Successfully Copied

प्रलिशाको शिरमा मिस नेवाः ११४५ को ताज

‘सशक्त महिला हुनुको अर्थ तपाईंका लागि के हो ?’ भन्ने निर्णायक प्रश्नको सटिक, सान्दर्भिक र उत्कृृष्ट उत्तर दिएसँगै प्रलिशा शाक्यले नेपाल टेलिकम मिस नेवाः ११४५ को ताज शिरमा सजाउन सफल भएकी छन् ।


‘सशक्त महिला हुनुको अर्थ तपाईंका लागि के हो ?’ भन्ने निर्णायक प्रश्नको सटिक, सान्दर्भिक र उत्कृृष्ट उत्तर दिएसँगै प्रलिशा शाक्यले नेपाल टेलिकम मिस नेवाः ११४५ को ताज शिरमा सजाउन सफल भएकी छन् । ललितपुर महानगरपालिका–१६ निवासी प्रलिशाले नगद पुरस्कार एक लाखसहित नेपाल क्यान्सर रिलिफ सोसाइटीका लागि सद्भावना दूतका रूपमा नियुक्ति पनि पाएकी छिन् । प्रलिशालाई गत वर्षकी मिस नेवाः विजेता सकिना महर्जनले विजेताको ताज पहिर्‍याइदिइन् । प्रलिशाले यसअघि सन् २०१३ मा मिस लिटिल नेवाः उपाधि जित्न सफल भएकी थिइन् । सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएकी प्रलिशाले मिस नेवाः ११४५ को मुख्य उपाधिबाहेक वेस्ट नेपाल भाषाको उपाधि पनि जित्न सफल भइन् ।
प्रतियोगितामा श्रद्धा महर्जनले मिस ट्यालेन्ट र सोसल वेलफेयर सेकेन्ड रनर अप, अनुश्री शाक्यले मिस ट्यालेन्ट फस्ट रनर अप तथा श्रीया मानन्धरले मिस ट्यालेन्ट सेकेन्ड रनर अपको उपाधि जितेका छन् । रोनिशा महर्जन सोसल वेलफेयर एम्बेसडर चिफको उपाधि विजेता बनिन् भने डिविना डंगोल सोसल वेलफेयर एम्बेसडर फस्ट रनर अप बनिन् । अन्य उपाधितर्फ प्रसिद्धि शाक्य डिसिप्लिन, अल्पा महर्जन पब्लिक च्वाइस, प्राश्ना श्रेष्ठ बेस्ट ड्रेस, रितिशा बज्राचार्य कल्चर, संस्कृति श्रेष्ठ कन्फिडेन्ट, सुभेक्षा श्रेष्ठ पर्सनालिटी, रिम्शा श्रेष्ठ वेस्ट हेयर, रमुना बज्राचार्य वेस्ट स्किन, कुन्ता श्रेष्ठ फोटोजेनिक, अनुषा बज्राचार्य स्माइल, सुवास्ना श्रेष्ठ चार्मिङ तथा रुजि शाक्य फ्रेन्डसिप विधामा विजेता घोषित भए ।


राजधानीको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा सम्पन्न फाइनल प्रतिस्पर्धामा २० नेवार युवतीको सहभागिता थियो । प्रतिस्पर्धामा चन्द्रागिरी नगरपालिका, नैकापकी लुनिभा मानन्धर फस्ट रनर अप तथा काठमाडौं चःमतीकी लुमना महर्जन सेकेन्ड रनर अप विजेता चयन भए । उनीहरूले क्रमशः नगद पुरस्कार २५ हजार र १५ हजार प्राप्त गरेका थिए ।
प्रतियोगितामा मिस नेवाः ११४१ विजेता कृषा महर्जनले मुख्य संयोजक तथा मिस नेवाः ११४३ का विजेता सकिना महर्जन र सोसल वेलफेयर एम्बेसडर चिफ ११४२ तिमिला महर्जनले संयोजकको भूमिका निर्वाह गरेका थिए ।
उप्रेती समाज सेवा समितिका अध्यक्ष सोवित उप्रेती तथा वरिष्ठ अभिनेता मदनदास श्रेष्ठको विशेष आतिथ्यता रहेको प्रतियोगिताका मुख्य निर्णायकका रूपमा सरस्वती बहुमुखी क्याम्पसकी पूर्वप्रमुख दिव्यालक्ष्मी बज्राचार्य रहेकी थिइन् । निर्णायक मण्डलका अधिवक्तासमेत रहेका बंगलामुखी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स इन्टरनेसनल क्लब ३२५ एलका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मणिश्री रत्न बज्राचार्य, पूर्वाञ्चल विश्वविद्यालय फेसन प्रविधि विषय समितिका अध्यक्षसमेत रहेका नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, एलसीसीआईका पूर्वअध्यक्ष अजरमान जोशी, नेपाल लिपि गुठीका अध्यक्ष अनिल स्थापित, एसओ नेपाल अध्यक्ष डा. शिक्षिता श्रेष्ठ तथा मिस नेवाः ११३४ विजेता एवं नेपाल वायु सेवा निगमका एयर होस्टेस एलिशा बज्राचार्य रहेका थिए ।
नेवार समुदायको समृद्ध सांस्कृतिक पक्षको महत्वलाई उजागर गर्दै यसको सम्वर्द्धन र प्रवर्द्धनमा योगदान दिने मुख्य उद्देश्यसहित सन् २००५ बाट मिस नेवाः प्रतियोगिता आयोजना भएको हो । यो प्रतियोगिता हेमा मानन्धरको अगुवाइमा नेप्लिज फेसन होम, एनएफएच इभेन्ट्सको आयोजना तथा फाइट फर लाइफ नेपालको सहआयोजनामा सम्पन्न भएको हो ।

 Image