ।  उनको स्वभाव सबैसँग घुलमिल हुने खालको छ । छुल्ठिम चलचित्र क्षेत्रमा सम्भावना बोकेकी नायिकामा पर्छिन् ।  

सम्राज्ञी राज्यलक्ष्मी शाह : क्लासिक डायमण्डको फेस अफ क्लासिकमा भाग लिएपछि सम्राज्ञीको मोडलिङ यात्राले निरन्तरता पाएको हो । मोडलिङमा लाग्नुअघि नै चलचित्रबाट अफर आए पनि राम्रो अफर कुरेर बसेकी शाहले भुवन केसीले निर्देशन गरेको ड्रिम्समार्फत डेब्यु गर्न पाइन् । अभिनय एवं स्टाइलले गर्दा शाह सम्भावनायुक्त नायिका मानिन्छिन् । 

माला लिम्बू : सिंगापुरमा जन्मिएकी माला लिम्बूलाई पनि राम्रो सम्भावना बोकेकी नायिकाका रूपमा हेर्न थालिएको छ । काठमाडौंको बसोबासमा उनले गुड बाई काठमाडौंमा अभिनय गरेकी थिइन् भने त्यसपछि उनी केही म्युजिक भिडियोमा छाइन् । वानवेमार्फत चलचित्रमा नायिकाका रूपमा देखापरेकी लिम्बू चलचित्र क्षेत्रमै व्यस्त छिन् । 

सन्ध्या केसी : भिजे तथा मोडलका रूपमा व्यस्त सन्ध्या केसीले चलचित्र ड्रिम्सबाट चलचित्रमा डेब्यु गरेकी छिन् तर चलचित्रमा उनको अतिथि भूमिका मात्र छ । चुलबुले तथा अभिनयमा दख्खल राख्ने सन्ध्याका लागि चलचित्रको ढोका खुलेको धेरै चलचित्रकर्मीको अनुमान छ ।   

रूपा खनाल : परिधि, दसगजाजस्ता केही चलचित्रमा देखा परिसकेकी रूपा खनाललाई चलचित्र राहदानीबाट आशा छ । पहिले रेस्टुराँ व्यवसायमा सम्लग्न भएर पूरै समय चलचित्रमा देखिन नसकेकीले उनले उक्त रेस्टुराँ नै बेचेकी छिन् । अब भने उनी पूरै समय चलचित्रमै व्यस्त रहने बताउँछिन् । 

वर्षा शिवाकोटी : नाइँ नभन्नु ल–२ बाट डेब्यु गरेकी वर्षा शिवाकोटीले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । चलचित्रमा धेरैले आशा गरेकी वर्षाले आफूलाई पशुपति प्रसादबाट लाइम लाइटमा ल्याएकी छिन् । चलचित्रमै आफ्नो भविष्य देख्ने वर्षा निरन्तर दर्शकको मन जित्ने सोचमा छिन् । चलचित्रलाई निरन्तरता दिने हो भने उनको भविष्य पनि उज्ज्वल देखिन्छ । 

 Image