Successfully Copied

गायिकाहरूको योजना

प्रविधिको विकाससँगै गीत–संगीतमा पनि केही परिवर्तन आएको छ । पहिले वर्षैपिच्छे एल्बम निकाल्ने होड नै चल्थ्यो तर अहिले गायक–गायिकाहरू एल्बम निकाल्नुअघि दसपटक सोच्छन् । गायक–गायिकाहरू ६–८ वटा गीत रेकर्ड गराई एल्बम निकाल्नुभन्दा एउटा हिट गीत गाएर म्युजिक भिडियो बनाउने धुनमा हुन्छन् ।

गीत–संगीतविना जीवन निरस हुन्छ । संगीतको मीठो धुनले ऊर्जा प्रदान गर्ने कुरा धेरैको जीवनमा लागू हुन्छ । नेपालमा पनि अहिले थुपै्र मीठो स्वर भएका प्रतिभाशाली गायिकाहरू छन् । यो क्षेत्रमा नामसँगै दाम पनि पाइने भएकाले युवापुस्ता संगीत क्षेत्रमा करियर बनाउने धुनमा छ । प्रविधिको विकाससँगै गीत–संगीतमा पनि केही परिवर्तन आएको छ । पहिले वर्षैपिच्छे एल्बम निकाल्ने होड नै चल्थ्यो तर अहिले गायक–गायिकाहरू एल्बम निकाल्नुअघि दसपटक सोच्छन् । गायक–गायिकाहरू ६–८ वटा गीत रेकर्ड गराई एल्बम निकाल्नुभन्दा एउटा हिट गीत गाएर म्युजिक भिडियो बनाउने धुनमा हुन्छन् । 

गायिका इन्दिरा जोशीले यो वर्ष सिंगल ट्रयाक मात्र सार्वजनिक गर्ने सोच बनाएकी छिन् । इन्दिरा मानिसहरूबीचका विभिन्न सम्बन्ध तथा सामाजिक जनचेतनामा आधारित गीतमा काम गर्दैछिन् । यो वर्ष  उनको विदेशका प्रोग्रामहरूको भने ताँती नै लागिसकेको छ । चलचित्र तथा आधुनिक गीतमा स्थापित गायिका देविका वन्दना पनि एल्बम रिलिज गर्ने सोचमा छैनन् । गत वर्ष उनले गाएको मन चङ्गा भो धेरैले रुचाएपछि देविकाले त्यही गीतकी मोडल नम्रता सापकोटा र गजित विष्टलाई नै अभिनय गराई खुबी छ तिमीमा गीतको भिडियो तयार गर्दैछिन् । गायिका देविकाका अनुसार एल्बममा पैसा लगानी गर्नुभन्दा राम्रो म्युजिक भिडियो बनाउनु उपयुक्त हुन्छ । फेरि अहिले एल्बम किन्ने चलन पनि छैन । युट्युबबाट सबै गीत सुन्न र डाउनलोड गर्न सकिने हुँदा एल्बम निकाल्नु रुचि मात्र भएको कुरा बताउँछन्, इन्दिरा र देविका । 

गायिका रिमा गुरुङ पनि यो वर्ष एल्बम निकाल्ने सुरमा छैनन् । उनी कलेक्सन एल्बमहरूमा तथा आफ्नै आधुनिक गीतहरू रेकर्ड गराई भिडियो बनाइरहेकी छिन् । रिमाले पनि स्टेज शोहरूमै व्यस्त रहने बताइन् । इतु जोजोजू यस्ती गायिका हुन्, जसलाई धेरैले रामभक्त जोजोजूसँग गाउने गायिकाका रूपमा चिन्छन् । पोखरामा बस्दै आएकी इतु पोखराकै एक होटलमा गजल गाउने तथा एफएममा कार्यक्रम चलाउने काममा व्यस्त छिन् । उनी आगामी वर्ष सोलो गीत र सोलो एल्बममार्फत आफूलाई चिनाउने प्रयासमा छिन् । 

चौबन्दीमा पटुकी गीतबाट गत वर्ष तहल्का मच्चाएकी आस्था राउत भने आफ्नो दोस्रो एल्बम आधार–२ रिलिज गर्दैछिन् । उनी यो वर्षको सुरुवातदेखि नै विदेशको सांगीतिक कार्यक्रममा व्यस्त हुनेछिन् । युवापुस्ताकी लोकप्रिय गायिका आस्था बी पनि एल्बमको तयारीमा छिन् । नयाँ वर्षको कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी आस्था उतै एउटा म्युजिक भिडियोको छायांकन पनि गराउँदैछिन् । उनको यो वर्ष महोत्सव तथा विदेशका कार्यक्रममै बित्ने देखिन्छ । गायिका रजिना रिमालले पनि यो वर्ष चलचित्रकै गीत तथा कलेक्सन एल्बमहरूमै व्यस्त रहने बताइन् । गायिका ज्योति मगर भने नयाँ वर्षको अवसर पारेर एल्बम रिलिज गर्दैछिन् । लोक फ्युजन तथा डान्स बिटका उनका सबै गीतका म्युजिक भिडियो तयार हुँदैछन् । ज्योतिले पनि यो वर्ष आफ्नो धेरै समय विदेशकै सांगीतिक कार्यक्रममा बित्ने बताइन् । जेठको सुरुमा उनी कार्यक्रमका लागि अस्ट्ेरलिया पुग्दैछिन् । 

त्यस्तै गायिका देविका केसीले काठमाडौंमा घर छ एल्बम रिलिज गर्दैछिन् । पोहोरजस्तै उनको लन्डन, दुबई, क्यानाडा, कोरिया आदिमा कार्यक्रम तय भैसकेको छ । गायिका कुन्ती मोक्तानले यसपटक कलेक्सन एल्बमहरूमै व्यस्त हुने बताइन् । मोक्तानका छोरीहरू शीतल र सुवानी पनि एल्बम भन्दा सिंगल ट्रयाक निकाली म्युजिक भिडियो बनाउने योजनामा छन् । गायिका श्रेया सोताङ भने एल्बम निकाल्ने योजनामा थिइन् तर एल्बमको बजार त्यति राम्रो नभएको हुँदा म्युजिक भिडियो बनाउने कि भन्ने दोधारमा छिन् । श्रेयाका अनुसार अहिले गायक–गायिकाहरूले एल्बम निकालेर खान्छु भनेर सोच्नु मूर्खता मात्र हो । बरु एक–दुईवटा राम्रा गीत दिए स्टेज शोबाटै राम्रो आम्दानी स्रोत हुने श्रेयाले बताइन् । 

लोकदोहोरी गाउने गायिकाहरू भने तीज गीतको संकलनमा व्यस्त हुन थालिसकेका छन् । टीका पुन, राधिका हमाल, मञ्जु पौडेल, मुना थापा आदि लोकगायिकाहरू यो वर्ष पनि जेठको पहिलो हप्तादेखि नै तीजका गीत रेकर्डमा व्यस्त हुने बताउँछन् । उनीहरू तीजको समयमा विदेशतिरका कार्यक्रममा व्यस्त रहनेछन् । 

 

 Image